दोलखामा अन्तर्राष्ट्रिय बुद्धिचाल प्रतियोगिता

दोलखामा अन्तर्राष्ट्रिय बुद्धिचाल प्रतियोगिता
सुन्नुहोस्

दोलखा : दोलखा चेस होम नेपालको आयोजनामा छैटौं अन्तर्राष्ट्रिय बुद्धिचाल प्रतियोगिता आयोजना हुने भएको छ। प्रतियोगिता आगामी वैशाख २८ गतेदेखि जेठ ३ गतेसम्म सञ्चालन हुने छ। पछिल्ला वर्षहरूमा दोलखालाई अन्तर्राष्ट्रिय चेसको केन्द्रका रूपमा स्थापित गर्ने उद्देश्यसहित निरन्तर आयोजना हुँदै आएको प्रतियोगिता यस वर्ष थप भव्य र व्यवस्थित रूपमा सञ्चालन गर्न लागिएको हो।

यसपटक प्रतियोगितामा क्लासिकल र र्यापिड गरी दुई विधामा प्रतिस्पर्धा गराइने आयोजकले जनाएको छ। दुवै विधामा गरी कुल १०८ जना विजेतालाई पुरस्कृत गरिनेछ। प्रतियोगितामा ६ लाख ६७ हजार ५ सय रुपैयाँ नगद पुरस्कार वितरण गरिने छ। क्लासिकलतर्फ प्रथम हुने खेलाडीले १ लाख रुपैयाँ नगदसहित ट्रफी, मेडल र प्रमाणपत्र प्राप्त गर्नेछन् भने र्यापिडतर्फ विजेताले २५ हजार रुपैयाँ नगद पुरस्कार पाउनेछन्।

हालसम्म १० देशका १५० खेलाडीले आधिकारिक रूपमा नाम दर्ता गराइसकेको चेस होम दोलखा नेपालका अध्यक्ष गोविन्द श्रेष्ठले बताए। प्रतियोगिताका लागि करिब ३५० खेलाडी सहभागी हुने अनुमानसहित व्यवस्थापन गरिएको उनको भनाइ छ। 

हालसम्म सबैभन्दा धेरै खेलाडी छिमेकी राष्ट्र भारतबाट दर्ता भएका छन्। त्यस्तै बंगलादेश, श्रीलंका, अमेरिका, फ्रान्स र रसियाबाट पनि खेलाडीहरू आउने निश्चित भइसकेको अध्यक्ष श्रेष्ठले जानकारी दिए। चीन, फिलिपिन्स र मंगोलियाबाट समेत खेलाडीहरूले नाम दर्ता गराइसकेका भए पनि उनीहरूको सहभागिता अन्तिम रूपमा पुष्टि हुन बाँकी रहेको उनले बताए।

प्रतियोगितामा सहभागी हुने खेलाडीहरूमध्ये रसियाका ग्रान्डमास्टर किरियकोभ पेर्टर सबैभन्दा उच्च वरियताका खेलाडी रहेका छन्। उनी २४८६ रेटिङका अनुभवी खेलाडी हुन्। प्रतियोगितामा अनुभवी तथा युवा खेलाडीहरूको मिश्रित सहभागिता रहने आयोजकले जनाएको छ। ८५ वर्षका ज्येष्ठ खेलाडीदेखि १० वर्षका बाल खेलाडीसम्म सहभागी हुने भएकाले प्रतियोगिताले पुस्ताबीचको खेल संस्कृतिलाई समेत जोड्ने विश्वास गरिएको छ। 

क्लासिकल विधाको खेल दोलखा खुल्ला अन्तर्राष्ट्रिय चेस प्रतियोगिताअन्तर्गत सञ्चालन हुनेछ भने र्यापिड विधा बुद्धिचालका पूर्व उपाध्यक्ष, ओलम्पियाड खेलाडी तथा नेपालका एफएम चेस खेलाडी स्वर्गीय सुजेन्द्र प्रसाद श्रेष्ठको स्मृतिमा खेलाइने अध्यक्ष श्रेष्ठको भनाइ छ। नेपाली चेस क्षेत्रमा योगदान पुर्‍याएका व्यक्तित्वको सम्मानस्वरूप र्यापिड प्रतियोगिता आयोजना गर्न लागिएको आयोजकले जनाएको हो।

प्रतियोगिता सञ्चालन गर्न करिब २५ लाख ५२ हजार रुपैयाँ खर्च लाग्ने अनुमान गरिएको छ। संस्थाको एकल प्रयासबाट मात्र यति ठूलो प्रतियोगिता सम्पन्न गर्न कठिन हुने भएकाले विभिन्न संघसंस्था, कम्पनी, उद्योगी–व्यापारी तथा सरोकारवालालाई सहयोगका लागि हातेमालो गर्न अध्यक्ष श्रेष्ठले आग्रह गरेका छन्। उनले खेलकुदको विकाससँगै पर्यटन र स्थानीय अर्थतन्त्र चलायमान बनाउन यस्ता प्रतियोगिताले महत्वपूर्ण भूमिका खेल्ने बताए। 

प्रतियोगिताले सदरमुकाम चरिकोटको सुस्ताएको व्यापार–व्यवसायलाई समेत पुनः चलायमान बनाउन सहयोग पुग्ने अपेक्षा गरिएको छ। होटल, यातायात, रेस्टुरेन्ट तथा अन्य सेवा क्षेत्रमा प्रत्यक्ष आर्थिक गतिविधि बढ्ने विश्वास आयोजकको छ। विदेशी तथा बाहिरी जिल्लाबाट आउने खेलाडी र पर्यटकका कारण दोलखाको पर्यटन प्रवर्द्धनमा समेत सकारात्मक प्रभाव पर्ने आयोजकको भनाइ छ।

दोलखामा चेस खेललाई निरन्तरता दिँदै अन्तर्राष्ट्रिय स्तरमै परिचित ‘ब्रान्ड’ प्रतियोगिताका रूपमा विकास गर्ने दीर्घकालीन योजना रहेको अध्यक्ष श्रेष्ठले बताए।


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.