बाढी–पहिरोले बीपी राजमार्गको ५ किलोमिटर बढीमा क्षति

अस्थायी डाइभर्सन निर्माण सुरु

बाढी–पहिरोले बीपी राजमार्गको ५ किलोमिटर बढीमा क्षति

सिन्धुली : गत शुक्रबारबाट परेको अविरल वर्षाका कारण रोशी खोलामा आएको बाढीले बनेपा–सिन्धुली–बर्दिबास (बीपी) राजमार्गको ५ किलोमिटर बढी सडक ध्वस्त भएको प्रारम्भिक प्रतिवेदन सार्वजनिक भएको छ।

सडक डिभिजन कार्यालय भक्तपुरका अनुसार बीपी राजमार्गअन्तर्गत सिन्धुलीको नेपालथोकदेखि काभ्रेको भकुन्डेबेंसीसम्म रोशीमा आएको बाढी र पहिरोका कारण ५ दशमलव २ सय ४० किलोमिटर सडक पूर्णरूपमा ध्वस्त भएको हो।

तीन दिनसम्म लगातार परेको वर्षाका कारण रोशी खोलामा आएको बाढीले नेपालथोक–भकुन्डेबेंसी खण्डका विभिन्न १९ स्थानमा पक्की तथा अस्थायी डाइभर्सन बगाएको सडक डिभिजन कार्यालय भक्तपुरका प्रवक्ता प्रभातकुमार झाले जानकारी दिए। उक्त स्थानमा गत वर्षको असोज ११ र १२ गते आएको रोशी खोलाको बाढीले बीपी राजमार्गको पक्की सडक बगाएर क्षति पुर्‍याएको थियो। त्यसको ठीक एक वर्षमा पुनः रोशीमा आएको बाढीले बीपी राजमार्गलाई थप क्षति पुर्‍याएको प्रवक्त झाको भनाइ छ।

उनका अनुसार बीपी राजमार्गअन्तर्गत  बर्खेखोला, माम्ती खोला, माथिल्लो माम्ती, तल्लो पिप्ले, माथिल्लो पिप्ले, डालेबेंसी, बालढुंगा, बोक्सी कुना, चिउरीबास, पिन्थली, नार्के, गिम्तीबेंसी, चार सय बेंसी, चार सय बेंसी घुमाउने, कटुन्जे, चौकीडाँडा, दाप्चा र नेपालथोकमा रोशीले सबैभन्दा बढी क्षति पुर्‍याएको छ। 

बर्खे खोलामा लेदोसहतिको पहिरो आउँदा १ सय १३ मिटर सडकमा क्षति पुगेको छ। यस्तै, माम्ती खोलामा आएको बाढीले झन्डै ४ सय मिटर डाइभर्सन बगाएको छ। माथिल्लो माम्तीमा २ सय ३५ मिटर डाइभर्सन र थप २० मिटर पक्की सडक बगाएको सडक डिभिजन कार्यालय भक्तपुरले जनाएको छ। तल्लो पिप्लेमा २ सय २० मिटर डाइभर्सन, माथिल्लो पिप्लेमा २ सय २० मिटर डाइभर्सन,  सोही क्षेत्रमा सुक्खा पहिरोले ३ सय ६२ मिटर डाइभर्सनमा क्षति पुगेको छ। डालाबेंसीमा ५ सय मिटर डाइभर्सन बगाएको छ भने कालढुंगामा थप २५ मिटर नयाँ पक्की सडक बाढीले बगाएको छ। कालढुंगामै ६० मिटर डाइभर्सन बाढीले बगाएको छ। त्यस क्षेत्रमा गत असोज ११ र १२ गते रोशी खोलामा आएको बाढीले पक्की सडक बगाउँदा अस्थायी डाइभर्सन निर्माण गरिएको थियो। 

यस्तै, बोक्सीकुनामा २ सय मिटर, चिउरीबासमा २ सय मिटर, नार्केमा ५० मिटर, गिम्तीवेसीमा १ सय मिटर, चारसयबेसीमा ३ सय ८० मिटर डाइभर्सन बगाएको छ। कटुन्जेमा ३ सय मिटर, चौकीडाँडामा ३ सय ७५ मिटर र दाप्चा पुलमा २० मिटर पक्की सडक सटान गरेको बताइएको डिभिजनका प्रवक्ता झाको भनाइ छ। 

गत वर्ष रोशीमै आएको बाढीले क्षति पुर्‍याएपछि अस्थायी डाइभर्सन निर्माण गरेर यातायात सञ्चालन गरिँदै आएको राजमार्गमा यस पटकको बाढीले मात्र झन्डै १२ करोड रुपैयाँ बढीको अस्थायी डाइभर्सनमा क्षति पुर्‍याएको छ।

अस्थायी डाइभर्सन निर्माण सुरु
बाढी र पहिरोले राजमार्गमा क्षति पुगेसँगै अस्थायी डाइभर्सन निर्माण समेत सुरु गरिएको छ। वर्षा कम भएसँगै रोशी खोलामा पानीको बहाव कम भएपछि सडक डिभिजन कार्यालयले रोशीलाई तर्काएर पुनः अस्थायी डाइभर्सन निर्माण थालेको छ। 

रोशीको बाढी र पहिरोले क्षति पुर्‍याएको विभिन्न १९ स्थानमध्ये विभिन्न १० स्थानबाट अस्थायी डाइभर्सन निर्माण थालिएको हो। बीपी राजमार्गअन्तर्गत नेपालथोक–धुलिखेल खण्डको दुम्जा प्रहरी चौकीनजिक रोशी खोलाले खसालेको सडकमा सोमबारदेखि अस्थायी ट्र्याक निर्माण थालिएको छ।  डिभिजन सडक कार्यालयका अनुसार माथिल्लो माम्तीमा २० मिटर नयाँ ट्र्याक निर्माण गरिएको छ। 

यस्तै, डालाबेसी र कालढुंगामा ८ सय ६६ मिटर डाइभर्सन निर्माण सम्पन्न भएको छ। सोही स्थानमा २० मिटर नयाँ ट्र्याकसमेत निर्माण गरिएको छ। बोक्सीकुनमा बुधबारबाट अस्थायी डाइभर्सन सुरु गरिएको छ। उक्त स्थानमा २ सय मिटर डाइभर्सन बाढीले बगाएर क्षति पुर्‍याएको छ। चार सय बेंसीमा अस्थायी डाइभर्सन निर्माण कार्य बुधबारसम्ममा सम्पन्न गरिएको छ। कटुन्जेबसीमा पनि ३ सय मिटर अस्थायी डाइभर्सन निर्माणकार्य सम्पन्न भइसकेको बताइएको छ। 

दाप्चा पुलमा २० मिटर नयाँ ट्र्याक निर्माण सकिएको छ भने चौकीडाँडाको ३ सय ७५ मिटर क्षति भएको अस्थायी डाइभर्सन भोली बिहीबारसम्ममा निर्माण सम्पन्न गरिने सडक डिभिजन कार्यालयको दापी छ। चौकीडाँडा तथा चार सय बेंसीमा क्षति भएको सडकको अस्थायी डाइभर्सन निर्माण सम्पन्न नगर्दासम्म अन्य स्थानमा तेल (डिजल) ढुवानीमा समस्या हुँने भएकाले अन्य स्थानमा क्षति भएको सडकको डाइभर्सन निर्माण केही दिन ढिलाई हुने प्रवक्ता झाको भनाइ छ। 

यता रोशी खोलालाई पूर्वतर्फ डाइभर्ट गरेर नेपालथोक नजिकै पनि ट्र्याक बनाउन थालिएको हो। नेपालथोकदेखि बर्खेखोलासम्म सिन्धुलीतर्फ करिब ६ सय मिटर रोशीखोलाले बगाएको छ।

‘डिभिजन सडक कार्यालयबाट एक्स्काभेटर लगेर रोशी खोला डाइभर्ट गरी अस्थायी रूपमा ट्र्याक खोन्ने काम सुरु भएको छ। अस्थायी सडक निर्माणका लागि रोशीलाई तर्काएर खोलाकै ढुंगा, गिटी, बालुवा प्रयोग गरिएको छ,’ झाले भने।

डिभिजन सडक कार्यालय खाल्टे सिन्धुलीका प्रमुख पारसमणि हमालका अनुसार सिन्धुलीतर्फ करिब ६ सय मिटर अस्थायी डाइभर्सन निर्माण सम्पन्न भएसँगै काभ्रेको माम्तीसम्म यातायात सञ्चालन गर्न सकिने छ। बीपी राजमार्गको धुलिखेल–सिन्धुली–बर्दिबास सडकको तीन खण्डमध्ये १ सय १० किलोमिटर सडकमा यातायात सञ्चालनमा रहेका छन्। सिन्धुलीको नेपालथोकदेखि काभ्रेको भकुन्डेसम्मको झन्डै ५० किलोमिटर सडक पुनर्निर्माणको चरणमा रहेको हमालले बताए।

वैकल्पिक मार्ग प्रयोग 
बीपी राजमार्गको नोपलथोक–धुलिखेल खण्डमा बाढी र पहिरोले क्षति पुर्‍याएपछि हाल वैकल्पिक मार्गका रूपमा खुर्कोट–मन्थली हुँदै अरनिको राजमार्ग र सिन्धुली–हेटौंडा हुँदै सावारीसाधन काठमाडौं आवतजावत भइरहेका छन्।


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.