कैलालीमा यसरी हुँदैछ मतदानको तयारी {तस्वीरहरु}
धनगढी : आसन्न प्रतिनिधिसभा निर्वाचनका लागि कैलालीमा आवश्यक सम्पूर्ण तयारी पूरा भएको छ । जिल्ला निर्वाचन कार्यालय कैलालीका अनुसार मतदान केन्द्रको व्यवस्थापन, मतदान सामग्री ढुवानी तथा सुरक्षाको प्रबन्ध मिलाइ सकिएको छ ।
जिल्लाभरिका सबै मतदान केन्द्रमा कर्मचारी खटाइसकिएको र आवश्यक मतदान सामग्री सम्बन्धित केन्द्रमा पुर्याइएको कार्यालयले जनाएको छ । मतपेटिका, मतपत्र, छाप, मतदाता नामावलीलगायत सामग्री सुरक्षित रूपमा केन्द्रसम्म पुर्याइएको छ ।

सुरक्षा व्यवस्थालाई समेत कडाइ गरिएको छ । नेपाल प्रहरी, सशस्त्र प्रहरी बल र आवश्यक स्थानमा नेपाली सेनासमेत परिचालन गरिएको छ । संवेदनशील र अति संवेदनशील मतदान केन्द्रमा विशेष सुरक्षा योजना लागू गरिएको प्रमुख जिल्ला अधिकारीले जानकारी दिएका छन्।
मतदान केन्द्रको भौतिक संरचना, लाइन व्यवस्थापन, अपांगता भएका व्यक्तिका लागि सहज पहुँच तथा महिला, ज्येष्ठ नागरिकलाई प्राथमिकता दिने व्यवस्था मिलाइएको छ । स्वयंसेवक तथा कर्मचारीलाई आवश्यक तालिम दिइएको छ भने मतदान प्रक्रिया शान्तिपूर्ण र निष्पक्ष रूपमा सम्पन्न गर्न सबै पक्षलाई आ–आफ्नो जिम्मेवारी पूरा गर्न आग्रह गरिएको छ ।
निर्वाचन कार्यालयले मतदातालाई तोकिएको समयभित्र मतदान केन्द्रमा उपस्थित भई आफ्नो मताधिकार प्रयोग गर्न अनुरोध गरेको छ । बिहान ७ बजेदेखि साँझ ५ बजेसम्म मतदान हुने जनाइएको छ । जिल्लामा रहेका सबै राजनीतिक दल तथा उम्मेदवारहरूले पनि शान्तिपूर्ण वातावरणमा मतदान सम्पन्न गराउन सहयोग गर्ने प्रतिबद्धता व्यक्त गरेका छन् ।





प्रतिक्रिया दिनुहोस !