मेरा बा, मेरी आमा

मेरा बा, मेरी आमा

सन्तानका रूपमा हामी दुई छोरा र दुई छोरी । पेसाका रूपमा बा प्राथमिक तहको अंग्रेजी विषयको शिक्षक, आमा खेतीपातीको जिम्मा लिने गृहिणी । बाले त्यो समयमै स्नातक गर्नुभएको तर आमा निरक्षर ।

आम्दानीको मुख्य स्रोत बाको तलब थियो तर चार सन्तान हुर्काउन पक्कै पर्याप्त थिएन । खेतबारी पनि थोरै र रुखो भएकाले उब्जिएको अन्नले हामीलाई वर्षभरि खान पुग्ने थिएन । यसैले आफन्तको जग्गा कमाएर भए पनि हाम्रो पेट भर्नु भएको थियो । कालीभैंसीको दूध र घिउ बेचेर हाम्रो स्कुलको पोसाक र किताब किन्नु भएको थियो ।

सहर, यहाँको शिक्षा र संगतले छोरो फेरिएको भन्ने होला बाआमालाई तर मभित्र फक्रिएको उही बालापनले हजुरहरू खोज्दैछ। तपाईंहरूको स्पर्श, गन्ध, माया र परिश्रमका पाइलाहरू खोज्दैछु। मेरो आत्माको गहिराइबाट उठेको विनम्रताको भावले हजुरहरूलाई पर्खिरहेको छ। 

घाँस, दाउरा, मेलापात गर्दा काटेका दाग अहिले पनि बाआमाका हात र खुट्टामा छन् । खाली खुट्टा ठूलाखर्क, स्याउ र भिरमुनिको उकालो–ओराली गर्दा गडेका काँडाका खिलहरू हजुरहरूको पैतालामा अझै छन् । दिदी र म अलि ठूला थियौं । बिहान–बेलुका घरको काम गथ्र्यो, दिउँसो स्कुल । बिदाको दिन घाँसपात र भाइबहिनीको स्याहार । लामो छुट्टीमा घरको काम सकेर मामाघरको काम गर्न पर्वत पुग्थौं । यसरी नै बित्यो बाल्यकाल ।

मुलुकमा जनयुद्ध सुरु भएको थियो । हाम्रो गाउँमा दिनमा सुरक्षाकर्मीको बुट बज्थ्यो, साँझ परेपछि कामरेडहरूको गोल्डस्टार जुत्ता । बा नेकपा माओवादीका राजनीतिक मुद्दाहरूसँग सहमत हुनुहुन्थो । यसैले पार्टीलाई लेबी र कामरेडहरूलाई घरमा आउँदा खानपिन र सुत्ने व्यवस्था गर्नु भएको थियो । धेरै पटक बेलुका खाना खान लाग्दा कामरेडहरू आइपुगेपछि बाँडेर कैयौं रात कटायौं । दिनभरि खेतीपातीको कामले थाकेकी आमाले पकाएको खाना कामरेडहरूलाई खुवाई आफूले कराही चाटेरै छाक टारेको पनि देखेको छु । बिहान–बेलुका घरको काम र दिनभर स्कुलमा चक घोटेर थाकेका मेरा बा सँगै रातभर पार्टीका बैठकहरूमा म पनि पुगेको छु ।

हुन पनि बाल्यकालमा गाउँमै जातीय, धार्मिक र लैंगिक रूपमा धेरै विभेद देखेको थिएँ । बा र कामरेडहरूको सम्पर्कले वर्गीय आन्दोलनको औचित्य छिट्टै बुझ्न पाएको थिएँ । यसैले पार्टीका कार्यक्रम र बैठकमा निकै चासो थियो । र बासँगै पार्टीको बैठकमा जान्थें । असारको महिना थियो । घरको धान रोप्ने मेलो थियो । हिजैदेखि बाआमाले पानी र बिउको जोहो गर्नु भएको थियो । बिहानको करिब ५ बजेको थियो । आमा उठेर कसेर लगाउँदै थिइन् । १० जना अपरिचित युवा घरमा पसे । हक्कानिँदै बा र हामीलाई उठाए । उठेर हेर्दा नेपाली सेनाले पूरा घर घेरिसकेछन् ।

केहीबेरमा पूरै घर खानतलास गरेपछि बालाई एकछिन सल्लाह गर्नु छ, केहीबेरमा पठाइदिन्छौं भनेर लगे । म आत्तिँदै बाको पछिपछि लागें । तगारोनिर पुगेपछि बाले मलाई गोजीबाट पाँच हजार र लगाएको सिकोफाइभ घडी निकालेर दिनुभयो । सेनाका जवानले निकै असभ्य भाषामा गाली गर्दै मलाई घरतिर हुत्याइदिए । बाटोमा घाम लागेको थियो तर बाको अनुहारमा छायाँ थियो । बाका आँखा आँसुले भरिएका थिए । रुन्चे स्वरमा ‘म अंकलहरूसँग एकछिन गफ गरेर आउँछु, तिमी घर जाऊ भन्नुभयो ।’ म फर्कें । तर दुई हप्तासम्म बालाई कता लगे केही पत्तो भएन ।

बाले दिएको पैसा र घडी कसैलाई पनि नदेखाइकन सिरानीमुनि राखें । घरमा आमा, दिदीबहिनी, भाइ, हजुरबा र हजुरआमाको रुवावासी थियो । न हामीलाई सम्झाउने कोही थियो, न त बालाई खोज्ने कोही । गाउँ विभाजित र त्रसित थियो । हाम्रो घरमा आफन्त र छिमेकीको आवतजावत कम हुन्थ्यो । कसैको आड र भरोषाभन्दा पनि राज्यको त्रास बढी थियो ।

बालाई कता लगेका हुन्, कसले लगेका हुन्, कहिले आउँछ बा भन्दै सोध्नुहुन्थ्यो हजुरबुवा । तर मसँग दिने उत्तर थिएन । आमाका आँखा सधैं बलिन र थकित थिए । मेलापात र बाको पिरले आमा निकै गलिसकेकी थिइन् । मेरो अनुहार हेर्दै आमा रुन्थिन् । आमाका हरेक बाडुलीले बाको अभाव झनै खड्केको थियो । रात परे पनि आमालाई निद पर्दैनथ्यो ।

बालाई सेनाले लगेको दिन घरको धान रोप्ने मेलो थियो । गाउँभरि बाउसे खोज्दा कोही भेटिएनन् । धेरै अनुरोध गर्दा पनि कोही गाउँलेहरू बाउसेका लागि तयार भएनन् । स्कुलमा असार बिदा थियो । बाउसे कोही नपाएपछि, बालाई सम्झेर आमाको पटुकी कस्दै दिनभर खन्न थाले । दिनभर बाउसेको रूपमा काम गर्दा कर्तव्यको कठघराले बालापन बिर्सिएको थिएँ । रात परेपछि आमाले मेरो हातखुट्टा र ढाड मिच्दामिच्दै खै कतिबेला निदाउँथे, थाहै पाउथिनँ ।

करिब दुई हप्ता मेरो दैनिकी यही थियो । दिनभर खेतमा, बिहान–बेलुका बा आउने बाटो कुर्दै दिन बित्थ्यो । प्रत्येक दिन साँझ फर्कने घाम आउँथ्यो तर बा फर्किनु भएन । दुई हप्तापछि बा सेनाको हिरासतबाट मुक्त भएर घर फर्कनु भयो । धेरै बोल्नु भएन, मात्र हामी चार छोराछोरीलाई सुम्सुम्याइराख्नु भयो । सुत्ने बेलामा मैले बालाई घडी र पैसा फिर्ता गर्दै सोधें, ‘मलाई किन दिनु भएको नि ?’ मलिन मुहारमा बाको जवाफ थियो, ‘मलाई मार्छन्, यति भए पनि तिमीहरूले खाउला भनेर दिएको ।’

बाको जवाफ नबुझे जसरी बाहिर शौचालयमा गएँ र धेरै बेर रोएँ । बाको मनमा छोरो सानो छ, गहिरोगरी बुझ्दैन होला’ भन्ने थियो । तर ममा राजनीतिक चेत निकै गहिरो थियो । बाका आँखाबाटै पनि धेरै कुरा बुझ्थें ।

दिनप्रतिदिन गाउँमा सेना र प्रहरीको परेड बढ्दो थियो, रातमा माओवादीहरूको । लेबी, खान र बस्न दिएकै भरमा दिनहुँ सुरक्षाकर्मीबाट शारीरिक र मानसिक पीडा थपिँदै थियो । माओवादी समर्थकको बिल्लाले बाले पटकपटक गिरफ्तार भई मृत्युशय्यासम्मको निर्मम यातना भोग्नु भएको थियो । तर बाले हिरासतमा पाएको पीडा र यातनाका बारेमा हामीलाई भन्नु भएन । उल्टै राज्यको दमन र वर्गीय आन्दोलनको आवश्यकताको कुरा गर्नुहुन्थ्यो ।

म पढाइमा अब्बल थिएँ । सहरका धेरै निजी विद्यालयले पूर्ण छात्रवृत्ति दिएर पढाउने अनुरोध गर्दा पनि बाले रोक्नुभयो । सबैलाई गाउँकै सरकारी विद्यालयबाटै राम्रो गर्छ भन्ने जवाफ दिनुहुन्थ्यो । एसएलसी आउँदै थियो । तर म पढ्न र रातभर सुत्न सक्ने अवस्थामा थिइनँ । कुन बेला सेनाले बालाई लगेर मार्छन् भन्ने त्रास थियो । यही त्रासबीच एसएलसी दिएँ । तर हाम्रो स्कुल नील परेको नतिजा आयो । कक्षा प्रथम म नै थिएँ ।

त्यसैले सबैले मलाई गाली गर्न थाले तर कसैले मभित्र गडेको त्रास बुझेनन् । गाउँ र परिवारको आस, विद्यालयको सान चुकाएकोमा म आफूभित्रै लज्जित थिएँ । तर सुरक्षाकर्मीले निरन्तर दिएको मानसिक र शारीरिक त्रासले सबै छायाँमा थियो । बाको अपेक्षा खै के थियो कुन्नि ? तर सामान्य गालीमात्र गर्नुभयो ।

राज्यको शारीरिक र मानसिक यातनाले गलेका बाले मलाई प्लस टु अध्ययनका लागि मामाघर पठाउनु भयो । मामाघरमा बिहान बेलुका काम गर्दै त्यो अध्ययन पूरा गरें । पृथ्वीनारायण क्याम्पस, पोखरामा स्नातक तह अध्ययनका लागि भर्ना भएँ । २०६१ माघ १९ गते राजा ज्ञानेन्द्रले राजनीतिक ‘कू’ गरेको दिन सेनाको गोलीको छर्रा र चरम शारीरिक यातनाबाट अति नै प्रताडित भएँ । यी सबै पीडा भनेपछि बाले हाँस्दै छोरो भएपछि जेलनेल खानुपर्छ अनि बल्ल परिपक्व भइन्छ भन्दै आफूले पटकपटक सेना र प्रहरीको हिरासतमा भोगेको मृत्युशय्याको पीडा बल्ल सुनाउनु भयो ।

आज म त्रिभुवन विश्वविद्यालयमा विद्यावारिधिको विद्यार्थीको रूपमा थेसिस लेखनको अन्तिम चरणमा छु । यसै क्रममा राष्ट्रिय र अन्तर्राष्ट्रिय प्रकाशनबाट करिब आधा दर्जन पुस्तक, पुस्तकका अंशहरू र करिब तीन दर्जन शोध लेखहरू प्रकाशन गरिसकेको छु । करिब दुई दर्जन राष्ट्रिय र अन्तर्राष्ट्रिय शोध पत्रिकाहरूमा सम्पादक र सल्लाहकारको रूपमा संलग्न छु । विभिन्न सरकारी र गैरसरकारी संस्थाहरूमा विज्ञको रूपमा काम गरिसकेको छु । शीर्ष नेताहरूदेखि विशिष्ट श्रेणीका कर्मचारीहरूसँग विज्ञता साटेको छु ।

तर चक घोटेर मलाई निष्ठा र इमान्दारिता सिकाउने बा र हातमा आसी अनि थाप्लोमा नाम्लो भिरेकी आमाको श्रमले मेरो शिर सधैं झुकेको छ । मेरा हरेक उपलब्धिमा बाआमाको दुःख लुकेको छ । बाआमाको निष्ठा, त्याग र दुःखले मेरा शैक्षिक प्रमाणपत्र भिजेका छन् । आज पनि आमाको थाप्लोमा नाम्लो टुटेको छैन । तर श्रम, निष्ठा र त्यागमा शिर झुकेको छैन । आमालाई सन्तानको पढाइको तह र पेसाको ओझ थाहा छैन ।

यसैले मेरो शैक्षिक प्रमाणपत्र र उपलब्धिहरू आमाका लागि नगन्य छन् । मसँगैको एक रातको साथ र एक डोको घाँस आमालाई अमूल्य छ । सुनका गहनाको भन्दा आमालाई एक पोको मिठाईको मूल्य छ । मैले पठाएका दोपट्टा, साडी र टिसर्टभन्दा पुरानो धोती र चोली नै आमालाई प्यारो र न्यानो छ । साथीसंगीका बाआमा सन्तानबारे गुनासो गर्दैगर्दा मेरो बाआमालाई घाँस र गोठधन्दा गर्नै हतार छ । मेरो शरीरमा कुनै चोटपटक लाग्दा सबैभन्दा बढी पिरले बा आमालाई नै छोपेको छ ।

मेरो सपनाको गाँठो फुकाउन बाआमाको कपाल फुलेको छ । आमाको चप्पलको तुना चुँडिएको छ । यसैले खालीखुट्टा हिँड्दा खुट्टा फुटेको छ । मेरा सपना रोप्दा, बाको अनुहारमा चाउरी उम्रिएको छ । मलाई बोल्न सिकाउने बाआमाको आवाज आज सुकेको छ तर मप्रति गर्व उस्तै छ, आशीर्वादको स्पर्श उस्तै छ । बाआमाका हातहरू र नजरहरू थाकेका छन्, तर मप्रति आशा कहिल्यै थाकेको छैन । यसैले तपाईंहरूको न्यानो छहारीमा मेरो जीवन फक्रिएको छ ।

आमाको पसिनाले निथ्रुक्क भिजेको पटुकाको सिरानी मेरा लागि सबैभन्दा प्रिय छन् । त्यो सिरानीमा निद्रामात्र होइन, ममता मिसिएको छ, आमाले थामेको जीवनको कथा र गाथा पनि गाँसिएको छ । बाँसको ढुंग्रीले फु फु गरी आगोमा पकाएको खानाको स्वाद जिब्रोले पर्खिएको छ । जति दुःख–कष्ट भोगे पनि बाको मौनता कहिल्यै कमजोर छैन, गहिरो कर्तव्यको शान्त कर्मले भरिएको छ । बाका आँखा उमेरको थकाइ र हिरासतको पीडाले बिझेका छन् तर मेरा सपना हेर्न पर्खिएका छन् ।

आज म बाआमाको त्यागको कुनै मापन गर्न र मूल्य तिर्न सक्दिनँ तर श्रद्धाले शिर निहुरिएको छ । बाँकी जीवन हजुरहजुरकै खुसीमा बिताउने धोको छ । सहर, यहाँको शिक्षा र संगतले छोरो फेरिएको भन्ने होला बाआमालाई तर मभित्र फक्रिएको उही बालापनले हजुरहरू खोज्दैछ । तपाईंहरूको स्पर्श, गन्ध, माया र परिश्रमका पाइलाहरू खोज्दैछु । मेरो आत्माको गहिराइबाट उठेको विनम्रताको भावले हजुरहरूलाई पर्खिरहेको छ ।


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.