निर्वाचनका लागि सिन्धुली आइपुग्यो ४ लाख ६८ हजार मतपत्र
सिन्धुली : आगामी फागुन २१ गते हुने प्रतिनिधि सभा सदस्य निर्वाचनका लागि आवश्यक पर्ने मतपत्र सिन्धुली जिल्लाका लागि सोमबार आइपुगेको छ।
मुख्य निर्वाचन अधिकृतको कार्यालयका अनुसार जिल्लाका दुवै क्षेत्रका लागि आवश्यक पर्ने प्रत्यक्ष तर्फ र समानुपातिक तर्फको मतपत्र सिन्धुली ल्याइपुर्याइएको हो। प्रत्यक्ष र समानुपातिक गरी दुवै क्षेत्रका लागि ४ लाख ६८ हजार मतपत्र सोमबार नेपाली सेनाको टोलीले मुख्य निर्वाचन अधिकृतको कार्यालयमा बुझाएको सिन्धुलीका मुख्य निर्वाचन अधिकृतको कार्यालयका सूचना अधिकृत तथा सहायक निर्वाचन अधिकृत चित्रखर अधिकारीले जानकारी दिए।
अधिकारीका अनुसार प्रत्यक्ष तर्फ हुने निर्वाचनका लागि २ लाख ३७ हजार र समानुपातिक तर्फ २ लाख ३१ हजार मतपत्र आइपुगेको हो। ‘दुवै मतपत्रको संख्या ४ लाख ६८ हजार जिल्लामा आइपुगेको हो,’ उनले भने।
यस्तै सिन्धुली २ का लागि प्रत्यक्षतर्फ १ लाख १८ हजार र समानुपातिक तर्फ १ लाख १२ हजार मतपत्र निर्वाचन आयोगले पठाएको हो। जिल्लामा ल्याईपुर्याइएको मतपत्र मुख्य निर्वाचन अधिकृतको कार्यालयमै सुरक्षाका साथ राखिएको जनाएको छ। प्रत्येक मतपत्रको प्याकेटमा नम्बर लेखिएको र कुन मतपत्र प्रत्यक्ष वा समानुपातिकको हो भन्नका लागि कलरले छुट्याइएको बताइएको छ।
प्रतिनिधि सभा क्षेत्र नं. १ मा ५७ हजार २ सय २ जना पुरुष र ५३ हजार १ सय ८९ जना महिला गरि कुल १ लाख १० हजार ३ सय ९१ जना र प्रतिनिधि सभा क्षेत्र नं. २ मा ५४ हजार १ सय २२ पुरुष र ५० हजार ५ सय ६ जना महिला गरि कुल १ लाख ४ हजार ६ सय २८ जना गरी कुल २ लाख १५ हजार १९ जना मतदाता रहेका छन्।
प्रतिक्रिया दिनुहोस !