नेपाली महिला फोटो पत्रकार सुधिरा शाह। आर्थिक संकटले बिदेसिएकी उनी अस्ट्रेलियाको सिड्नीमा सफलताको चुली चुम्दैछन्। उनले खिचेको तस्बिर तीन हजार अस्ट्रेलियन डलरसम्ममा बिक्री हुन्छ।
जोखिमपूर्ण अवस्थासँग आँखा जुधाउँदै सत्यलाई क्यामेरामा कैद गर्ने साहस बोकेका ड्यानियल बेरेहुलाक अन्तर्राष्ट्रियस्तरका प्रख्यात फोटो पत्रकार हुन्। यी अस्ट्रेलियन पत्रकारले संसारका गहिरा पीडा, संघर्ष र आशाका क्षणहरूलाई आफ्नो लेन्समार्फत जीवन्त बनाएका छन्। उनी लामो समयसम्म
दी न्युओर्क टाइम्ससँग आबद्ध रहे।
त्यस अवधिमा उनले विश्वका ६० भन्दा बढी देशमा पुगेर रिपोर्टिङ गरे। त्यो पनि युद्धको धुवाँभित्र, महामारीको सन्नाटाबीच, राजनीतिक संघर्षका तनावमा र मानवअधिकारका चीत्कारसँगै। उनका तस्बिरहरू केवल दृश्यमात्र होइनन्। ती त भावनाका दस्तावेज बनेका छन्। हरेक फ्रेमले पीडा, साहस, अन्याय र आशाको कथा बोल्छन्। भूकम्प, दंगा र सुनामीजस्ता विपत्तिमा ज्यानकै जोखिम मोलेर उनले वास्तविकता उजागर गरेका छन्। आधुनिक फोटो पत्रकारितामा उनी सफल मात्र होइन, प्रभावशाली र प्रेरणादायी व्यक्तित्वका रूपमा चिनिन्छन्। क्यामेरालाई सत्यको आवाज बनाउँदै उनले संसारका जटिल र संवेदनशील विषयहरूलाई निडरतापूर्वक विश्वसामु प्रस्तुत गरेका छन्। यिनै प्रेरणाबाट प्रभावित भएर जोखिम र प्रतिबद्धताको बाटो रोजेकी अर्की साहसी नेपाली फोटो पत्रकार हुन्, सुधिरा शाह।
माओवादी सशस्त्र द्वन्द्वका रक्तपातपूर्ण र कहालीलाग्दा दिनमा होस् वा अन्य संवेदनशील परिस्थितिमा, जहाँ बन्दुकका आवाज गुञ्जिरहेका हुन्थे, त्यही उनले क्यामेराको लेन्स उठाइन्। गोलीको आवाज र त्रासबीच उभिएर सत्यलाई कैद गर्नु उनका लागि केवल पेशा थिएन, साहसको पराकाष्ठा थियो। उनका तस्बिरहरू समाचारका सामग्री मात्र होइनन्। ती इतिहासका साक्षी, पीडाका प्रमाण र शान्तिको मौन पुकार बनेका छन्। सत्यप्रतिको प्रतिबद्धता, जोखिमसँगको प्रत्यक्ष मुठभेड र क्यामेराप्रतिको आस्था, यिनै गुणले उनलाई नेपाली फोटो पत्रकारितामा प्रेरणादायी व्यक्तित्व बनाएको छ। ‘पहिलो नेपाली महिला आरोही टोलीको सगरमाथा अभियानका तस्बिर खिच्दा पनि कम चुनौती थिएन’, उनी सम्झिन्छिन्। सगरमाथा आधारशिविरसम्मको कठोर हावा, चिसो र जोखिमबीच उभिएर उनले केवल दृश्य होइन, नेपाली महिलाको साहस र इतिहासकै गौरवपूर्ण अध्याय क्यामेरामा कैद गरिन्।
तर चुनौती त्यतिमै सीमित रहेन। राजदरबार हत्याकण्डको स्तब्ध पार्ने क्षण होस् वा माओवादी द्वन्द्वले छाडेका घाउहरूको दस्ताबेजीकरण किन नहुन् हरेक फ्रेममा पीडा, अन्योल र त्राससँगको साक्षात्कार थियो। भन्छिन्, ‘राष्ट्रियस्तरमा हाम्रा तस्बिर छापिन्थे तर अन्तर्राष्ट्रिय पत्रिकाहरूका लागि प्रायः बाहिरका फोटोग्राफर बोलाइन्थे। कहिलेकाहीँ हाम्रा तस्बिर अर्कैको नाममा प्रकाशित हुन्थे।’ यस्ता धेरै अनुभवले उनलाई विदेशमा उच्च अध्ययनतर्फ प्रेरित गरे।
अन्ततः उनका पाइला बेलायततर्फ बढे। सन् २००५ मा युनिभर्सिटी अफ वेस्टमिन्स्टरबाट ‘मास्टर डिग्री इन फोटो जर्नालिज्म’ हासिल गरिन्। अध्ययनकै क्रममा लन्डनस्थित नेसनल पोट्र्रेट ग्यालरी अगाडि खिचिएको एउटा तस्बिर विश्वविद्यालयको प्रतिनिधि कार्यका रूपमा चयन भयो। त्यो क्षणले उनलाई नयाँ आशा र उत्साह दियो। त्यसपछि उनले पोट्र्रेट फोटोग्राफीमा आफ्नो करियर केन्द्रित गरिन्।
सन् २००९ मा परिवारसहित अस्ट्रेलिया प्रवेश गरिन्। सुरुमा ‘एसएस स्टुडियो’ नामक पोट्र्रेट स्टुडियो स्थापना गरिन्। त्यही वर्ष उनका केही कृति पोट्र्रेट अस्ट्रेलियन इन्स्टिच्युट अफ प्रोफेसनल फोटोग्राफर्स (एआईपीपी)को पुरस्कारबाट सम्मानित भए। यसले उनको भविष्यमा सुधारका संकेत पनि देखिए। अस्ट्रेलियामा बसोबास गरे पनि उनी नेपालका घटनाबाट टाढा रहन सकिनन्।
सन् २०१५ मा गएको भूकम्पपछि उनी स्वयंसेवकका रूपमा नेपाल फर्किइन्। सिन्धुपाल्चोकदेखि गोरखाको बारपाकसम्मका प्रभावित क्षेत्रमा पुगेर उनले बचेका व्यक्तिका कथा क्यामेरामा उतारिन्। १६ भन्दा बढी जिल्लामा यात्रा गर्दै उनले मानवीय पीडा र पुनर्निर्माणको संघर्ष दस्ताबेजीकरण गरिन्। त्यसपछि उनको ‘फार एन्ड वय : अस्टेलियन नेपाली परिवार’ शीर्षक फोटो पुस्तक प्रकाशित भयो। जसमा अस्ट्रेलियामा बसोबास गर्ने ४६६ नेपाली परिवारका पोट्र्रेट छन्।
प्रत्येक परिवारको संक्षिप्त कथा योगेन्द्र विष्टले लेखेका छन्। उनका भूकम्पसम्बन्धी तस्बिरहरू पुनः ‘एआईपीपी’बाट पुरस्कृत भए। सन् २०१६ मा न्यु साउथ वेल्स राज्यको ‘ड्कुमेन्ट्री फोटोग्राफर अफ द इयर’ (फाइनलिस्ट) घोषित भइन्। ‘कुुनै बेला मलाई क्यामेराले तान्यो। कुनै बेला मैले क्यामेरा छाड्न सकिनँ’ पुलुक्क हातको डीएसएलआरको लेन्सतिर हेर्दै सुधिराले भनिन्, ‘यो लतले हिमालको काखबाट विशाल सामुद्रिक तटसम्म पुर्यायो।’
सन् २०२३ मा उनले अर्का फोटोग्राफर एलेन भान होभसँग मिलेर सिड्नीको इनर वेस्ट क्षेत्रमा ‘इएल एन्ड एसयू’ पोट्र्रेट स्टुडियो स्थापना गरिन्। आज उनी अस्ट्रेलियाका स्थापित पोट्र्रेट फोटोग्राफरमध्ये एक भएकी छन्। उनका कृति युरोप र अस्ट्रेलियाका हजारौं घरमा मूल्यवान् स्मृतिका रूपमा सुरक्षित छन्। उनका फोटा १५० देखि हजारौं अस्ट्रेलियन डलरसम्ममा बिक्री हुन्छन्। उनले खिचेका तस्बिर एउटै घरमा ४० हजार डलरसम्मका सजिएका छन्। उनको यात्रा केवल त्यसमा मात्र सीमित छैन। सिड्नीका महिलालाई समान पारिश्रमिक र लिंग सन्तुलनसम्बन्धी मुद्दामा आफ्नो आवाज उठाउन सशक्त बनाउने तस्बिर परियोजन ‘वाइट चेयर प्रोजेक्ट’मा समेत उनी संलग्न छन्।
सिर्जनशील फोटोग्राफीसँगै उनी आफ्ना दुई छोरी हुर्काउँदै व्यावसायिक र पारिवारिक जीवन सन्तुलित गरिरहेकी छन्। सबैभन्दा पीडादायी पक्ष भनेको ज्यान जोखिममा राखेर सत्य उजागर गर्ने साहसी पत्रकारहरूको योगदानलाई आफ्नै देशका ठूला सञ्चारगृहहरूले अपेक्षित कदर गर्न नसक्नु हो। जब पसिना, आँसु र साहसको मूल्यांकन हुँदैन, तब कलम समातेका हातहरू परदेसिन बाध्य हुन्छन्। यसरी आफ्नै माटोले नचिनेका आवाजहरू विदेशी भूमिमा हराउँदै जाँदा, देशले केवल पत्रकारमात्र होइन, सत्य बोल्ने साहस पनि गुमाउँदै गएको शाह बताउँछिन्।
प्रतिक्रिया दिनुहोस !