सुदूरपश्चिममा सडक सुरक्षा सुधारलाई तीव्रता दिन उच्चस्तरीय कार्यशाला
धनगढी :सुदूरपश्चिम प्रदेशमा बढ्दो सडक दुर्घटना न्यूनीकरण तथा सडक सुरक्षा सुधारलाई प्रभावकारी बनाउन प्रदेशस्तरीय उच्चस्तरीय कार्यशाला आयोजना गरिएको छ । राष्ट्रिय सडक सुरक्षा परिषद् र सुदूरपश्चिम प्रदेशको भौतिक पूर्वाधार विकास मन्त्रालयको संयुक्त आयोजनामा सम्पन्न कार्यशालामा एशियाली विकास बैंकको प्राविधिक सहयोग रहेको थियो ।
शुक्रबार आयोजित कार्यशालामा राजनीतिक नेतृत्व,प्रदेश सभा सदस्य,सरकारी अधिकारी,नेपाल प्रहरी, विकास साझेदार तथा सरोकारवाला निकायका प्रतिनिधिहरूको सहभागिता रहेको थियो । कार्यक्रममा राष्ट्रिय सडक सुरक्षा कार्ययोजना (२०२१–२०३०) कार्यान्वयन तथा संघ, प्रदेश र स्थानीय तहबीच समन्वय सुदृढ गर्ने विषयमा विस्तृत छलफल गरिएको थियो ।

कार्यक्रममा प्रस्तुत तथ्यांक अनुसार पछिल्ला पाँच आर्थिक वर्षमा सुदूरपश्चिम प्रदेशमा २ हजार ८ सय २६ वटा सवारी दुर्घटना भएका छन् भने ९ सय २३ जनाले ज्यान गुमाएका छन् । विशेषगरी कैलाली र कञ्चनपुर जिल्लामा दुर्घटनाको संख्या बढी रहेको उल्लेख गरिएको छ । ती तथ्यांकले सडक सुरक्षालाई प्राथमिकतामा राख्नुपर्ने आवश्यकता अझ स्पष्ट भएको सहभागीहरूले बताएका छन् ।
सुदूरपश्चिम प्रदेशको भौतिक पूर्वाधार विकास मन्त्रालयका सचिव इन्जिनियर बिष्णु भण्डारीले प्रभावकारी सडक सुरक्षा व्यवस्थापनका लागि सबै तहका निकायबीच संस्थागत समन्वय आवश्यक रहेको बताए । उनले सडक पूर्वाधार निर्माणसँगै सुरक्षित यातायात प्रणाली विकासमा जोड दिनुपर्ने धारणा राखे ।
एशियाली विकास बैंकका वरिष्ठ यातायात अधिकृत हेमन्त तिवारीले वर्तमान सडक सुरक्षा अवस्थाबारे प्रकाश पार्दै राष्ट्रिय सडक सुरक्षा पहलमा एशीयाली विकास बैंक निरन्तर सहकार्य गर्न प्रतिबद्ध रहेको बताए । उनले सडक सुरक्षालाई यातायातको विषय मात्र नभइ मानव जीवन र आर्थिक विकाससँग प्रत्यक्ष जोडिएको मुद्दाका रूपमा हेर्नुपर्ने बताए ।
कार्यक्रमका प्रमुख अतिथि तथा सुदूरपश्चिम प्रदेश सभाको सार्वजनिक लेखा समितिका सभापति अक्कल बहादुर रावलले सडक सुरक्षामा सबै पक्षको जिम्मेवारी महत्वपूर्ण रहेको उल्लेख गरे । उनले सडक दुर्घटनाबाट बढ्दो मानवीय तथा आर्थिक क्षतिप्रति चिन्ता व्यक्त गर्दै सडक सुरक्षालाई सार्वजनिक नीतिको प्राथमिक विषय बनाउन आग्रह गरे ।

कार्यक्रममा सहभागी विभिन्न निकायका प्रतिनिधिहरूले प्रदेश तथा स्थानीय सरकारले सडक सुरक्षालाई प्राथमिकतामा राखी आवश्यक नीति,पूर्वाधार र जनचेतनामूलक कार्यक्रम सञ्चालन गर्नुपर्ने धारणा राखेका थिए ।
कार्यशालाका प्राविधिक सत्रहरू एडीबी टोलीका इन्जिनियर हेमन्त तिवारीको नेतृत्वमा सञ्चालन गरिएको थियो । भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयका सहसचिव इन्जिनियर भिमार्जुन अधिकारीको अध्यक्षतामा भएको कार्यक्रमको इन्जिनियर सरोजकुमार प्रधान इन्जिनियर समीक्षा अधिकारी,निरज धौभडेल तथा शुभ खनालले सहजीकरण गरेका थिए । कार्यक्रममा प्रमाणमा आधारित तथा सहभागितामूलक छलफलमार्फत् सडक सुरक्षा सुधारका व्यवहारिक उपायहरूबारे सुझाव संकलन गरिएको आयोजकले जनाएको छ ।
प्रतिक्रिया दिनुहोस !