बाल विवाह गरेको आरोपमा पक्राउ परेका युवकको प्रहरी हिरासतमै मृत्यु
न्यायिक छानबिनको माग गर्दै चार दिनदेखि पीडित परिवार संघर्षमा
सिन्धुली : अन्तरजातीय विवाह गर्दा झुटो आरोप लगाई प्रहरीले नियन्त्रणमा लिएका सिन्धुलीको सुनकोसी गाउँपालिका–३ का वर्ष २३ का श्रीकृष्ण विकको प्रहरी हिरासत कक्षमा मृत्यु भएपछि पीडित परिवारले न्यायको माग गरेको छ ।
मृतक विकले केही महिनाअघि खोटाङकी एक १८ वर्षीया मगर थरकी किशोरीसँग प्रेम विवाह गरी काठमाडौंमा बस्दै आएका थिए । तर केटा दलित जाति भएकै कारण किशोरीको परिवारले प्रहरी वृत्त सातदोबाटोमा विकमाथि बालविवाह र जवरजस्ती करणीको मुद्दा दर्ता गरेका थिए । उक्त उजुरीका आधारमा गत बिहीबार (बैशाख ३ गते) उनलाई प्रहरीले नियन्त्रणमा लिएको थियो । गत बिहीबार प्रहरी वृत्त सातदोबाटोले नियन्त्रणमा लिएर सोही दिन इलाका प्रहरी कार्यालय खुर्कोट सिन्धुलीको जिम्मा लगाएको थियो ।
अनुसन्धानकै क्रममा बैशाख ७ गते सोमबार दिउसो ४ बजे प्रहरी हिरासतमै रहेका बेला विकको मृत्यु भएको बताइएको छ । विकले हिरासतभित्रकै शौचालयमा सर्टको पासो लगाई झुण्डिएर आत्महत्या गरेको प्रहरीले दावी गरे पनि उक्त घटना हुँदा परिवारलाई कुनै खबर नगरेको गुनासो छ । विकलाई सिन्धुली अस्पताल ल्याएर शव गृहमा राखेपछि मात्र परिवारलाई खबर गरेपछि विकका परिवार र आफन्त उक्त घटना रहस्यमयी ढंगबाट घटाइएको हुन सक्ने आशंकामा छन् ।
बैशाख ३ गते सिन्धुली जिल्ला अदालतबाट पाँच दिनको म्याद थप गरी अनुसन्धान अघि बढाएको दावी गराएको प्रहरीले विकलाई पक्राउ गरेको कुरा नै बैशाख ५ गते मात्र परिवारले थाहा पाएका थिए । उक्त बेला इलाका प्रहरी कार्यालय खुर्कोटमा भेट्न पुगेकी आमा विन्दामाया विकलाई श्रीकृष्णले अनुसन्धानका क्रममा प्रहरीले जवरजस्ती बलत्कार गरेको स्विकार गर्न दवाव दिएको र बयानमा हस्ताक्षर गर्न दवाव दिएको बताएका थिए ।
प्रहरीले हिरासत कक्षमा दवाव र यातना दिएको, सहमतिमा प्रेम विवाह गरेका विकलाई जवरजस्ती करणी मुद्दा दर्ता गराएको, न्यायिक हिरासत कक्षमै उनको मृत्यु भएको विषय गम्भीर भएको भन्दै पीडितका आफन्त र अभियानकर्मीहरु चार दिनदेखि सत्यतथ्य छानविनको माग गर्दै आएका छन् । उनीहरुले घटनाका बारेमा सत्यतथ्य बाहिर ल्याउन आग्रह गर्दै प्रमुख जिल्ला अधिकारी र प्रहरी प्रमुखको ढोकामा पुगेका छन् ।
मृतक विकका आमा विन्दामायाका अनुसार प्रहरीको संलग्नतामा नै छोराको हत्या गरेको दावी छ । ‘छोराको मृत्यु हुने वित्तिकै हामीलाई खबर गरेको भए पनि केही कुरा थाहा हुने थियो । तर सिन्धुली ल्याएपछि खबर गरियो । त्यो पनि चार घण्टापछि मात्र हामीलाई खबर भएको छ । किन घटना लुकाउन खोजियो ? प्रहरी हिरासतभित्र कसरी यस्तो घटना हुन्छ, हामी दलित भएकै कारण यो घटना भएको हो,’ उनले भनिन् ।
विन्दमायाले प्रहरीको दबावमै केटी पक्षबाट छोरा श्रीकृष्णविरुद्ध मुद्दा दर्ता गर्न लगाइएको आरोप लगाइन् । ‘तिनै प्रहरीको संलग्नतामा छोरालाई मानसिक तथा शारीरिक यातना दिई जबरजस्ती करणी गरेको स्वीकार गर्न बाध्य बनाइएपछि उनको हत्या गरिएको देखिन्छ । उनीमाथि बालविवाहको विषयमा मुद्दा चलाएको भए पनि हामीलाई स्वीकार हुन्थ्यो होला तर दलित भएकै कारण किन जबरजस्ती करणीको मुद्दा चलाइयो भन्ने कुरा रहस्यमय छ,’ उनले थपिन् ।
प्रमुख जिल्ला अधिकारी स्किम श्रेष्ठ र प्रहरी प्रमुख लालध्वज सुवेदीले घटनामाथि अनुसन्धान अघि बढेको बताउँदै मृतकको शव पोष्टमार्टम गर्न र शव बुझ्न दवाव दिएको बुझिएको छ । पीडीत परिवारले न्यायिक रुपमा छानविन नभए, सत्यतथ्य बाहिर नआएसम्म शव पोष्टमार्टम नगर्ने र शव पनि नबुझ्ने अडान लिएका छन् ।
उनीहरुले घटनाबारे उच्चस्तरीय छानविन समिति गठन गर्न न्यायका लागि बोलिदिन राष्ट्रिय मानव अधिकार आयोग, राष्ट्रिय दलित आयोग, एडभोकसी फोरम, प्रहरी हेड क्वार्टर, सञ्चारकर्मीलगायतलाई निवेदन समेत गरेका छन् । उक्त घटनालाई लिएर सांसद तथा दलित अधिकारीकर्मी खगेन्द्र सुनुवारले दलित भएकै कारण भएका यस्ता घटनाको निष्पक्ष छानविनका लागि संसदिय समिति बनाउन माग गरेका छन् ।
उनले जातका आधारमा जवरजस्ती करणीको मुद्दा दर्ता गराउने किशोरीको परिवार, अनुसन्धानमा संलग्न प्रहरीमाथि समेत छानविन गर्नुपर्ने र दोषीमाथि कारबाही गर्दै पीडित पक्षलाई राज्यबाट क्षतिपूर्ती भर्नुपर्ने माग गरे । उता सिन्धुलीकी प्रमुख जिल्ला अधिकारी स्किम श्रेष्ठले भने पीडित परिवार समेतको सहभागितामा सो घटनाको छानविनका लागि सहायक प्रमुख जिल्ला अधिकारीको संयोजकत्वमा सात सदस्यीय छानविन समिति गठन गरिएको बताइन् ।
प्रतिक्रिया दिनुहोस !