मिसन ८४ मा राजनीतिक पाइला
मुलुकमा अहिले राजनीतिक नयाँ विचार तथा शक्ति निर्माणको खडेरी परेको देखिन्छ ।
विश्व राजनीतिक विचार, वाद वा वैचारिकी निर्माणका आधारहरू विभिन्न दृष्टिकोण र सन्दर्भहरूमा आधारित हुन्छन् । विचार निर्माण प्रक्रियाले हाम्रो सोचाइ र दृष्टिकोणमा उत्पन्न हुने विभिन्न विचारको संरचना र विकासमा महत्त्वपूर्ण भूमिका खेलेको हुन्छ । कुनै पनि विचार, वाद र वैचारिकी निर्माणसँग सम्बन्धित प्रमुख केही आधार छन् । जसमध्ये केहीको यहाँ चर्चा गरिएको छ ।
विचार निर्माणका आधारशिला : पहिलो, आधारभूत तथ्य, तथ्यांक– कुनै पृथक् वाद वा विचार निर्माणका लागि सही, आधिकारिक, वस्तुगत र आधारभूत तथ्य, तर्क र तथ्यांकको विशेष महत्त्व हुन्छ । यसले वस्तुगत विचारलाई ढालको रूपमा बलियो बनाउँछ । विचारलाई वास्तविक धरातलसँग जोड्न साँघुको काम गर्दछ ।
दोस्रो, ज्ञान वा अनुभव– विचार, वाद वा वैचारिकी व्यक्तिगत ज्ञान, सीप, अनुभव, अध्ययन, क्षमता र अवलोकनले विचार निर्माणमा विशिष्ट प्रधान भूमिका खेल्छ । प्रत्येक व्यक्तिको व्यावहारिक दक्षता, ज्ञान, सीपकला र अनुभवले उनीहरूको समग्र विचारधारात्मक सारभूत दृष्टिकोण तथा विचारमा
तेस्रो, शैक्षिक पृष्ठभूमि र पारिवारिक ज्ञान – जुन व्यक्तिको पारिवारिक वातावरण, पुख्र्यौली शैक्षिक पृष्ठभूमि, पारिवारिक समानता वा असमानताको अवस्थाको स्तरले विचार निर्माणको आधार तयार गर्दछ । उसले बाल्यकालदेखि युवा, प्रौढावस्थासम्म आर्जन र अध्यनन गरिएका विविध विषय, सन्दर्भ र अनुभवहरूको समष्टि ज्ञानले नै विचार निर्माणमा अग्रभूमिका खेलेको हुन्छ ।
चौथो, पारिवारिक संस्कृति र सामाजिक व्यवस्था– कुनै मुलुक समृद्धि वा दुर्गतिको मूलकारण त्यो देशको नेतृत्वको पारिवारिक संस्कृति कस्तो छ ? भन्नेमा निर्भर रहन्छ । अर्थात्, त्यो नेतृत्वको परिवारबाट समानता वा असमानता गर्ने वातावरण छ कि छैन ? भन्ने सबाल प्रधान हुन्छ भने बाह्य वातावरण केवल सहायक भूमिकामा रहन्छ । तसर्थ, विचार वा वाद निर्माणमा पारिवारिक संस्कृति र सामाजिक व्यवस्थाले गहिरो असर पारेको हुन्छ । एक व्यक्ति वा देशको नेतृत्वको पारिवारिक संस्कृतिको पृष्ठभूमिले समग्रमा उसले सार्वजनिक वा निजी जीवनमा देखिने नैतिक मूल्यमान्यता, आचरण, व्यवहार, चिन्तन, प्रवृत्ति, सोच एवं कार्यशैलीले विचार, वाद वा वैचारिकी निर्माण, विकासमा प्रत्यक्ष प्रभाव पारेको हुन्छ ।
नेपालमा अहिले अधिकांश दलमा नागरिक र मुलुकलाई प्राथमिकतामा राखेर अगाडि बढ्ने स्पष्ट विचार भएको देखिँदैन। उनीहरू राजनीतिक विचार, दर्शन र सिद्धान्तबाट च्युत भइसकेका हुन् कि भन्ने भान नागरिकलाई परेको छ।
पाँचौं, चिन्तनीय कौशलता र विश्लेषणात्मक क्षमता– सत्यतथ्य स्रोत सन्दर्भ, सामाजिक, राजनीतिक, आर्थिक एवं सांस्कृतिक परिवेशहरूलाई यथार्थवादको आधारमा गहन चिन्तन, मनन् र समाधानको उपाय सुझाउन सक्ने चतुर चिन्तनीय कौशलता र विश्लेषणात्मक क्षमताले विचार वा वाद निर्माणको आधार बन्ने गर्दछ । गहिरो चिन्तन र विश्लेषणले विचार निर्माणका आधारलाई मजबुत बनाएको हुन्छ । यस विश्वमा अस्तित्वमा आएका अरू विभिन्न विचार, वाद र वैचारिकीहरूको गहन अध्ययन, तुलना, निफन्ने कला वा सफा गर्ने कुचो, समीक्षा, तर्कसंगत निर्मम मूल्यांकन गर्न सक्ने क्षमता प्रदर्शित हुनुपर्छ ।
छैंटौं, समन्वयात्मक सामाजिक संवेदनशीलता– देशको समग्र सामाजिक, राजनीतिक, धार्मिक, वस्तुस्थिति, समय, परिवेशका साथै विश्व राजनीतिक परिस्थितिको संवेदनशीलतालाई दीर्घकालीन आकलनबिना सही विचार प्रतिपादन गर्न सकिँदैन । आन्तरिक र बाह्य समन्वयात्मक सामाजिक संवेदनशीलता तथा सहिष्णुतालाई मध्यनजर गरिनुपर्छ । यसले विचार वा वाद निर्माणमा प्रत्यक्ष, अप्रत्यक्षरूपमा सकारात्मक प्रभाव पार्न सक्छ । सामाजिक विविधतालाई दृष्टिगत गरी बहुलता र विविधतामा आधारित विविध विचारलाई आत्मसाथ वा सहजरूपमा स्वीकार गर्दै उनीहरूबीचमा संवाद, सहमति, सहकार्य र एकता कायम गरिनुपर्छ ।
सातौं, आधुनिक विज्ञान–प्रविधिको समावेश– आजको युग हिजोको जस्तो मजदुर र श्रमिकको स्थानमा आधुनिक रोबोट र कृत्रिम बौद्धिकताले लिइएको छ । तसर्थ, दिन प्रतिदिन नयाँ वैज्ञानिक खोज, अनुसन्धान र तीव्र प्रविधिको विकासले निरन्तर मौलिक नयाँ प्रविधि र विचार आइरहेका छन् । यस्ता नयाँ र नवीनतम विज्ञान, प्रविधिहरूको विकासले विचार, वाद र वैचारिकी निर्माणमा युगान्तकारी परिवर्तन ल्याउँछन् ।
यस आधारमा विचार, वाद वा वैचारिकी निर्माण वा विकास विभिन्न घटनाक्रम, अवयव, कारण, परिवेश, अवस्था, व्यवस्था, वातावरण र कारकहरूको योगमा आधारित हुन्छ । यसरी, एक जटिल विधि र प्रक्रियाबाट विचार वा वादको आधारशीला प्रक्षेपणमा विशेष प्रभाव, असर पार्दछ । जसले समाजका हरेक व्यक्तिको सोचाइ, दृष्टिकोण र समग्र सामाजिक चिन्तनमा आमूल परिवर्तन ल्याउने ताकत राख्दछ । तसर्थ, राजनीतिक वैचारिकी निर्माण सामान्य विषयको रूपमा बुझ्नु परिपक्वता हुँदैन ।
नेपाली राजनीतिको वैचारिक पतन : नेपालमा अहिले कुनै दलमा नागरिक र मुलुकलाई प्राथमिकतामा राखेर अगाडि बढ्ने स्पष्ट विचार छैन । उनीहरू राजनीतिक विचार, दर्शन र सिद्धान्तबाट च्यूत भइसकेका छन् । हिजो बीपी कोइरालाको समयको गरिबलाई माथि उठाउने प्रजातान्त्रिक समाजवादी सिद्धान्त बोकेको कांग्रेस आज जीवित छैन । आजको कांग्रेस सुकिला, मुकिला र नवधनाढ्यमा उक्लिएको एक कम्पनीमा रूपान्तरण भई पतोन्मुख छ । नामधारी कम्युनिस्टहरूको हालत पनि उस्तै छ । हिजोको माओवादी आजको अर्को एमाले बनेको भन्ने सुनिन्छ ।
युरोपको जर्मनीमा प्रतिपादन र विकास भएको माक्र्सवाद एसियाको भारत, नेपालसम्म आइपुग्दा विकृत बनाइयो । जबसम्म नरबहादुर कर्माचार्य, पुष्पलाल श्रेष्ठ र रूपलाल विश्वकर्माको पकडमा कम्युनिस्ट पार्टी रहँदा विचार, सिद्धान्त र नीतिमा अडिग थियो । तर जहिलेबाट अरूले नेतृत्व लिए तबदेखि कम्युनिस्ट आचरण, व्यवहार, विचार र सिद्धान्त पतनको बाटोमा गयो । आज त्यसकै असर नाम र ब्यानरका फरक फरक दल मिलेर मिलिजुली घुम्ने कुर्सी खेलजस्तो सत्ताको खेल चलिरहेको छ । मधेसवादी दलहरूको कुनै स्पष्ट राजनीतिक विचार, वाद वा वैचारिकी देखिँदैन । उनीहरू क्षेत्रीयवाद र विचारलाई बोकेर सत्तामा रमाउँदै ठिक्क छ ।
उनीहरू पहाडिया सत्तासँग सत्ता मोलमोलाई तथा यथास्थितिवादकै मलजलमा फसेका छन् । तराई–मधेसको विकास, निर्माण, गरिबी, विपन्नता, अभाव, अन्याय र अपराधको आँकडाले यसलाई पुष्टि गर्दछ । रास्वपा जसरी अस्वाभाविक रूपमा उदायो, त्यसैगरी समाप्त हुँदैछ वा पारिँदेछ । यो पार्टीले कतिपय राष्ट्रिय मुद्दा, विषयहरूमा अस्पष्ट, अन्योल र अपरिपक्वता देखाउँदै आएको छ । अधिकांश विषयमा आफ्नो पार्टीको नीति, सिद्धान्तमा अडिएको, नागरिक र मुलुकको हितमा रहेको नेपाल मजदुर किसान पार्टीलाई लिन सकिन्छ । अरू सबैजसो दल र नेतृत्व सत्तालाई नै प्राथमिकता दिएको पाइन्छ । कतिपयले छुट्टै पार्टी खोलेर पुन : पुरानै पार्टीमा फर्किने लहरहरूसमेत चलेको पाइन्छ ।
नेतृत्व वा नयाँ विचारमा विचलन : डा.बाबुराम भट्टराईले माओवादी पार्टीसँग विरक्तिएर नयाँ शक्ति पार्टी खोलेर केही वर्ष अभ्यास गरे । केही वर्षपछि बिस्तारै नयाँ शक्ति पार्टी उकालो लाग्दै थियो । तर विभिन्न पार्टीमा एकता गर्दै पुन : सत्ताकै नजिक पर्न थालेकाले गति नलिँदै तहसनहस बन्यो । वैकल्पिक राजनीति र नयाँ विचार दिन उदाएका साझा पार्टी र विवेकशील एक भई विवेकशील साझा पार्टी बन्यो । तर पार्टीमा रवीन्द्र मिश्रको प्रवेशले गञ्जागोल र लथालिंग बन्न पुग्यो । रवि लामिछानेको रास्वपाको गति, मति पुराना दलभन्दा फरक नभएकाले जनताको आशा निराशामा परिणत भइरहेको छ । पुराना राजनीतिक खेलाडीहरूको प्रतिशोधका कारणले नयाँ विचार र नेतृत्वलाई किनारा लगाउँदै हामी मात्रै निर्विकल्प भन्ने वातावरण बनाइँदैछ । मुलुकमा अहिले राजनीतिक नयाँ विचार तथा शक्ति निर्माणको खडेरी परेको देखिन्छ ।
केही पहिचानवादी एक भई अगाडि आइरहेका छन्, यो राम्रो कुरा हो । तर नेपालमा कुनै एक जाति, समुदायको पूर्ण एकल बहुमत नभएको, अल्पसंख्यकहरूको मुलुक भएकाले निरपेक्ष पहिचानको राजनीति उत्तिकै जटिल छ । तसर्थ, शास्त्रीय र जडसूत्रवादी लेनिनकालीन पहिचानको कुरा गर्नु सान्दर्भिक देखिँदैन । तसर्थ, नेपाली सामाजिक संरचनाअनुसार पहिचानको राजनीति सामूहिक सहकार्य, सहभागिता र समन्वयबिना अगाडि बढ्ने अवस्था छैन । संसद्मा तेस्रो ३२ सिटमा खुम्चिएको माओवादीले चलाखी गरेर विगतमा झुक्काएको विषयलाई अगाडि सारेर पुन : पहिचानवादी बन्न खोज्दैछ । उसले पुन : जातीय, क्षेत्रीय मोर्चाहरूलाई उचालेर २०८४ सालमा बाजी मार्ने दाउमा देखिन्छ । यसका दीर्घकालीन असर र परिणामहरूलाई ध्यान नदिइकन एकमात्र लक्ष्य सत्ताको स्वादमा रमाउनु उसका विगतका गतिविधिले स्पष्ट हुन्छ ।
सन्दर्भ उत्पीडित वा दलित गोलमेच सम्मेलन : गोरेबहादुर खपांगीले देखाएको बाटोले जनजाति, आदिवासी समूहलाई राजनीतिक शक्तिमा उकालेको साँचो हो । तर, मधेसी समूहजस्तो उनीहरूले अझै शक्तिको अभ्यास गर्न पाएका छैनन् । काठमाडौं उपत्यकामा डा. केशवमान शाक्य नेतृत्वको नेपा : राष्ट्रिय पार्टी, तराई–मधेसी दल, जनमत पार्टी, नागरिक उन्मुक्ति पार्टीले सामुदायिक शक्ति निर्माणको अभ्यासलाई उदाहरणका रूपमा लिन सकिन्छ । अबको शक्ति निर्माण र परीक्षणकाल भनेको कथित दलित करार गरिएका रैथाने अनादिवासी उत्पीडित समुदायको हो । यो समूह जनसंख्याको हिसाबले निर्णायक छ । उनीहरूको जनसंख्या केन्द्रीकरणका हिसाबले कर्नाली–भेरी पहिलो, गण्डकी दोस्रो र तेस्रोमा सुदूरपश्चिम र मधेसमा छ । तर शक्ति निर्माण, एकता र शक्तिका हिसाबले राजनीतिक रूपमा विभाजित हुँदा नियतवश कमजोर पारिएका छन् ।
बीपी कोइरालाको समयमा आफूलाई अपमानित गरेपछि करिब १७ जिल्लामा समानान्तर समिति बनाएपछि पार्टी महामन्त्री बनाउन कोइराला बाध्य भएका हुन् । स्वाभाविक रोलक्रममा पन्छाइएपछि रूपलाल विश्वकर्मा कम्युनिस्ट राजनीति नै त्यागेर समरूपतावादी सिद्धान्तमार्फत चुनौती दिए । २०६२/६३ सालपछि दलित जनजाति पार्टीबाट राष्ट्रिय राजनीतिमा विशवेन्द्र पासवान उदाएका थिए । उनको चरम महत्त्वाकांक्षा, अस्थिरता र विचलनले सामुदायिक राजनीतिक विचार र शक्ति निर्माण ओरालो लाग्यो । आहुतीले प्रयास गरे तापनि उनमा बढी शास्त्रीय जडसूत्रवादी माक्र्सवादी रुझान र एकांकीपनले गर्दा समुदाय जोडिन सकेन । उनले अम्बेडकरले जस्तो सामुदायिक जरो इतिहासको खोज, विश्लेषण र स्थापनासँगै शक्ति निर्माणमा ध्यान दिइएका छैनन् ।
डा. मित्र परियारले केही गरौं भनेर अगाडि आए तापनि उनमा परिपक्वताका साथै वैचारिक स्पष्टता देखिँदैन । भदौरे झरीमा च्याउ उम्रिए झैं उम्रिएका दलित सामाजिक अभियान गनिसाध्य छैनन् । कतिपय राजनीतिक ओत लाग्न विभिन्न दलमा समाहित भइसकेका छन् । त्यस्ता केही अभियानहरूमा सशक्त, प्रभावकारी र समुदायलाई गोलबन्द गर्ने क्षमतावान् पात्र खगेन्द्र सुनार अगाडि आएका छन् । यद्यपि, उनमा केही कमी, कमजोरी होलान्, छन् । जे होस्, उनमा नेतृत्व क्षमता भने बेजोड देखिन्छ । उनलाई २०८४ अगाडि नै परिबन्धमा पारेर फसाइने उत्तिकै जोखिम छ । यसका लागि हजारौं वर्षदेखि बहिष्करणमा पार्ने शासक समुदायभन्दा दलाली राजनीति गर्र्ने समुदायभित्रकै व्यक्ति परिचालित हुन सक्ने सम्भावना छ । किनकि राजनीतिक बालीघरे गर्नेहरूको धेरैको पसल सुनारले सकाइ दिइएका छन् ।
अहिले सुनार भारतका विभिन्न १६ भन्दा बढी सहरमा जुलाई २० देखि सुरु भएको बृहत् सामुदायिक जागरण अभियानमा छन् । निकै प्रचारित दलित राष्ट्रिय गोलमेच सम्मेलन हात्ती आयो फुस्सा सावित भयो । यसले विगतदेखि वर्तमानसम्मको वस्तुनिष्ठ ढंगले निर्मम समीक्षा गर्दै आफ्नो स्वतन्त्र नीति, सिद्धान्त र वैचारिकी निर्माण गर्न सकेन । तर बहुमतहरूको एकमत भएमा सिंगो समुदायको सुरक्षित भविष्य निर्माण, आत्मसम्मान, स्वाभिमान, इतिहास पुनर्लेखन, न्याय र समानताका लागि चाहेमा असम्भव भने देखिँदैन । यदि आजसम्म पुराना राजनीतिक दल, नेतृत्व, राज्यसत्ताले दिएको उत्पीडन, धोका र भोटबैंकको राजनीतिबाट मुक्ति चाहेमा शक्ति निर्माण गर्न अवश्य सकिन्छ । यस्तो साझा राजनीतिक शक्ति निर्माणका लागि सबै स–साना समूहमा विभाजित रहेकाहरू एकैथलोमा गोलबन्द हुनुको विकल्प छैन ।
प्रतिक्रिया दिनुहोस !