सुर्खेतमा १६ वर्षीया बालिका मृत्यु प्रकरण

जब बालिकाकी आमाले पछ्यौरी फैलाउँदै न्याय मागिन्

जब बालिकाकी आमाले पछ्यौरी फैलाउँदै न्याय मागिन्
पछ्यौरी फैलाएर छोरीको हत्यामा संलग्नलाई कारबाहीको माग गर्दै मृतक बालिकाकी आमा।

दैलेख  : केही दिनयता सुर्खेतको आकाश खुलेको छैन। आकाश धुम्म छ। घाम देखिएको छैन। धुम्म मौसमजस्तै गत शनिबार ज्यान गुमाएकी सुर्खेतकी इनिशा विकको परिवारमा पनि अँध्यारो छाएको छ। पीडामा छन्, परिवार। पीडामा पनि न्यायका लागि सडकदेखि प्रशासनको दैलो धाइरहेका छन्। मंगलबार मृतक इनिशाको परिवारसहित अधिकारकर्मीहरूले प्रदेश राजधानीमा दबाबमूलक आन्दोलन गरे।

वीरेन्द्रनगर–१ स्थित घरबाट अधिकारकर्मीहरूसहित इनिशाको परिवारले दबाबमूलक र्‍याली सुरु गरेको थियो। ‘बालिकामाथि हुने बलात्कार, हत्या र हिंसा बन्द गर’, ‘इनिशालाई न्याय देऊ’, ‘हत्यारालाई कारबाही गर’ जस्ता नारासहित पीडित परिवार र आफन्तले खबरदारी र्‍याली निकाल्दै प्रदर्शन गरेका हुन्। दोषीलाई कारबाही तथा पीडितलाई न्यायको मागसहित आन्दोलित टोली जब एरिचोक, मंगलगढी चोक, वीरेन्द्रचोक हुँदा जिल्ला प्रशासन कार्यालयको मूल गेटमा पुग्यो, तब मृतक बालिकाकी आमाले आफूले ओडेको पछ्यौरी फैलाउँदै न्याय मागिन्। लगत्तै सुर्खेतका प्रमुख जिल्ला अधिकारी जगदीश्वर उपाध्यायलाई ज्ञापनपत्र बुझाउँदै उनले भनिन्, ‘मेरो छोरीको बलात्कारपछि हत्या गरिएको छ, मेरो छोरीले न्याय पाउनुपर्छ, दोषीलाई जन्मकैदको सजाय होस्।’ जवाफमा प्रमुख जिल्ला अधिकारी उपाध्यायले भने, ‘यो घटनामा हामी दुःखी छौं। कानुनअनुसार निष्पक्ष अनुसन्धान हुन्छ, यसमा ढुक्क हुनुहोस्।’

सुर्खेतको गुर्भाकोट नगरपालिका घर भएका इनिशाको परिवार वीरेन्द्रनगर–१ मा बस्दै आएको थियो। गत फागुन २३ गते बिहान ६ बजे ‘ट्युसन पढ्न जान्छु’ भन्दै घरबाट निस्किएकी उनी जनजागरण सामुदायिक वनसँग जोडिएको सहिद पार्कमा बेहोस अवस्थामा भेटिएकी थिइन्। घटनास्थलबाट इनिशालाई कर्णाली प्रदेश अस्पताल पुर्‍याएलगत्तै चिकित्सकले इनिशालाई मृत घोषणा गरे। उक्त घटनापछि मृतक बालिकाको परिवारले ‘सामुहिक बलात्कारपछि मृत्यु भएको’ भन्दै कर्तव्य ज्यान तथा जबरजस्ती करणीको जाहेरी दिएको थियो। 

उक्त घटनामा प्रहरीले १६ वर्षीय किशोरलाई फागुन २३ गते नै घटनास्थलबाटै पक्राउ गरिसकेको छ। पीडित पक्षले फागुन २४ गते दिएको उजुरीको आधारमा प्रदेश अस्पताल सुर्खेतमा शवको पोस्टमार्टम भएको थियो। प्रहरीले थप अनुसन्धानका लागि फागुन २४ गते अन्य १५, १६ र १७ वर्षीय बालकहरूलाई पनि नियन्त्रणमा लिएर अनुसन्धान थालेको छ। पीडित परिवारले सुर्खेत प्रहरी प्रमुख सुधीर राज शाहीलाई समेत ज्ञापनपत्र बुझाएका छन्। उनीहरूले बालिका बलात्कारपछि हत्या भएको भन्दै निष्पक्ष छानबिन गरी दोषीमाथि कारबाहीको माग गरेका छन्। ‘हाम्रो निर्दोष छोरीमाथि सहिद पार्कको नजिकै जंगलमा मारिएको घटनाले परिवारमात्रै समाज नै स्तब्ध बनेको छ,’ ज्ञापनपत्रमा भनिएको छ। पीडित परिवारले घटनाको निष्पक्ष, गहन र शीघ्र छानबिन गरी पीडकलाई कानुनअनुसार कारबाहीको माग राखेका छन्।

हत्याको घटनामा कर्णालीका नागरिक समाज संस्थाहरूले समेत चासो देखाएका छन्। उनीहरूले गम्भीर अनुसन्धान र दोषीलाई कारबाहीको माग गर्दै जिल्ला प्रशासन, जिल्ला प्रहरी कार्यालयलगायत निकायमा ध्यानाकर्षण पत्र बुझाएका छन्। उक्त घटनालाई अत्यन्त दुःखद, अमानवीय र निन्दनीय भन्दै निष्पक्ष छानबिनको माग गरेका छन्। परिवारजनले बालिकाको शवको अन्त्येष्टि गरेका छैनन्। जिल्ला प्रहरी कार्यालय सुर्खेतका प्रहरी उपरीक्षक सुधीरराज शाहीले प्रहरीले घटनाबारे अनुसन्धान जारी राखेको बताए। ‘हामीले सबै कोणबाट घटनाको अनुसन्धान गरिरहेका छौं,’ यस घटनाको हामी गम्भीरताका साथ अनुसन्धान गर्छौं, दोषी उम्किने अवस्था आउँदैन,’ उनले भने।


 


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.