गण्डकीका सभामुख धितालले भने : सांसद कुँवरको राजीनामा प्राप्त भयो, छलफलपश्चात निर्णय लिन्छु
पोखरा : नेपाली कांग्रेस प्रदेश सांसद द्रोणकुमार कुँवरले सभामुख कृष्ण धितालसमक्ष राजीनामा पेश गरेका छन्। सभामुख कृष्ण धितालले कुँवरको राजीनामा पत्र आफूलाई ह्वाटसपमा प्राप्त भएको अन्नपूर्ण पोष्टलाई जानकारी दिए।
उनले अन्नपूर्ण पोस्ट्सँग भने, 'सांसद द्रोणकुमार कुँवरले राजीनामा दिएको पत्र मलाई ह्वाटसपमा प्राप्त भएको छ। राजीनामा स्वीकृत गर्ने/नगर्ने अधिकार सभामुखलाई हुन्छ। म अध्ययन गर्छु र छलफल गरेर मात्र निर्णय हुन्छ।'
सभामुखले राजीनामा स्वीकृत गरेपछि उक्त पद रिक्त भएको मानिन्छ । राजीनामा स्विकार भएपछि वा सूचना जारी भएपछि पद रिक्त हुने कानूनी व्यवस्था छ।
गण्डकी प्रदेशका मुख्यमन्त्री सुरेन्द्र पाण्डेले आज मन्त्रिपरिषदमा व्यापक हेरफेर गरेका छन् । एमाले र कांग्रेसको गठबन्धन सरकारमा दुवै दलबाट ४–४ जना नयाँ मन्त्री थपिएका हुन् । कुँवरले प्रदेश सरकारमा मन्त्री बन्ने आकांक्षा राखेका थिए । मन्त्रिपरिषद् हेरफेर हुँदा आफ्नो नाम नपरेपछि कुँवरले गण्डकी प्रदेशका समामुखलाई राजीनामा बुझाएको स्रोतको भनाई छ। कुँवरसँग सम्पर्क गर्न खोज्दा उनको मोबाइल अफ रहेको छ। उनी बागलुङ -२ बाट सांसदमा निर्वाचित भएका थिए ।

प्रतिक्रिया दिनुहोस !