एकीकृत चिकित्सा, आजको आवश्यकता

एकीकृत चिकित्सा, आजको आवश्यकता
सांकेतिक तस्बिर।

मानव सभ्यताको विकाससँगै रोगहरूको स्वरूप, उपचार विधिहरू र स्वास्थ्यको परिभाषा निरन्तर परिवर्तन हुँदै आएको छ। अतीतमा मानिस प्राकृतिक वातावरणसँग प्रत्यक्षरूपले जोडिएको थियो, त्यसबेलाको जीवनशैली सरल थियो। रोगहरू पनि प्रायः जीवनशैली तथा वातावरणसँग प्रत्यक्ष सम्बन्धित हुन्थे। त्यस समयमा औषधीय बोटबिरुवा, आयुर्वेद, होमियोप्याथी, योग, प्रार्थना, ध्यान र अन्य प्राकृतिक उपचार प्रणालीहरू मुख्य स्वास्थ्य उपचारका आधार थिए।

तर, आजको जटिल जीवनशैली, बढ्दो मानसिक तनाव, प्रदूषण, खानपानका विकृति, आधुनिक औषधिको साइड इफेक्ट, औद्योगिक क्रान्ति, सहरीकरण र आधुनिक विज्ञानको तीव्र प्रगतिसँगै नयाँ–नयाँ रोगहरू पनि देखिँदै आए। यी रोगहरूको प्रकृति पनि समयानुसार जटिल हुँदै गयो। यिनै कारणले केवल एउटा चिकित्सा प्रणालीले मात्र सबै समस्याको सामाधान दिन सक्दैन। यस्तो अवस्थामा एकीकृत चिकित्सा प्रणालीको धारणा आजको आवश्यकता बनेको छ। आजको युगमा हामीसँग एलोप्याथी, होमियोप्याथी, आयुर्वेद, युनानी, प्राकृतिक चिकित्सा, योग र अन्य वैकल्पिक उपचार प्रणाली उपलब्ध छन्। यिनै विविध चिकित्सा पद्धतिको सही संयोजन गरी रोगीको सम्पूर्ण स्वास्थ्यको दृष्टिबाट समन्वय गरी उपाचार गर्ने हो। यही नै आजको स्वास्थ्य संकटको समाधान गर्ने मुख्य बाटो हो।

एकीकृत चिकित्सा के हो ? : एकीकृत चिकित्सा भन्नाले रोग मुक्ति मात्र होइन, स्वास्थ्य प्राप्ति र जीवन गुणस्तर सुधार गर्ने दृष्टिकोण पनि हो। यसमा रोगीको शारीरिक, मानसिक, सामाजिक र अध्यात्मिक पक्ष समेटिन्छ। यो प्रणालीमा रोगी केन्द्रित उपचार हुन्छ। आधुनिक तथा वैकल्पिक चिकित्सा विधाको समन्वय हुन्छ। औषधिसँगै बिरामीको खानपान, योग, ध्यान, परामर्शको पनि प्रयोग गरिन्छ।

विभिन्न चिकित्सा पद्धतिहरूको वैज्ञानिक, तार्किक र नैतिक संयोजन गरेर बिरामीलाई अधिकतम स्वास्थ्य लाभ दिने उपचार प्रणाली हो। यसमा कुनै एक पद्धतिलाई पूर्णतः अस्वीकार वा प्राथमिकता नदिई रोगको प्रकार, बिरामीको अवस्था, रोगको चरण र उपलब्ध साधनअनुसार उपयुक्त विधिहरूको मिश्रण प्रयोग गरिन्छ। जस्तै, कुनै तीव्र संक्रमणमा प्रारम्भिक चरणमा एलोप्याथीको औषधि प्रयोग गरी रोग नियन्त्रण गर्न सकिन्छ भने दीर्घकालीन पुनस्र्थापनाका लागि आयुर्वेदिक, होमियोप्याथिक औषधि वा योगध्यानको प्रयोगले शरीरको प्रतिरक्षा प्रणाली बलियो बनाउन सकिन्छ।

यो चिकित्सा आजको आवश्यकता, किन ?
१. रोगहरूको जटिलता र बहुआयामिक कारण : आजका धेरै रोग केवल एउटा कारणबाट मात्र उत्पन्न हुँदैनन्। मधुमेह, उच्च रक्तचाप, क्यान्सर, हृदय रोग, मानसिक स्वास्थ्य समस्या आदि बहुआयामिक कारणले हुने भएकाले केवल एक चिकित्सा प्रणालीले मात्र सम्पूर्ण उपचार दिन कठिन हुन्छ। युरोप, दक्षिण अमेरिका आदि महादेशका धैरै देशमात्र होइन, भारत लगायत एसियाली मुलुकहरूले पनि एकीकृत चिकित्सा सेवाबाट स्वास्थ सेवा दिइरहेका छन्।
२. दुष्प्रभाव घटाउने आवश्यकता : एलोप्याथी तीव्र रोग नियन्त्रणमा प्रभावकारी भए पनि दीर्घकालीन यसका औषधिको प्रयोगले केही दुष्प्रभाव ल्याउन सक्छ। एकीकृत दृष्टिकोणमा सहायक विधिहरू प्रयोग गर्दा दीर्घकालीन दुष्प्रभाव घटाउन सकिन्छ।
३. रोगी केन्द्रित उपचार : एकीकृत चिकित्सा बिरामीको सम्पूर्ण जीवनशैली, मानसिक अवस्था, सामाजिक परिवेश र शारीरिक स्वास्थ्यलाई समेटेर उपचार गर्छ। यसले बिरामीलाई केवल रोगमुक्त मात्र होइन, समग्र रूपमा स्वस्थ र सशक्त बनाउन मद्दत गर्छ।
४. परम्परा र विज्ञानको सन्तुलन : आयुर्वेद, होमियोप्याथी, योग र प्राकृतिक चिकित्सा जस्ता परम्परागत पद्धतिहरू हजारौं वर्षको अनुभवमा आधारित छन्। यी विधिलाई आधुनिक विज्ञानले प्रमाणित गरेर प्रयोग गर्दा उपचार अझ सशक्त हुन्छ।

एकीकृत चिकित्सा प्रयोगका सम्भावित मोडेलहरू
तीव्र रोगमा तात्कालिक हस्तक्षेप : पुनः स्थापनात्मक चिकित्सा। जस्तै, हड्डी भाँचिएको अवस्थामा तत्काल सर्जरी वा प्लास्टर (एलोप्याथी) र पछि हड्डी बलियो बनाउन योगासन, आयुर्वेदिक टोनिक वा होमियोप्याथिक क्याल्सियम टोनिक।
दीर्घ रोगमा संयोजनात्मक उपचार। जस्तै, मधुमेहमा एलोपैथीको इन्सुलिन वा मेटफोर्मिनसँगै, आयुर्वेदिक औषधि (गुडमार, करेला) होमियोप्याथिक औषधी, जीवनशैली सुधार, योगासन र ध्यान। 
आवश्यक मानसिक स्वास्थ्यमा बहुआयामिक दृष्टिकोण। जस्तै, डिप्रेसनमा मनोचिकित्सा होमियोप्याथिक औषधि, ध्यान, संगीत चिकित्सा भएमा आधुनिक औषधि।

चुनौतीहरू र समाधान
चुनौती     –     विभिन्न चिकित्सा प्रणालीका चिकित्सकहरूबीच तालमेलको कमी।
समाधान     –     साझा तालिम र अन्तरविभागीय गोष्ठीहरू।
चुनौती     –     वैज्ञानिक प्रमाणको कमी।
समाधान     –     एकीकृत चिकित्सासम्बन्धी अनुसन्धान र क्लिनिकल 
    ट्रायलहरूको वृद्धि।
चुनौती     –     बिरामीको भ्रम र गलत जानकारी।
समाधान     –     जनचेतना कार्यक्रम र स्पष्ट जानकारी उपलब्ध गराउने।

निष्कर्ष
आजको युगमा स्वास्थ्यको परिभाषा केवल रोग नहुनु मात्र होइन, शारीरिक, मानसिक, सामाजिक र आध्यात्मिक सन्तुलन हुनु चाहिँ हो। यस सन्तुलनलाई कायम राख्न एकीकृत चिकित्सा अपरिहार्य छ। एउटै छानामुनि स्वास्थ्यका सम्पुर्ण सेवाहरू उपल्ब्ध गराउन सकेमा एक विधाको चिकित्सक अर्को चिकित्सा विधिबारे जानकारी पनि प्राप्त हुन्छ। जसले गर्दा अहिले भइरहेको चिकित्सकीय भेदभावका साथै चिकित्सा विधिको अवमूल्याकनलाई पनि हटाउन सकिन्छ। एकीकरणको आवश्यकता प्रतिस्पर्धा होइन, सहकार्य हो।

यसले विभिन्न उपचार पद्धतिहरूलाई प्रतिस्पर्धी होइन, पूरक रूपमा प्रयोग गरेर बिरामीलाई पूर्ण स्वास्थ्यतर्फ डोहोर्‍याउँछ। भविष्यको चिकित्सा केवल एक पद्धतिमा सीमित हुने छैन, बरु सबै पद्धतिहरूको राम्रो पक्षलाई मिलाएर ‘मानव कल्याण’को साझा लक्ष्यमा अघि बढ्नेछ।

मिश्र वरिष्ठ होमियोप्याथिक चिकित्सक हुन्।


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.