पाल्पामा टिपर दुर्घटना हुँदा तीन जनाको मृत्यु
तानसेन : पाल्पामा शनिबार बेलुकी भएको टिपर दुर्घटनामा तीन जनाको मृत्यु भएको छ। एकजना गम्भीर घाइते भएका छन्। मृत्यु हुनेमा अर्घाखाँचीको शीतगंगा नगरपालिका–४ सिद्धारका २६ वर्षीय चिन्ता बहादुर सुनार रहेका छन्। अन्य दुई जनाको सनाखत हुन नसकेको जिल्ला प्रहरी कार्यालय पाल्पाले जनाएको छ।
दुर्घटनामा तानसेन नगरपालिका–१० पटुवाका ३३ वर्षीय राजन चिदी गम्भीर घाइते भएका छन्। उनको लुम्बिनी मेडिकल कलेजमा उपचार भइरहेको छ। पाल्पा प्रहरीका अनुसार माथागढी गाउँपालिका–७ रहबासस्थित झडेवा–रहबास भित्री कच्ची सडकखण्डमा बेलुकी करिब ६ बजे लु २ ख ४५२५ नम्बरको टिपर दुर्घटना भएको हो। सो टिपर झडेवाबाट रहबास चुनढुंगा खानीतर्फ जाँदै गर्दा सडकबाट करिब ५० मिटर तल खसेको थियो।
दुर्घटनामा गम्भीर घाइते भएका चार जनामध्ये तीन जनालाई उपचारका क्रममा चिकित्सकले मृत घोषणा गरेका जिल्ला प्रहरी कार्यालय पाल्पाका सूचना अधिकारी प्रहरी नायब उपरीक्षक होमप्रकाश चौधरीले जानकारी दिए। दुर्घटनाको थप अनुसन्धान भइरहेको पाल्पा प्रहरीले जनाएको छ।
प्रतिक्रिया दिनुहोस !