सुरक्षित वैदेशिक गन्तव्यका लागि इपीएस कोरिया : निर्देशक ढकाल

सुरक्षित वैदेशिक गन्तव्यका लागि इपीएस कोरिया : निर्देशक ढकाल
सुन्नुहोस्

सिमरा : वैदेशिक रोजगार विभाग अन्तर्गत रोजगार अनुमति प्रणाली (इपीएस) कोरिया शाखाका निर्देशक अनुप ढकालले वैदेशिक रोजगारीको बाध्यात्मक अवस्थामा इपीएस कोरिया सुरक्षित र भरपर्दो विकल्प भएको बताएका छन्।

बाराको सिमरामा बुधबार आयोजित अन्तरक्रिया कार्यक्रममा बोल्दै निर्देशक ढकालले सरकारले वैदेशिक रोजगारीमा जान प्रोत्साहन नगर्ने भएपनि जानुपर्ने बाध्यात्मक अवस्थाका लागि इपीएस कोरिया सबैभन्दा सुरक्षित माध्यम भएको बताए। कोरिया जानुअघि नै भाषा तथा रोजगारीमूलक सीप प्रदान गरिने भएकाले त्यहाँ पुगेपछि श्रमिकले जोखिम र असुरक्षाको महसुस गर्नुपर्ने अवस्था नरहने उनको भनाइ छ। 

‘हामीले विदेश जानुपर्छ भनेर भन्दैनौ, तर जानुपर्ने अवस्था आए इपीएस कोरिया सुरक्षित विकल्प हो भनेर भन्छौ’ ढकालले भने । उनले वैदेशिक रोजगारीका नाममा हुने ठगीबाट जोगिन पनि ईपीएस प्रणाली उपयोगी रहेको उल्लेख गरे ।

ढकालले ईपीएस प्रणाली केवल रोजगारीमा पठाउने मात्र नभई फर्किएका श्रमिकलाई स्वदेशमै टिकाउने वातावरण निर्माणतर्फ पनि केन्द्रित रहेको बताए। आफूले हालै मात्र निर्देशकको जिम्मेवारी सम्हालेको उल्लेख गर्दै उनले शाखालाई अझ व्यवस्थित र नतिजामुखी बनाउने प्रतिबद्धता जनाए।

कार्यक्रममा जीतपुरसिमरा उपमहानगरपालिकाका उपप्रमुख भोलाप्रसाद अधिकारीले ईपीएस कोरियाबारे जानकारीमूलक यस्ता कार्यक्रमले युवालाई सही मार्गदर्शन प्रदान गर्ने बताए । उनले वैदेशिक रोजगारीका लागि ईपीएस कोरिया रोज्न समेत सुझाव दिए। 

अन्तरक्रियामा सहभागीहरूले कोरिया जानका लागि भाषा परीक्षा उत्तीर्ण गरी रोस्टरमा रहेका व्यक्तिहरू लामो समयसम्म पनि रोजगारका लागि जान नपाएको गुनासो गरेका थिए । युवाहरुको सपना रोष्टरमै अड्किने गरेको भन्दै सहभागीले ईपीएस प्रक्रियालाई छिटोछरितो बनाउन सुझाव दिए। 

यता कोरियामा काम गरी फर्किएकी गीता शर्माले विदेश जानुअघि आवश्यक सीप लिएर मात्र जानुपर्नेमा जोड दिइन्। उनले कोरियाबाट नेपाल फर्किएपछि यहाँको सीप उपयोग गर्ने अवसरको वातावरण बनाउन समेत अनुरोध गरिन्। कोरियाबाट फर्किएका टिकाजंग थापाले कोरिया नेपाली श्रमिकका लागि सुरक्षित गन्तव्यका रूपमा बताउँदै त्यहाँ सिकेको सीप अनुसार स्वदेशमा अवसर नहुँदा भने समस्या भएको बताए। 

सिमरामा कोरियन भाषा कक्षा संचालन गर्दै आएका स्थानीय युवा प्रेम पाण्डेले रोस्टरमा रहेका युवालाई कोरिया पठाउने प्रक्रिया सुस्त भएको भन्दै यसलाई छिटो र प्रभावकारी बनाउनुपर्नेमा जोड दिए। सुस्त प्रक्रियाले कोरियाको भाषा कक्षा संचालक भन्ने अवस्था समेत नरेहको बताउँदै पाण्डेले रोस्टरमा रहेकालाई छिटो पठाउनेतर्फ ध्यान दिन आग्रह गरे।

इपीएस कोरियाका सूचना अधिकारी राजकिशोर साहलगायतले हाल देखिएको समस्या समाधानका लागि आफूहरूले काम गरिरहेको बताए।    
 


प्रतिक्रिया दिनुहोस !

सम्बन्धित खबर

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.