आङ् खस्ने समस्याबाट पीडित १०४ महिलाको शल्यक्रिया
सिन्धुपाल्चोक : आफूले जन्माएका सन्तान ठूलाठूला भएर सरल जीवन बिताइरहेको पाउँदा कुन आमा बेखुस होलान् ? यद्यपि, पाको उमेरमा आफै भने स्वास्थ्य समस्याले थलिएर बाँच्नु पर्दा सन्तान जन्माउने विषयप्रति त्रिपुरासुन्दरीका आमाहरु खुशी थिएनन् ।
पाँच सन्तानकी आमा ५७ वर्षीया कदममाया थामी लामो समयदेखि आङ् खस्ने समस्याबाट पीडित थिइन् । त्रिपुरासुन्दरी गाउँपालिकाको विकट गाउँ लाटुकी यी थामी आमा जस्तै सात सन्तानकी आमा सल्ले गाउँकी ६५ वर्षीय आइतीमाया थामी, पिस्करकी ६७ वर्षीया पदमकुमारी थामीलाई सन्तान सुख भए पनि आङ्खस्ने समस्याबाट पीडित थिए ।
जब गाउँगाउँमा सिंहदरबार आयो अनि पीडित महिलाको यो आम समस्या समाधान हुँदै गयो । आङ् खस्ने समस्याबाट पीडित महिला र पाको उमेरका आमाहरु अहिले यति खुशी छन् कि गाउँपालिकाले सबै खर्च व्यवस्थापन गरेर उनीहरुको शल्यक्रिया गरिदिएको छ । स्थानीय सरकार गठनपछि ६ वर्षको अवधिमा गाउँपालिकाभर ६ वटा वडामा रहेका १०४ पीडित महिलाको सफल शल्यक्रिया गरिएको छ । शल्यक्रियापछि उनीहरू सामान्य स्वास्थ्य अवस्थामा जीवन बिताइरहेका छन् ।
‘अपरेसन गरेपछि आराम मिलेको छ । अहिले त घरको सबै काम गर्न सक्ने भएँ,’ कदममायाले भनिन् । आङ् खस्ने समस्याबाट पीडित महिलाको उपचार र अपरेसनमा दिनरात लागेका पालिका स्वास्थ्य शाखा प्रमुख चन्द्रनारायण साहले विकट गाउँमा आङ् खस्ने समस्या अत्यधिक रहेको बताए । गर्भवती र सुत्केरी अबस्थामा स्याहार र पौष्टिक आहारको कमी, धेरै भारी बोक्नुपर्ने घरायसी समस्या, दम र खोकीबाट पीडित, छिटोछिटो बच्चा जन्माउने र कम उमेरमा बच्चा जन्माउने महिला आङ् खस्ने रोगबाट पीडित भएको उनले सुनाए ।
‘सुत्केरी हुँदा विभिन्न समस्या झेलेका महिला उमेर ढल्कँदै जाँदा आङ् खस्ने समस्याबाट पीडित हुन्छन्,’ उनले भने, ‘त्यसपछि सन्तान सुख दुःखमा परिणत भए जस्तो हुनजान्छ ।’ गत साल १६ महिलाको शल्यक्रिया सफल भयो । यो वर्ष पाँच सय ५३ को जाँच हुँदा २२ जनामध्ये ९ जनाको सफल शल्यक्रिया भएको छ । ६ जना बिरामीलाई विभिन्न कारणले फिर्ता गरिएको साहले बताए ।
पालिकाकै खर्चमा प्रत्येक दिन वडापिच्छे शिविर राखेर महिलाको पाठेघर परीक्षण गरिन्छ । अस्पताल ल्याउने, घर पु¥याउने, औषधि र शल्यक्रिया सबैको खर्च स्थानीय सरकारले ब्यहोरेकोमा पीडित महिला खुशी छन् । सुरुमा थापाथली अस्पताल लगेर अपरेसन गरिएकोमा चार वर्षयता बनेपास्थित शिर मेमोरियल हस्पिटलमा पाठेघरको शल्यक्रिया गरिँदै आएको छ ।
शिर मेमोरियल हस्पिटलसँग सम्झौता नै गरेर महिलाहरुको उपचार र शल्यक्रिया गरिएको शाहले प्रष्ट्याए । गाउँपालिका अध्यक्ष भक्तध्वज बोहोराले प्रत्येक गाउँसभामा स्वास्थ्य र शिक्षासँग सम्बन्धित विषयमा जनपक्षीय निर्णय गराउँदै आएका छन् । यहाँ १२ कक्षासम्म निःशुल्क शिक्षा लागु गरिएको छ।
प्रतिक्रिया दिनुहोस !