नगरपालिकामा विवादकै बीच बजेट पारित, ५ वडाध्यक्षले गरे बहिष्कार
रौतहट : रौतहटको कटहरिया नगरपालिकाको १२औँ नगरसभा तथा १०औँ बजेट अधिवेशन सोमबार विवादका बीच सम्पन्न भएको छ। नगरसभाले आगामी आर्थिक वर्ष २०८३/०८४ का लागि ४८ करोड ७७ लाख ४७ हजार रुपैयाँ बराबरको बजेट पारित गरेको भए पनि नगरप्रमुख र अन्य जनप्रतिनिधिबीच विवाद बढेको हो।
बजेट वितरणमा विभेद भएको आरोप लगाउँदै ५ जना वडाध्यक्षले नगरसभा बहिष्कार गरेका छन्। नगरसभामा नगर प्रमुख अजय प्रकाश जैसवालले चालुतर्फ ३३ करोड ८८ लाख ७२ हजार र पुँजीगततर्फ १४ करोड ८८ लाख ७५ हजार रुपैयाँ विनियोजन गरिएको बजेट प्रस्तुत गरेका थिए।
नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत रामविनय कुमार सिंहका अनुसार कृषि, पशुपालन, स्वास्थ्य, शिक्षा, खानेपानी, सरसफाइ, सडक तथा पूर्वाधार, विपद् व्यवस्थापन, महिला, बालबालिका, ज्येष्ठ नागरिक, युवा तथा रोजगार प्रवर्द्धनलाई प्राथमिकतामा राखेर नीति तथा कार्यक्रम तयार गरिएको छ।
प्रमुख प्रशासकीय अधिकृतको अभावका कारण कानुनले तोकेको समयभित्र नगरसभा हुन नसकेको र सोमबार मात्र सम्पन्न गरिएको नगरपालिकाले जनाएको छ।
तर, नगरसभा चलिरहेकै बेला वडा नं. १ का अध्यक्ष भूपेन्द्र महतो, वडा नं. २ का अध्यक्ष हरेन्द्र साह, वडा नं. ४ का अध्यक्ष चन्दन कुशवाहा, वडा नं. ६ का अध्यक्ष जयराम चौधरी र वडा नं. ९ का अध्यक्ष रुपेश यादवले नगरसभा बहिष्कार गर्दै नगरपालिकाको मूल गेटमा प्रदर्शन गरेका थिए। उनीहरूले प्रमुख प्रशासकीय अधिकृतलाई नगरसभा बदर गर्न माग गर्दै ज्ञापनपत्रसमेत बुझाएका छन्।
वडाध्यक्ष चन्दन कुशवाहाले मेयर अजय प्रकाश जैसवालले पाँचवटा वडामाथि अन्याय गरेको आरोप लगाए। उनका अनुसार पाँच वडाको विकास बजेट कटौती गरी करारका कर्मचारीको तलबका नाममा रकम विनियोजन गर्ने भनिए पनि सम्पूर्ण रकम त्यस प्रयोजनमा खर्च नभई अनियमितता गरिएको छ।
बहिष्कारमा उत्रिएका वडा अध्यक्षहरूको आरोप अनुसार पाँच वडाको विकास बजेट शून्य बनाइएको छ भने बाँकी चार वडामा करिब ९०/९० लाख रुपैयाँका दरले बजेट छुट्याएर मेयरले पक्षपातपूर्ण व्यवहार गरेका छन्। उनीहरूले आफूहरू उक्त नगरसभा नमान्ने र न्यायका लागि अदालत जाने चेतावनी दिएका छन्।
यता नगरसभाबाट भने आगामी आर्थिक वर्षको नीति, कार्यक्रम र बजेटमाथि छलफल गरी आवश्यक निर्णयहरू पारित गरिएको नगरपालिकाले जनाएको छ। यसैबीच वडा नं. ५ का अध्यक्ष सर्फलाल गुप्तामाथि पनि अन्य जनप्रतिनिधिबीच फाटो ल्याई आफ्नो वडाको हितमा बजेट प्रभावित पारेको आरोप बहिष्कारमा सहभागी वडा अध्यक्षहरूले लगाएका छन्।
प्रतिक्रिया दिनुहोस !