सिन्धुली-१ : ‘गढ’ फर्काउने दाउमा एमाले, इतिहास दोहोर्याउने रणनीतिमा कांग्रेस
सिन्धुली : आगामी फागुन २१ गते हुने प्रतिनिधि सभा निर्वाचनमा सिन्धुली-१ मा नेपाली कांग्रेस र नेकपा एमालेबीच मुख्य प्रतिस्पर्धा हुने देखिएको छ।
नेपाली कांग्रेसका उज्ज्वलप्रसाद बराल र नेकपा एमालेका प्रदीपकुमार कटुवालबीच कडा प्रतिस्पर्धा हुने निश्चितजस्तै बनेको छ। उनीहरूबीचको यो चुनाव प्रतिष्ठाको लडाइँका रूपमा हेरिएको छ। तीन दशकसम्म आफ्नो प्रभाव जमाउँदै आएको क्षेत्र २०७९ मा कांग्रेसले खोसेपछि एमाले आफ्नो पुरानो विरासत ‘गढ’ फिर्ता गर्ने दाउमा छ। उता कांग्रेस भने हात लागेको शक्ति जोगाउन कस्सिएको छ। दुवै दलका लागि यो चुनाव हार-जीतभन्दा पनि साख जोगाउने विषय बनेको छ।
२०४८ देखि २०७४ सम्म निरन्तर जित्दै आएको एमालेलाई २०७९ मा पाँचदलीय गठबन्धनसहित कांग्रेसले रोकेको थियो। उक्त निर्वाचनमा कांग्रेसका श्यामकुमार घिमिरे ३० हजार ३ सय ९१ मतसहित विजयी भएका थिए। सोही निर्वाचनमा एमालेका प्रदीप कटुवालले २५ हजार ५ सय ४६ मत प्राप्त गरेका थिए।
झन्डै तीन दशकसम्म एमालेले एकछत्र बनाएको ‘लाल किल्ला’ कांग्रेसले भत्काएको तीन वर्षमै फिर्ता गर्ने रणनीतिसहित एमाले चुनावी मैदानमा उत्रिएको जिल्ला अध्यक्ष महेन्द्रदेव श्रेष्ठले बताए। उनका अनुसार अघिल्लो निर्वाचनका उपविजेता कटुवाललाई यस पटक विजयी गराउने लक्ष्यका साथ उम्मेदवारी दिइएको हो। प्रदेशसभा सदस्य हुँदै बागमती प्रदेशका स्वास्थ्य मन्त्रीसमेत भइसकेका कटुवाल संगठनमा जमेका नेता भएकाले यस पटक कांग्रेसले खोसेको ‘लाल किल्ला’मा पुनः सूर्य चिन्ह अंकित झन्डा फहराउनेमा एमाले विश्वस्त देखिन्छ।
निर्वाचन क्षेत्र तथा सिन्धुलीको समग्र विकासमा नेतृत्वदायी भूमिका खेलेको र जनताको सुख-दुःखमा सधैं सँगसँगै रहेको भन्दै उम्मेदवार कटुवालले आफ्नो जित सुनिश्चित रहेको दाबी गरेका छन्।
२०७९ को निर्वाचनमा एमालेले प्राप्त गरेको समानुपातिक मतलाई आधार मान्दै कटुवाल अंकगणित आफ्नै पक्षमा रहेको तर्क गर्छन्। त्यतिबेला समानुपातिकतर्फ एमालेले २२ हजार ३ सय ४९ मत ल्याउँदा कांग्रेसले १८ हजार २ सय ४२ मत प्राप्त गरेको थियो। त्यतिबेला तत्कालीन माओवादी केन्द्रले १२ हजार ३ सय ८१ मत पाएको थियो। २०७९ मा कांग्रेस र माओवादीसहित गठबन्धन थियो। तर यसपटक ठूला तीनै दल एक्लाएक्लै चुनावी मैदानमा छन्।
यस पटक राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को प्रवेशले निर्वाचन झन् रोचक बनेको छ। नेकपाका उम्मेदवार डेकेन्द्रप्रसाद सुवेदी र रास्वपाका धनेन्द्र कार्की पनि प्रतिस्पर्धामा छन्। उनीहरूले पनि आफ्नो पक्षमा मत परिणाम पार्ने दाउ राखे पनि मुख्य प्रतिस्पर्धा कांग्रेस र एमालेबीच हुने चर्चा मतदाताबीच चलिरहेको छ।
कांग्रेसका उम्मेदवार उज्ज्वलप्रसाद बराल त्यस क्षेत्रका पुराना, अनुभवी र जनताबीच रुचाइएका नेता हुन्। कांग्रेसका निवर्तमान जिल्ला सभापतिका रूपमा उनले नेता–कार्यकर्ताको सुख-दुःखमा साथ दिएका थिए। हालै सम्पन्न विशेष महाधिवेशनबाट उनी केन्द्रीय सदस्यमा निर्वाचित भएका छन्।
बराल यसअघि दुई पटक कांग्रेसबाट उम्मेदवार बने पनि पराजित भएका थिए। संसदीय यात्रामा नपुगे पनि उनले आफ्नो भूगोलका नागरिकका समस्यामा निरन्तर साथ दिँदै आएका छन्। पदमा नहुँदा पनि जनताकै बीचमा रहेर काम गर्ने छवि बनाएका बराल यस पटक निर्वाचित भए र कांग्रेस सरकारमा पुगे जिल्लाबाट मन्त्री बन्न सक्ने अपेक्षा कार्यकर्तामा छ।
२०७९ मा यही क्षेत्रबाट निर्वाचित श्यामकुमार घिमिरे नेपाली कांग्रेसका प्रमुख सचेतक भएका थिए। यद्यपि कांग्रेस र एमालेबीच कडा प्रतिस्पर्धा देखिए पनि मतदातामा पुराना दलप्रति असन्तोष पनि उत्तिकै छ। निर्वाचन जितेर गए पनि गाउँ फर्केर नआउने, अघिल्ला निर्वाचनका वाचा पूरा नगर्ने तथा विकासका काममा चासो नदेखाउने गुनासाबीच यस पटक मतदाताको विश्वास जित्नु उम्मेदवारका लागि चुनौती बनेको छ।
पुराना दलप्रति असन्तुष्ट मतदाताले नयाँ अनुहार खोजिरहेका छन्। नेकपाका सुवेदी, रास्वपाका कार्की तथा अन्य दल र स्वतन्त्र उम्मेदवारहरू यस क्षेत्रका लागि नयाँ अनुहार हुन्। सिन्धुली-१ मा राजनीतिक दल तथा स्वतन्त्र गरी १२ जना उम्मेदवार चुनावी मैदानमा छन्।
प्रतिक्रिया दिनुहोस !