एकल औषधिको सिद्धान्त
होमियोप्याथी चिकित्सा विज्ञानको आधारभूत स्तम्भमध्ये एक महŒवपूर्ण सिद्धान्त हो, एकल औषधि सिद्धान्त। यसको मूल लक्ष्य हो कि बिरामीको सम्पूर्ण लक्षण–समष्टिलाई ध्यानमा राखी एउटै उपयुक्त औषधि छनोट गर्नुपर्छ, एउटै समयमा धेरै औषधि मिसाएर प्रयोग गर्नु हुँदैन।
यो सिद्धान्त होमियोप्याथीका संस्थापक डाक्टर सैमुअल हैनिमेनले आफ्नो पुस्तक ‘अर्गेनन् अफ मेडिसन’मा सूत्र २७२ देखि २७४ सम्म एकल औषधिको सिद्धान्तबारे विस्तारपूर्वक वर्णन गरेका छन्। हैनिमेनले देखाए कि बिरामीको रोग कुनै एक पक्ष मात्र होइन, सम्पूर्ण अस्तित्वसँग सम्बन्धित हुन्छ। त्यसैले औषधि पनि त्यही सम्पूर्णतालाई समेट्ने एकल हुनुपर्छ।
पृष्ठभूमि : हैनिमेनको समयमा (अठारौं शताब्दी) प्रचलित चिकित्सा पद्धतिमा एउटै रोगका लागि धेरै औषधि एकै पटक मिसाएर प्रयोग गर्ने चलन थियो। यस्तो प्रयोगले रोगीलाई राहत दिनुभन्दा बढी हानि पु¥याउँथ्यो। हैनिमेनले ४५ वर्षको अनुभव र प्रयोगबाट निष्कर्ष निकाले–
— औषधिहरूबीच एकआपसमा अन्तक्र्रिया (ड्रगइन्ट्राएक्सन) भएर हानिकारक प्रभाव पर्छ।
— रोगको वास्तविक छविलाई ढाक्ने काम हुन्छ, जसले सही उपचार कठिन बनाउँछ।
त्यसैले उहाँले ‘एकै समयमा केवल एक औषधि’ प्रयोग गर्नुपर्छ भन्ने सिद्धान्त प्रतिपादन गर्नुभयो।
एकल औषधि सिद्धान्तको आधार : यो सिद्धान्त निम्नलिखित आधारमा स्थापित छ : –
१. होमियोप्याथीको मौलिक नियम—समरूपता : ‘समं समं समायति’ अर्थात् समान लक्षण हुने औषधिले समान लक्षण भएका रोगीलाई उपचार गर्छ। त्यसैले रोगीमा देखिएको सम्पूर्ण लक्षण–समष्टिलाई सबैभन्दा नजिकको सिमिलिमम औषधिद्वारा मात्र उपचार सम्भव हुन्छ।
२. औषधि–परीक्षण : हरेक होमियोप्याथिक औषधि स्वस्थ मानिसमा परीक्षण गरेर यसको सम्पूर्ण प्रभाव संकलन गरिएको हुन्छ। एकल औषधि प्रयोग गर्दा त्यसको असर स्पष्ट र शुद्ध रूपमा प्रकट हुन्छ।
३. रोग–रोगीको सम्पूर्णता : रोगलाई होइन, रोगीलाई सम्पूर्ण रूपमा हेर्ने दृष्टिकोण। सम्पूर्ण लक्षणलाई एक औषधिले मात्र प्रतिनिधित्व गर्न सक्छ।
एकल औषधि सिद्धान्तका फाइदाहरू : एउटै औषधि प्रयोग गर्दा त्यसको परिणाम स्पष्ट हुन्छ। दुष्प्रभाव न्यून हुन्छ। धेरै औषधि मिसाउँदा हुने हानिकारक प्रभावबाट बच्न सकिन्छ। सही औषधि पहिचान गर्न सजिलो हुन्छ। बिरामीमा आएको सुधार वा बिग्रिएको स्थिति कुन औषधिले ल्यायो भन्ने कुरा थाहा पाउन सजिलो हुन्छ। वैज्ञानिक र व्यवस्थित उपचार छ। चिकित्सकको अभ्यासलाई वैज्ञानिक, तर्कसंगत र पारदर्शी बनाउँछ।
व्यावहारिक उदाहरण : यसमा माइग्रेन र टाइफाइड दुईबारे बुझौं।
१. माइग्रेन : बिरामीलाई सूर्यको प्रकाश लाग्दा टाउको दुख्छ, तातो पानीले आराम हुन्छ, चञ्चल स्वभाव छ– ग्लोनाइन। अर्को बिरामीमा अन्धकार मन पर्छ, शान्त वातावरण चाहन्छ, टाउको दुख्दा बोल्न मन लाग्दैन– बेलाडोना। एउटै रोग भए पनि उपचार फरक हुन्छ, तर एउटै समयमा एउटै औषधि प्रयोग हुन्छ।
२. टाइफाइड : बेचैन, बारम्बार पानी खान चाहने– आर्सेनिक एल्बम। अत्यन्त थाकेको, बोल्न मन नलाग्ने– जेल्समियम। दुई औषधिसँगै होइन, रोगीको लक्षणअनुसार एउटै औषधि चयन।
बहुऔषधि प्रयोगका समस्या : रोगीमा आएको सुधार कुन औषधिबाट हो भन्ने अस्पष्ट हुन्छ। औषधिहरूबीच हुने अन्तक्र्रियाले अनावश्यक समस्या बढाउँछ। रोगीको वास्तविक लक्षण छवि हराएर सरूप पत्ता लगाउन गाह्रो हुन्छ।
आलोचना र जवाफ : कतिपय चिकित्सकहरूले एउटै समयमा धेरै औषधि दिनु राम्रो ठान्छन्, जसलाई पोलिफार्मेसी भनिन्छ। तर होमियोप्याथीमा यसको विरोध गरिएको छ।
१. आलोचना : एउटै औषधिले सम्पूर्ण रोगीलाई कसरी समेट्छ ? कहिलेकाहीँ मिश्रित रोगमा एउटै औषधि पर्याप्त हुँदैन।
२. जवाफ : बिरामीको सम्पूर्ण लक्षणको प्रतिनिधित्व गर्ने औषधि पत्ता लगाउन सके एउटै औषधिले सम्पूर्ण रोगीलाई समेट्छ। मिश्रित रोगमा पनि मूल कारण बुझ्दा एउटै औषधिले सुधार ल्याउन सक्छ।
आजको सन्दर्भमा महŒव : आजको आधुनिक चिकित्सा क्षेत्रमा पनि पोलिफार्मेसीको समस्याले धेरै रोगी प्रभावित छन्। विशेषगरी दीर्घकालीन रोग भएका बिरामीहरू (जस्तै : – मधुमेह, हाई ब्लडप्रेसर, आस्थामा ) मा एकै साथ पाँच–सात औषधि खानुपर्ने अवस्था हुन्छ। तर होमियोप्याथीको एकल औषधि सिद्धान्त फरक छ। यसले सरल, सुरक्षित र प्रभावकारी विकल्प प्रस्तुत गर्छ। रोगीलाई अनावश्यक औषधिको बोझबाट जोगाउँछ। अनि, रोग हटाउनुमात्र होइन, रोग प्रतिरोधात्मक क्षमता (जीवनीशक्ति) लाई बलियो बनाउँछ।
निष्कर्ष : एकल औषधिको सिद्धान्त होमियोप्याथिक चिकित्साको मौलिक आत्मा हो। यसले देखाउँछ कि रोग होइन, रोगी नै केन्द्रबिन्दु हो। सम्पूर्ण लक्षण–समष्टिगत रूपमा बुझेर एउटै औषधि प्रयोग गर्दा मात्र शुद्ध, सुरक्षित र दीर्घकालीन उपचार सम्भव हुन्छ। बहुऔषधि प्रयोग गर्ने परम्पराले रोगीलाई झन् हानि पु¥याउँछ। त्यसैले होमियोप्याथीमा योग्य तथा अनुभवी चिकित्सकहरूबाट सदैव एउटै समयमा एउटै औषधि प्रयोग गर्नुपर्छ। आजको युगमा जहाँ औषधिको दुरुपयोग र दुष्प्रभाव बढ्दो छ, होमियोप्याथीको यो सिद्धान्त अझै बढी प्रासंगिक छ। यसले चिकित्सा विज्ञानलाई सरल, वैज्ञानिक र मानवीय बनाएको छ। अस्तु
मिश्र, वरिष्ठ होमियोप्याथीक कन्सलटेन्ट हुन्।
प्रतिक्रिया दिनुहोस !