५०,००० कटाउनेहरू
प्रतिनिधिसभा निर्वाचनमा यसपटक १२ जना उम्मेदवारले ५० हजारभन्दा बढी मत कटाएर सानदार जित हासिल गरेका छन्। ५० हजार बढी मत ल्याउनेमा भावी प्रधानमन्त्रीका रूपमा चर्चा गरिएका बालेन्द्र शाह (बालेन) देखि रास्वपा सभापति रवि लामिछानेसम्म छन्। रोचक कुरा के छ भने, धेरै मत ल्याएर जित्ने शीर्ष १२ जना नै राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का उम्मेदवार छन्।
१. बालेन्द्र शाह (बालेन), झापा–५ : ६८,३४८
सबैभन्दा धेरै मत भावी प्रधानमन्त्रीका रूपमा हेरिएका बालेन्द्र शाह (बालेन) ले प्राप्त गरेका छन्। उनले ६८ हजार ३ सय ४८ मत ल्याएर विजयी सुरुवात गरे। बालेनले पूर्वप्रधानमन्त्री एवं एमाले अध्यक्ष केपी शर्मा ओलीलाई भारी मतान्तरले पराजित गरे। ६ पटक झापा ५ बाट जित्दै आएका ओलीलाई उनले ४९ हजार ६ सय १४ मतान्तरले रोकेका हुन्। ओलीले १८ हजार ७ सय ३४ मत मात्रै प्राप्त गरे।
२. इन्दिरा रानामगर, झापा–२ : ६०,११०
दोस्रो धेरै मत ल्याएर झापा–२ बाट इन्दिरा रानामगर विजयी भएकी छन्। उनले ६० हजार १ सय १० मतका साथ पूर्वसभामुख एवं एमाले नेता देवराज घिमिरेलाई ठूलो मतान्तरले पराजित गरिन्। घिमिरेले ११ हजार ३ सय ६८ मत मात्र ल्याए। स्वागत नेपालको नामले चिनिने भद्रप्रसाद नेपालले यसपटक राप्रपाबाट ३ हजार ९ सय ६६ मत मात्र पाए।
३. सोविता गौतम, चितवन–३ : ५९,२७७
चितवन–३ को प्रतिस्पर्धा निकै रोचक रह्यो। भरतपुरकी पूर्वमेयर रेनु दाहाललाई ५९ हजार २ सय ७७ मतका साथ सोविता गौतमले पराजित गरिन्। दाहालले २० हजार ६ सय १५ मत मात्र पाइन्। २०७९ मा काठमाडौं–२ बाट जितेकी गौतम यसपटक चितवन झरेर विजयी भएकी हुन्।
४. डा. लेखजंग थापा, रूपन्देही–३ : ५८,८१४
रूपन्देही ३ बाट डा. लेखजंग थापा ५८ हजार ८ सय १४ मत ल्याएर विजयी भए। उनले एमालेका चर्चित नेता बासुदेव घिमिरे र कांग्रेसका सुशील गुरुङलाई ठूलो अन्तरले हराए। उत्कृष्ट तिलोत्तमा नगरपालिकाको मेयर भइसकेका घिमिरे रास्वपाको लहरअघि निरीह देखिए।
५. हरि ढकाल, चितवन–१ : ५८,२०८
चितवन–१ मा ५८ हजार २ सय ८ मत ल्याएर हरि ढकाल दोस्रोपटक निर्वाचित भएका छन्। उनले कांग्रेसका राजेन्द्रप्रसाद बुर्लाकोटी (१३,०३३ मत) र एमालेका दावादोर्जे लामा (१०,८९९ मत) लाई फराकिलो अन्तरले पराजित गरे। २०७९ मा पनि ढकालले यही क्षेत्रबाट सुरेन्द्र पाण्डे र विश्व पौडेललाई हराएका थिए।
६. लालविक्रम थापा, सुनसरी–२ : ५७,३४८
सुनसरी २ मा लालविक्रम थापाले ५७ हजार ३ सय ४८ मत ल्याएर कांग्रेसका राजीव कोइरालालाई पराजित गरे। कोइरालाले १६ हजार ७१ मत पाउँदा एमालेका सुजन लामा ८ हजार ३ सय ३ मतमा सीमित भए। २०७९ मा यहाँबाट एमालेका भीम आचार्य निर्वाचित भएका थिए।
७. सुलभ खरेल, रूपन्देही–२ : ५६,५५०
अधिवक्ता सुलभ खरेलले रूपन्देही–२ मा ५६ हजार ५५० मत ल्याएर एमाले उपाध्यक्ष विष्णुप्रसाद पौडेललाई स्तब्ध पारे। बुटवलको विकासका सर्जक मानिने पौडेलले १२ हजार ८ सय ६१ मत मात्रै पाए।
८. रुविना आचार्य, मोरङ– ६ : ५५,५१३
मोरङ–६ मा ३१ वर्षीया रुविना आचार्य ५५ हजार ५ सय १३ मतका साथ विजयी भइन्। कोइराला परिवारको विरासत मानिने यस क्षेत्रमा उनले कांग्रेसका डा. शेखर कोइराला र एमाले नेता विनोद ढकाललाई भारी अन्तरले पराजित गरिन्। कोइरालाले १२ हजार ८ सय ५० र ढकालले ८ हजार ३ सय १ मत मात्र पाए।
९. सुनील लम्साल, रूपन्देही–१ : ५४,८४५
३५ वर्षीय युवा सुनील लम्साल ५४ हजार ८ सय ४५ मतका साथ रूपन्देही १ बाट विजयी भए। उनका निकटतम प्रतिद्वन्द्वी कांग्रेसका हीराबहादुर खत्रीले ११ हजार ९ सय ८२ मत पाए भने राप्रपाका प्रज्वल बोहरा ८ हजार ३ सय १ मतमा खुम्चिए। यो क्षेत्रमा लामो समयदेखि एमालेको वर्चस्व थियो।
१०. रवि लामिछाने, चितवन–२ :५४,४०२
रास्वपा सभापति रवि लामिछाने ५४ हजार ४ सय २ मतका साथ तेस्रोपटक चितवन– २ बाट निर्वाचित भएका छन्। उनले कांग्रेसकी चर्चित नेतृ मीनाकुमारी खरेललाई पराजित गरे। खरेलले १४ हजार ५ सय ६४ मत प्राप्त गरिन्।
११. बदनकुमार भण्डारी, काभ्रे–२ : ५३,३४४
काभ्रेपलान्चोक–२ बाट बदनकुमार भण्डारी ५३ हजार ३ सय ४४ मतका साथ विजयी भएका छन्। उनले कांग्रेसका मधुकुमार आचार्य र एमालेका अशोककुमार ब्यान्जू श्रेष्ठलाई हराए। एमालेले यसपटक गोकुल बाँस्कोटाको टिकट खोसेर ब्यान्जूलाई दिएको थियो।
१२. राजन गौतम, नवलपरासी (बर्दघाट सुस्तापूर्व) १ : ५०,९४५
डा. शशांक कोइरालाले जित्दै आएको र कांग्रेसको ‘गढ’ मानिने यस क्षेत्रमा रास्वपाका राजन गौतम ५० हजार ९ सय ४५ मतका साथ विजयी भए। कांग्रेसले कोइरालालाई टिकट नदिएर बालकृष्ण घिमिरेलाई उठाएको थियो, जसले १६ हजार २ सय ९३ मत मात्र पाए।
प्रतिक्रिया दिनुहोस !