३५ प्रतिशत महिला निर्वाचित
काठमाडौं : प्रतिनिधिसभामा ३५ प्रतिशत महिला निर्वाचित भएका छन्। २ सय ७५ सदस्यीय प्रतिनिधिसभामा ९६ महिला निर्वाचित भएका छन्। जुन ३४.९ प्रतिशत हो। रास्वपाबाट मात्रै ६१ जना महिला निर्वाचित भएका छन्। जसमा १३ जना प्रत्यक्षबाट र ४८ जना समानुपातिकबाट चुनिएका हुन्। त्यस्तै कांग्रेसबाट १६ महिला निर्वाचित भएका छन्।
जसमा १ जना प्रत्यक्ष र १५ जना समानुपातिकबाट चुनिएका हुन्। एमालेबाट १० जना, नेपाली कम्युनिस्ट पार्टीबाट ४, श्रम संस्कृति पार्टीबाट ३ जना र राप्रपाबाट २ जना महिला निर्वाचित भएका छन्। निर्वाचन आयोगले राष्ट्रपति रामचन्द्र पौडेल समक्ष बुझाएको प्रतिनिधि सभा सदस्य निर्वाचनको परिणामसहितको प्रतिवेदनअनुसार १७९ जना पुरुष निर्वाचित भएका छन्।
बिहीबार आयोगले राष्ट्रपति पौडेल समक्ष प्रतिवेदन बुझाएको हो। प्रतिवेदनअनुसार समावेशी विवरणअनुसार आदिवासी जनजाति समूहतर्फ २१.०९, खसआर्य समूहतर्फ ४९.०९, थारु समूहतर्फ ३.२७, दलित समूहतर्फ ६.१८, मधेसी समूहतर्फ १६.७३ र मुस्लिम समूहतर्फ ३.६४ प्रतिशत सदस्य निर्वाचित भएका छन्।
प्रतिवेदन ग्रहण गर्दै राष्ट्रपति पौडेलले विशिष्ट परिस्थितिमा घोषणा भएको निर्वाचनलाई स्वच्छ, स्वतन्त्र, निष्पक्ष, विश्वसनीय एवं भयरहित वातावरणमा सम्पन्न गरेकोमा आयोगलाई धन्यवाद दिएका थिए।
कार्यवाहक प्रमुख निर्वाचन आयुक्त रामप्रसाद भण्डारीले निर्वाचन व्यवस्थापनका सम्बन्धमा सम्पादन गरिएका काम र निर्वाचन परिणामको सारसंक्षेप प्रस्तुत गरेका थिए। उनका अनुसार प्रत्यक्षतर्फ ६ वटा राजनीतिक दलका १ सय ६४ जना र १ जना स्वतन्त्र उम्मेदवार गरी १ सय ६५ जना निर्वाचित भएका छन्।
त्यस्तै समानुपातिक निर्वाचन प्रणालीतर्फ ६ वटा राजनीतिक दलका १ सय १० जना उम्मेदवार निर्वाचित भए। एकल चुनाव चिह्न लिई १२ राजनीतिक दलले ५ वटा चुनाव चिह्न लिएका थिए। १ सय २ दलले आ–आफ्नो चुनाव चिह्न लिएका थिए। प्रत्यक्षतर्फ महिला ३ सय ८८, पुरुष ३ हजार १७ र अन्यबाट १ गरी कुल ३ हजार ४ सय ६ जनाको अन्तिम उम्मेदवारी कायम रहेको थियो।
त्यस्तै समानुपातिक निर्वाचन प्रणालीतर्फ महिला १ हजार ७ सय ७२ र पुरुष १ हजार ३ सय ६३ गरी ३ हजार १ सय ३५ जना उम्मेदवारको अन्तिम बन्दसूची कायम गरिएको थियो। निर्वाचनका लागि महिला ९२ लाख ४० हजार १ सय ३१, पुरुष ९६ लाख ६३ हजार ३ सय ५८ र अन्य २०० गरी कुल १ करोड ८९ लाख ३ हजार ६ सय ८९ मतदाता कायम रहेका थिए। अन्तिम मतदाता नामावलीमा नाम समावेश भएका व्यक्तिहरूमध्येबाट मतदाता नामावली ऐन, २०७३ को दफा ३० बमोजिम तयार गरिएको अस्थायी मतदाता नामावलीमा १ लाख ८६ हजार १४२ मतदाता रहेका थिए। अस्थायी मतदाताहरूलाई प्रतिनिधिसभाको समानुपातिक निर्वाचनतर्फ मतदान गर्ने व्यवस्था मिलाइएको थियो।
४.७ प्रतिशत बदर
निर्वाचनमा १ करोड ११ लाख ६८ हजार ३२ मतदान भएकोमा १ करोड ५ लाख ५९ हजार १७ (९४.५५ प्रतिशत) मत सदर भएकोमा ५.४५ प्रतिशत मत बदर भएको छ । यस्तै समानुपातिकतर्फ १ करोड १२ लाख ८० हजार ८१७ मतदान भएकोमा १ करोड ८ लाख ३५ हजार २५ (९६.०५ प्रतिशत) मत सदर भएकोमा ३.९५ प्रतिशत मत बदर भएको छ। दुवै निर्वाचन प्रणालीतर्फ गरी औसत बदर मतको प्रतिशत ४.७ रहको छ।
निर्वाचनमा स्वदेशी र विदेशी पर्यवेक्षकले प्रर्यवेक्षण गर्ने व्यवस्था मिलाइएकोमा अन्तर्राष्ट्रिय पर्यवेक्षणतर्फ २२ वटा कूटनीतिक निकायका १ सय ६४ जना प्रतिनिधि र ३ वटा अन्तर्राष्ट्रिय गैरसरकारी संस्थाका प्रतिनिधिहरूले पर्यवेक्षण गरेका थिए। राष्ट्रियतर्फ ३५ वटा गैरसरकारी संस्थाले पर्यवेक्षण गरेका थिए।
प्रतिक्रिया दिनुहोस !