अब धार्चेको केन्द्रसम्म हिउँद बर्खै मोटर चल्ने
गोरखा : हिउँदका केही महिनामात्र मोटर चल्ने गोरखाको दुर्गम धार्चे गाउँपालिकामा अब हिउँद बर्खै सवारी साधन चल्ने भएको छ। बर्खामा यातायातका साधन रोकिने नौलीखोलामा मोटरेबल पुल निर्माण भएपछि अब धार्चेको केन्द्रसम्म दुवै सिजनमा सवारी साधन चल्ने भएको हो।
बेनिघाट–आरुघाट–लार्के सडकको धार्चे –७ स्थित नौलीखोलामा हालै निर्माण सम्पन्न भएको छ। गाउँपालिकाका अध्यक्ष लक्ष्मण गुरुङले सो पुलको उद्घाटन गरेका छन्। गण्डकी प्रदेश भौतिक पूर्वाधार मन्त्रालयबाट विनियोजित चार करोड ३४ लाख रुपैयाँ लागतबाट सो पुल निर्माण भएको हो। पूर्वाधार विकास कार्यालय गोरखाले सो कार्यक्रम कार्यान्वयन गरेको थियो।
पुल निर्माण सम्पन्न भएपछि उत्तरी गोरखा पुग्ने स्थानीय तथा आन्तरिक एवं बाह्य पर्यटकलाई वर्षभर सवारी आवागमनमा सहज हुने भन्दै गाउँपालिकाका अध्यक्ष लक्ष्मण गुरुङले खुशी व्यक्त गरेका छन्। हिउँद बर्खै पुल संचालनमा आएपछि अब धार्चे र चुमनुब्री गाउँपालिकाका बासिन्दाले बर्खाका लागि हिउँदै दिनमा खाद्यान्न तथा अन्य अत्यावश्यकीय सामग्री संकलन गरेर राख्न नपर्ने गुरुङले बताए। साथै बर्खाका बेला खाद्यान्न तथा अन्य सामग्रीका लागि चर्को मूल्य तिर्नुपर्ने बाध्यता पनि हटेको उनको भनाइ छ।
३५ मिटर लम्बाइ र ८.४० मिटर चौडाइको उक्त पुल प्रिस्ट्रेस प्रविधिमा निर्माण भएको छ। निर्माण कम्पनीले केही दिनअघि मात्र पुल निर्माणको काम सम्पन्न गरेको कार्यालयको भनाइ छ। नौली खोला पुल निर्माणका लागि २०७० साउन २३ गते सूर्योदय कन्स्ट्रक्सन कम्पनी प्रालिसँग चार करोड ३४ लाख ७५ हजार ३५ रुपैयाँ लागतमा ठेक्का सम्झौता भएको पूर्वाधार विकास कार्यालय गोरखाले जनाएको छ। २०८१ साउन २२ गते पुल निर्माण सम्पन्न गर्नुपर्ने सम्झौता भए पनि २०८३ साउन २२ गतेसम्मका लागि पुनः म्याद थप गरिएको थियो।
प्रतिक्रिया दिनुहोस !