शिक्षा सचिव पौडेलले अनसनरत डा. गोविन्द केसीलाई भेटे, मागबारे भोलि छलफल हुने
धनगढी : शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयका सचिव चूडामणि पौडेलले सेती प्रादेशिक अस्पतालको आईसीयूमा अनसनरत वरिष्ठ चिकित्सक डा. गोविन्द केसीलाई भेटेका छन्। भेटका क्रममा डा. केसीले अघि सारेका मागबारे छलफल भएको र ती मागका विषयमा भोलि विस्तृतमा सम्बन्धित निकायसँग आवश्यक छलफल गरिने बताइएको छ।
डा. केसीले शहीद दशरथ चन्द स्वास्थ्य विज्ञान विश्वविद्यालयसँग सम्बन्धित तीन बुँदे माग अघि सार्दै अनसन जारी राखेका छन्। उनको पहिलो माग विश्वविद्यालयमा आवश्यक दरबन्दी व्यवस्थासहित ३०० शय्याको शिक्षण अस्पताल तत्काल सञ्चालन गर्नुपर्ने रहेको छ। त्यस्तै, चालु शैक्षिक सत्रभित्रै एमबीबीएससहित मेडिकल शिक्षाको पठनपाठन सुरु गर्नुपर्ने उनको दोस्रो माग हो।
तेस्रो मागमा विश्वविद्यालयका उपकुलपति र रजिस्ट्रारको नियुक्ति स्वार्थ बाझिने गरी गरिएको दाबी गर्दै ती नियुक्ति तत्काल बदर गर्नुपर्ने उल्लेख गरिएको छ। डा. केसीले चिकित्सा शिक्षा सुधार र सुदूरपश्चिममा गुणस्तरीय स्वास्थ्य सेवा विस्तारका लागि यी माग तत्काल सम्बोधन हुनुपर्ने बताएका छन्।
सचिव पौडेलले डा. केसीको स्वास्थ्य अवस्थाबारे जानकारी लिँदै सरकार मागका विषयमा संवेदनशील रहेको बताए। उनले शिक्षा, स्वास्थ्य तथा सम्बन्धित निकायबीच समन्वय गरी मागको सम्बोधनका लागि आजै छलफल सुरु गरिने जानकारी दिएको स्रोतले जनाएको छ।
यसैबीच, अस्पतालका चिकित्सकका अनुसार डा. केसीको स्वास्थ्य अवस्था निरन्तर निगरानीमा राखिएको छ। आवश्यक उपचार र स्वास्थ्य परीक्षण भइरहेको तथा चिकित्सकहरूको टोलीले नियमित रूपमा स्वास्थ्य अवस्थाको मूल्यांकन गरिरहेको सेती प्रादेशिक अस्पतालका मेसु डा हेमराज पाण्डेले जानकारी दिए। डा केसीको उपचारका लागि फिजिसियन डाक्टर डा गजेन्द्र दुवाललाई तोकिएको छ।
डा. केसीले चिकित्सा शिक्षा सुधार, सरकारी स्वास्थ्य संस्थाको सुदृढीकरण तथा सर्वसाधारणको गुणस्तरीय स्वास्थ्य सेवामा पहुँच सुनिश्चित गर्नुपर्ने माग राख्दै विगतदेखि नै विभिन्न चरणमा आन्दोलन गर्दै आएका छन्। यसपटक पनि शहीद दशरथ चन्द स्वास्थ्य विज्ञान विश्वविद्यालयको प्रभावकारी सञ्चालन र मेडिकल शिक्षाको विस्तारलाई मुख्य एजेन्डा बनाउँदै डा केसी धनगढीको राधाकृष्ण मन्दिरमा बिहीबारदेखि अनसनमा बसेका थिए। उनको स्वास्थ्यमा समस्या आएपछि सेती प्रादेशिक अस्पतालको आईसियुमा भर्ना गरिएको हो।
प्रतिक्रिया दिनुहोस !