गण्डकीलाई खरानी टकटक्याएर उठ्नै सकस
जेन–जी आन्दोलनका क्रममा काठमाडौंपछि गण्डकी प्रदेशमा ठूलो क्षति पुगेको छ । पोखरास्थित प्रदेशसभा भवन पूर्णरूपमा क्षति भएपछि प्रदेशसभा बैठक बस्नै सकस छ । मुख्यमन्त्री कार्यालय मात्र होइन, अधिकांश मन्त्रालयदेखि होटल र व्यावसायिक प्रतिष्ठानमा पनि ठूलो क्षति पुगेको छ । प्रारम्भिक मूल्यांकनअनुसार करिब २ अर्बको क्षति पुगेको छ । त्यसैले खरानी टकटक््याएर मात्र गण्डकी उठ्न सक्ने अवस्था छैन । त्यसका लागि संघ सरकारदेखि सर्वसाधारणको सहयोगको आवश्यक्ता औंल्याइएको छ ।
पोखरा : जेन–जी आन्दोलनका क्रममा गण्डकी प्रदेशको संसद भवन, मुख्यमन्त्री कार्यालयलगायत अधिकांश सरकारी कार्यालय जलेर खरानी बने । प्रारम्भिक विवरणअनुसार मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयसहित १५ वटा कार्यालयमा आगजनी तथा तोडफोडबाट क्षति पुगेको छ ।
अधिकांश सरकारी कार्यालय प्रदर्शनकारीले जलाएर खरानी बनाएपछि गण्डकी प्रदेशको संसद् बैठक बस्ने उपयुक्त भवनसमेत भेटिन सकेको छैन । मालपोत कार्यालय, जिल्ला अदालत, पोखरा महानगरपालिकालगायत अधिकांश सरकारी कार्यालय प्रदर्शनकारीले जलाएपछि गण्डकी प्रदेशलाई उठ्न नै सकस हुने परिस्थितिमा पुर्याएको छ ।
आन्दोलनको पहिलो दिन भदौ २३ गते काठमाडौंमा सुरक्षाकर्मीले गोली चलाउँदा १९ जनाको मृत्यु भयो । त्यसको भोलिपल्ट देशभर आन्दोलनले उग्ररूप लियो ।
आन्दोलनकारीले काठमाडौंका संसद् भवन, सिंहदरबार, सर्वोच्च अदालतलगायत सरकारी भवन, राष्ट्रपति, प्रधानमन्त्री निवास समेतमा आगो झोसेपछि त्यसको प्रभाव पोखरामा पनि पर्यो । अघिल्लो दिन गण्डकी प्रदेशको मुख्यमन्त्रीको कार्यालय तोडफोड गर्न पुगेका प्रदर्शनकारीलाई नियन्त्रणमा लिन पानीको फोहोरा, अश्रुग्यास र रबरको गोलीसमेत सुरक्षाकर्मीले चलाउँदा प्रदर्शनकारी घाइते भएका थिए ।
यसले गर्दा पनि आन्दोलनकारी भोलिपल्ट थप आक्रोशित भएका थिए । भदौ २४ गते आन्दोलनकारीको पहिलो निशाना पोखराको न्युरोडमा रहेको पोखरा महानगरपालिकाको कार्यालय हुन पुग्यो । पोखरा महानगरपालिकामा आगो झोसेर सुरु भएको आगजनी गण्डकी प्रदेशको मुख्यमन्त्री कार्यालय, प्रदेशसभा भवन, अधिकांश प्रदेश मन्त्रालय, जिल्ला प्रशासन कार्यालय, मालपोत कार्यालय, जिल्ला अदालत, जिल्ला प्रहरी कार्यालयलगायत अधिकांश सरकारी कार्यालय जलाएर नष्ट बनाए ।
सरकारी कार्यालय मात्र होइन गण्डकी प्रदेशका सामाजिक विकास युवा तथा खेलकुदमन्त्री विन्दुकुमार थापाका व्यावसायिक भवन र निजी निवास, पोखरा महानगरपालिकाका मेयर धनराज आचार्यको निजी निवास, पर्यटक बसिरहेका होटल, भाटभटेनी, निजी व्यवसायीका भवन समेत प्रदर्शनकारीले आगो झोस्दा खरानी बनेका छन् ।
प्रदेशसभा बस्ने भवनै भेटिएन
गण्डकी प्रदेशसभा नगर प्रशिक्षण केन्द्रको पुरानो भवनमा सञ्चालन हुँदै आएको थियो । प्रदर्शनकारीले गण्डकी प्रदेशसभा भवनमा आगो झोस्दा भवन कामै नलाग्ने गरी खण्डहरमा परिणत भएको छ । अधिकांश सरकारी भवनमा प्रदर्शनकारीले आगो झोसेको कारण प्रदेशसभा बैठक बस्ने भवनको अभाव भएको छ । प्रदेशसभा बैठक बस्न सरकारी भवनको खोजी भइरहेको छ ।
यसअघि कोेभिडको समयमा फराकिलो ठाउँ खोज्दै पोखरा सभागृहमा प्रदेशसभा बैठक बसेको थियो । पोखरा सभागृह पनि पुरानो भएकारण मर्मत गर्नुपर्ने अवस्थामा पुगेको र अधिकांश सरकारी भवन जलेर कामै नलाग्ने अवस्थामा पुगेपछि गण्डकी प्रदेशसभा बैठक बस्ने भवनकै अभाव देखिएको छ । मुख्यमन्त्री कार्यालयले जिल्ला समन्वय कास्कीको सभाहल लगायतमा प्रदेशसभा बैठक बस्न सकिन्छ कि भनेर अवलोकन गरे पनि प्रदेशसभा बैठक बस्ने भवनको अझै एकिन हुन सकेको छैन ।
१५ कार्यालयमा आगजनी तथा तोडफोड
प्रारम्भिक विवरणअनुसार प्रदेशमा मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयसहित १५ वटा कार्यालयमा आगजनी तथा तोडफोडबाट क्षति भएको छ । तीमध्ये सबभन्दा बढी क्षति भएको ठाउँ हो, प्रदेशसभा सचिवालय । जुन उठ्नै नसक्ने गरी ढलेको छ । प्रदेशसभाको मुख्य भवन, सचिवालय, कार्यालयका साथै विषयगत समिति र संसदीय दलका कुनै पनि कार्यालय र सामान सग्ला छैनन् ।
कम्प्युटर, ल्यापटप, क्यामेरालगायत सामग्री त आगलागीभन्दा अघिनै लुटपाट गरिएका थिए । लैजान बाँकी सामान कतिपय खरानी भए । कतिपय जलेर डल्लो परेर बसेका छन् । प्रारम्भिक विवरणअनुसार प्रदेशसभाका ६ वटा गाडी र १२ वटा मोटरसाइकल पूर्णरूपमा जलेका छन् ।
यसैगरी ३९ वटा डेक्सटप कम्प्युटर र १९ वटा ल्यापटप, ४ वटा डिजिटल क्यामेरा, ५ वटा भिडियो क्यामेरा नष्ट भएका छन् । ३ वटा ठूलो फोटोकपी मेसिन र ३५ वटा प्रिन्टरसहितका फोटोकपी मेसिन, ९ वटा टेलिभिजन स्क्रिन र ४४ वटा एसीलगायत फर्निचर पूरै जलेको जिन्सी शाखाले जनाएको छ ।
सबैभन्दा महत्वपूर्ण त प्रदेशसभाका कुनै पनि कागजात र रेकर्ड बाँकी छैनन् । कार्यालयका कर्मचारी, प्रदेशसभा सदस्य अरू कसैका साथमा रहेका रेकर्डबाहेक प्रदेशसभाको विगत र वर्तमानका कुनै कागजात सग्ला छैनन् । वेबसाइट र युट्युबमा भने केही रेकर्ड बाँकी छन । पहिलो कार्यकालको पूरै र दोस्रो कार्यकालका भर्बेटियम तयार गरिएको थियो । त्यो पनि जलेर खरानी भएको बताइएको छ ।
अरू प्रदेशका कार्यालयहरू सरसफाइ भएर काम सुरु हुँदा पनि प्रदेशसभामा भने त्यो सुरसारै गरिएको छैन । प्रदेशसभा मामिला तथा कानुन समितिको कार्यालय रहेको टहरोबाहेक सबै जलेका छन् ।
२ अर्बको क्षति
जेन–जी आन्दोलनका क्रममा प्रदेशसभा भवन पूर्णरूपमा क्षति भएको छ । प्रारम्भिक आकलअनुसार लगभग २ अर्ब जतिको क्षति भएको भन्ने रिपोर्ट आएको गण्डकी प्रदेशमा मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेले बताए । भौतिक पूर्वाधार मन्त्रालयले इन्जिनियरको टिम लगाएर सम्पूर्ण सरकारी कार्यालयको निरीक्षण गरी क्षतिको अन्तिम तथ्यांक निकाल्ने काम भइरहेको पनि मुख्यमन्त्री पाण्डेले जानकारी दिए ।
जेन–जी प्रदर्शनकारीले गण्डकी प्रदेशको मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय, प्रदेश नीति तथा योजना आयोगको कार्यालय, वन तथा वातावरण मन्त्रालय, सामाजिक विकास युवा तथा खेलकुद मन्त्रालयमा आगजनी गरेका थिए ।
यसैगरी भौतिक पूर्वाधार विकास तथा यातायात व्यवस्था मन्त्रालय, प्रदेश लेखा नियन्त्रणको कार्यालय, आर्थिक मामिला मन्त्रालय, कृषि भूमि व्यवस्था तथा सहकारी मन्त्रालय, ऊर्जा जलस्रोत तथा खानेपानी मन्त्रालय, स्वास्थ्य मन्त्रालय, पर्यटन तथा उद्योग मन्त्रालय, प्रदेश प्रमुख कार्यालय, गण्डकी प्रदेश प्रशिक्षण प्रतिष्ठान, प्रदेश लोकसेवा आयोग, प्रदेशसभा भवनलगायत सचिवालय, कार्यालय सम्पूर्ण जलेर नष्ट भएको मुख्यमन्त्री कार्यालयले जनाएको छ ।
यसैगरी मुख्यमन्त्रीको निवास, मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय जलेका छन् । कार्यालयको सभाहल, मुख्यमन्त्रीको कार्याकक्ष, मन्त्रिपरिषद् बैठक कक्ष, प्रदेश किताबखाना, पूर्णरूपमा जलेको मुख्यमन्त्री कार्यालयले जनाएको छ । आगजनीका क्रममा विभिन्न कार्यालय परिसरमा रहेका मोटरसाइकल, गाडी लगायतका सवारी सधानमा पनि जलेर नष्ट भएका छन् ।
शान्तिपूर्ण आन्दोलन चाहेका थियौं : जेन–जी
पोखरामा जेन–जी आन्दोलनको नेतृत्व गरेका युवाहरूले भदौ २३ गतेको शान्तिपूर्ण आन्दोलनमा सरकारले गोली चलाएर युवा जेनजीको हत्या गरेको बताएका छन् । दोस्रो दिनको आन्दोलनमा सरकारी तथा निजी सम्पत्तिमा भएको आगजनी र लुटपाट जेन–जीले नगरेको उनीहरूले दाबी गरेका छन् ।
जेन–जीले गरेको आन्दोलनमा दोस्रो दिन पार्टीका कार्यकर्ताहरूको घुसपैठ भएर सरकारी तथा निजी सम्पत्तिमाथि तोडफोड हुँदा अझै जेन–जी आन्दोलनमा सहभागी रियल जेन–जी बाहिर निस्कन सक्ने अवस्था नरहेको पनि उनीहरूले बताएका छन् ।
जेन–जी आन्दोलनमा घाइतेहरू अझै पनि अस्पतालमा रहेको र खर्चको अभावमा मागेर खर्च जुटाउनुपर्ने अवस्था रहेकाले सरकारले तत्कालै उपचार भइरहेका परिवारलाई एक लाख रुपैयाँ दिन पनि उनीहरूले अनुरोध गरेका छन् । जेन–जीका मुख्य माग भ्रष्टाचारका अन्त्य सुशासन रहेको पनि उनीहरूले बताएका छन् ।
जेन–जीको माग प्रत्यक्ष निर्वाचिन कार्यकारी प्रधानमन्त्री रहेको र निर्वाचन अघि सम्बिधान संशोधन गरेर भए पनि प्रत्यक्ष कार्यकारी निर्वाचन हुनुपर्ने बताएका छन् । प्रदेशसभा खारेजीको माग पनि उनीहरूले राखेका छन् । प्रदेशसभा खारेज नभए खर्च कटौती गर्न संघीय सांसदको निर्वाचनसँगै अहिले प्रदेशको पनि निर्वाचन हुनु पर्ने उनीहरूको माग छ ।
गोष्ठी, भ्रमण, तालिमको खर्च कटौती गरेर पुनर्निर्माणमा
जेन–जी आन्दोलनका क्रममा गण्डकी प्रदेशका विभिन्न सरकारी संरचना आगजनीका कारण ध्वस्त भएका छन् । यसको साथै सवारीसाधन, फर्निचर, कम्प्युटर तथा अभिलेखसमेत ध्वस्त भएपछि अवरुद्ध भएका सेवा प्रवाह विस्तारै सुरु भइरहेका छन् । आन्दोलनले ठूलो क्षति पुर्याएपछि हालै बसेको गण्डकी प्रदेश सरकारको मन्त्रिपरिषद् बैठकले पाँच वटा महत्वपूर्ण निर्णय गरेको छ ।
चालु आर्थिक वर्षका लागि विनियोजित बजेटमध्ये तालुक कार्यक्रम, सेमिनार, भ्रमण र तालिम स्थगित गर्ने निर्णय गरेको छ । यस्तो निर्णयले ठूलो मात्रामा रकम बचत हुने र त्यो रकम पुनर्निर्माण तथा मर्मतमा लगाइने गण्डकी प्रदेशमा मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेले बताए ।
प्रदेश सरकार मातहतका पदाधिकारीले बैठक भत्ता नलिने निर्णय भएको छ । राजनीतिक नियुक्ति जस्तै, मन्त्रिपरिषद्का सदस्य, अन्य पदाधिकारी, योजना आयोगका उपाध्यक्ष र सदस्य, प्रदेश न्यायाधिवक्ता कार्यालय र कर्मचारीले बैठक भत्ता नलिने निर्णय पनि गरिएको छ ।
जेन–जी आन्दोलनका कारण काठमाडांै पछि ठूलो क्षति गण्डकी प्रदेशमा भएको मुख्यमन्त्री पाण्डेले बताए । क्षतिग्रस्त संरचना पुनर्निर्माण र मर्मतका लागि नेपाल सरकारसँग समन्वय गरेर अघि बढ्ने बैठकको निर्णय छ ।
साधारण मर्मत भएर काम गर्न सक्ने भवनको पुनर्निर्माणको काम भइरहेको छ । मन्त्रालयका काम प्राय : जसो सम्पूर्ण कार्यालयबाट काम सुरु भएको मुख्यमन्त्री पाण्डेले बताए । यातायात कार्यालयबाट भने काम अझै सुरु भएको छैन । यातायात कार्यालय जलेर ठूलो क्षति भएको भएको छ । यातायात कार्यालयको केन्द्रीय सफ्टवेयरमा समस्या देखिएकाले पनि काम हुन नसकेको हो । अरू कार्यालयबाट काम सुरु भइसकेको छ ।
प्रारम्भिक अध्ययनअनुसार २ खर्ब बराबरको क्षति भएको अनुमान छ । भौतिक क्षतिको पुनर्निर्माण गर्न प्रदेश सरकारले खर्च कटौती गरेर पनि जोहो गर्ने योजना बनाएको हो ।
चालु खर्च जुन अहिले नगर्दा पनि सम्भव छ त्यस्ता खर्च जस्तै तालिम, गोष्ठी भ्रमण भत्ताहरूलाई रोक्छौं । यसबाट आएको रकममा कति यो वर्ष पुग्दैन पुजीगत खर्च कटौती गरेर पुन निर्माणको काम अघि बढ्ने पनि उनले बताए ।
आन्दोलनबाट क्षतिग्रस्त गण्डकी प्रदेशको मुख्यमन्त्री कार्यालय ।
जेन–जी आन्दोलनलाई आत्मसाथ गरेर अघि बढ्छौं
सुरेन्द्रराज पाण्डे, मुख्यमन्त्री, गण्डकी प्रदेश
जेन–जीको आन्दोलन अघि नै गण्डकी प्रदेश सरकारले खर्च कटौती र पारदर्शिताको काम सुरु गरिसकेको थियो । जेन–जी आन्दोलनको मागलाई आत्मसाथ गरेर अघि बढ्छौं ।प्रदेश सरकारले ७ निर्देशनालय खारेज गरेको छ । यसको साथै १८५ कर्मचारी दरबन्दी कटौती गरेको छ । यसबाट तत्काल ५० करोड आर्थिक भार कम हुनेछ । युवाहरूले उठाएका आवाज हिजो पनि हामीले आत्मसाथ गरेका थियौं र आगामी दिनमा पनि युवाको मागअनुसारअघि बढछौं ।
आन्दोलनले पाठ सिकाएको छ
कृष्णप्रसाद धिताल, सभामुख, गण्डकी प्रदेश
जेन–जी आन्दोलनको क्रममा गण्डकी प्रदेशसभा भवन पूर्णरूपमा क्षति भएको छ । भवन पुनर्निर्माण गरेर सभा बस्न सक्ने अवस्था नहरकाले वैकल्पिक सरकारी भवनको खोजी भइरहेको छ । अधिकांश सरकारी भवन आन्दोलनका क्रममा आगजनी भएकाले सभा हल, सचिवालय लगायतका लागि समेत कोठा चाहिने भएकाले त्यसैअनुसार प्रदेशसभा बैठक बस्न भवनको खोजीभइरहेको छ ।
कहाँ के कस्तो क्षति ?
मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय
- मुख्यमन्त्रीको निवास र मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा आगलागी ।
- कार्यालयको सभाहल, मुख्यमन्त्रीज्यूको कार्यकक्ष, मन्त्रिपरिषद्को बैठक कक्ष, प्रदेश पुस्तकालय पूर्ण रूपमा जलेर नष्ट ।
- ७ वटा मोटरसाइकल र ३ वटा स्कुटर जलेको ।
प्रदेश नीति तथा योजना आयोग
- ३ वटा गाडी र ४ वटा मोटरसाइकल जलेको ।
- जिल्ला समन्वयको भागमा आगलागी भएको ।
- माथिल्लो तलाबाट आधारभूत सेवा सञ्चालन गर्न सकिने अवस्था ।
वन तथा वातावरण मन्त्रालय
- मन्त्रालयका ४ वटा र वन निर्देशनालयको १ गरी ५ वटा गाडी पूर्णरूपमा जलेको ।
- एउटा गाडी तोडफोड ।
- ८ वटा मोटरसाइकल र ४ वटा स्कुटर जलेको ।
- लेखा शाखा र दर्ता चलानी शाखा जलेको ।
- स्टोर तोडफोड भई ल्यापटप र भाँडाकुडा चोरी ।
- मन्त्रीको सचिवालय र कार्यकक्ष पूर्णरूपमा तोडफोड ।
- मन्त्रालय भवनका झ्यालका सबै सिसा तोडफोड ।
- शाखाका सञ्चार उपकरण र इलेक्ट्रोनिक सामग्री तोडफोड ।
- ४. सामाजिक विकास, युवा तथा खेलकुद मन्त्रालय
- ५ वटा चारपांग्रे गाडी र १२ दुईपांग्रे सवारी साधन जलेको
- निवासमा सामान्य क्षति र मन्त्रीको कोठामा क्षति ।
- सचिवको कार्यकक्षका सामग्री चोरी ।
- सभाहलमा तोडफोड, लेखा शाखाका सबै कम्प्युटर चोरी ।
- खेलकुद शाखाका सबै कोठा जलेको ।
- सामाजिक विकास कार्यालय र गण्डकी विश्वविद्यालयमा तोडफोड ।
भौतिक पूर्वाधार तथा यातायात व्यवस्था मन्त्रालय
- ६ वटा चारपांग्रे गाडी र २७ दुईपांग्रे सवारी साधन जलेको ।
- निर्देशनालयको स्टोरमा आगलागी र सामग्री चोरी ।
- सहरी विकास तथा भवन कार्यालय र पूर्वाधार विकास कार्यालय कास्कीमा तोडफोड ।
- यातायात व्यवस्था कार्यालय, सवारी चालक अनुमतिपत्र दुवै पूर्णरूपमा जलेको ।
- ४४२,००० राजस्व रकम हराएको ।
- मन्त्री निवासको तल्लो भाग पूर्णरूपमा क्षतिग्रस्त ।
प्रदेश लेखा नियन्त्रकको कार्यालय
- सेवा प्रवाह अवरुद्ध हुने गरी क्षति नभएको ।
आर्थिक मामिला मन्त्रालय
- ३ वटा चारपांग्रै गाडी र ६ वटा दुईपांग्रे सवारी साधन जलेको ।
- मन्त्रीको कार्यकक्ष तोडफोड ।
- तल्लो तलामा तोडफोड र आंशिक आगलागी ।
- ३ ल्यापटप, २ कम्प्युटर, २ वटा प्रिन्टर चोरी ।
- ४ वटा टेलिभिजन, ४ वटा एसी, ७ वटा कुर्सी, ४ सेट सोफा जलेको ।
- मन्त्री निवासमा तोडफोड, तल्लो तलामा आगलागी ।
- कृषि, भूमि व्यवस्था तथा सहकारी मन्त्रालय
- वटा चारपांग्रे गाडी र १ वटा स्कुटर जलेको ।
- मन्त्रीको निवासमा आगलागी ।
ऊर्जा, जलस्रोत तथा खानेपानी मन्त्रालय
- मन्त्रालयका ४ वटा, खानेपानी कार्यालय तनहुँको १ वटा, जलस्रोत कार्यालय
- कास्कीको १ गरी जम्मा ६ चारपांग्रे गाडी जलेको ।
- एउटा गाडी तोडफोड भई पूर्ण क्षति ।
- १८ थान मोटरसाइकल जलेको ।
- २ थान टेलिभिजन हराएको, २२ थान कम्प्युटर जलेको ।
- २७ थान प्रिन्टर, २१ थान ल्यापटप, ६ वटा एसी, स्क्यानर ६ थान, फोटोकपी ५ थान तोडफोड तथा जलेको ।
- स्वास्थ्य मन्त्रालय
- भौतिक संरचनामा क्षति नभएको ।
- मातहतका ३ स्कुटर जलाइएको ।
पर्यटन तथा उद्योग मन्त्रालय
- ४ गाडी र ५ मोटरसाइकल पूर्णरूपमा जलेको ।
- निर्देशनालयको भवन पूर्णरूपमा क्षति ।
- जिल्ला कार्यालय तनहुँमा तोडफोड ।
- मन्त्री निवासको तल्लो भागमा तोडफोड, र इलेक्ट्रोनिक सामग्री चोरी ।
प्रदेश प्रमुखको कार्यालय
- ४ वटा चारपांग्रे गाडी जलेको ।
- कार्यालयको ३ मोटरसाइकल र कर्मचारीको २ वटा निजी मोटरसाइकल जलेको ।
- कम्प्युटरलगायत इलेक्ट्रोनिक सामग्री सबै जलेको ।
- अधिकांश कागजात जलेको ।
- निवासतर्फको भवन पूर्णरूपमा जलेको, सामग्री चोरी भएको ।
- प्रदेश लोकसेवा आयोग
- ४ वटा चारपांग्रे र १ दुईपांग्रे गाडी जलेर नष्ट ।
- ९ लाख बराबरको क्षति ।
- गण्डकी प्रदेशसभा सचिवालय
- प्रदेशसभा भवन पूर्णरूपमा जलेर नष्ट ।
- सचिवालयको प्रशासनिक भवन पूर्ण क्षति ।
- ४ वटा संसदीय दलका कार्यालय जलेर नष्ट ।
प्रदेश सभाको प्रहरी ब्यारेक, आवास
- भवन, पुस्तकालय, स्वास्थ्य शाखासहित सम्पूर्ण भवन जलेर नष्ट, सम्पूर्ण सञ्चार तथा विद्युत् उपकरण नष्ट ।
- चारपांग्रे सवारी ६ वटा नष्ट ।
- दुईपांग्रे सवारी १२ वटा जलेको ।
- डेस्कटप ३९ थान र ल्यापटप १९ थान जलेको ।
- डिजिटल क्यामेरा ४ वटा र भिडियो क्यामेरा ५ वटा नष्ट ।
- प्रिन्टर/फोटोकपी मेसिन ३५ थान नष्ट
- टेलिभिजन सेट ९ थान र एयर कन्डिसनर ४४ थान जलेको ।
प्रतिक्रिया दिनुहोस !