होमियोप्याथीमा आध्यात्मिक दृष्टिकोण
आधुनिक चिकित्सा विज्ञानको युगमा उपचारलाई प्रायः भौतिक शरीरसम्म सीमित गरिन्छ। रोग देखियो भने त्यसको कारण शरीरको कुनै अंग, कोष, जीवाणु वा रासायनिक असन्तुलनलाई मानिन्छ। तर मानव जीवन केवल मासु, हाड, रगत र रसायनको संरचनामात्र होइन। मानिस सोच्ने, अनुभव गर्ने, डराउने, रिसाउने, दुःखी हुने र आनन्दित हुने चेतनशील प्राणी हो।
यही चेतन पक्षलाई बेवास्ता गरेर गरिएको उपचार अधुरो हुन्छ। यही सन्दर्भमा होमियोप्याथी केवल एक वैकल्पिक चिकित्सा पद्धति नभई जीवन, चेतना र आध्यात्मिक सत्यमा आधारित चिकित्सा दर्शन हो। यसले रोगलाई शरीरको दोष होइन, जीवनशक्तिमा आएको विकार को रूपमा हेर्छ। त्यसैले होमियोप्याथीलाई ‘आध्यात्मिक चिकित्सा पद्धति’ भन्नु कुनै अतिशयोक्ति होइन।
भौतिक शरीर र सूक्ष्म शरीरको अवधारणा : यदि हामी मानव शरीरलाई गहिरोगरी अध्ययन गर्छौं भने स्पष्ट हुन्छ। शरीर आफैंमा स्वतन्त्र सत्ता होइन शरीर चलिरहेको छ काम गरिरहेको छ प्रतिक्रिया दिइरहेको छ, किनकि त्यसलाई सञ्चालन गर्ने सूक्ष्म शक्तिभित्रै विद्यमान छ। अर्गेनन् अफ मेडिसिन नामक पुस्तकमा हेनिमेन लेख्छन्– ‘यदि मानव शरीरमा सूक्ष्म, अभौतिक जीवनशक्ति नभएको भए शरीरले न त अनुभूति गर्न सक्थ्यो, न क्रिया, न आत्मरक्षा।’ यस सूक्ष्म अभौतिक शक्तिलाई नै जीवनशक्ति (भाइटलफोर्स) भनिन्छ। यही जीवनशक्तिले शरीरमा प्राणको सञ्चार गर्छ, हरेक अंगलाई क्रियाशील बनाउँछ र सम्पूर्ण शरीरलाई एक समन्वित एकाइको रूपमा सञ्चालन गर्छ।
जीवनशक्ति अदृश्य तर प्रभावशाली : जीवनशक्ति स्थूल होइन, यो सूक्ष्म, अदृश्य र चेतन हुन्छ। हामी यसलाई देख्न सक्दैनौं, तर यसको प्रभाव प्रत्येक क्षण अनुभव गर्छौं। उदाहरणका लागि– रिस उठ्नेबित्तिकै मुटुको धड्कन बढ्छ, डरलाग्दा शरीर काँप्छ, दुःखमा आँसु आफैं झर्छ, खुसीमा शरीर हलुका महसुस हुन्छ। यी सबै परिवर्तन शरीरमा देखिए पनि यसको स्रोत मन र जीवनशक्ति हो। यसबाट प्रस्ट हुन्छ कि भौतिक शरीरभन्दा पहिले सूक्ष्म तह सक्रिय हुन्छ।
रोगको वास्तविक उत्पत्ति कहाँ हुन्छ ? : होमियोप्याथिक दृष्टिकोणअनुसार रोगको सुरुआत शरीरबाट हुँदैन। रोगको क्रम यस प्रकार हुन्छ, सूक्ष्म कारण, जीवनशक्ति विकार, मानसिक अनुभूति र शारीरिक लक्षण। जब कुनै बाह्य वा आन्तरिक जीवनविरोधी शक्ति (तनाव, डर, शोक, दमन, संक्रमण आदि) जीवन शक्तिमाथि आक्रमण गर्छ, तब जीवन शक्तिको सन्तुलन बिग्रन्छ। यही बिग्रिएको अवस्था नै रोग हो। स्वस्थ अवस्थामा नदेखिने अनुभूति जब मानिसले अनुभव गर्न थाल्छ, त्यही अवस्थालाई होमियोप्याथिक दृष्टिले रोग भनिन्छ।
होमियोप्याथीमा लक्षणको अर्थ : आधुनिक चिकित्सा प्रणालीमा लक्षणलाई रोग मानिन्छ र त्यसलाई दबाउने प्रयास गरिन्छ। तर होमियोप्याथीमा लक्षणको अर्थ बिल्कुल फरक छ। लक्षण भनेको रोग होइन, समस्या होइन, शत्रु होइन, लक्षण भनेको जीवनशक्तिको भाषा हो। जीवनशक्तिले आफ्नो असन्तुलन शरीरमार्फत व्यक्त गरेको संकेत नै लक्षण हो। यसैले ज्वरो दबाउनु समाधान होइन, दुखाइ हटाउनु उपचार होइन, खोकी थाम्नु रोगमुक्ति होइन, वास्तविक उपचार भनेको जीवनशक्तिको सन्तुलन पुनःस्थापना गर्नु हो।
होमियोप्याथिक औषधि भौतिक पदार्थ होइन, शक्ति हो। होमियोप्याथिक औषधि अत्यन्त सूक्ष्म रूपमा प्रयोग गरिन्छ। यति सूक्ष्म कि त्यसमा औषधिको स्थूल अंश प्रायः हुँदैन। यस कारण धेरैले प्रश्न गर्छन्, ‘यति पातलो औषधिले कसरी काम गर्छ ?’ उत्तर स्पष्ट छ– होमियोप्याथिक औषधि भौतिक औषधि होइन, यो डायनामिक फोर्स (गतिशील बल) हो। जसरी रोग सूक्ष्म छ, जीवनशक्ति सूक्ष्म छ, उपचार पनि सूक्ष्म हुनुपर्छ। सूक्ष्म रोगलाई सूक्ष्म औषधिले मात्र सन्तुलनमा ल्याउन सक्छ।
जीवनशक्ति र रोगको अभिव्यक्ति : जीवनशक्ति स्वयं अदृश्य हुन्छ। यसको अवस्था हामी केवल शरीरमा देखिने परिवर्तनबाट मात्र बुझ्न सक्छौं। जब जीवनशक्तिमा विकार आउँछ, त्यसले संवेदनामा परिवर्तन ल्याउँछ, क्रियाकलापमा विकृति ल्याउँछ व्यवहार, भावना र शरीरमा असन्तुलन देखाउँछ। यिनै परिवर्तनलाई रोगका लक्षण भनिन्छ। जीवनशक्तिको विकार शरीरमार्फत बाहिर नआएसम्म
रोग पहिचान गर्न सकिँदैन।
मन, भावना र रोग : होमियोप्याथीले मानसिक लक्षण (मन)लाई अत्यन्त महत्त्व दिन्छ। किनकि मन नै जीवनशक्तिको सबैभन्दा संवेदनशील अभिव्यक्ति हो। डर, रिस, शोक, इष्र्या, अपराधबोध, दबिएको पीडा, यस्ता भावनाले जीवनशक्तिमा गहिरो प्रभाव पार्छन्। धेरै रोगहरू डर, दीर्घ तनाव, भावनात्मक आघात र दमन गरिएको भावनाबाट उत्पन्न हुन्छन्। यदि मनलाई सन्तुलित गर्न सकियो भने शरीर आफैं सन्तुलनतर्फ फर्कन्छ।
होमियोप्याथी – पूर्व र पश्चिमको सेतु : होमियोप्याथीको उत्पत्ति जर्मनीमा भए पनि यसको दर्शनमा पूर्वीय अध्यात्मवादको गहिरो प्रभाव छ। पश्चिमको पदार्थ, प्रयोग, विश्लेषण, भौतिक विज्ञान। पूर्वको, चेतना, आत्मा, प्राण, आध्यात्मिक अनुभूति। होमियोप्याथी यी दुईबीचको सेतु (पुल) हो। यसले वैज्ञानिक अवलोकनलाई स्वीकार गर्छ, आध्यात्मिक सत्यलाई अस्वीकार गर्दैन, त्यसैले होमियोप्याथी न त केवल विज्ञान हो, न केवल दर्शन यो चेतनाको विज्ञान हो।
किन होमियोप्याथी आध्यात्मिक चिकित्सा हो ? : होमियोप्याथी भौतिक औषधि प्रयोग गर्छ, तर यसको लक्ष्य शरीर होइन, अंग होइन, रोगको नाम होइन, लक्ष्य हो– जीवनशक्ति, चेतन सन्तुलन, आन्तरिक स्वास्थ्य। यस अर्थमा होमियोप्याथीको ध्येय अभौतिक र आध्यात्मिक छ। रोग बाहिरबाट आएको शत्रु होइन, रोग शरीरको गल्ती होइन, रोग जीवनशक्तिको असन्तुलित अवस्था हो। होमियोप्याथी रोगलाई दबाएर होइन, जीवनशक्तिलाई सन्तुलनमा ल्याएर, स्वास्थ्य पुनःस्थापित गर्छ। त्यसैले, होमियोप्याथी औषधिको मात्र प्रणाली होइन, यो जीवन बुझ्ने, चेतना बुझ्ने र मानवलाई समग्र रूपमा उपचार गर्ने एक आध्यात्मिक विज्ञान हो।
प्रतिक्रिया दिनुहोस !