नेपाल भारत सांस्कृतिक सम्बन्धका सेतु थिए प्रशान्त तामाङ

नेपाल भारत सांस्कृतिक सम्बन्धका सेतु थिए प्रशान्त तामाङ
फाइल तस्बिर

गायक प्रशान्त तामाङको हृदयघातका कारण आइतबार निधन भयो। उनको निधनले संगीतप्रेमिको मनमा ठूलो चोट परेको छ। नेपाल भारत बीचको सांस्कृतिक सम्बन्धको सुन्दरता देखाउने तामाङको निधनले नेपाल र भारत दुवै देशलाई अपूरणीय क्षति पुगेको छ।

सन् २००७ मा भारतीय गायन रियालिटी शो ‘इन्डियन आइडल’ को तेस्रो सिजन जितेपछि तामाङ विश्वभर रहेका नेपाली भाषीलाई जोड्ने ‘पोस्टर ब्वाय’ बने। तामाङको इन्डियन आइडल प्रवेश विश्वभरका नेपाली भाषीलाई एउटै डोरीमा बाँध्ने सूत्र बन्यो। नेपाललाई भारतसँग जोड्ने बलियो सेतु बन्यो प्रशान्तको इन्डियन आइडल प्रवेश। 

प्रशान्तको प्रवेशपछि नेपालीका लागि इन्डियन आइडल पहिचान, स्वाभिमान र अपनत्वको उत्सव बन्यो। प्रशान्त तामाङलाई इन्डियन आइडल जिताउन नेपालीले अभियान नै चलाए। लाखौं रुपैयाँ खर्चिएर नेपालीहरूले प्रशान्त तामाङलाई इन्डियन आइडल बनाउन भोट गरे। नेपालबाट पैसा संकलन गरेर भारतमा गएर सिम कार्ड र फोन किनेर प्रशान्तका लागि भोट हाले नेपालीहरूले। नेपालीको भोटकै कारण जितेका तामाङ लोकप्रिय पनि बने।

सञ्चार माध्यमहरूले पनि प्रशान्त तामाङले पाएको समर्थनलाई नेपाल र भारत बीचको  सांस्कृतिक एकताको घटनाका रूपमा व्याख्या गरे। भारतीय प्रहरी जवान भए पनि प्रशान्त तामाङलाई इन्डियन आइडल जिताउन दार्जिलिङदेखि काठमाडौंसम्म चलेको लहरले नेपाली हुनुको अर्थ भूगोलमा मात्रै सीमित छैन भन्ने प्रमाणित गर्यो। उनको जितको उत्सव भारतमा भन्दा बढी नेपालमा मनाइयो। ‘इन्डियन आइडल’को मञ्चमा प्रशान्तले ‘मुसुमुसु हाँसि देऊ न लैलै’, ‘यो मन त मेरो नेपाली हो’ जस्ता गीत गाएपछि प्रशान्त नेपाली भाषीको मनमा कहिल्यै नमेटिनेगरी बसे। 

भारतीय रियालिटी शोमा नेपाली भाषीको पहिलो उपस्थिति उनले नै गरेका थिए। प्रशान्तले इन्डियन आइडल जितेपछि नै नेपालीका लागि भारतका रियालिटी शोहरुको ढोका खुल्यो। नेपालमा प्रशान्त तामाङको अद्भुत क्रेज देखेपछि भारतीय रियालिटी शोका लागि नेपाली भाषी वा नेपाली आज-भोलि अनिवार्य जस्तै भएको छ। पछिल्लो समय भारतीय रियालिटी शोबाट चर्चित भएका नेपाली अनुहार हुन तेरिया मगर, झुप्री दमाई, रत्न तामाङ। 

‘इन्डियन आइडल’मा जितेपछि प्रशान्त तामाङको मुख्य फ्यान बेस नेपाल भयो। त्यही कारण उनी ‘गोर्खा पल्टन’ फिल्ममा हिरोको भूमिकामा देखिए। गोर्खा पल्टन फिल्ममा  प्रशान्तले गाएको ‘जाउँला रेलैमा सरर’ बोलको गीतले प्रशान्तलाई नेपाली चलचित्र र संगीत क्षेत्रमा स्थापित गरायो। नेपाली राष्ट्रियतालाई नेपालको सीमा र भूगोलभन्दा बाहिर कलाको माध्यमबाट फैलाउने कार्यमा तामाङको योगदान उच्च छ। विश्वभर छरिएका नेपाली भाषीलाई संगीत र चलचित्रमार्फत राष्ट्रिय एकताको सूत्रमा जोड्ने कार्यमा तामाङको अपूरणीय योगदान छ।

प्रशान्त नेपाल र भारत बीचको सम्बन्धका अघोषित दूत थिए। नेपाल भारत बीचको सांस्कृतिक सम्बन्धका उनी पुल थिए। प्रशान्तको गायनले प्रत्यक्ष र अप्रत्यक्ष रुपमा नेपाल र भारत बीचको सांस्कृतिक सम्बन्धलाई घनीभूत बनाउन भूमिका खेल्यो। नेपाली राष्ट्रियतालाई नेपालको सीमा र भूगोलभन्दा बाहिर कलाको माध्यमबाट फैलाउने कार्यमा तामाङको योगदान उच्च छ। जतिबेला प्रशान्तले इन्डियन आइडलको मञ्चबाट उपाधि उचाले, त्यतिबेला उनले लगाएको ‘ढाका टोपी’ एउटा राष्ट्रिय विम्ब बन्यो। प्रशान्तले लगाएको ढाका टोपीले सम्पूर्ण नेपालीको शिर उचो भयो।

आफ्ना संगीतमा राष्ट्रियता र प्रेमको मिश्रण गरेर दर्शक तथा श्रोताको मन जितेका प्रशान्तले असारे महिनामा, वीर गोर्खाली र मन साइँलीजस्ता हिट गीत नेपाली भाषी श्रोतालाई दिएर गएका छन्। इन्डियन आइडलमा प्रशान्तको जित उनको व्यक्तिगत सफलता मात्र थिएन, नेपाली पहिचान र प्रतिभाको अन्तर्राष्ट्रिय स्वीकारोक्ति पनि थियो। 

प्रशान्तको केवल ‘इन्डियन आइडल’ मात्र थिएनन्। उनी नेपाली डायस्पोराका भावनात्मक सेतु पनि थिए। नेपालीलाई खुसी दिलाउने स्रोत थिए उनी। उनी नेपाली पहिचानका पनि आइडल हुन। उनी नेपाल र भारत बीचको सांस्कृतिक सम्बन्धका पनि आइडल हुन। प्रशान्तको जित उनको व्यक्तिगत सफलता मात्र थिएन, नेपाली पहिचान र प्रतिभाको अन्तर्राष्ट्रिय स्वीकारोक्ति पनि थियो।

प्रशान्तले नेपाल भारत बीचको सांस्कृतिक सम्बन्धनलाई नयाँ उचाइमा पुर्‍याएर गएका छन्। नेपाल र भारत बीचको भावनात्मक सम्बन्धलाई उनले नयाँ आवाज र पहिचान दिएका छन्। उनले नेपाल र भारत बीचको जनस्तरको सम्बन्धलाई गीत र सङ्गीतका माध्यमबाट मजबुत बनाउने एउटा सांस्कृतिक सेतुको काम गरे। नेपाल र भारत दुवै देश प्रशान्तको यो योगदानका सदा ऋणी रहनेछन्।

प्रशान्तले जसले ‘मुसुमुसु हाँसीदेऊ’ भनेर गीत गाउँदा नेपालीहरूको ओठमा जसरी मुस्कान देखिन्थ्यो त्यसैगरी ‘यो मन त मेरो नेपाली’ भनेर गीत गाउँदा नेपालीको छाती गर्वले फुल्थ्यो। प्रशान्त यो संसारमा नरहे पनि उनले दिएर गएको स्वाभिमान र गर्व भने नेपालीले कहिल्यै भुल्ने छैनन्। आफू भारतीय भए पनि आफ्नो भाषा संस्कृति भने नेपाली हो भन्दै प्रशान्त भन्ने गर्थे, ‘म भारतीय हुँ तर मेरो भाषा र संस्कृति नेपाली हो। मेरो आधा मुटु नेपालमै धड्किन्छ।’ प्रशान्तको मुटुको धड्कन बन्द भए पनि नेपालीको मनमा भने प्रशान्त सदा धड्की रहनेछन्।
 


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.