प्यूठान : गौमुखी गाउँपालिका प्यूठानले ‘एक घर, एक धारा’ कार्यक्रमलाई अभियानका रूपमा अघि सारेको छ। सामूहिक धारालाई घरघरमा वितरण गर्ने गरी कार्यक्रम अघि सारिएको हो। ‘गाउँपालिकाका ८५ प्रतिशत घरधुरीमा सामुदायिक धारामार्फत टोलटोलमा खानेपानी सुविधा पुर्याइएको थियो,’ गाउँपालिकाका अध्यक्ष विष्णुकुमार गिरीले भने, ‘प्रत्येक घरमा धारा पुर्याउने गरी अभियानका रूपमा काम गरिरहेका छौं।’ अभियानले गाउँवासीहरूमा शुद्ध खानेपानीको सुविधा पुग्ने र अपनत्व बढ्दा स्थानीयले धारा तथा मुहानको संरक्षण गर्ने उनले विश्वस व्यक्त गरे।
बस्तीको नजिक मूल नभएको ठाउँमा लिफ्टमार्फत खानेपानी योजना सञ्चालन गरिएको गाउँपालिकाका उपाध्यक्ष महावीर रानाले बताए। ‘धेरै बस्तीहरूमा खानेपानीको मुहान् छन्’, उनले भने, ‘नजिक मूल नभएको ठाउँमा लिफ्टमार्फत योजना सञ्चालनमा ल्याएका छौं।’ वडा नं. ७ नारिकोटमा लिफ्टमार्फत घरघरमा धारा जडान हुने गरी योजना कार्यान्वयनमा रहेको उनले उल्लेख गरे।
हालसम्म गरी १ हजार ५४५ धरधुरीमा एक घर एक धारा सुविधा पुगेको गाउँपालिकाका इन्जिनियर शिव पुनले बताए। ‘गाउँपालिका, नेवा कार्यक्रमलगायत नियकासँगको साझेदारीमा खानेपानी आयोजना कार्यान्वयनमा छन्’, उनले भने, ‘गाउँपालिकामार्फत करिब ७००, लिफ्टमार्फत २५० र नेपाल स्वास्थ्यका लागि पानी (नेवा) कार्यक्रमको साझेदारीमा ५९५ घरधुरीमा धारा निर्माण भएका छन्।’
घरघरमा धारा निर्माण भए पनि दैनिकीमा समेत सहजता भएको गौमुखी गाउँपालिका–३ रजवाराका प्रेमबहादुर घर्ती मगरले बताए। ‘बाबुबाजेका पालकामा खोलाबाट पानी लिएर खानुपर्दथ्यो’, उनले भने, ‘हाम्रा पालमा टोलटोलमा आयो, अहिले घरघरमा धारा निर्माण भएका छन्।’
धारा निर्माणले पानी लिन टाढा जानुपर्ने बाध्यता हटेको रजवाराकी शान्ति घर्तिमगरले बताइन्। ‘नुहाउन, कपडा धुन सजिलो भएको छ।’, उनले भनिन्, ‘पानी भएपछि तरकारी खेतीमा समेत सहयोग पुगेको छ।’ घरघरमा धारा जडान भए पनि यहाँका स्थानीयले करेसावारीमार्फत तरकारी खेती गर्न थालेको उनले बताइन्।
घरघरमा धारा निर्माण भएपछि यहाँका स्थानीयलाई व्यक्तिगत तथा घरायसी सरसफाइमा सहयोग पुगेको छ। भाँडा माझ्ने छुट्टै स्थान बनाएका छन् भने भाँडा सुकाउने चाङ बनाउने गरेका छन्। गाउँपालिकामा ४ हजार ७ सय ८५ घरधुरी रहेका छन्।
पूर्ण संस्थागत प्रसूति सुनिश्चित गर्दै गाउँपालिका
दुर्गम मानिने प्यूठानको गौमुखी गाउँपालिकाले चुनौतीहरूको सामना गर्दै पूर्ण संस्थागत प्रसुति सुनिश्चिततालाई निरन्तरता दिँदै आएको छ। गत वर्ष यस्तो घोषणा गरिएकोमा यस वर्ष पनि चुनौतीका बीच यसलाई सुनिश्चितता तथा दिगोपना दिन गाउँपालिकाले विभिन्न अभ्यासहरू गर्दै आएको छ।
आर्थिकवर्ष २०७९/८० मा दुईवटा वडाबाट शुरु भएको अभियानलाई पालिका हुँदै निरन्तरता दिइँदै आएको स्वास्थ्य शाखाका प्रमुख हरिप्रसाद जैसीले बताए। ‘मातृ तथा शिशु मृत्युदर घटाउने, गर्भवती महिलाको नियमित स्वास्थ्य जाँच, नियमित आइरन चिक्की लिने, स्वास्थ्य संस्थामै सुत्केरी हुने र प्रसूतिपश्चात् नियमित जाँचमा अभियान अन्तर्गत जोड दिइएको छ,’ उनले भने।
२०८२ जेठ ३१ गते गौमुखी गाउँपालिका प्यूठानलाई पूर्ण स्वास्थ्य संस्थामा प्रसूति सुनिश्चित भएको पालिका घोषणा गरिएको हो। लुम्बिनी प्रदेश सरकारले पूर्णतया स्वास्थ्य संस्थामा प्रसूति भएको पालिका घोषणा निर्देशिकाको मापदण्डबमोजिम पालिका घोषणा गरिएको गाउँपालिकाले जनाएको छ। भौगोलिक अवस्थाका कारण अभियानलाई निरन्तरता दिन कठिनाइ हुने देखिएपछि गाउँपालिकाले प्रसूतिका लागि निःशुल्क यातायात सेवा उपलब्ध गराउँदै आएको छ। ‘यातायातका कारण गर्भवती अस्पताल पुग्न सकेका थिएनन्।’, गौमुखी गाउँपालिकाका अध्यक्ष विष्णु कुमार गिरीले भने, ‘स्वास्थ्य संस्थासम्म पुग्न र स्वास्थ्य संस्थाले उपल्लो निकायमा रिफर गरेमा अस्पतालसम्म पुग्न गाउँपालिकाबाट यातायात सुविधा उपलब्ध गराउँदै आएका छौं।’
अभियानलाई निरन्तरता दिनका लागि स्वास्थ्यकर्मी, महिला स्वास्थ्य स्वयंसेविका, आमा समूहहरूको क्षमता विकासका कार्यक्रम सञ्चालन गर्दै आएको गाउँपालिकाका उपाध्यक्ष महावीर रानाले बताए। ७ वटा वडा रहेको गाउँपालिकामा ८ वटा स्वास्थ्य संस्थामा तालिम प्राप्त स्वास्थ्यकर्मीबाट ‘बर्थिङ सेन्टर’ सञ्चालनमा रहेको उनले बताए।
अभियानसँगै गर्भवती समयमा स्वास्थ्य संस्था नगए पनि हुने बताउने यहाँका महिलाहरू अहिले गर्भवती र सुत्केरी समयमा नियमित स्वास्थ्य जाँच गर्न थालेको महिला स्वास्थ्य स्वयंसेविका सावित्रा रोका विष्टले बताइन्। अभियानलाई दिगोपना राख्नका लागि महिला स्वास्थ्य स्वयंसेविकासँगै स्वास्थ्यकर्मी, स्वास्थ्य संस्था प्रमुखको महत्वपूर्ण भूमिका रहन्छ। आवश्यक स्रोतसाधनको जोहो गर्न स्वास्थ्य संस्था प्रमुखले भूमिका निर्वाह गरेमा अभियानलाई निरन्तर कायम राख्न सकिने खुङ स्वास्थ्यचौकीका प्रमुख दुर्गा रिजालले बताए।
तालिम प्राप्त स्वास्थ्यकर्मीले स्वास्थ्य संस्थाबाट २४ सै घण्टा प्रसूति सेवा दिँदै आएका छन्। एउटै नर्सिङ स्टाफले २४ घण्टा सेवा दिनुपरेकाले दक्ष स्वास्थ्यकर्मी र सहायक स्तरको कर्मचारी दरबन्दी थप गर्दा सेवा थप प्रभावकारी हुने नर्सिङ स्वास्थ्यकर्मी उषा सुवेदी बताउँछिन्।