सङ्खुवासभाका ६ उद्यमी सम्मानित
खाँदबारी : सङ्खुवासभा जिल्लाका ६ जना उद्यमी सम्मानित भएका छन्। ११ औं राष्ट्रिय उद्योग दिवसको अवसरमा मंगलबार घरेलु तथा साना उद्योग कार्यालय सङ्खुवासभाले जिल्लाका उत्कृष्ट उद्यमीहरूलाई सम्मान गरेको हो।
एक सय घारभन्दा बढी मौरीपालन गर्ने चैनपुर नगरपालिका–२ का सिद्धपोकाली मौरीपालन उद्योगका सञ्चालक रिन्जी शेपा उत्कृष्ट मौरीपालक उद्यमीका रूपमा सम्मानित भएका छन्।
त्यसैगरी खाँदबारी नगरपालिका–८ की होहोरेम अल्लो तथा सुति कपडा उद्योगका सञ्चालिका दिलमाया याम्फु, नमुना कृषि तथा पशु फर्म सिलिचोङ गाउँपालिका–५ का जितेन्द्र राई सम्मानित भएका हुन्।
धर्मदेवि नगरपालिका–६ का स्वरोजगार बागवानी पशुपक्षी तरकारी व्यवसाय तथा उत्पादन केन्द्रका सञ्चालक देवबहादुर कटुवाल, पाँचखपन नगरपालिका–५ का मनकामना एकीकृत कृषि तथा पशुपक्षी अनुसन्धान केन्द्रका सञ्चालक ठाकुर बहादुर ढकाललाई उद्योग दिवसको अवसरमा उत्कृष्ट उद्यमीका रूपमा सम्मानित गरिएको हो।
सुकुटी तथा सुकुटी अचारमा प्रख्यात रहेको खाँदबारी नगरपालिका–४ का पांमाली सुकुटी तथा अचार उद्योगका सञ्चालक रोहित राई पनि उत्कृष्ट उद्यमीका रुपमा सम्मानित भएका हुन्। सम्मानित हुनेहरूलाई प्रतिव्यक्ति ५ हजार रुपैयाँ हस्तान्तरण गरिएको छ। कोशी प्रदेशसभा सदस्य विदुर लिंथेप, जिल्ला समन्वय समिति प्रमुख सुमन शाक्य लगायतले उत्कृष्ट उद्यमीहरूलाई दोसल्ला ओढाएर सम्मान गरे।
प्रतिक्रिया दिनुहोस !