कर्णाली नदीमा खसेको गाडी अझै बेपत्ता, आधुनिक प्रविधिसहित खोजी जारी

कर्णाली नदीमा खसेको गाडी अझै बेपत्ता, आधुनिक प्रविधिसहित खोजी जारी

‘कर्णालीका मान्छे, कर्णालीले खान्छ’
मृत्युमार्ग बन्यो कर्णाली राजमार्ग

वीरेन्द्रनगर : कर्णाली राजमार्गको दैलेख खण्डको साँगेतडा नजिकैको भीरबाट गत बिहीबार बिहान ११ बजे फोर्स गाडी कर्णाली नदीमा डुब्यो। नजिकबाट कसैले नदेख्ने भीरबाट गाडी खस्दा राजमार्गको अर्को साइडमा अछामको खेतमा काम गरिरहेका स्थानीयले नदीमा गाडी खसेको देखेपछि झन्डै साढे ११ बजेतिर प्रहरीलाई खबर गरे।

केही समयमै पाल्तडाको प्रहरी घटनास्थल पुग्यो। १ बजेतिर दैलेखको प्रहरी टोली पनि घटनास्थल पुगेर उद्धारमा खटियो। घटना भएको भीरमा अड्किएको अवस्थामा एक जनाको शव पनि फेला पर्यो। उनी कालिकोटको पचालझरना गाउँपालिका वडा नं. ९ तिखार्तिका जोखे तिरुवा रहेको प्रहरीले जनाएको छ।

उक्त फोर्स गाडीमा पाँच जना यात्रुको पहिचान खुलेको छ। प्रहरीका अनुसार घटनास्थलबाट प्राप्त मोबाइल, प्रारम्भिक अनुसन्धान तथा आफन्तबाट प्राप्त विवरणका आधारमा गाडीमा पाँच जना यात्रुको पहिचान खुलेको हो।

दुर्घटनामा चालक सुर्खेत पञ्चपुरी नगरपालिका–८ का तुलाराम सुवेदी, सहचालक सोही स्थानका रामप्रसाद सुवेदी, यात्रुहरू कालिकोटको रास्कोट नगरपालिका–२ की सिर्जना खड्का, पचालझरना गाउँपालिका–९ का मेखे तिरुवा र पचालझरना गाउँपालिका–९ कै जोदे तिरुवाको पहिचान खुलेको जिल्ला प्रहरी कार्यालय दैलेखले जनाएको छ। फेला परेको जोखे तिरुवाको शव आफन्तले सनाखत गरिसकेका छन्। आवश्यक कानुनी प्रक्रिया तथा पोस्टमार्टमपछि शव परिवारलाई जिम्मा लगाइएको प्रहरीले जनाएको छ।

पाँच दिनदेखि गाडी र यात्रु अझै फेला परेनन्

साँगेतडा क्षेत्रमा कर्णाली नदीमा खसेको यात्रुवाहक गाडी दुर्घटनाको पाँच दिन बितिसक्दा पनि गाडी र त्यसमा सवार यात्रुको अवस्था अझै अज्ञात रहेको छ। सुरक्षा निकायले हेलिकोप्टर, ड्रोन, गोताखोर तथा ठूलो संख्यामा जनशक्ति परिचालन गरेर खोजी अभियान जारी राखे पनि हालसम्म कुनै अत्तोपत्तो छैन। गत असार १८ गते बिहान करिब ११ बजे सुर्खेतबाट कालीकोटतर्फ जाँदै गरेको कर्णाली प्रदेश ०२–००१ ख १०५५ नम्बरको गाडी साँगेतडा क्षेत्रबाट कर्णाली नदीमा खसेको थियो।

दुर्घटनापछि निरन्तर खोजी भइरहेको भए पनि नदीको अत्यधिक बहाव र धमिलो पानीका कारण उद्धार कार्य निकै चुनौतीपूर्ण बनेको छ।

कर्णाली प्रदेश प्रहरी कार्यालयका प्रमुख प्रहरी नायब महानिरीक्षक (डीआईजी) जयराज सापकोटाका अनुसार दुर्घटनास्थलदेखि तलका सम्भावित क्षेत्रसम्म खोजी अभियान विस्तार गरिएको छ। तर हालसम्म गाडी वा त्यसमा सवार यात्रु फेला पार्न सकिएको छैन। उनले खोजी कार्यलाई अझ प्रभावकारी बनाउन अत्याधुनिक उपकरण र अनुभवी जनशक्ति परिचालन गरिएको बताए। दुर्घटनाग्रस्त गाडीको खोजीका लागि नेपाली सेना, नेपाल प्रहरी र सशस्त्र प्रहरी बल संयुक्त रूपमा परिचालित छन्। हेलिकोप्टरबाट हवाई निगरानी, ड्रोनमार्फत नदी क्षेत्रको अवलोकन तथा गोताखोरद्वारा नदीभित्र खोजी भइरहेको छ। सुरक्षा निकायका अनुसार खोजी अभियानमा हाल १ सय ७६ जना सुरक्षाकर्मी खटिएका छन्।

नेपाली सेनाले दुर्घटनास्थलदेखि बर्दियासम्म फैलिएको कर्णाली नदी क्षेत्रमा करिब ७० जना सैनिक परिचालन गरेको छ। त्यस्तै सशस्त्र प्रहरी बलका ३६ जना गोताखोरसहितको टोली र नेपाल प्रहरीका ७० जना उद्धारकर्मी निरन्तर खोजीमा जुटिरहेका छन्।

दुर्घटनाग्रस्त गाडीमा कति जना सवार थिए भन्ने यकिन विवरण अझै खुल्न सकेको छैन। यातायात व्यवसायीको अभिलेखमा पाँच जनाले टिकट काटेको देखिए पनि बीच बाटोबाट थप यात्रु चढेको हुन सक्ने सुरक्षा निकायको अनुमान छ। त्यसैले यात्रुको वास्तविक संख्या पुष्टि गर्न प्रहरीले विभिन्न माध्यमबाट विवरण संकलन गरिरहेको जनाएको छ। लगातारको खोजी अभियानका बाबजुद गाडी र यात्रुको अवस्था अज्ञात रहँदा परिवारजन चिन्तित बनेका छन्। सुरक्षा निकायले भने सम्भावित सबै क्षेत्रमा खोजी जारी रहने र उपलब्ध सबै स्रोत–साधन प्रयोग गरेर उद्धार अभियानलाई निरन्तरता दिइने जनाएको छ।

उद्धारमा सरकारी लापरवाही

बिहानको समयमा भएको दुर्घटना समयमै सबै निकायले जानकारी पाइसकेका थिए। नदीमा डुबेको गाडी र यात्रुको उद्धार सहज तरिकाले सम्भव थिएन। तत्काल हेलिकोप्टरबाट गोताखोर टिम त्यहाँ पुर्याएर उद्धारमा खटाइहाल्नुपर्थ्यो। त्यसो गरिएन। बिहान ११ बजे गाडी नदीमा डुबेकामा सुर्खेतबाट गाडीमै गोताखोर टिम बेलुका ५ बजे घटनास्थल पुग्यो। त्यति बेलासम्म त नदीले गाडी र यात्रुहरूलाई कहाँ लग्यो लग्यो! स्थानीय पुरन आचार्यले भने, 'साँगेतडा दुर्घटनामा सरकारी लापरवाहीका कारण नदीमा डुबेका यात्रुहरूको उद्धार हुन नसकेको हो। उनीहरूको सासको त आशा छैन नै, अब त लास पनि फेला नपर्ने अवस्था छ।'

दुर्घटनाकै दिन संघीय सरकारका ऊर्जामन्त्री विराजभक्त श्रेष्ठ कर्णालीको आकाशमै विभिन्न कार्यक्रमका लागि डुलिरहेका थिए। उनी डोल्पाको जगदुल्ला हाइड्रोको निरीक्षण गर्न गएका थिए। प्रहरीले घटना भएको केही छिनमै सुर्खेतबाट सशस्त्र प्रहरीको गोताखोर टोली घटनास्थल पठायो। प्रदेश प्रहरी प्रमुख डीआईजी जयराज सापकोटा, सशस्त्र प्रहरी बलका डीआईजी कृष्ण पाठक पनि गोताखोरसँगै घटनास्थल पुगे। संघीय सरकारका मन्त्री आकाशमा हेलिकोप्टरमा घुमिरहेका बेला गोताखोर टोलीलाई घटनास्थल पठाउन हेलिकोप्टर पाइएन।

गाडीबाट घटनास्थल गोताखोर पुग्न ५ घण्टा लाग्यो। साढे ११ बजे सुर्खेतबाट गोताखोर टोलीसहित नेपाल प्रहरी राजमार्ग सुरक्षा तथा ट्राफिक व्यवस्थापन कार्यालय प्रमुख एसपी मुकुन्दप्रसाद रिजालसहितको टोली साढे ४ बजे घटनास्थल पुग्यो।

नेपाल प्रहरी राजमार्ग सुरक्षा तथा ट्राफिक व्यवस्थापन कार्यालय प्रमुख एसपी मुकुन्द रिजालले भने, 'दुर्घटनास्थलमा राजमार्ग पनि चौडा छ। दुर्घटना हुनेजस्तो ठाउँ पनि छैन। राम्रो ठाउँमै भयो दुर्घटना। प्रहरीले दुर्घटना कसरी भयो भन्ने अनुमान नै लगाउन सकेको छैन। पहिले पनि त्यसै ठाउँबाट ट्याक्टर खसेर दुई जना फेला नपरेको भन्ने कुरा पनि सुनियो।' स्थानीय भन्छन्, 'गोताखोर टोली समयमै घटनास्थल पुगेको भए उद्धार कार्य चाँडै नै हुने थियो। बिहान ११ बजे भएको दुर्घटनामा बेलुका ५ बजे गोताखोर टोली घटनास्थल पुग्यो। कसरी भेटिऊन् नदीमा बगेका मानिसहरू! बर्खाको भेलले बगाएर टाढै पनि पुर्याएको हुन सक्छ। उनीहरू अब जीवित त फेला पर्ने सम्भावना छैन, लास पनि भेटिन मुस्किल छ।'

कर्णालीमा जहिल्यै दुर्घटना

नेपाल प्रहरी राजमार्ग सुरक्षा तथा ट्राफिक व्यवस्थापन कार्यालयको तथ्यांक अनुसार कर्णालीमा वर्षेनी सयौँ नागरिकहरूको सडक दुर्घटनाबाटै ज्यान जान्छ। प्रदेशभर दैनिक औसत ३.३८ वटा सवारी दुर्घटना हुने गरेका छन् भने हरेक दिन करिब ६.५ जना घाइते हुन्छन्। अझ पीडादायी तथ्य त के छ भने प्रत्येक तीनदेखि चार दिनको अन्तरालमा एक जनाले सडकमै ज्यान गुमाइरहेका छन्।

कर्णालीमा पछिल्लो समय सडक सञ्जाल विस्तारसँगै दुर्घटनाको जोखिम झन् बढ्दै गएको छ। प्रहरीका अनुसार प्रदेशमा आर्थिक वर्ष २०७९/८० मा ५ सय ४९ दुर्घटना भएका थिए। त्यसमा १ सय ३१ जनाको मृत्यु भयो। आर्थिक वर्ष २०८०/८१ मा दुर्घटना संख्या बढेर १ हजार ८६ पुग्दा १ सय १२ जनाको मृत्यु भयो। आर्थिक वर्ष २०८१/८२ मा दुर्घटना संख्या ९ सय ६८ मा झरे पनि मृत्यु संख्या बढेर १ सय ३९ पुग्यो। चालू आर्थिक वर्ष २०८२/८३ को जेठ मसान्तसम्म मात्र १ हजार १ सय १५ दुर्घटनामा १ सय २३ जनाले ज्यान गुमाएका छन्।

कर्णालीमा हाल ९ हजार ७ सय १५.६६ किलोमिटर सडक सञ्जाल विस्तार भएको छ। तर त्यसमध्ये जम्मा १ हजार ३ सय ८४ किलोमिटर मात्र कालोपत्रे छ। बाँकी अधिकांश सडक ग्राभेल र कच्ची छन्। यही कमजोर सडक संरचनामाथि तीव्र गति, लापरवाही र कमजोर अनुगमन थपिँदा दुर्घटनाले भयावह रूप लिएको देखिन्छ। प्रदेश प्रहरी प्रमुख डीआईजी जयराज सापकोटाले भने, "कर्णालीमा भौगोलिक विकटता र यातायात असहजताका कारण दुर्घटना हुँदा उद्धार गर्न समस्या छ। भीरालो भूगोल, कमजोर पूर्वाधार र लामो समय स्तरोन्नति नभएका सडकहरू नै दुर्घटनाका कारण हुन्। कर्णाली राजमार्ग दुई लेनको नबनेसम्म जोखिम बढ्दो छ। सवारी साधनको बढ्दो चाप र बिग्रँदो सडकको अवस्थाले यात्रुहरूलाई सधैँ सास्ती भइरहेको छ।"

दुर्घटनाको विगतलाई सम्झँदा....

२०८१ साल कात्तिक २५ गते कालीकोटको पलाता गाउँपालिका-५ खिनदेखि थिर्पुतर्फ जाँदै गरेको कर्णाली प्रदेश ००१ ज ५६ नम्बरको जिप वडा नम्बर ३ को राडु भन्ने स्थानमा अनियन्त्रित भई दुर्घटना भयो। उक्त दुर्घटनामा ७ जनाले ज्यान गुमाए भने १३ जना घाइते भए। २०७१ साल चैत २ गते जुम्लाबाट कालिकोटका लागि छुटेको ना४ ख ४९७० नम्बरको बस राजमार्गको जुम्लाको रारालिहीमा दुर्घटना हुँदा १८ जना यात्रीको ज्यान गयो भने १५ यात्री घाइते भए।

२०६९ साल फागुन १६ गते कालीकोटको खाँडाचक्र नगरपालिकास्थित सेरावाडा नजिकै पर्ने बिर्तामोडमा भएको दुर्घटनामा चालकसहित २८ जनाको ज्यान गएको थियो। २०६६ साल चैत ५ गते कर्णाली राजमार्गको दैलेख खण्डमा पर्ने किटुभीरमा अहिलेसम्मकै सबैभन्दा ठूलो दुर्घटना भयो। कालिकोटको शुभकालिका गाउँपालिकास्थित जिते बजारबाट सुर्खेत जाँदै गरेको काँक्रेविहार यातायात व्यवसायी समितिको ना ३ ख ५८६८ नं. को यात्रुबाहक बस सडकबाट चट्टानमा ठोक्किएर कर्णाली नदीमा खस्दा ४१ जनाको घटनास्थलमै ज्यान गयो। ३७ जनाको शव भेटियो भने ४ जना अझै बेपत्ता छन्। घटनामा १० जना घाइते भएका थिए।

कर्णाली राजमार्गमा दुर्घटना र यात्री मृत्युका यी घटनाहरूले सबैलाई शोकमा डुबाएका हुन्। २०६२ सालमा नेपाली सेनाले कर्णाली राजमार्गको दैलेख साइगाउँदेखि कालिकोटको राचुली छिडेनासम्म करिब ८८ किलोमिटर निर्माण गरेको थियो। सुर्खेतदेखि दैलेख खिड्कीज्यूलासम्मको १ सय २६ किलोमिटर सडक विश्व बैंकको सहयोगमा सडक विभागले निर्माण गरेको हो। कर्णाली प्रदेश राजधानी सुर्खेतबाट साविकको कर्णाली अञ्चलका जिल्ला जोड्ने कर्णाली राजमार्ग निर्माणको दुई दशकमा यात्रीलाई सुविधाभन्दा बढी सास्ती बनेको छ। वर्षेनी हुने दुर्घटनाले राजमार्गलाई मृत्युमार्गका रूपमा चित्रण गर्न थालिएको छ।

चट्टानी भीरमा साँघुरो सडक, सडकमा परेका खाल्डाखुल्डी, हिलाम्मे सडक लगायतका कारण कर्णाली राजमार्गमा बढी दुर्घटना हुने गरेको सरोकारवालाहरूको भनाइ छ। दैलेखको खिड्कीज्यूलायता दैलेखमा ९ किलोमिटर, कालिकोट खण्डमा पर्ने ७६ किलोमिटर र जुम्लामा पर्ने ३० किलोमिटर सडक खण्डको स्तरोन्नति नहुँदा यात्री जोखिमपूर्ण यात्रा गर्न बाध्य छन्। जुम्लादेखि कालिकोटको दहीखोलासम्म डिभिजन सडक कार्यालय जुम्ला र सुर्खेतदेखि दहीखोलासम्म डिभिजन कार्यालय सडक सुर्खेतको क्षेत्राधिकारमा पर्छ।  

सडक बिग्रेका ठाउँमा मर्मत गर्ने, पहिरो हटाउने र सानातिना काम गर्नेबाहेक यी कार्यालयहरूले ठोस काम केही गर्न सकेका छैनन्। राजमार्गको स्तरवृद्धि नभएकै कारण कर्णालीको आर्थिक, सामाजिक तथा पर्यटन विकास हुन नसकेको स्थानीयको भनाइ छ। यहाँको नेतृत्वको पहुँच संघीय सरकारसम्म नपुग्दा कर्णाली राजमार्गको स्तरोन्नतिको कार्य ओझेलमा परेको यहाँको बुझाइ छ।  

सवारी साधनको चाप बढ्दै

कर्णाली प्रदेशमा सवारी साधनहरूको चाप बढिरहेको छ। प्रहरीको तथ्यांक अनुसार यो प्रदेशमा अहिले ४१ हजार ३ सय ८२ सवारी साधन दर्ता छन्। तीमध्ये करिब ७३ प्रतिशत मोटरसाइकल मात्रै छन्। यही कारण दुर्घटनामा संलग्न हुने सवारीमध्ये पनि मोटरसाइकलको हिस्सा सबैभन्दा बढी अर्थात् ४७ प्रतिशत पुगेको छ। त्यसपछि जिप–कार १७ प्रतिशत, अटो तथा टेम्पो १४ प्रतिशत, ट्र्याक्टर ७ प्रतिशत, माइक्रो तथा फोर्स ६ प्रतिशत र बस ३ प्रतिशत रहेका छन्।

जिल्ला अनुसार दुर्घटनाको केन्द्र सुर्खेत बनेको छ। चालू आर्थिक वर्षमा भएका कुल दुर्घटनामध्ये ५८ प्रतिशत सुर्खेतमै भएका छन्। त्यसपछि रुकुम पश्चिम १२ प्रतिशत, दैलेख ७ प्रतिशत, सल्यान ६ प्रतिशत, जाजरकोट ५ प्रतिशत, जुम्ला ४ प्रतिशत, कालिकोट ३ प्रतिशत रहेका छन् भने मुगु, डोल्पा र हुम्लामा पनि उल्लेख्य दुर्घटना भएका छन्। मृत्युको तथ्याङ्क हेर्दा सुर्खेतमा मात्रै ३७ जनाले ज्यान गुमाएका छन् भने सल्यानमा २१, रुकुम पश्चिममा २०, कालिकोटमा १३ र जाजरकोटमा ९ जनाको मृत्यु भएको छ।

दुर्घटनाका कारण अझ डरलाग्दा छन्। ट्राफिक प्रहरीका अनुसार कुल दुर्घटनामध्ये ६५ प्रतिशत दुर्घटना तीव्र गतिका कारण भएका छन्। त्यसपछि ब्रेक फेल ११ प्रतिशत, मादक पदार्थ सेवन ५ प्रतिशत, चालक अनुमतिपत्र बिना सवारी चलाउनु ५ प्रतिशत, पैदलयात्रीको गल्ती ४ प्रतिशत, सडकको खराब अवस्था ४ प्रतिशत, यात्रुको असावधानी ३ प्रतिशत, ओभरटेक २ प्रतिशत तथा मौसम र जनावरका कारण पनि दुर्घटना भएका छन्।

यसले दुर्घटनाको मुख्य कारण सडकको दुरावस्था र मानवीय लापरवाही नै रहेको स्पष्ट देखाउँछ। समयका हिसाबले हेर्दा दिउँसो १२ बजेदेखि साँझ ६ बजेसम्म सबैभन्दा बढी अर्थात् ४७ प्रतिशत दुर्घटना भएका छन्। बिहान ६ देखि १२ बजेसम्म २४ प्रतिशत, साँझ ६ देखि मध्यरातसम्म २६ प्रतिशत र मध्यरातदेखि बिहान ६ बजेसम्म ३ प्रतिशत दुर्घटना भएका छन्। कर्णाली राजमार्गमा सडकको अवस्थाकै कारण राति ६ बजेदेखि बिहान ६ बजेसम्म यातायात सञ्चालनमा रोक लगाइएको छ।

दुर्घटना न्यूनीकरणमा प्रहरीको सक्रियता

कर्णालीमा सडक दुर्घटना न्यूनीकरणका लागि प्रहरीले सक्रियता बढाएको छ। कर्णाली प्रदेशमा बढ्दो सडक दुर्घटनालाई न्यूनीकरण गर्न नेपाल प्रहरी राजमार्ग सुरक्षा तथा ट्राफिक व्यवस्थापन कार्यालय सुर्खेतले बहुआयामिक अभियान सञ्चालन गरिरहेको छ। सीमित जनशक्ति र स्रोतसाधनका बाबजुद ट्राफिक प्रहरीले जनचेतना अभिवृद्धि, ट्राफिक नियमको कडाइका साथ कार्यान्वयन तथा प्रविधिको प्रयोगमार्फत दुर्घटना नियन्त्रणलाई प्राथमिकतामा राखेको छ।

चालू आर्थिक वर्ष २०८२/८३ को जेठ मसान्तसम्म प्रदेशभर ६ हजार ८ सय २५ पटक ट्राफिक सचेतना कार्यक्रम सञ्चालन गरिएको छ। यी कार्यक्रमबाट ४ लाख ५४ हजार ६ सय ८३ जना विद्यार्थी, चालक, सहचालक, यात्रु तथा सर्वसाधारण प्रत्यक्ष रूपमा लाभान्वित भएका छन्। विद्यालय, कलेज, सार्वजनिक यातायात, चालक अनुमति पत्रको लिखित परीक्षा दिने प्रशिक्षार्थी तथा विभिन्न समुदायलाई लक्षित गरी ट्राफिक नियम, सुरक्षित यात्रा, हेल्मेट र सिटबेल्टको प्रयोग, गति नियन्त्रण तथा सडक सुरक्षासम्बन्धी नियमित प्रशिक्षण सञ्चालन गरिएको छ।

प्रहरीले जनचेतना मात्र होइन, नियम कार्यान्वयनलाई पनि प्रभावकारी बनाएको छ। नियमित मादक पदार्थ सेवन (मापसे) तथा लागूपदार्थ सेवन परीक्षण, राडार गनमार्फत सवारीको गति मापन, अतिरिक्त सिट हटाउने अभियान, अस्पष्ट नम्बर प्लेट सच्याउने, अनधिकृत झल्लर, बल्ब तथा सजावट हटाउने, विद्यालय बसको प्राविधिक परीक्षण, चालक तथा सहचालकको स्वास्थ्य परीक्षण, महिला अटो चालकलाई सुरक्षा ज्याकेट वितरण तथा सामाजिक सञ्जालबाट प्राप्त गुनासोको तत्काल सुनुवाइजस्ता अभियान निरन्तर सञ्चालन भइरहेका छन्। ट्राफिक प्रहरीले प्रदेशभर ६५ वटा दुर्घटना बढी हुने ‘ब्ल्याक स्पट’ पहिचान गरी सम्बन्धित निकायलाई सुधारका लागि सुझाव दिएको छ।

प्रहरी उपरीक्षक मुकुन्दप्रसाद रिजालका अनुसार सडक दुर्घटना न्यूनीकरणका लागि प्रहरीको प्रयास मात्र पर्याप्त हुँदैन। सुरक्षित सडक, प्रभावकारी पूर्वाधार, कडा कानुनी कार्यान्वयन, स्थानीय सरकार, सडक विभाग, यातायात कार्यालय, सञ्चारमाध्यम तथा नागरिक सबैको साझा जिम्मेवारी र सहकार्य आवश्यक रहेको छ। उनका अनुसार सचेतना अभियानका कारण नियम पालना गर्ने प्रवृत्ति बढेको छ। तर सडकमा अझै पनि तीव्र गति, जोखिमपूर्ण ओभरटेक, हेल्मेट तथा सिटबेल्टको बेवास्ता र मापसे गरी सवारी चलाउने समस्या पूर्ण रूपमा नियन्त्रणमा ल्याउन सकिएको छैन।

दुर्घटना न्यूनीकरण गर्न प्रदेश सरकारको पहल

कर्णालीमा बढ्दो सडक दुर्घटनालाई न्यूनीकरण गर्न प्रदेश सरकारको पनि चासो बढेको छ। राष्ट्रिय राजमार्गहरू संघीय सरकार मातहत भए पनि तिनको स्तरोन्नति, अवरुद्ध हुँदा खुलाउने जस्ता प्रयासहरू भइरहेका छन्। प्रदेशमा सडक सञ्जाल विस्तारसँगै सवारी चाप बढे पनि सडक सुरक्षा, ट्राफिक व्यवस्थापन र उद्धार प्रणाली अपेक्षा अनुसार सुदृढ हुन नसक्दा दुर्घटनाले भयावह रूप लिइरहेको छ। यही अवस्थालाई मध्यनजर गर्दै प्रदेश सरकारले सडक सुरक्षालाई प्राथमिकतामा राखी दीर्घकालीन नीति, पूर्वाधार विकास र ट्राफिक व्यवस्थापन सुधारका क्षेत्रमा पनि चासो दिएको छ।

प्रदेश सरकारको भौतिक पूर्वाधार तथा सहरी विकास मन्त्रालयका सिनियर डिभिजनल इन्जिनियर प्रेमबहादुर वलीका अनुसार कर्णाली प्रदेशमा बढ्दो सडक दुर्घटनालाई नियन्त्रण गर्न प्रदेश सरकारले सुरक्षित सडक पूर्वाधार निर्माणदेखि चालक सचेतना, ब्ल्याक स्पट सुधार, आधुनिक ट्राफिक व्यवस्थापन र कानुनी सुधारसम्मका बहुआयामिक कार्यक्रम अघि सारेको छ। प्रदेश सरकारले सडक सुरक्षालाई उच्च प्राथमिकतामा राख्दै दुर्घटना न्यूनीकरणका लागि दीर्घकालीन योजना कार्यान्वयन गरिरहेको छ।

प्रदेश सरकारले दोस्रो पञ्चवर्षीय योजना (२०८१/८२–२०८५/८६) मार्फत सडक सुरक्षालाई केन्द्रमा राखेर सडक सञ्जाल विस्तार, हरित तथा जलवायु अनुकूल सडक निर्माण, नियमित मर्मतसम्भार, सडक सुरक्षा परीक्षण र सडक मर्मत कोष स्थापना गर्ने नीति अघि सारेको छ। दुर्घटना बढी हुने स्थान पहिचान गरी सुधार गर्ने, पहिरो तथा बाढी प्रभावित सडकको नियमित संरक्षण गर्ने र आपतकालीन उद्धार प्रणालीलाई प्रभावकारी बनाउने योजना पनि समेटिएको छ। आर्थिक वर्ष २०८३/८४ को नीति तथा कार्यक्रममा ‘सुरक्षित सडक अभियान’ सञ्चालन गरी अत्यधिक दुर्घटनाग्रस्त क्षेत्रमा विशेष सुधार गरिने उल्लेख छ। सुर्खेत, सल्यान, दैलेख, रुकुम पश्चिम र कालिकोटमा विशेष दुर्घटना न्यूनीकरण कार्यक्रम सञ्चालन गरिने, ट्राफिक संकेत, सडक बत्ती, सूचना बोर्ड, जेब्रा क्रसिङ तथा अन्य सुरक्षा पूर्वाधार विस्तार गरिने सरकारको योजना छ।

यातायात व्यवस्थापनलाई आधुनिक बनाउन विद्युतीय भुक्तानी, स्मार्ट लाइसेन्स, एकीकृत यातायात व्यवस्थापन प्रणाली, आधुनिक ट्रायल सेन्टर, सवारी परीक्षण केन्द्र तथा डिजिटल ट्राफिक निगरानी प्रणाली लागू गरिने जनाइएको छ। सार्वजनिक यातायातको वैज्ञानिक रुट निर्धारण, पारदर्शी भाडादर र नियमित अनुगमनलाई पनि प्राथमिकतामा राखिएको छ। चालक तथा परिचालकको क्षमता अभिवृद्धिका लागि व्यावसायिक तालिम, सुरक्षित सवारी सञ्चालन, सवारी मर्मत तथा यात्रुसँगको व्यवहारसम्बन्धी प्रशिक्षण सञ्चालन गरिनेछ। साथै विद्यालय, स्थानीय तह, नेपाल प्रहरी, यातायात व्यवसायी तथा समुदायसँग सहकार्य गर्दै सडक सुरक्षा सचेतना अभियानलाई निरन्तरता दिइने मन्त्रालयले जनाएको छ।

प्रदेश सरकारले सडक निर्माणमा सुरक्षा मापदण्डको पूर्ण पालना, दुर्घटनास्थलको वैज्ञानिक अध्ययन, सुरक्षित सार्वजनिक यातायात, पैदलयात्रीमैत्री पूर्वाधार तथा आधुनिक ट्राफिक व्यवस्थापनमार्फत सडक दुर्घटना न्यूनीकरण गरी नागरिकलाई सुरक्षित यात्रा सुनिश्चित गर्ने लक्ष्य लिएको छ। प्रदेश सरकारले प्रदेश मातहतका सडकको नियमित मर्मत, गुणस्तर सुधार तथा जोखिमयुक्त सडकखण्डको स्तरोन्नतिलाई योजनाबद्ध रूपमा अघि बढाउने लक्ष्य राखेको छ। साँघुरा सडक फराकिलो बनाउने, पहिरो प्रभावित क्षेत्रमा संरक्षण संरचना निर्माण गर्ने तथा सडकको नियमित अनुगमन गर्ने व्यवस्था मिलाउने सरकारको तयारी छ।


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.