मतदानस्थलहरूमा सर्वदलीय बैठकसहित मतदानको अन्तिम तयारीमा जुटे कर्मचारी तथा सुरक्षाकर्मीहरू

मतदानस्थलहरूमा सर्वदलीय बैठकसहित मतदानको अन्तिम तयारीमा जुटे कर्मचारी तथा सुरक्षाकर्मीहरू

तानसेन : बिहीबार फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि पाल्पाका ११८ मतदानस्थलमा स्थानीय राजनीतिक दल तथा नागरिक अगुवाहरूको सहभागितामा सर्वदलीय सर्वपक्षीय बैठकहरू भएका छन्। 

फागुन १८ गते ११८ वटै मतदान स्थलमा पुगेका कर्मचारी र सुरक्षाकर्मीले मतदानको वातावरण बनाउने काममा सक्रिय भएका छन्। मतदान स्थलमा मतदान अधिकृतहरूले मतदान स्थलको चौकिल्ला निर्धारण गरेर, निर्वाचन आयोगका सूचना टाँस गर्ने, मदिरा तथा हतियार र प्रचार सामग्री निषेधित क्षेत्र घोषणा गरेका छन्।

पाल्पाका केही मतदान स्थलमा मतदानका लागि घेराबार गर्ने डोरी टाँग्ने, मतदाताको लाइन मिलाउने, बाँस गाड्ने, मतदाता प्रवेश गर्ने, पहिलो मतपत्र प्रत्यक्ष र दोस्रो मत समानुपातिक मत राख्ने स्थानको समेत व्यवस्था गरेको नेपाल रेडक्रस सोसाइटी मतदान केन्द्र ‘क’ की मतदान अधिकृत सलिना केसीले बताइन्।

निर्वाचन अधिकृतको कार्यालयबाट सोमबार नै मतपत्रसहित ६० भन्दा बढी प्रकारका आवश्यक निर्वाचन सामग्री लिएर कर्मचारी टोलीहरू मतदान स्थलमा खटिएका हुन्। मतदान स्थलमा खटिएका कर्मचारी तथा सुरक्षाकर्मीहरूले मतदान स्थलमा कुनै अवाञ्छित गतिविधि नहोस् भनी वरिपरि क्षेत्रमा निगरानी बढाएका छन्। 

निर्वाचनलाई स्वच्छ र मर्यादित बनाउन जिल्ला सुरक्षा समितिले फागुन १५ गतेदेखि नै जिल्लाभर मदिराको बेचबिखन र सेवनमा कडा प्रतिबन्ध लगाएको छ। मतदान स्थलमा पुगेका मतदान अधिकृतसहितका कर्मचारीले आयोगले तोकेका सबै किसिमका कामहरू तोकिएकै समयमा भएका मुख्य निर्वाचन अधिकृत हरि प्रसाद शर्माले बताए।

मतदान केन्द्रमा पुगेका मतदान अधिकृतहरूले निर्वाचनलाई निष्पक्ष र धाँधलीरहित बनाउन स्थानीय स्तरमा क्रियाशील राजनीतिक दलका प्रतिनिधिहरूसँग सर्वदलीय बैठक बसेका छन्। मतदान केन्द्रको संवेदनशीलतालाई ध्यानमा राख्दै कर्मचारीहरूले निर्वाचन आचारसंहिता पालनाका विषयमा दलहरूलाई सचेत गराएका छन्।

जिल्ला सुरक्षा समितिले निर्वाचनलाई भयमुक्त वातावरणमा सम्पन्न गर्न तीन तहको सुरक्षा योजनाअनुसार सुरक्षाकर्मीहरू परिचालन भएको प्रमुख जिल्ला अधिकारी बिनु वज्राचार्य कुँवरले जानकारी दिइन्। मतदान स्थलमा पहिलो घेरामा नेपाल प्रहरी र म्यादी प्रहरी, दोस्रो घेरामा सशस्त्र प्रहरी र बाहिरी घेरामा नेपाली सेनाले सुरक्षा दिँदै आएको प्रजिअ कुँवरले बताइन्। 

जिल्लाभरका सबै मतदान स्थलको शान्ति–सुरक्षाको अवस्था सामान्य रहेको र कुनै पनि अवाञ्छित गतिविधि हुन नदिन सादा पोसाकका प्रहरी तथा मोबाइल गस्ती टोली परिचालन गरिएको जिल्ला प्रहरी कार्यालय पाल्पाका प्रमुख दिपेन्द्र पञ्जियार थारुले बताए।

निर्वाचन आयोगले बदर मत कम गर्न पाल्पाका ८१ वटै वडामा मतदाता शिक्षालाई टोलबस्तीमा पुर्‍याएको निर्वाचन कार्यालय पाल्पाका निर्वाचन अधिकारी महेश शर्माले बताए।

पाल्पामा एक सय १८ मतदान स्थल रहेका छन्, जसमा दुई सय ५१ मतदान केन्द्र र २ वटा अस्थायी मतदान केन्द्र गरी दुई सय ५३ वटा मतदान केन्द्र रहेका छन्। जहाँ क्षेत्र नम्बर १ मा ५२ मतदान स्थल रहेका छन् भने १ सय १७ मतदान केन्द्र तोकिएका छन्। यस्तै क्षेत्र नम्बर २ मा ६६ मतदान स्थल रहेका छन् भने १ सय ३४ मतदान केन्द्र तोकिएका छन्। पाल्पा–२ मा कारागार र टुँडिखेलमा अस्थायी मतदान केन्द्रमा मतदानको व्यवस्था रहेको छ।

पाल्पामा २ लाख ७ हजार ४ सय ३६ कुल मतदाता मध्ये क्षेत्र नम्बर १ मा ९८ हजार ३ सय ८३ र क्षेत्र नम्बर २ मा १ लाख ९ हजार ५३ मतदाता रहेका छन्। कुल मतदाता २ लाख ७ हजार ४ सय ३६ मध्ये महिला १ लाख ५ हजार ५ सय ४३ जना र पुरुष मतदाता १ लाख १ हजार ८ सय ९३ जना रहेका छन्। 

पाल्पाको कुल मतदातामा पुरुषभन्दा ३ हजार ६ सय ५० महिला मतदाता बढी रहेका छन्। २०७९ सालमा २ लाख १ हजार ३ सय २६ मतदाता थिए भने अहिले ६ हजार १ सय १० जना नयाँ मतदाता थपिएका छन्। निर्वाचनका लागि मतदान अधिकृत २५३, सहायक मतदान अधिकृत २५३ जना, सहायक कर्मचारी ७५९ जना, सहयोगी २५३ जना गरी १ हजार ५ सय १८ जना कर्मचारी परिचालन भएका छन्।

निर्वाचनको सुरक्षाका लागि ७ सय ५१ नेपाल प्रहरी र १ हजार ४ सय १३ म्यादी प्रहरी परिचालन गरिएको छ। सशस्त्र प्रहरीका १६ वटा मोबाइल टोली र नेपाली सेनाका ४ वटा सीओबी, १० वटा पीओबी र सबै मतदान स्थल नजिकै एसओबी क्याम्प राखेर सेना परिचालन गरिएको छ।

पाल्पामा दुई सिटका लागि क्षेत्र नम्बर १ मा १० राजनीतिक दलका उम्मेदवार र ४ जना स्वतन्त्र गरी १४ जना तथा क्षेत्र नम्बर २ मा १४ राजनीतिक दल र २ जना स्वतन्त्र गरी १६ जना उम्मेदवारहरू प्रतिस्पर्धामा छन्।


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.