टिप्पणी

ओली भर्सेस बालेनको अन्तर्य

ओली भर्सेस बालेनको अन्तर्य

पोखरा : चुनाव त देशैभरि हुँदैछ, १ सय ६५ निर्वाचन क्षेत्रमा। तर, देशभरिकै ध्यान झापा–५ मा छ। बालेन्द्र शाह यही निर्वाचन क्षेत्रको उम्मेदवार छन्। खासमा यो क्षेत्र एमाले अध्यक्ष केपी शर्मा ओलीले २०४८ सालदेखि चुनाव लड्दै आएको क्षेत्र हो। तर, चर्चा र चासो भने बालेनको उपस्थितिले नै गरेको छ।

राष्ट्रिय स्वतन्त्र पार्टीले भावी प्रधानमन्त्रीका रूपमा बालेन्द्र शाहलाई घोषणा गरिसकेको छ। र, एमालेको स्वाभाविक प्रधानमन्त्री उम्मेदवार पार्टी अध्यक्ष केपी शर्मा ओली नै हुन्। यहाँको प्रतिस्पर्धा रोचक हुने प्रधानमन्त्रीका दुई उम्मेदवार एउटै निर्वाचन क्षेत्रका प्रतिस्पर्धी भएर होइन। यो खासमा नयाँ र पुराना पुस्ताको प्रतीकात्मक लडाइँ हो। 

रास्वपा सभापति रवि लामिछाने र उनको पार्टीका नेताहरूको आत्मविश्वास पार्टीले बहुमतै ल्याउँछ भन्ने देखिन्छ। अर्थात् प्रधानमन्त्री बालेनलाई बनाउन सकिन्छ भन्ने छ। त्यो आत्मविश्वास नभएका भए बालेन पनि रास्वपा छिर्दैनथे। त्यही पदले उनमा राजनीतिको महत्त्वाकांक्षा चुलिएको बुझ्न कठिन छैन। रास्वपाको आश्वासन र आत्मविश्वास भएपछि एक थान सांसद जिते बालेन प्रधानमन्त्री हुन सक्ने भइहाले। तर, उनले झापा–५ नै रोजेर एक किसिमको धृष्टता गरे। यो भनेको उनी फगत सांसद जित्न वा प्रधानमन्त्री बन्नमात्रै चाहन्नन् भन्ने सजिलै बुझ्न सकिन्छ। उनी अघिल्ला पुस्ताका एक प्रमुख पात्रलाई नै हराएर चुनाव जित्नुको स्वाद लिन चाहन्छन्। जेन–जी पुस्ताले चाहेजस्तो गरी राजनीतिबाट सिंगो पुरानो पुस्तालाई बढार्न चाहन्छन्। त्यसो गर्न पुरानाको राजनीतिक विरासतको टाउकै प्रहार गर्नुपर्छ भन्ने उनलाई लागेको होला। यसलाई उनको पुस्तान्तरणको राजनीतिक सुझबुझ मान्न सकिन्छ। 

बालेनले जिते भने त्यो नतिजा चुनावी चक्मा अवश्य हुनेछ, ओलीले जित्दा सामान्य। झापा आफैंमा एमालेको आधारभूमि हो। त्यसमाथि राजनीतिक इतिहास र पृष्ठभूमिसहित पटकपटकको प्रधानमन्त्रीको व्यक्तित्व ओलीसँग छ। त्यसो त २०७९ सालको निर्वाचनमा देशभरमा सबैभन्दा धेरै मत ल्याएर जित्ने एक नम्बर उम्मेदवार उनै ओली थिए। त्यतिबेला ५२ हजार ३ सय १९ मत उनले पाए। उनको पार्टीले समानुपातिकमा भने १६ हजार कम। अर्थात् ओलीको व्यक्तित्वले त्यति मत बढायो। 

चुनाव संगठनले जित्ने जिताउने विश्वास गर्ने वामपन्थीका आँखामा बालेनको झापामा खास संगठन छैन। बालेनको बेग्लै लगानी पनि छैन, जुन ओलीको छ। समय भने बदलिएको छ, चुनावको नतिजा संगठनको हातमा कम आममतदाताकहाँ ज्यादा हुन थालेको छ। ऊ बेलै रास्वपाका सुरेश पोखरेलले ११ हजार मत पाउँदा पार्टीले समानुपातिकमा १८ हजार कटाएको थियो। ओलीलाई मत दिएकाले पनि ऊ बेला समानुपातिकमा रास्वपालाई भोट हालेको बुझ्न मथिंगल घुमाउनु पर्दैन। 

जेन–जी आन्दोलनअघि नेपाली राजनीतिमा पुराना र नयाँको लडाइँका मूल प्रतिस्पर्धी पनि ओली र बालेन नै थिए। त्यसका दृष्टान्त यहाँ लेखिरहनु नै पर्दैन। जेन–जी समूहको खुलमखुला दबाब बालेन प्रधानमन्त्री बनून् भन्ने थियो आन्दोलनपछि। उनी बनेनन्। बन्न चाहेनन्। पछिल्लोपटक भित्री दबाबचाहिँ अब चुनाव लडून् र ओलीलाई हराऊन् भन्ने थियो। ओलीसँग प्रतिस्पर्धा गर्नु र उनलाई पराजित गर्नु व्यक्तिगतभन्दा ज्यादा दलतन्त्र र नेतातन्त्रको मियो ढलाउनु हो भन्ने बालेनलाई लागेको छ। त्यही सन्देश उनी दिन चाहिरहेका छन्। यद्यपि, भदौ २३ होइन, २४ गतेको विध्वंस र त्यसमा बालेनको भूमिकाबारे आममतदाताले प्रश्न उठाई विश्लेषण गरिरहेका छन्। 

काठमाडौंको मेयर नपत्याउँदो तरिकाले बालेनले जित्दा चक्मै भएको थियो। त्यतिबेला उनलाई मतदाताले खास चिन्न पाएका होइनन्। एउटा तिलस्मी चरित्रका रूपमा छँदाछँदै जितिहाले। चुनाव जित्न सामाजिक सञ्जालचाहिँ उनको सबैभन्दा ठूलो हतियार थियो। 

अबको लडाइँमा उनी कति तिलस्मी नै रहन्छन् भन्न सकिन्न। रहस्यमय पात्रै बनेरस् उनले काठमाडौंको मेयरको अहिलेसम्मको कार्यकाल व्यतीत गरिदिए। झापामा यस्तै अस्त्र काम गर्ला, नगर्ला ! त्यसो त मतदाताहरूसँग प्रत्यक्ष साक्षात्कारमै उनी जुट्न भ्याइसके। 
ओलीले बालेनलाई कम आँकेको देखाइरहे पनि चुनौती ठम्याइसकेका छन्। अब पार्टीका अरू उम्मेदवार जिताउने चुनावी सभामा अन्त उनी कम निस्कन सक्छन्। आफ्नै क्षेत्रमा अड्डा जमाउन बाध्य हुन सक्छन्। त्यसो भए उनीलाई झापामै सीमित गरेर सिंगो एमाले र पुराना शक्तिको मनोबल अझै खस्काउने र भोट घटाइदिने बालेन रणनीति सफल बन्न सक्छ। 

ओलीका लागि भने यो स्पर्धा लोकप्रियतावादी नकारात्मक भाष्यविरुद्धको हो। संस्थापन पक्षलाई गाली गरेरै राजनीति हुन्छ भन्ने भाष्य चिर्नु उनका लागि चुनौती हो। रैथाने उम्मेदवार र त्यसमाथि झापाका लागि ‘थुप्रै काम गरेको’ जस लिएर पनि ओली चुनाव जित्ने विश्वासमा छन्। 

ओलीको शैलीलाई समर्थक चट्टानी अडान ठान्छन्। भनिन्छ, यही शैलीका कारण उनी ओली बनेका हुन्। कुरा उल्टो छ, यही शैलीलाई आलोचक दम्भ एवं अहंकार ठान्छन्। बालेन दोस्रो संज्ञा दिनु नै उचित मान्छन्। उनको लडाइँ त्यसैका विरुद्ध पनि हो। तर काठमाडौंमा मेयर जित्दा जस्तो फ्याट्ट नतिजा निकाल्न सकिन्न भनेरै हुनुपर्छ उनी झापामै अड्डा जमाउने सुरसारमा छन्। 

काठमाडौंमा उठ्दा उनको आलोचना त के प्रसंग पनि उप्काउन आवश्यक ठानेनन् पुराना दलले। तर अब उनले काठमाडौंको मेयरका हैसियतमा उनले व्यतीत गरेको कार्यकालको प्रशस्त आलोचनाको सामना गर्नुपर्नेछ। 

त्यसो त उनलाई पनि ओलीलाई जस्तै दम्भीको संज्ञा दिने आँट जेन–जी आन्दोलनपछि सुरु भइसकेको थियो। अनि सिंहदरबार जलाउने पेट्रोल सामाजिक सञ्जालभरि खन्याएको आरोपबाट पनि खेप्नु नै पर्नेछ। त्यतिमात्र होइन, उम्मेदवार मनोनयन गर्दाका दिन बालेनले आफ्नै समर्थकलाई धकेल्दै पोखेको रिस यसरी भाइरल भयो कि अब उनी पनि आलोचना मुक्त हुने छैनन् भन्ने संकेत हो त्यो। 

नतिजा आफ्नोपट्टि पार्न अब उनले पहिला जस्तो केवल सामाजिक सञ्जालको अस्त्रले पुग्दैन। पछिल्लो समय उर्लिएको नयाँपार्टी खास गरी रास्वपा र स्वयंप्रति उर्लिएको लोकप्रियताकै भरले पनि हुँदैन। मतदातासँग प्रत्यक्ष खुल्दा नै उनको खाँटी अनुहार देखिने छ र त्यसैका आधारमा मतदाताले निधो गर्नेछन्। ओली र बालेनको जस्तो प्रतिस्पर्धा इतिहासका अरू चुनावमा पनि नभएका होइनन्। 

२०६४ सालमा तत्कालीन एमाले महासचिव माधव नेपाल लोप्रोफाइल उम्मेदवारबाटै हारेका थिए। २०७४ सालमा गृहमन्त्री छँदा नै कृष्ण सिटौलाले झापामै पराजय बेहोरेका थिए। झन् २०१५ सालको निर्वाचनमा त नेपाल कम्युनिस्ट पार्टीका संस्थापक महासचिव पुष्पलालले नै चुनाव हारेका थिए। 
पूर्वप्रधानमन्त्रीहरू त इतिहासका थुप्रै चुनावमा हारेका छन्। डा केआई सिंह, टंकप्रसाद आचार्य पनि २०१५ सालको चुनाव हारेका हस्ती हुन्।

पूर्वप्रधानमन्त्रीहरू सूर्यबहादुर थापा, लोकेन्द्रबहादुर चन्द २०४८ सालको निर्वाचन हारेका थिए, माहोल पञ्चायत विरोधी जो थियो। यी तथ्यलाई बुझेर ओलीले आफ्नो चुनावी रणनीति बनाउँदैनन् भन्नुचाहिँ मूर्खता हुनेछ। 

झन् २०४८ सालमा त बहालवाला प्रधानमन्त्री कृष्णप्रसाद भट्टराई उनले लोप्रोफाइल मानेका एमाले महासचिव मदन भण्डारीसँग हारेका थिए। 
०४८ सालमा तत्कालीन एमालेले कत्ति चुनाव जित्दैन भन्ने ‘बुद्धिजीवी विश्लेषण’ बीच भण्डारीले चक्मा दिने नतिजा निकालेका थिए। त्यसो त भण्डारी आफैं भट्टराईसँग पैठोजोरी खोज्न गएका थिएनन्। भण्डारीको चामत्कारिक व्यक्तित्वलाई त्यतिखेरको ठूलो शक्ति कांग्रेसले कममात्रै आँकेन, सक्ने भए आफ्ना सभापति भट्टराईसँग चुनाव लड्न उक्सायो पनि। 

अनि भण्डारीले त्यो चुनौती सामना गरेर हाँक दिए। नतिजा आफ्नो पक्षमा मात्रै निकालेनन्, कत्ति सिट जित्दैन भनिएको एमालेको देशैभरि माहोल बनाए, दोस्रो ठूलो पार्टी बनाए। 

अहिले बालेन भने ओलीलाई आफैं हाँक दिँदैछन् र उनको भित्री मक्सद पनि देशैभरि एमालेलगायत पुराना पार्टी विरोधी माहोल बनाउने भन्ने नै छ। चुनावी नतिजाको आँकलन विज्ञानसम्मत मतसर्वेक्षणहरूभन्दा पनि फरक आउने विश्व इतिहासलाई नजर अन्दाज गरेर झापा ५ को बारेमा अहिल्यै लख काट्नुचाहिँ मूर्खता हुन्छ। त्योभन्दा ठूलो मूर्खता त्यहाँको मतदाताको विवेकलाई अपमान गर्नुहुन्छ।


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.