सरकारी उदासीनताको नमुना : ओरियन्ड म्याग्नेसाइट उद्योग २७ वर्षदेखि बन्द

सरकारी उदासीनताको नमुना : ओरियन्ड म्याग्नेसाइट उद्योग २७ वर्षदेखि बन्द
सुन्नुहोस्

दोलखा : दोलखाको भीमेश्वर नगरपालिका–९, खरीढुंगामा रहेको दोलखा र सिन्धुपाल्चोक जिल्लामा फैलिएको दक्षिण एसियाकै सबैभन्दा ठूलो ओरियन्ड म्याग्नेसाइट उद्योगको भग्नावशेष मात्र बाँकी छ।  

जिल्लामा फैलिएको बहुमूल्य खानी स्रोतमा आधारित ओरियन्ड म्याग्नेसाइट तथा खरीढुंगा उद्योग लामो समयदेखि बन्द हुँदा स्थानीय अर्थतन्त्र गम्भीर रूपमा प्रभावित बनेको छ।  सरकारी उदासीनता र दीर्घकालीन नीतिगत अन्योलका कारण एक समय हजारौंलाई रोजगारी दिएको उद्योग अहिले भग्नावशेषमा परिणत भएको हो।  

२०३५ सालमा स्थापना भएको उक्त उद्योग २०५५ सालदेखि पूर्णरूपमा बन्द छ।  सञ्चालनमा रहँदा यस उद्योगले २ हजारभन्दा बढी व्यक्तिलाई रोजगारी प्रदान गरेको थियो।  तर, उद्योग बन्द भएसँगै हजारौं स्थानीयले रोजगारीको अवसर गुमाएका छन् भने करोडौं रुपैयाँबराबरका संरचना अहिले कबाडी झैं थन्किएका छन्।  विश्व बजारमा म्याग्नेसाइटको उच्च माग भइरहँदा पनि नेपालमा उपलब्ध प्रशस्त स्रोतको उपयोग हुन नसक्नु विडम्बनापूर्ण मानिएको छ।  

उद्योग रहेको क्षेत्रमा करिब २ सय ५० वर्षसम्म पुग्ने म्याग्नेसाइट र खरीढुंगा रहेको अनुमान गरिएको छ।  दोलखाको लाकुरीडाँडा र सिन्धुपाल्चोकको लामोसाँघु गरी ५३ सय ५४ रोपनी क्षेत्रफलमा फैलिएको यो उद्योग अहिले उत्पादनविहीन अवस्थामा छ। 

उद्योगको संरचनामा नेपाल सरकारको ७५ प्रतिशत, खेतान समूहको १२.५ प्रतिशत र भारतीय कम्पनी उडिसाको १२.५ प्रतिशत लगानी रहेको छ।  तर, प्रमुख सेयरधनी नेपाल सरकारकै उदासीनताका कारण उद्योग पुन :  सञ्चालनमा आउन नसकेको आरोप लाग्दै आएको छ।  स्थानीयका अनुसार सरकारले प्रभावकारी पहल नगर्दा विदेशी साझेदार कम्पनीले पनि उद्योग पुन :  सञ्चालनमा चासो देखाएको छैन।  २०५८ सालमा तत्कालीन विद्रोही माओवादीले उद्योगमा आगजनी गर्दा करोडौं मूल्यबराबरका सामग्री नष्ट भएका थिए।  त्यसयता उद्योग पुन :  सञ्चालनका लागि ठोस पहल हुन सकेको छैन।  

उद्योग परिसरमा रहेका बहुमूल्य मेसिनका पार्टपुर्जासमेत चोरी भइसकेका छन्, जसले उद्योगको पुनस्र्थापनालाई थप जटिल बनाएको छ।  स्थानीयका अनुसार लाकुरीडाँडाका करिब २५ सय रोपनी जग्गा सस्तो मूल्यमा कम्पनीले खरिद गरेको थियो।  अहिले उद्योग सञ्चालनमा नआउँदा स्थानीयले न त रोजगारी पाएका छन् न त आफ्नो जग्गाको उचित उपयोग नै देख्न पाएका छन्। 

अझ विडम्बना त के छ भने उद्योग बन्द अवस्थामा रहँदा पनि कर्मचारीहरू राजधानीमै बसेर तलब भत्ता लिइरहेको आरोप स्थानीयले लगाएका छन्।  यसले सरकारी संयन्त्रप्रति जनआक्रोश बढाएको छ।  सरकारले चाहेमा उद्योग जुनसुकै बेला पुन :  सञ्चालनमा ल्याउन सकिने अवस्था अझै रहेको ओरियन्ड म्याग्नेसाइट बोर्डका पूर्वअध्यक्ष बसन्तराज कार्कीले बताए।  ‘नेपाल सरकारसँग ७५ प्रतिशत सेयर छ, इच्छाशक्ति भए तत्काल सञ्चालन सम्भव छ’, उनले भने।  उद्योग सञ्चालन गर्न नसके स्थानीयको जमिन फिर्ता हुनुपर्ने जिकिर पनि उनले गरे।  

विगत केही वर्षयता उद्योग पुन :  सञ्चालनमा आउने हल्ला बेलाबेला चल्ने गरे पनि व्यवहारमा कुनै प्रगति हुन सकेको छैन।  यसले स्थानीयमा निराशा थपिएको छ।  समृद्ध खानी स्रोत हुँदाहुँदै पनि उद्योग सञ्चालन हुन नसक्नुले नेपालमा औद्योगिक विकासको कमजोर अवस्थालाई उजागर गरेको छ।  सम्बन्धित निकायले समयमै ठोस निर्णय लिन नसके भविष्यमा पनि यस्ता बहुमूल्य उद्योगहरू इतिहासमै सीमित हुने खतरा बढ्दै गएको छ। 

उद्योगका उत्पादन  :  लाकुरीडाँडाको ५ हजार रोपनी जमिनमा फैलिएको उद्योगबाट मुख्यत म्याग्नेसाइट (विशेष प्रकारको ढुंगा) उत्पादन हुन्छ।  म्याग्नेसाइट कच्चा पदार्थ भएकाले यसलाई प्रशोधन गरेर क्याल्साइन नामक ब्रिक (इँटा) बनाइन्छ।  म्याग्नेसाइटसँग टाँसिएर रहेको पदार्थबाट बाइप्रडक्टका रूपमा चिल्लो पदार्थ खरी उत्पादन हुन्छ।  सो क्षेत्रमा विभिन्न ४ प्रकारको म्याग्नेसाइट रहेको बताइन्छ। 

म्याग्नेसाइटको प्रयोग  :  म्याग्नेसाइटबाट बनेको इँटा २ हजार डिग्रीभन्दा बढी तापक्रममा पनि नपग्लिने हुँदा ठूलाठूला आणविक भट्टीहरूमा यसको इटा प्रयोग हुन्छ।  नेपालको सिमेन्ट, स्टिल, फलाम, जस्तापातालगायत उद्योगहरूमा म्याग्नेसाइटबाट बनेको क्याल्साइनको प्रयोग गरी भट्टी बनाइन्छ।  सौन्दर्य प्रशोधन, कपडा, साबुन, कागज उद्योगहरूले आफ्नो उत्पादनमा साइनिङ ल्याउनका लागि म्याग्नेसाइटको बाइप्रडक्ट खरिको प्रयोग गर्छन्। 

म्याग्नेसाइटको बजार र मूल्य  :  उद्योगबाट उत्खनन गरिएको म्याग्नेसाइटको नजिकको मुख्य बजार भारत रहेको छ।  भारतमा उत्खनन गरिने म्याग्नेसाइटभन्दा यो उद्योगबाट उत्पादन हुने म्याग्नेसाइट उच्च गुणस्तरको रहेको भारतीय व्यापारीहरूले नै स्वीकार गर्ने गरेका थिए।  उद्योगमा ४ प्रकारको म्याग्नेसाइट उत्खनन हुने गरेको थियो 

परीक्षण सफल : २०७० सालमा मौसमअनुसार क्यालसाइन उत्पादन कस्तो हुन्छ भनेर उद्योग परिसरमै गरिएको परीक्षण सफल भएको थियो।  परीक्षणको रूपमा उत्पादन गरिएको क्यालसाइन (इँटा)को प्रतिगोटा पाँच हजारसम्म बिक्री गर्न सकिने सो प्रतिवेदनमा उल्लेख थियो।  प्रतिवेदनमा म्याग्नेसाइटबाट उत्पादित वस्तुहरू चिनियाँ बिक्री मूल्यबराबरमैै गर्न सक्ने उल्लेख थियो। 
उद्योग बन्द : उद्योग कसरी र किन बन्द भयो भन्ने विषयमा अझैसम्म पूर्वकर्मचारी, कामदार र व्यवस्थापनका पूर्वकर्मचारीहरू अचम्मित छन्।

पूर्वकर्मचारीहरूका अनुसार राम्रोसँग उत्पादन भइरहेको उद्योग बिनापूर्व जानकारी एकै रातमा बन्द गरिएको थियो।  नाइट सिफ्ट काम गरेर घर गएका कर्मचारी भोलिपल्ट बिहानी सिफ्टका कर्मचारी ड्युटीमा आउँदा उद्योग बन्द भइसकेको बोर्डका पूर्वअध्यक्ष वसन्तराज कार्कीले बताए।  उनले भने, ‘बिनाछलफल, बिनालेखापरीक्षण, बिनाविश्लेषण एकै रातमा कुनै उद्योग बन्द हुन्छ ? त्यो नेपाल र नेपालीको समृद्धिविरुद्ध गरिएको नियोजित षड्यन्त्र थियो। ’

मन्त्रालय गैरजिम्मेवार : उद्योगको अवस्था र योजनाको विषयमा जानकारी लिन उद्योग वाणिज्य तथा आपूर्ति मन्त्रालयका सह–सचिव रामबन्धु सुवेदीलाइ सम्पर्क गर्दा आफ्नो शाखा नभएकाले संस्थानका शाखा प्रमुख मनुका न्यौपानेलाई सम्पर्क गर्न भने।  उद्योग वाणिज्य तथा आपूर्ति मन्त्रालयअन्तर्गत संस्थान हेर्ने शाखा प्रमुख मनुका न्यौपानेलाई सम्पर्क गर्दा कुनै पनि प्रतिक्रिया आएन।  


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.