धर्म र विज्ञानको दिव्य संवाद

धर्म र विज्ञानको दिव्य संवाद

आकाशमा अनन्त ताराहरू टिल्पिलाइरहेका छन् । ग्रह र नक्षत्रहरूको मौन संगीत घनघोर युद्धभूमिको ढोल झैं सुनिन्छ । धर्ती, आकाश र समय सबै एकैसाथ मिलेर एउटा विराट मञ्च बनेको छ ।

समय र स्थानपारिको भेट
त्यो दिव्य मञ्चको मध्यभागमा म उभिएको छु । अचानक मेरो बायाँपट्टि– सेतो कपाल, चम्किलो आँखा, गहिरो खोजको मुद्रामा अल्बर्ट आइन्स्टाइन प्रकट हुन्छन् । उनको हातमा एउटा नोटबुक छ, जहाँ गणितका सूत्रहरू, समीकरणहरू र अनन्तका खोजहरू अंकित छन् । उनको अनुहारमा विश्वका सबै प्रश्न सोध्ने जिज्ञासा झल्किन्छ । यस्तै मेरो दायाँपट्टि श्याम वर्ण, पीताम्बर वस्त्र, मुकुटमा कोमल मयूरपंखी र आँखाबाट निस्किएका करुणाका आभा, हातमा शंख, चक्र, गदा र पद्म तर मुटुमा करुणा र वाणीमा सत्यको अमृतका साथ भगवान् श्रीकृष्ण प्रकट हुनुहुन्छ ।

विज्ञानमार्फत जगत् बुझ्न र आत्मामार्फत ब्रह्मलाई छुन सकिन्छ। विज्ञान र अध्यात्म जब एक हुन्छन्, तब नै मोक्षको मार्ग खुल्दछ। आकाश अझ उज्यालो हुन्छ।

एकाएक मेरो चेतना टुक्रिएर बिस्फोट हुन्छ । विराट दृश्यले मलाई पूर्णत: घेरेको छ । मैले तुरुन्तै शिर झुकाएर दुवैलाई प्रणाम गर्छु । श्रीकृष्ण मसँग मृदु हाँसोसहित मधुर स्वरमा भन्नुहुन्छ– जीवनपानी ! आऊ, नजिकै बस । आज तिमी केवल दर्शकमात्र होइनौं, यी संवादहरूको श्रोता र साक्षी पनि हौ । समय र स्थानभन्दा परको सत्य आज तिमीलाई खुल्नेछ । उहाँले देखाएको ठाउँमा बस्छु । मेरो मुटुको धड्कन बढ्छ, आँखा रसिलो बन्छ । यत्तिकैमा आइन्स्टाइनको विनम्र आवाजले श्रीकृष्णलाई भन्छ, हे कृष्ण ! मैले ताराहरू, गुरुत्वाकर्षण, प्रकाश र समयलाई खोजें । तर अझै मभित्र प्रश्नहरू अनन्त छन् । के म आज हजुरबाट सत्य र आत्माको गहिरो रहस्य बुझ्न सक्छु ?

श्रीकृष्ण गम्भीर तर करुणाभावयुक्त दृष्टिले आइन्स्टाइनतर्फ हेर्नुहुन्छ । उहाँहरूको बीचमा बसेको मेरो आत्माले भने यो दिव्य संवादका अक्षर–अक्षर आत्मसात् गर्न थाल्छ । विभिन्न शीर्षकमा उहाँहरूको संवाद पहिलो, दोस्रो, तेस्रो... गर्दै अगाडि बढ्दै जान्छ :–

आकाश पूर्णत: शान्त छ। ताराहरू मौन संगीतका लय झैं बगिरहेका छन्। हृदयलाई एक तमासको आनन्द दिँदै बाँसुरीको मधुर धुन फैलिँदैछ। आइन्स्टाइनका आँखा बन्द छन्। अनि मौन छन्। जब बोल्छन्, स्वरमा गहिरो भावनाको कम्पन हुन्छ।

प्रथम संवाद : दार्शनिक विवेचना
ताराहरूको टिल्पिलाहटले आकाश सुनौलो पराल झैं देखिन्छ । युद्धभूमि समान त्यो विराट दृश्यमा शून्यता पनि बोले झैं लाग्छ । आइन्स्टाइन (गहिरो स्वरमा) ‘हे कृष्ण ! म जीवनभर सत्यको खोजीमा लागें । गणित र विज्ञानका सूत्रहरूले मलाई ब्रह्माण्डको ढोकासम्म पुर्‍याए । तर अझै पनि म ‘किन’ भन्ने प्रश्नको जवाफ पाउन असमर्थ छु । संसार किन अस्तित्वमा छ ? चेतना किन जन्मिन्छ ? मलाई केवल यी भौतिक नियमहरूले मात्र यो संसारलाई पूर्णरूपमा बुझाउन सक्लान् जस्तो लागेन । तर मैले गीतामार्फत हजुरले मेरा यिनै प्रश्नको जवाफ दिइरहेको देख्छु । श्रीकृष्ण गम्भीर मुद्रामा मुस्कुराउनुहुन्छ । उहाँको हातमा बाँसुरी भए पनि स्वर मौन छ तर आँखा ज्ञानले भरिपूर्ण छन् ।

श्रीकृष्ण : आइन्स्टाइन ! तिमीले सत्यको खोज सही दिशामा गर्‍यौ । विज्ञानले ‘कसरी’ भन्ने कुरा देखाउँछ । तर दर्शनले ‘किन’ भन्ने प्रश्नलाई जवाफ दिन्छ । मैले गीतामा भनेको छु– अर्थात्, आत्मा न जन्मिन्छ न मर्छ । यो शाश्वत, अजन्मा र अमर छ । यो देहको मृत्यु भएपछि पनि मर्दैन (गीता, अध्याय–२, श्लोक १९) ।

अत: तिमीले खोज्ने सबै नियमहरू अन्तत: आत्माको अनन्त यात्रासँग जोडिएका छन् । भौतिक जगत् परिवर्तनशील छ, जबकि आत्मा अपरिवर्तनशील सत्य हो । दर्शनको प्रारम्भ पनि यही हो, ‘जो देखिन्छ त्यो अस्थायी हो जो देखिँदैन त्यो शाश्वत हो ।’ आइन्स्टाइन टाउको झुकाएर गहिरो विचारमा डुबुल्की मार्छन् । उनका आँखा यसरी चम्किन्छन् कि मानौं ब्रह्माण्डका ताराहरू उनीभित्रै झिलिमिली गर्दैछन् ।

आइन्स्टाइन (गहिरो सोचमा) : ‘हे वासुदेव ! मानव सभ्यताको इतिहास अध्ययन गर्दा मलाई यस्तो लाग्छ कि मानवले सधैं दुइटा कुरा खोजी गर्दछ, ज्ञान र अर्थ। कहिले पिरामिडमा, कहिले वेदमा त कहिले आधुनिक विज्ञानमा तर यो यात्रा कहिल्यै पूरा भएजस्तो लाग्दैन। प्रभु ! किन मानिसले निरन्तर खोज जारी राखिरहेको हुन्छ ?’

आइन्स्टाइन (भावुक स्वरमा) हे केशव ! मैले आजसम्म पदार्थ, प्रकाश र समयलाई अध्ययन गरें । तर अहिले मात्रै बुझ्दैछु– मानव चेतनाले मात्र ‘किन’ भन्ने प्रश्नको उत्तर पाउन सक्दोरहेछ भनेर । विज्ञान र दर्शन एउटै गन्तव्यमा पुग्ने दुइटा बाटो रहेछन् । तर फेरि म हजुरलाई सोध्न चाहन्छु, के यी दुई मार्ग एकैसाथ मिलेर जान सक्छन् ? श्रीकृष्ण हल्का हाँस्नुहुन्छ । आकाशमा हल्का ज्योति फैलिन्छ । जस्तै, शब्द स्वयं प्रकाश बनेर झरेको होस् ।

श्रीकृष्ण : हो, आइन्स्टाइन ! देख्दा विज्ञान र दर्शन दुई धाराजस्तो देखिन्छन्, तर अन्तत: समुद्र एउटै हुन्छ । विज्ञानले बाहिरी जगत् खोल्छ भने दर्शनले भित्री जगत् । जब दुवै एकैसाथ मिल्छन्, मानव जीवनमा पूर्ण सत्यको उदय हुन्छ । आकाश झनै चम्किन्छ । म बीचमा बस्दै यो संवादलाई आफ्नै आत्माको अक्षरमा उतार्दै छु ।

दोस्रो संवाद : वैज्ञानिक विवेचना
आकाशमा ताराहरू अझ प्रखर बन्छन् । अनन्त नक्षत्रहरूको बीचमा समय थामिएको जस्तो अनुभव हुन्छ । आइन्स्टाइनले आफ्नो नोटबुक खोलेर केही सूत्र देखाउँछन् । आइन्स्टाइन (गहिरो स्वरमा) हे वासुदेव ! मैले प्रकाशलाई खोज्दा समय र स्थान आफैं लचक्दार देखें । सापेक्षताको सिद्धान्तले ब्रह्माण्डलाई स्थिर नभई प्रवाहमान देखायो । तर यी सारा नियमहरू अझै पनि भौतिकतामै सीमित छन् । विज्ञान भन्छ, सबै ऊर्जा एक रूपबाट अर्को रूपमा रूपान्तरण हुन्छ । तर म बुझ्न चाहन्छु, के यो ऊर्जाको मूल स्रोत पनि कुनै ‘परम सत्य’ हो ? श्रीकृष्णका आँखामा गहिरो शान्ति छ । बाँसुरीलाई नरम स्पर्श गर्दै उहाँले जवाफ दिनुहुन्छ ।

श्रीकृष्ण, ‘आइन्स्टाइन ! तिमीले ठीक प्रश्न गर्‍यौ । विज्ञानले ऊर्जा र पदार्थलाई रूपान्तरणशील देख्छ तर गीताले भन्छ– असत्य वा अस्थायीको अस्तित्व हुँदैन, सत्य वा शाश्वतको अभाव हुँदैन । अत: पदार्थ र ऊर्जाको रूप बदलिन्छ, तर मूलतŒव, शाश्वत आत्मा कहिल्यै बदलिँदैन वा समाप्त हुँदैन (गीता, अध्याय–२, श्लोक १६) ।’ आइन्स्टाइनले उत्साहित हुँदै यो कुरा तुरुन्तै कापीमा टिप्छन् ।

आइन्स्टाइन : ‘हे श्रीकृष्ण ! यस्तो लाग्दैछ कि मेरो समीकरण ई–एमसी स्क्वायर, हजुरको गीता–ज्ञानसँग मिल्दोजुल्दो छ । ऊर्जा र पदार्थ सधैं रूपान्तरण हुन्छन् तर मूलसत्य भने सदैव अपरिवर्तनशील रहन्छ । परन्तु, हे केशव ! मलाई यो बताइदिनु कि के चेतना पनि यही नियमको अधीनमा छ ? श्रीकृष्ण (ताराहरूलाई देखाउँदै) हो, चेतना पनि त्यो अनन्त ऊर्जाको अंश हो । शरीर मर्छ, इन्द्रियहरू नष्ट हुन्छन् तर चेतना (आत्मा) निरन्तर रहन्छ ।

गीतामा मैले भनेको छु, आत्मालाई न त अस्त्रले काट्न सक्छ, न आगोले जलाउन सक्छ, न पानीले भिजाउन सक्छ, न त हावाले नै सुकाउन सक्छ । यो नै आत्माको शाश्वत ऊर्जा हो ((गीता, अध्याय–२, श्लोक–२३) । आइन्स्टाइन टोलाउँछन् । उनको आँखाबाट हर्षको चमक निस्किन्छ ।

आइन्स्टाइन (गहिरो भावमा) अद्भूत ! म विज्ञानमार्फत नियमहरू खोज्दै थिएँ । तर हे योगेश्वर ! आज मैले हजुरबाट सुनें, यी सबै नियम चेतना र आत्माको अनन्त शक्तिसँग गाँसिएका हुँदा रहेछन् । विज्ञानले मेरो मनलाई उज्यालो बनाएथ्यो तर हजुरले आफ्ना गीतावाणीद्वारा मेरो आत्मालाई नै परम उज्यालो बनाइदिनुभयो । श्रीकृष्ण हल्का मुस्कुराउनुहुन्छ । हावा शान्त हुन्छ र ब्रह्माण्डको कानमा विज्ञान र अध्यात्मको संयुक्त स्वर गुञ्जिन्छ ।

श्रीकृष्ण शान्त मुद्रामा मुस्कुराउँदै भन्नुहुन्छ, ‘हे ज्ञानी ! इतिहास भनेको आत्माको बाहिरी अभिव्यक्ति हो। मानव सभ्यताको प्रत्येक कदम आत्मातर्फ वा सत्यतर्फ उन्मुख भएको प्रमाण हो। गीतामा मेरो वाणी छ, जब जब धर्म कमजोर हुन्छ र अधर्मको वृद्घि हुन्छ, तब तब मेरो उपस्थितिमा सत्यको पुनस्र्थापना हुन्छ। यसरी नै सभ्यताले पनि समय समयमा पुनर्जन्म लिन्छ।’

तेस्रो संवाद : प्रतीकात्मक विवेचना
आकाश झनै चम्किरहेको छ । नक्षत्रहरूको बीचमा रंगीन बादलका रेखाहरू यसरी देखा पर्दैछन् कि मानौं ब्रह्माण्ड आफैं चित्र बनाउन थालिरहेको छ । श्रीकृष्णले आफ्नो हातमा भएको शंखको ध्वनि आकाशतर्फ तरंगित पार्नुहुन्छ ।

आइन्स्टाइन (आश्चर्यसहित)– ‘हे श्रीकृष्ण ! यो शंखको ध्वनिले मलाई अचम्ममा पार्छ । किनकि विज्ञानले भन्छ, ‘ध्वनि केवल कम्पन हो । किन्तु, यो ध्वनिमा अनौठो शक्ति छ । हजुरले बजाएको शंखको यो ध्वनिले मेरो मुटु नै हल्लाइरहेछ । के यो केवल प्रतीक हो वा वास्तवमै यसको कुनै गहिरो रहस्य छ ?’

श्रीकृष्ण (मधुर स्वरमा) भन्नुहुन्छ, ‘हे विज्ञ आइन्स्टाइन ! शंख केवल ध्वनि मात्र होइन, यो जीवनको प्रारम्भको प्रतीक पनि हो । जस्तै, बिगब्याङले ब्रह्माण्डको आरम्भ गर्‍यो, शंखध्वनिले पनि चेतनामा नयाँ जीवन र शक्ति जगाउँछ । जब मैले कुरुक्षेत्रमा पाञ्चजन्य शंख फुकेथें, त्यो केवल युद्धको घोषणामात्र थिएन । यो धर्म र सत्यको जयघोष पनि थियो । अत: शंख प्रतीक हो, सत्य ध्वनिको, ऊर्जा प्रवाहको र ब्रह्माण्डीय सुरको ।’

आइन्स्टाइन आफ्नो नोटबुकमा शंखको चित्र कोर्छन् । उनको अनुहारमा बालकमा जस्तै जिज्ञासा छ । 

आइन्स्टाइन : ‘अचम्म ! तपाईंले भने झैं बिगब्याङ र शंखध्वनि एउटै रहस्यका प्रतीक हुन् । तर मलाई यो चक्र देख्दा पनि प्रश्न उठ्छ, ‘के यो केवल अस्त्र हो कि यसमा पनि कुनै प्रतीकात्मक अर्थ छ ?’ श्रीकृष्ण आफ्नो हातमा रहेको चक्रलाई विस्तारै घुमाउनुहुन्छ । लगत्तै आकाशमा दिव्यज्योति फैलिन्छ ।

श्रीकृष्ण : ‘यो चक्र केवल अस्त्र होइन, यो समय र अनन्तताको प्रतीक हो । चक्र गोलो हुन्छ, जसको न आरम्भ हुन्छ न त अन्त्य नै । त्यसरी नै समय पनि अनन्त छ । मानव जीवन चक्रभित्रकै यात्रा हो, जन्म, मृत्यु र पुनर्जन्म । धर्मको रक्षाका लागि यो चक्र अस्त्र बन्छ । तर, जब सत्यलाई बुझिन्छ, यो चक्र प्रतीक बन्छ ।’ आइन्स्टाइनले भनाइ र अर्थको गहिराइलाई निहाल्दै भन्छन् ।

आइन्स्टाइन : ‘हे नाथ ! मलाई लागिरहेछ– भौतिक नियम र हजुरका प्रतीकहरू एउटै सत्यका दुई रूप हुन् । विज्ञानले समीकरणमा सत्य व्यक्त गर्छ अनि हजुरले प्रतीकमा । तर दुवै ब्रह्माण्डकै गहिराइबाट जन्मिएका हुन् । श्रीकृष्ण मुस्कुराउनुहुन्छ । बाँसुरी हल्का बज्छ, जुन धुनले प्रतीकलाई अर्थ र जीवन दिन्छ ।

चौथो संवाद : भावनात्मक विवेचना
आकाश पूर्णत: शान्त छ । ताराहरू मौन संगीतका लय झैं बगिरहेका छन् । हृदयलाई एक तमासको आनन्द दिँदै बाँसुरीको मधुर धुन फैलिँदैछ । आइन्स्टाइनका आँखा बन्द छन् । अनि मौन छन् । जब बोल्छन्, स्वरमा गहिरो भावनाको कम्पन हुन्छ ।

आइन्स्टाइन (नम्र स्वरमा) : ‘हे कृष्ण ! मैले हजुरलाई पहिल्यै भनिसकें, म जीवनभर सत्य खोज्न दौडिरहेको मान्छे हुँ । तर मलाई लाग्छ, मेरो सबैभन्दा ठूलो प्रेरणा सूत्र वा समीकरण नभएर भावनाले दिएको अनुभव हो । जतिबेला मैले ब्रह्माण्डको रहस्य खोज्थें, त्यतिबेला म केवल वैज्ञानिक मात्र थिइनँ । म त एक विस्मयमा डुबेको सानो बालकजस्तै थिएँ । प्रभु ! के यो विस्मय, प्रेम र करुणा पनि सत्यकै रूपहरू हुन् ?’ श्रीकृष्णका आँखा करुणाले समुद्र बन्छन् । बाँसुरीलाई काखीमा च्यापेर उहाँले उत्तर दिनुहुन्छ ।

श्रीकृष्ण (मृदु मुस्कानसहित) : ‘हेर, आइन्स्टाइन ! भावनाबिना सत्य अधुरो हुन्छ । ज्ञानले बाटो देखाउँछ तर भावना भएन भने त्यो बाटोमा हिँड्नै सकिन्न । यसैले गीतामा मैले अर्जुनलाई भनेको छु, सत्यलाई केवल बुद्धिले मात्र होइन, भक्तिभाव र प्रेमले पनि अनुभव गर्न सकिन्छ । भावना नै आत्मा र परमात्माबीचको पुल हो (गीता, अध्याय १८, श्लोक ५५) । आइन्स्टाइनका आँखा रसिला हुन्छन् । उनको स्वर कम्पित छ ।

आइन्स्टाइन (गहिरो भावुकतामा) : ‘हे अन्तर्यामी ! हजुरका वचनले मेरो आत्मालाई शीतल बनाएका छन् । यसर्थ म निर्मल आकाशका तारामुनि उभिँदा पनि आँखाका आँसुलाई रोक्न सकिरहेको छैन । मैले समीकरण बनाएँ, तर प्रेम र करुणाले मात्र मलाई पूर्ण बनायो । सायद, सत्य केवल दिमागले होइन, हृदयले बुझ्दोरहेछ ।’ श्रीकृष्ण मुस्कुराउनुहुन्छ । यतिबेला उहाँको करुणाको गंगा आइन्स्टाइनतर्फ बग्दैछ ।

श्रीकृष्ण : ‘हो, आइन्स्टाइन । भावना भनेको आत्माको भाषा हो । ज्ञानले देख्छ र त्यसलाई भावनाले महसुस गर्छ । जब यी दुई एक हुन्छन्, त्यसैलाई योग भन्छन् । तिमीले विज्ञान र सूत्रमा सत्य भेट््यौ । अब प्रेम र करुणामा पनि भेट्यौ भने तिमीलाई ब्रह्माण्ड पूर्ण लाग्नेछ ।’ आकाशबाट एक दर्को वर्षा हुन्छ । ती प्रत्येक थोपा आँसुजस्तै लाग्छन् । त्यसो त त्यो आँसु वेदनाको नभएर अपरिमित आनन्द र करुणाको हो ।

पाँचौं संवाद : ऐतिहासिक विवेचना
आकाशमा आकर्षक सुनौलो उज्यालो छ । टाढा–टाढा पुराना संस्कृतिहरूको झिल्को देखिन्छ । जस्तै, इतिहास नै ताराहरूमा अंकित भएको छ । म त्यही अद्भूत दृश्य हेर्दै मग्न छु ।

आइन्स्टाइन (गहिरो सोचमा) : ‘हे वासुदेव ! मानव सभ्यताको इतिहास अध्ययन गर्दा मलाई यस्तो लाग्छ कि मानवले सधैं दुइटा कुरा खोजी गर्दछ, ज्ञान र अर्थ । कहिले पिरामिडमा, कहिले वेदमा त कहिले आधुनिक विज्ञानमा तर यो यात्रा कहिल्यै पूरा भएजस्तो लाग्दैन । प्रभु ! किन मानिसले निरन्तर खोज जारी राखिरहेको हुन्छ ?’ श्रीकृष्ण शान्त मुद्रामा मुस्कुराउनुहुन्छ । उहाँको आवाज आकाशमा गुञ्जिन्छ । मानौं, समय आफैं बोलिरहेको छ ।

श्रीकृष्ण : ‘हे ज्ञानी ! इतिहास भनेको आत्माको बाहिरी अभिव्यक्ति हो । मानव सभ्यताको प्रत्येक कदम आत्मातर्फ वा सत्यतर्फ उन्मुख भएको प्रमाण हो । गीतामा मेरो वाणी छ, ‘यदा यदा ही धर्मस्य ग्लानिर्भवति भारत । अभ्युत्थानमधर्मस्य तदात्मानं सृजाम्यहम् (गीता, अध्याय ४, श्लोक ७) अर्थात्, जब जब धर्म कमजोर हुन्छ र अधर्मको वृद्धि हुन्छ, तब तब मेरो उपस्थितिमा सत्यको पुनस्र्थापना हुन्छ । यसरी नै सभ्यताले पनि समय समयमा पुनर्जन्म लिन्छ ।’ आइन्स्टाइनले इतिहासको पुस्तक खोले झैं मनका चित्र देखाउँछन् ।

आइन्स्टाइन : ‘हो प्रभु ! म यी कुरा बुझ्छु । आफूले गरेका पापकर्मका कारण मानिस अन्धकारमा डुब्छ । उसले अन्धकारको पीडालाई महसुस गर्छ । त्यसपछि उसलाई त्यही अन्धकारको पीडामा धर्मको बोध हुन थाल्छ । र, पुन: ज्ञानको प्रकाश खोज्ने अभ्यास थाल्छ । यसैले त ग्रीक दार्शनिकदेखि आधुनिक वैज्ञानिकसम्म सभ्यता निरन्तर खोजमै छ । सोच्छु, के इतिहास केवल पुनरावृत्ति मात्र हो ? कि यसले मानवलाई कुनै गहिरो दिशातर्फ डोहोर्‍याउँछ ?’

श्रीकृष्ण ताराहरूको पृष्ठभूमिमा बोल्नुहुन्छ : ‘हे निष्पाप आइन्स्टाइन ! इतिहास पुनरावृत्ति पनि हो र त्यही वृत्तीय पुनरावृत्तिले नै मानवलाई माथि उठाउँछ । जस्तै, चक्र गोलो भए पनि प्रत्येक घुमाइले नयाँ उचाइ दिन्छ । इतिहास केवल पुन: पुन: घटनाहरू दोहोरिरहने प्रक्रिया होइन । यो त आत्माको क्रमिक जागरण हो । सभ्यता उठ्छ, ढल्छ । ढलाइमा चेतनाको बीउ अझ गहिरो रोपिन्छ । त्यसैले इतिहास अन्तत: सत्य र धर्मतर्फ अघि बढिरहने यात्रा हो ।’ आइन्स्टाइन स्तब्ध भएर सुनिरहेका छन् । उनको अनुहारमा प्रश्न र जवाफ दुवैको उज्यालो देखिन्छ ।

आइन्स्टाइन (गहिरो स्वरमा) : ‘त्यसो भए, इतिहासले केवल अतीत सम्झाउँदैन, यसले भविष्यको मार्ग पनि देखाउँछ । मानव सभ्यताको वास्तविक लक्ष्य प्रविधि वा शक्ति मात्र होइन, यसले सत्य, चेतना र धर्ममा पनि उन्नतिको दृष्टान्त बोध गराउँछ । यही होइन त केशव ?’ श्रीकृष्ण शान्त स्वरमा भन्छन्, ‘आइन्स्टाइन ! तिमीले ठीक भन्यौ । मानव सभ्यताको इतिहास केवल पुस्ताहरूको कथा होइन । यो त आत्माको अनन्त खोजको कथा हो । जसले अतीत सम्झिन्छ, उही नै भविष्य निर्माण गर्न सक्षम हुन्छ ।’ आकाश उज्यालो हुन्छ र इतिहास आफैं ताराहरू भएर चम्किन थाल्छ ।

छैटौं संवाद : नैतिक विवेचना
आकाश फेरि एकाएक गहिरो देखिन्छ । ताराहरू शान्त देखिन्छन् । तर यस्तो लाग्छ कि त्यहाँभित्र कतै अति गम्भीर प्रश्नहरू उमालिँदैछन् । केही समय मौन रहेका आइन्स्टाइन भावुक स्वरमा बोल्छन् । आइन्स्टाइन : ‘हे महाबा हो ! मानवले विज्ञानको माध्यमबाट ठूलो प्रगति गर्‍यो । ऊर्जालाई नियन्त्रण गर्‍यो, आकाशमा उड्यो । यहाँसम्म कि परमाणु फुटाएर ब्रह्माण्डकै शक्तिलाई प्रयोग गर्‍यो । प्रभु ! म यहींनेर निकै डराउँछु । यस अर्थमा कि जब यो शक्ति नैतिकताबिना प्रयोग हुन्छ, मानवता आफैं विनाशतर्फ धकेलिन्छ । के नैतिक मूल्य र धर्मलाई पनि विज्ञानलाई जस्तै कडा नियममा बाँध्न सकिन्न र ?’

श्रीकृष्णका आँखा करुणा र गम्भीरताले चम्किन्छन् । उनको स्वर न त कठोर छ, न त केवल मधुर । लाग्छ– सत्यको तटस्थ वाणी यही नै हो । श्रीकृष्ण : ‘हे जिज्ञासु ! नैतिकता भनेको बाहिरबाट थोपारिने नियम होइन । यो त आत्माबाट उम्किने आन्तरिक प्रकाश हो ।

गीतामा मैले यसलाई यसरी प्रस्ट पारेको छु, ‘स्वधर्मे निधनं श्रेय: परधर्मो भयावह: गीता, अध्याय ३, श्लोक ३५) ।’ अर्थात्, आफ्नो धर्ममा टिकेर रहनु महान् हो, अरूको धर्ममा लोभ गर्नु भयावह हो । नैतिकता भनेको आफ्नो स्वधर्म पालन गर्नु हो । जुन कुनै दण्ड वा पुरस्कारको डरले नभएर आत्माको सत्य प्रेमले जन्मिन्छ ।’
आइन्स्टाइनले आफ्नो नोटबुक बन्द गर्छन् । उनको आवाज भावनात्मक बन्छ । आइन्स्टाइन : ‘हे योगेश्वर ! त्यसो भए नैतिकतालाई गणितको सूत्रजस्तो तर्कले मात्र बुझ्न सकिने कुरा होइन रहेछ । यो त आत्माको दिव्य आवाज रहेछ । तर प्रभु, मानव सभ्यताले बारम्बार यसलाई किन बिर्सन्छ ? किन शक्ति र लोभले नैतिकतालाई हराइदिन्छ ?’ श्रीकृष्ण मन्त्रको दृष्टिले आइन्स्टाइनतर्फ हेर्नुहुन्छ । आकाशमा बादलको गर्जन गुञ्जिन्छ । मानौं, यसले कुरुक्षेत्रमा युद्धको भयावह तनावलाई सम्झाइरहेको छ ।

श्रीकृष्ण : ‘कारण सरल छ, आइन्स्टाइन ! मानवको मन तीनवटा गुणबाट बनेको छ– सत्व, रज र तम । जब तम (अज्ञान) र रज (लोभ) हाबी हुन्छ, त्यसले नैतिकतालाई धुमिल बनाउँछ । तर जब सत्व (प्रकाश) बलवान् हुन्छ, नैतिकता स्वत: प्रकट हुन्छ । त्यसैले नैतिकता बाहिरको नियम नभएर भित्रको साधना हो । ध्यान, भक्ति, सेवा र सत्य आचरणले मात्र यो नैतिकताको प्रकाश बल्छ ।’

आइन्स्टाइनको अनुहारमा शान्ति फैलिन्छ । उनले गहिरो श्वास लिन्छन् र आनन्दमिश्रित स्वरमा भन्छन्, ‘प्रभु ! मैले स्पष्ट बुझें । विज्ञानले शक्ति दिन्छ र धर्मले दिशा । शक्तिबिना जीवन सम्भव छैन । यस्तै सही दिशाबिना शक्ति विनाशकारी हुन्छ । त्यसैले नैतिकता र धर्म नै मानव जीवनको वास्तविक कम्पास रहेछ ।’ श्रीकृष्ण मुस्कुराउनुहुन्छ । आकाश उज्यालो हुन्छ र वातावरणमा एक गहिरो शान्ति ओसारिन्छ ।

सातौं संवाद : आध्यात्मिक विवेचना
आकाश अचानक अधिक शान्त र ज्योतिर्मय हुन्छ । ताराहरू टल्किरहेकै छन् । मानौं, तिनका प्रकाशबाट आत्माको आन्तरिक उज्यालो प्रकट भइरहेको छ । आइन्स्टाइन मौनता तोड्दै भन्छन्, ‘हे कृष्ण ! मैले भौतिक नियमहरू गुरुत्वाकर्षण, प्रकाश, समय र स्थानको रहस्य पत्ता लगाएँ । तर जब म ब्रह्माण्डलाई गहिराइमा निहाल्छु, मैले मभित्र एक आध्यात्मिक कम्पनको अनुभव गर्छु । त्यसलाई म कुनै सूत्रमा समेट्न सक्दिनँ । के आत्मा भनेको यही हो ? के यही ब्रह्मसँगको प्रत्यक्ष सम्बन्ध हो ?’

समुद्रजस्तो गहिरो र नदी जस्तो मधुर स्वरमा श्रीकृष्ण मुस्कुराउँदै भन्नुहुन्छ, ‘आइन्स्टाइन ! तिमीले जुन अनुभव गर्‍यौ, आत्मा भनेको त्यही हो । यो न जन्मन्छ, न मर्छ । न पानीले भिज्छ, न त यसलाई अग्निले नै पोल्छ । मेरो गीता वाणीमा छ : ‘नैनं छिन्दन्ति शस्त्राणि नैनं दहति पावक: (गीता, अध्याय २, श्लोक २३) ।’ अर्थात्, आत्मा अनादि र अविनाशी हो । शरीर त केवल वस्त्र हो र आत्मा शुद्ध चेतनाको अमर ज्योति हो ।’

आइन्स्टाइन विस्मित भई सोध्छन्, ‘हे परमपुरुष ! त्यसो भए जीवन र मृत्यु केवल शरीरको यात्रा मात्रै हो ? मृत्युपछि आत्मा निरन्तर रहिरहन्छ ? र यदि रहन्छ भने यसको अन्तिम लक्ष्य के हो त ?’  श्रीकृष्णको आँखामा कृपालु करुणा झल्किन्छ । उनको स्वर आध्यात्मिक शान्तिको समुद्रजस्तो लाग्छ ।

श्रीकृष्ण : ‘हो, आइन्स्टाइन । शरीर नाश हुन्छ तर आत्मा कहिल्यै मर्दैन । आत्माको यात्रा पुनर्जन्ममार्फत निरन्तर चल्छ । तर यसको अन्तिम लक्ष्य मोक्ष हो । ब्रह्मसँग एकाकार हुनु हो । संसारको दु:ख चक्रबाट मुक्त हुनु हो । गीतामा यसलाई मैले यसरी भनेको छु : ‘मामुपेत्य पुनर्जन्म दु:खालयमशाश्वतम् (गीता, अध्याय ८, श्लोक १५) ।’ अर्थात्, ममा आएको आत्मा पुनर्जन्मको दु:खबाट मुक्त हुन्छ ।’ आँखामा आँसु टिल्पिलाउँदै आइन्स्टाइनले नम्र स्वरमा भन्छन्, ‘हे अन्तर्यामी ! मैले हजुरलाई बुझें । मैले सूत्र र समीकरणमा ब्रह्माण्डको संरचना खोजें तर त्यो त केवल बाह्य स्वरूप थियो । साँचो सत्य आत्माभित्र लुकेको हुँदोरहेछ । त्यो सत्यसँगको मिलन नै मानव जीवनको महान् उद्देश्य हो ।’ 

मधुर स्वरमा श्रीकृष्ण भन्नुहुन्छ, ‘हे विज्ञ ! तिमीले विज्ञानमार्फत जगत्लाई बुझ्यौ र अब आत्मामार्फत ब्रह्मलाई छुन थालेका छौ । विज्ञान र अध्यात्म जब एक हुन्छन्, तब नै मोक्षको मार्ग खुल्दछ । आकाश अझ उज्यालो हुन्छ । मानौं, सम्पूर्ण तारामण्डल त्यो आध्यात्मिक संवादमा सहभागी भइरहेको छ ।’

निष्कर्ष : धर्म र विज्ञानको संयुक्त गान
ब्रह्माण्डमञ्च शान्त तर ज्योतिर्मय छ । ताराहरू मौनसंगीत गाइरहेका छन् । आइन्स्टाइन र श्रीकृष्णसँग म एउटै वृत्तमा उभिएको छु । समय स्थिर छ । श्रीकृष्णले मृदु मुस्कानमा मतिर फर्केर भन्नुहुन्छ, ‘जीवनपानी ! तिमी यस संवादका साक्षी र श्रोता बनेर बस्यौ । तर अब तिमी यो संवादको सन्देशवाहक पनि हौ । तिमीले आज सुनेको यो संवाद मानवताका लागि दीपक बनोस् । यस दीपलाई सधैं जीवित राख ।’

मैले भनें, ‘प्रभु ! मैले यो सम्पूर्ण दिव्य संवादलाई आत्मामा उतारेको छु । आइन्स्टाइनको जिज्ञासा, हजुरको उत्तर यी दुवै मिलेर मेरो हृदयमा सत्यको शंखनाद गराइरहेछन् । ब्रह्माण्डमा मौनता फैलिन्छ । तर त्यो मौनता सत्य, विज्ञान र धर्मको संयुक्त धुन बनेर अनन्तकालसम्म गुन्जिरहन्छ ।’
अस्तु !


 


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.