झापामा कांग्रेस, एमाले, नेकपा, राप्रपासहित ७८ जनाको जमानत जफत

झापामा कांग्रेस, एमाले, नेकपा, राप्रपासहित ७८ जनाको जमानत जफत

झापा : यस पटकको प्रतिनिधिसभा सदस्य निर्वाचनले झापा जिल्ला लाल किल्लाको गढ मात्र भत्काएन। राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले पाँचै निर्वाचन क्षेत्रमा विजयी हासिल गरी निल किल्ला बनाउँदा यहाँका मतदाताहरुले ठूला राजनीतिक दलबाट उम्मेदवार बनेकाहरुको धरौटी रकम (जमानत) समेत जफत गराइदिएका छन्। 

जमानत जफत हुनेहरूमा नेपाली कांग्रेस, नेकपा (एमाले), राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा), नेपाली कम्युनिस्ट पार्टी (नेकपा) लगायत ठूला दलहरूका उम्मेदवारहरू रहेका छन्। जिल्लामा ९० जना उम्मेदवारी दिएका मध्ये ७८ जनाको जमानत (धरौटी रकम) जफत भएको निर्वाचन कार्यालय झापाले जनाएको छ। 

निर्वाचन आयोगको प्रतिनिधिसभा सदस्य निर्वाचन ऐन, २०७४ को दफा ७१ मा पहिलो हुने निर्वाचित हुने निर्वाचन प्रणाली अन्तर्गतको कुनै निर्वाचनमा मतदान गरिएको जम्मा सदर मतको १० प्रतिशतभन्दा कम सदर मत पाउने उम्मेदवारको धरौटी जफत हुने उल्लेख छ। उम्मेदवारले उम्मेदवारी दर्ता गर्दा बुझाएको रकम अब सरकारको खातामा नै जाने भएको छ।  

झापा क्षेत्र नं १ मा १५ जना उम्मेदवारमध्ये १२ जनाको जमानत जफत भएको छ। नेपाली कांग्रेसका केशवराज पाण्डे र श्रम संस्कृति पार्टीका केबलराम राईले मात्र सदर मतको १० प्रतिशत कटाएको छ। नेकपा (एमाले)का रामचन्द्र उप्रेती, राप्रपाका हेमराज कार्की, नेकपाका अशेष घिमिरे, उज्यालो नेपाल पार्टीका नरेशकुमार लावती, जसपाका रमा मेचे लगायतको जमानत जफत भएको छ। 

निर्वाचन क्षेत्र नम्बर २ मा १८ जना उम्मेदवारमध्ये १६ जनाको जमानत जफत भएको छ। नेकपा (एमाले)का देवराज घिमिरेबाहेक नेपाली कांग्रेसका सरिता प्रसाईँ, राप्रपाका भद्रप्रसाद नेपाल (स्वागत), श्रम संस्कृति पार्टीका केशवकुमार भण्डारी, नेकपाकी धर्मशीला चापागाईँ, उज्यालो नेपाल पार्टीबाट चूडा कर्ण बेघा, जसपाका तिलबहादुर राई लगायत उम्मेदवारको जमानत जफत भएको छ।

त्यस्तै निर्वाचन क्षेत्र नम्बर ३ मा १७ जना उम्मेदवारमध्ये १५ जनाको जमानत जफत भएको छ। राप्रपा अध्यक्ष राजेन्द्र लिङ्देनबाहेक नेपाली कांग्रेसका राजेन्द्र घिमिरे, नेकपा एमालेका हरिबहादुर राजवंशी, श्रम संस्कृति पार्टीका दीपक तिम्सिना, नेकपाका डिल्लीराम घिमिरे, उज्यालो नेपाल पार्टीका श्यामकृष्ण पाठक, जसपाका विनीताकुमारी राजवंशीसहितको जमानत जफत भएको हो।

त्यस्तै निर्वाचन क्षेत्र नम्बर ४ मा १६ जना उम्मेदवारमध्ये १३ जनाको जमानत जफत भएको छ। नेकपा एमालेका लालबहादुर साँवा र कांग्रेसका देउकुमार थेबेबाहेक राप्रपाका भक्तिप्रसाद सिटौला, नेकपाका पुरुषोत्तम चुँडाल, उज्यालो नेपाल पार्टीका सन्तोष तामाङ, जसपाका पल्टन ताजपुरियासहित उम्मेदवारहरूको जमानत जफत भएको हो। 

त्यस्तै निर्वाचन क्षेत्र नम्बर ५ मा २४ जना उम्मेदवारमध्ये २२ जनाको जमानत जफत भएको छ। नेकपा (एमाले) अध्यक्ष केपी शर्मा ओलीबाहेक नेपाली कांग्रेसकी मन्धरा चिमरिया , राप्रपाका लक्ष्मीप्रसाद सङ्ग्रौला, श्रम संस्कृति पार्टीका समीर तामाङ, नेकपाका रञ्जित तामाङ, जसपाका धिरेन सुब्बासहित उम्मेदवारको जमानत जफत भएको जिल्ला निर्वाचन कार्यालय झापाले जनाएको छ।
 


प्रतिक्रिया दिनुहोस !

सम्बन्धित खबर

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.