लामा गुरूको रोहवरमा तानिएको ‘चिट्ठा’निर्णायक
मनाङमा गोलाप्रथाबाट उम्मेदवार चयन : एमालेद्वारा उम्मेदवारी फिर्ता, कांग्रेस र नेकपाबीच मात्रै प्रतिस्पर्धा
पोखरा : मनाङको राजनीतिमा अनौठो अभ्यास देखिएको छ। यहाँ मतदाताको मतभन्दा लामा गुरुहरूको रोहवरमा तानिएको ‘चिट्ठा’ निर्णायक बनेको छ। यही चिट्ठाको नतिजा स्वीकार गर्दै नेकपा एमालेका उम्मेदवार पोल्देन छोपाङ गुरुङले प्रतिनिधि सभा सदस्यको उम्मेदवारी फिर्ता लिएका छन्। आगामी फागुन २१ गते हुने चुनावका लागि एमालेसँगै राप्रपाका उम्मेदवार कुविरसिङ गुरुङले पनि मैदान छाडेका छन्।
चुनावमा हुने सम्भावित झैझगडा रोक्न भन्दै भ्राताङमा विशेष भेला डाकिएको थियो। त्यहाँ लामा गुरुहरूले दलहरूबीच सहमति गराउने प्रयास गरे। तर कांग्रेसका टेकबहादुर गुरुङ र एमालेका पोल्देन छोपाङ गुरुङबीच कुरा मिलेन। सहमति नजुटेपछि अन्तिममा भाग्य परीक्षा गरियो। दुवै नेताको अगाडि कचौरा राखेर चिट्ठा तानियो। चिट्ठाको नतिजा कांग्रेसको पक्षमा आयो। नतिजा आएपछि एमाले उम्मेदवारी फिर्ता लिन बाध्य भयो।
गोलाप्रथाको निर्णय अनुसार प्रतिनिधि सभामा कांग्रेसले चुनाव लड्ने पक्का भयो। एमाले भने पछि हट्नुपर्ने भयो। तर, यो सम्झौता एकतर्फी छैन। प्रतिनिधि सभा एमालेले छाडे पनि प्रदेश सभाका २ वटा निर्वाचन क्षेत्र भने एमालेको भागमा परेको छ। अब प्रदेशमा कांग्रेसले एमालेलाई सघाउनेछ।
मुख्य निर्वाचन अधिकृतको कार्यालयमा पुगेर एमाले उम्मेदवारले निवेदन बुझाएका हुन्। मुख्य निर्वाचन अधिकृत रामप्रसाद पौडेलले एमाले र राप्रपा दुवैको फिर्ताको पत्र दर्ता भएको जानकारी दिए। मनोनयन फिर्ताको निवेदनमाथि ३ बजेपछि औपचारिक निर्णय हुने पौडेलले बताए।
अब मनाङको चुनावी मैदानमा कांग्रेसका गुरूङ र नेकपाकी उम्मेदवार यशोदा सुवेदीबीच मुख्य भिडन्त हुनेछ।
प्रतिक्रिया दिनुहोस !