निजी स्वार्थका लागि अध्यादेशमार्फत संवैधानिक संस्था अपहरण गरियो : पुष्पा भुसाल
काठमाडौं : नेपाली कांग्रेसकी उपसभापति पुष्पा भुसालले अध्यादेशमार्फत कानून संशोधन गरेर निजी स्वार्थका लागि संवैधानिक संस्थालाई अपहरण गर्ने प्रयास भएको टिप्पणी गरेकी छिन् ।
राष्ट्रिय जनमोर्चाले आयोजना गरेको कार्यक्रममा उपसभापति भुसालले घोषणा भइसकेको संसदको अधिवेशनलाई स्थगित गराएर अध्यादेशमार्फत कानून संशोधन गरेर स्वार्थका लागि संवैधानिक संस्थालाई अपहरण गर्ने प्रयास भएको टिप्पणी गरेकी हुन् । उनले प्रधानन्यायाधीश सिफारिसमा समेत न्यायपालिकामाथि कार्यपालिकाको पूर्ण नियन्त्रणको संकेत देखिएको बताइन् । सबैसँग छलफल गरेर संवैधानिक परिषद्मार्फत नियुक्ति प्रक्रिया अघि बढाउनु पर्नेमा संविधानको संरचनालाई कमजोर गर्नेगरी अध्यादेशमार्फत परिषद्माथि समेत हस्तक्षेप भएको उनको भनाइ छ ।
उनले आगामी दिनमा पनि आफू अनुकूल राज्य चलाउन अध्यादेशमार्फत संविधानलाई कमजोर बनाउने देखिएको आरोप लगाइन् । उनले संविधान संशोधनका लागि पहिले संविधान मान्छु भनेर सरकारले प्रतिवद्धता जनाउनु पर्ने बताइन् । कार्यक्रममा नेकपा एमालेका नेता प्रदीप ज्ञवालीले सरकारको कार्यशैली अधिनायकवादतर्फ उन्मुख देखिएको बताएका छन् । उनले अहिले भएकै व्यवस्थालाई अझ बढी व्यवस्थित परिमार्जित गर्नका लागि संविधान संशोधन हुनुपर्ने बताए ।
आफूहरु संविधान संशोधनको खिलाफमा नरहेको भन्दै पहिले सत्तारुढ दलले आफ्नो पोजिसन सार्वजनिक गर्नुपर्ने उनको भनाइ छ । ज्ञवालीले दुई तिहाईको बलमा संविधानका आधारभूत संरचना खल्वलिन नदिनका लागि दलहरु एक हुनुपर्नेमा जोड दिए । अहिले राष्ट्रियताको स्थिति अहिले एकदमै एकदमै जोखिममा रहेका समेत उनले बताए ।
प्रतिक्रिया दिनुहोस !