के शिवपुराणले विज्ञानसँग कुरा गर्छ ?

के शिवपुराणले विज्ञानसँग कुरा गर्छ ?

शिवमहापुराणमा ‘ॐ नमः शिवाय’लाई ब्रह्माण्डका पाँच कार्य र तत्तवको संकेत मानिन्छ। अतः यसले आधुनिक विज्ञानका निर्माण, संरक्षण, रूपान्तरण र विनाशका प्रक्रियासँग संवाद गर्छ।

पुराणहरू प्राचीन ग्रन्थहरू हुन्। देवता, धर्म र जीवनका रहस्यलाई रोमाञ्चक कथामा उन्ने यी ग्रन्थहरूले मानव मन र ब्रह्माण्डसँग गहिरो संवाद गर्छन्। भक्ति र विवेकले मनलाई समृद्ध बनाउँछन्। यसभित्रका हरेक श्लोकले ज्ञान र विज्ञानका बीज बोकेर चेतनालाई उज्यालो पार्छन्। यी श्लोकहरूमा घुल्न सक्यौं भने यसभित्र विज्ञानका मधुर आवाज र आधुनिक सोचका सुन्दर तथ्यहरू भेटिन्छन्।

आरम्भ खण्ड : शिवपुराण एक विशाल ग्रन्थ हो। यसमा करिब २४ हजार श्लोक समेटिएका छन्। शिव–भक्ति, तत्वज्ञान, सृष्टि र विनाशको चक्र र ध्यानप्रक्रियाको गहिरो वर्णनका लागि यो परिचित छ। विज्ञान र पुराणलाई प्रायः फरक क्षेत्रका रूपमा बुझ्ने चलन रहेता पनि शिवपुराणले 
दृश्य संसार, भाषा र प्रतीकको सीमाभन्दा पर पुगेर ब्रह्माण्डको मूल तत्वतर्फ संकेत गर्छ र यही तत्वलाई वैज्ञानिक चिन्तनसँग संवाद गराउन सकिन्छ।

विद्येश्वर, रुद्र, कोटिरुद्र, कैलाश र वायुसंहिताजस्ता विभिन्न खण्डमा शिवको स्वरूप, उपासना र चेतनाका तात्त्विक पक्षहरू लगायत प्रकृति, ऊर्जा र अनुभूतिको सूक्ष्म अध्ययन पनि भेटिन्छ। परन्तु आधुनिक मानिसमा एकातर्फ वैदिक ग्रन्थलाई केवल आस्था र मिथक मान्ने सोच छ त अर्कोतर्फ विज्ञानलाई मात्र प्रयोग, प्रमाण र तर्कको क्षेत्र ठान्ने दृष्टि। मानिसमा यी दुई तर्क एकआपसमा बोल्दैनन्। अब प्रश्न उठ्छ– के यी दुई तर्क एकअर्कासँग साँच्चिकै बोल्दैनन् त ? हामीले पुराणलाई बुझ्ने दृष्टि नै साँघुरो बनाएका हौं त ? यही दृष्टिबाट यो विवेचना शिवपुराणमा केन्द्रित छ।

प्रिय पाठकलाई जानकारी होस्, शिवपुराण कुनै प्रयोगशालामा लेखिएको वैज्ञानिक ग्रन्थ होइन र यसले सूत्र वा प्रविधि प्रस्तुत गर्दैन भनेर। तर यसले प्रकृति, ब्रह्माण्ड, समय, ऊर्जा, चेतना र मानव अस्तित्वबारे दिइएको समग्र दृष्टिलाई आधुनिक वैज्ञानिक चिन्तनसँग भने गहिरो संवाद गराउँछ। विज्ञानले ‘कसरी’लाई खोज्छ भने पुराणले ‘किन’लाई सोध्छ। यही फरक भूमिकाका कारण दुवै एकअर्काका पूरक देखिन्छन्।

शिवपुराण र विज्ञान संवाद

पञ्चाक्षर मन्त्र (ॐ नमः शिवाय) : शिवमहापुराणमा ‘ॐ नमः शिवाय’लाई ब्रह्माण्डका पाँच कार्य र तŒवको संकेत मानिन्छ। अतः यसले आधुनिक विज्ञानका निर्माण, संरक्षण, रूपान्तरण र विनाशका प्रक्रियासँग संवाद गर्छ। यसको ध्वन्यात्मक संरचनाले जपका बेला श्वास, ध्यान र मस्तिष्कीय तरंगलाई सन्तुलनमा ल्याउने देखिन्छ। यसरी 
यो मन्त्र आस्थाका रूपमा मात्र नभएर ध्वनि, चेतना र मनोविज्ञानबीचको जीवित सेतुका रूपमा प्रकट हुन्छ।

ॐ र ब्रह्माण्ड : यो पुराण र विज्ञानको साझा आधार हो। शिवपुराणमा ॐ (प्रणव)लाई ब्रह्माण्डको मूल स्पन्दन र सिर्जनात्मक ऊर्जाको स्रोत मानिन्छ। यसैबाट सृष्टि, गति र चेतनाका प्रक्रियाहरू प्रस्फुटित हुन्छन्। आधुनिक भौतिक विज्ञानले पनि ब्रह्माण्डको आधार कम्पन, तरंग र ऊर्जा क्षेत्रमा निहित भएको स्वीकार गर्छ। शिवतन्त्र दृष्टिमा ‘ॐ’ ज्ञान र प्रकाशको प्रतीक हो भने विज्ञानमा तरंग नै सूचना र परिवर्तनको वाहक हो। यसरी शिवपुराण र विज्ञानमध्ये एकले अनुभूति र अर्थको भाषामा अनि अर्कोले मापन र प्रयोगको भाषामा एउटै ब्रह्माण्डीय सत्यसँग संवाद गर्छन्।

शिव– विध्वंस, पुनर्निर्माण र चेतनाको साझा भाषा : शिवपुराणले शिवलाई सृष्टिसंहार र पुनर्निर्माणको प्रतीक मान्छ। यही सन्दर्भ यता आधुनिक विज्ञानले ब्रह्माण्डमा देख्ने निरन्तर परिवर्तन र चक्रसँग मेल खान्छ। विज्ञान यी प्रक्रियालाई ऊर्जा, नियम र गणनाको भाषामा व्याख्या गर्छ भने पुराणले चेतना र रूपकको माध्यमबाट। यसरी भिन्नता प्रस्तुतीकरणमा भए पनि दुवैले एउटै ब्रह्माण्डीय सत्यलाई आआफ्नै भाषामा संवाद गर्छन्।

ध्यान– चेतनाको साधना र मानसिक विज्ञान :शिवपुराणमा ध्यानलाई चेतनाको जागरण र एकाग्रताको मार्ग मानिन्छ। आधुनिक न्युरोसाइन्सले पनि ध्यानले तनाव घटाउने, मस्तिष्कीय तरंगलाई सन्तुलित गर्ने र मानसिक स्थिरता बढाउने पुष्टि गर्छ। यसरी पुराणीय ध्यान–साधना र वैज्ञानिक मनोविज्ञान एउटै आन्तरिक अनुभवलाई फरक भाषामा व्यक्त गर्ने साझा बिन्दुमा संवाद गर्छन्।

शिवपुराणका श्लोकसँग विज्ञानको संवाद
शिव : निराकार, सर्वव्यापी ऊर्जा :
न रूपं तस्य नो वर्णो, न चिह्नं न च लक्षणम्।
स एव सर्वभूतेषु सर्वव्यापी व्यवस्थितः।।
             – विद्येश्वरसंहिता २.१६: (प्रचलित पाठ)

यसको अर्थ हो– शिवको कुनै निश्चित रूप, रंग वा चिह्न छैन। उहाँ सबै प्राणी र पदार्थमा सर्वत्र व्याप्त हुनुहुन्छ। आधुनिक विज्ञानमा ऊर्जा स्वयंमा अदृश्य हुन्छ। तर सबै भौतिक प्रक्रिया र परिवर्तनमा व्याप्त रहन्छ। शिवलाई निराकार र सर्वव्यापी मान्ने शैव दर्शन यही ऊर्जा सिद्धान्तसँग दार्शनिक रूपमा रूपको सट्टा चेतना र शक्तिसँग संवाद गर्छ।

सृष्टि, स्थिति र प्रलयः ब्रह्माण्डीय चक्र
सृष्टिस्थित्यन्तकरणे, शिव एव कारणं स्मृतः।।
               – रुद्रसंहिता, सृष्टिखण्ड ५.२२ (प्रचलित पाठ)

अर्थात्– सृष्टि, स्थायित्व र प्रलयका सबै प्रक्रियाको मूल कारण शिव हुन्। आधुनिक विज्ञानले ब्रह्माण्डलाई जन्म, विस्तार र संकुचनको चक्रीय शैलीमा देखाउँछ। शिवले ब्रह्माण्डीय ऊर्जा र प्रक्रियालाई चलायमान राख्नुजस्तै नटराजको ताण्डव यस निरन्तर गतिशीलता र परिवर्तनको दार्शनिक प्रतीक हो।

शिव र शक्ति : पदार्थ र ऊर्जाको एकता
शक्तिहीन : शिवो न स्यात्, शक्ति : शिव बिना न हि।।
               – रुद्रसंहिता, पार्वतीखण्ड ७.४ (प्रचलित पाठ)

अर्थात्– शक्ति बिना शिव निष्क्रिय छन्, शिव बिना शक्ति निरर्थक छ। आधुनिक भौतिक विज्ञानले (ई–मसी स्क्वायर) पदार्थ र ऊर्जा अलग नभएर एकअर्काका रूपमात्र हुन् भन्दछ। शिव र शक्तिको अन्तर्सम्बन्ध यही दार्शनिक दृष्टिकोणसँग ठ्याक्कै मेल खान्छ। शिव–चेतना र ऊर्जा, दुवै 
एकअर्काको अभिन्न आधार हुन्।

ध्यान र चेतना : चेतनाको विज्ञान
ध्यानेनात्मा प्रकाशेत, शिवज्ञानं प्रजायते।।
            – वायवीयसंहिता २.४५ (प्रचलित पाठ)

अथवा– ध्यानद्वारा आत्मा प्रकाशित हुन्छ र उच्च चेतना प्रकट हुन्छ। न्युरोसाइन्सले देखाउँछ कि ध्यानले मस्तिष्कीय तरंगलाई सन्तुलित गर्दै चेतनाको स्तर बढाउँछ र मानसिक स्थिरता दिन्छ। पुराणीय दृष्टिमा ध्यानले आत्मा प्रकाशित गर्छ  भने विज्ञानले यसलाई मस्तिष्कीय र न्युरोफिजियोलोजिकल प्रक्रियाको माध्यमबाट पुष्टि गर्छ।

शिवलिंग : संकेत हो, मूर्ति होइन
लिंगं चिन्हं महत्तत्वं यददृश्यं प्रकाशते।।
                    – विद्येश्वरसंहिता ६.३ (प्रचलित पाठ)

अर्थात्– शिवलिंग केवल निराकार ऊर्जा बुझाउने संकेत हो। तर यो मूर्ति वा लैंगिक प्रतीक होइन। जसरी विज्ञानले अदृश्य सत्यलाई मोडेल, प्रतीक वा गणितीय संरचना (जस्तैः परमाणु मोडेल, तरंग–कण) मार्फत बुझ्छ, त्यसैगरी शिवलिंगले पनि दार्शनिक दृष्टिले ऊर्जा र चेतनाको अदृश्य आधारको प्रतीकात्मक मोडेललाई प्रतिनिधित्व गर्दछ। 

समय र प्रलय : परिवर्तनको निरन्तरता
कालः शिवस्य वशगः, शिवः कालविवर्जितः।।
                – वायवीयसंहिता १.३१ ( प्रचलित पाठ)

यसको भावार्थ हो– काल (समय) शिवको अधीन छ। शिव स्वयं समयभन्दा पर छन्। प्रलय केवल विनाश नभएर पुनः सिर्जनाको पूर्वस्थिति हो। आइन्स्टाइनको सापेक्षतावादले समयलाई अवस्था र गतिअनुसार परिवर्तनशील देखाउँछ। आधुनिक ब्रह्माण्डशास्त्रले ब्रह्माण्डको जन्म, विस्तार र संकुचनको चक्र देखाउँछ। शिवपुराणको दर्शन यससँग दुरुस्तै मेल खान्छ। किनकि समय र प्रलय केवल परिवर्तन र पुनर्निर्माणको सतत प्रक्रिया हुन्।

पञ्चतत्त्व : अनुभूतिमा आधारित वर्गीकरण
पृथिव्यापस्तेजोवायुः आकाशं पञ्चधा स्मृतम्।।
                  – रुद्रसंहिता १०.८ (प्रचलित पाठ)

यसको भावार्थ हो– पृथ्वी, जल, अग्नि, वायु र आकाश सृष्टिका मूल तत्व हुन्। आधुनिक विज्ञानले पदार्थ 
र ब्रह्माण्डको आधारभूत संरचनालाई वर्गीकृत गर्छ। पञ्चतत्वले दृष्टिकोणगत समानतालाई देखाउँछ। यद्यपि पञ्चतत्व वैज्ञानिक सूत्र भने होइन। यसले सृष्टि र चेतनाको अनुभूतिपूर्ण दर्शनलाई दिव्य रूपले देखाउँछ। यसैगरी, शिव पुराणमा यस्ता धेरै श्लोक छन्। जसले सिधै विज्ञानसँग संवाद गर्न सक्छन्।

उपसंहार

शिवपुराणले विज्ञानलाई प्रतिस्थापन गर्न खोज्दैन। यसरी नै विज्ञानले पनि पुराणको स्थान लिन चाहन्न। तर यहाँनेर समस्या केमा हो भने– हामीले विज्ञान र पुराणलाई एकआपसमा प्रतिस्पर्धी बनाइदिन्छौं। शिवपुराणको मूल्य यसको दार्शनिक गहिराइ र चेतनात्मक दृष्टिमा छ न कि प्रयोगशालाको प्रमाणमा। विज्ञानले शक्ति दिन्छ भने पुराणले विवेक। बाहिरको खोज र भित्रको खोजलाई जोड्ने सहयात्राको बिन्दुमा शिवपुराण र विज्ञान सधैं चुपचाप तर गहिरो संवादमा उभिरहेका हुन्छन्। यस प्रकार बुँदात्मक रूपमा यसलाई यसरी प्रस्तुत गर्दा यस लेखले अझ न्याय पाउँछ-

  •     शिवपुराण भाव र चेतनाको भाषा हो भने विज्ञान मापन र प्रयोगको दृश्य र दृष्टि हो।
  •     पञ्चाक्षर, प्रणव र ध्यान आदि तत्वहरूमा दुवैको संवाद सम्भव छ।
  •     शिवपुराणले जसलाई दर्शन भन्छ, विज्ञानले त्यसैलाई प्रक्रिया भन्छ।
  •     शिवपुराणले दार्शनिक र चेतनात्मक दृष्टिले आधुनिक विज्ञानसँग संवाद गर्छ।
  •     शिव र शक्ति, चेतना, ऊर्जा र ब्रह्माण्डीय चक्र सबै दुवै दृष्टिकोणबाट एउटै वास्तविकताको फरक भाषा हुन्।

यसरी विज्ञानले बाहिरी ब्रह्माण्डको संरचना, नियम र प्रक्रिया उजागर गर्छ भने शिवपुराणले त्यही ब्रह्माण्डको आन्तर्य, अर्थ र चेतनात्मक आधार देखाउँछ। पञ्चाक्षर मन्त्र, प्रणव ॐ, शिव र शक्ति, ध्यान, समय, प्रलय र पञ्चतत्वजस्ता अवधारणामा पुराणले जसलाई दर्शन भन्छ, विज्ञानले त्यसैलाई प्रक्रिया भन्छ। शिव निराकार ऊर्जा हो। तर– शक्ति गतिशील हुन्छ। सृष्टि, स्थिति र प्रलय निरन्तर परिवर्तनको चक्र हो भने ध्यान चेतनाको परिष्कार हो।

लिंग अदृश्य सत्यको प्रतीक हो। यी सबै ठाउँमा पुराणको रूपक र विज्ञानको सिद्धान्त एउटै वास्तविकताका फरक भाषा बनेर संवाद गर्छन्। अतः समस्या विरोधमा नभएर हाम्रो दृष्टिमा छ। बाहिरको खोज र भित्रको खोज जहाँ भेटिन्छ, त्यहीँ शिवपुराण र विज्ञान चुपचाप तर गहिरो संवादमा उभिएका हुन्छन्। चेतना, ऊर्जा, समय र ब्रह्माण्डीय नियम बुझ्ने यात्रामा पुराण र विज्ञानले एउटै लक्ष्यमा फरकफरक तरिकाले मार्गदर्शन गर्छन्।
 हरि ॐ तत्सत् !


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.