बकपत्र फेरेपछि घुस दिने तीनजनाविरुद्ध अख्तियारले हाल्यो मुद्दा
काठमाडौं : अख्तियार दुरुपयोग अनुसन्धान आयोगले विशेष अदालतमा प्रतिकूल बकपत्र गरेको आरोपमा तीन जनाविरुद्ध भ्रष्टाचार मुद्दा दायर गरेको छ।
आयोगका अनुसार विशेष अदालत काठमाडौंमा दर्ता भएको घुस/रिसवत सम्बन्धी मुद्दामा सरकारी साक्षीका रूपमा प्रस्तुत गरिएका विप्लव पोख्रेल,प्रल्हाद गौतम र राजेश श्रेष्ठले अनुसन्धानका क्रममा दिएको बयानविपरीत अदालतमा बकपत्र गरेका थिए।
अनुसन्धानबाट उनीहरूले प्रतिवादी ढुण्डिराज दाहाललाई भुक्तानी प्रक्रियामा सहजीकरण गरिदिने भन्दै घुस दिएको कार्य पुष्टि भएको आयोगको दाबी छ। आयोगले भ्रष्टाचार निवारण ऐन, २०५९ अनुसार उनीहरूविरुद्ध आज विशेष अदालत काठमाडौंमा आरोप-पत्र दायर गरेको जनाएको छ।
आयोगका अनुसार विप्लव पोख्रेलले विभिन्न कम्पनीका तर्फबाट कूल ५६ हजार ३५० रुपैयाँ, प्रल्हाद गौतमले ३७ हजार ५०० रुपैयाँ तथा राजेश श्रेष्ठले २७ हजार ३५० रुपैयाँ घुस दिएको खुल्न आएको छ।
पोखरेल स्याङ्जा पुतलीबजार नगरपालिका वडा नम्बर ७ का स्थानीय हुन् भने गौतम मकवानपुरक उपमहानगरपालिका वडा नम्बर ६ का हुन्। श्रेष्ठ सिन्धुपाल्चोक त्रिपुरासुन्दरी गाउँपालिका वडा नम्बर ५ का बासिन्दा हुन्।
घुस दिएको रकम बराबर उनीहरूविरुद्ध बिगो कायम गरी कैद,जरिवाना तथा बिगो जफतको मागदाबीसमेत गरिएको आयोगले जनाएको छ।
प्रतिक्रिया दिनुहोस !