विद्युत मर्मतका क्रममा करेन्ट लागेर प्राधिकरणका कर्मचारीको मृत्यु
विराटनगर : मोरङको रतुवामाई नगरपालिकामा विद्युत लाइन मर्मत गर्नेक्रममा करेन्ट लाग्दा नेपाल विद्युत प्राधिकरणका एक जना कर्मचारीको मृत्यु भएको छ । मृत्यु हुनेमा रतुवामाई नगरपालिका–४ निवासी ४६ वर्षीय सुर्जानन्द मण्डल रहेका छन् ।
मण्डल नेपाल विद्युत प्राधिकरणअन्तर्गत रंगेली वितरण केन्द्रमा करार सेवामा कार्यरत थिए । प्रहरीका अनुसार शुक्रबार दिउँसो रतुवामाई–१ हटिया डाँडास्थित विद्युत पोलमा चढेर लाइन मर्मत गरिरहेका बेला अचानक उनलाई करेन्ट लागेको थियो । करेन्ट लागेपछि उनी गम्भीर घाइते भएका थिए ।
उद्धार गरेर तत्काल उपचारका लागि रंगेली अस्पताल पुर्याइए पनि चिकित्सकले उनलाई बचाउन सकेनन् । अस्पतालले दिउँसो करिब २:३० बजे मण्डललाई मृत घोषणा गरेको प्रहरीले जनाएको छ ।
घटनापछि मृतकको शव पोस्टमार्टमका लागि रंगेली अस्पतालमै राखिएको छ । घटनाको कारण र प्राविधिक पक्षका बारेमा थप अनुसन्धान भइरहेको मोरङ प्रहरीका सूचना अधिकारी डीएसपी मकेन्द्रकुमार मिश्रले जानकारी दिए।
प्रतिक्रिया दिनुहोस !