उदयपुरमा शंकास्पद वस्तु फेला
उदयपुर : उदयपुरको चौदण्डीगढी नगरपालिका–२ लाटीखोलाको पुल नजिकै सर्बसाधारणलाई आतकिंत हुने गरी राखिएको शंकास्पद वस्तु सुरक्षा फौजको टोलीले निस्क्रिय पारेको छ ।
मदन भण्डारी लोकमार्गमा राजमार्ग नै बन्द हुने गरी मंगलबार साँझ राखिएको शंकास्पद वस्तु सुरक्षाकर्मीको गस्ती टोलीले देखेपछि नेपाल प्रहरी, सशस्त्र र नेपाली सेनाको संयुक्त टोलीले निस्क्रिय बनाएका हुन् ।
फेला परेको बस्तु विष्फोटक पदार्थ नभएको जिल्ला प्रहरी कार्यालयका प्रमुख एसपी राजन चापागाईले बताए । उनले भने, ‘फलामको पाइप हो, गाडीबाट झरेको हुन सक्छ, प्रहरीको टोलीले देखेपछि साइड लगाइएको हो । सुरक्षा टोलीले विष्फोटक पदार्थ नभएको दावी गरिरहँदा स्थानीयले भने निस्क्रिय पार्दा आएको आवाजका कारण शंकास्पद वस्तु नै भएको दावी गरेका छन् ।
निस्क्रिय पार्दा ठूलो आवाज आएको स्थानीयले बताएका छन् । राजमार्ग नै बन्द हुने गरी शंकास्पद वस्तु कसले र कुन मनसायले राख्यो भने कुरा खुल्न सकेको छैन । यद्दपी चुनावलाई प्रभावित पार्न राखिएको हुन सक्ने अनुमान गरिएको छ ।
प्रतिक्रिया दिनुहोस !