४२ वटा गाडीको कालो सिसा निकालियो
झापा : झापामा पनि कालो सिसा प्रयोग गर्ने सवारीसाधन विरुद्ध ट्राफिक प्रहरीले कडा कारबाही सुरु गरेको छ। जिल्लामा हुने आपराधिक गतिविधि नियन्त्रण तथा सुरक्षा संवेदनशीलतालाई ध्यानमा राख्दै कालो सिसा प्रयोग गर्ने गाडीविरुद्ध कारबाही थालिएको जिल्ला ट्राफिक प्रहरी कार्यालय झापाका प्रमुख तथा प्रहरी निरीक्षक सन्तोष राईले बताए।
जिल्लामा चलाएको अभियानअन्तर्गत ३ दिनमा ४२ वटा चार पाङ्ग्रे सवारीको कालो सिसा निकालिएको उनले बताए। उनका मंगलबार १५ वटा, बुधबार ९ वटा र बिहीबार १८ वटा गाडीको कालो सिसा निकालिएको हो। साथै विभिन्न सवारीसाधन चालकहरू पनि कालो सिसा प्रयोग नगर्न र प्रयोग भएका सवारी साधनहरूलाई अनिवार्य सेतो सिसा राख्न अनुरोध गरिएको उनको भनाइ छ।
कालो सिसा प्रयोग गरेर हतियार, लागूऔषध, सुन तथा अवैध मुद्राको ओसारपसार गर्ने तथा फरार अपराधीहरू लुकिछिपी हिँड्ने गरेको पाइएपछि ट्राफिक प्रहरी एक्सनमा उत्रिएको बताइएको छ। त्यस्तै कालो सिसा प्रयोगका कारण विभिन्न हिंसाजन्य र दुर्व्यवहारका घटनाहरू बढ्न थालेका थिए।
सवारी तथा यातायात व्यवस्था ऐन, २०४९ को दफा ३९ अनुसार सवारीधनीले अधिकार प्राप्त अधिकारीको स्वीकृति नलिई सवारीको रंग, सिट सङ्ख्या, स्वरूप, इन्जिन वा चेसिसमा परिवर्तन हुने गरी सवारीमा हेरफेर गर्न नपाइने व्यवस्था गरेको जनाइएको छ। साथै जिल्ला विभिन्न पालिकामा खटिएका ट्राफिक प्रहरीहरूले पनि सवारी नियम उल्लङ्घन गर्नेहरूमाथि कडाईका साथ अभियान चलाइरहेको जनाइएको छ।
प्रतिक्रिया दिनुहोस !