स्थानीय तहमा सुशासन कसरी ?

स्थानीय तहमा सुशासन कसरी ?

आर्थिक बेथिति र साधनको अपव्ययका आरोप खेपिरहेका पालिकाहरूले उत्कृष्ट कामका लागि पनि प्रतिस्पर्धा गरिरहेका छन् । केही स्थानीय सरकार जनभावना अनुरूप बजेट कार्यक्रमको निर्माण र कार्यान्वयनमा अब्बल देखिएका छन् । वित्तीय कारोबारको मापन तथा विश्लेषणबाट आर्थिक अनुशासनको लेखाजोखा गर्न संवैधानिक अधिकार पाएको सर्वोच्च लेखा परीक्षण निकाय महालेखा परीक्षकको ६२औं प्रतिवेदनले काभ्रेपलान्चोकको महाभारत गाउँपालिका शून्य बेरुजुमा देखिएको छ । 

महाभारत गाउँपालिकाले विगत केही वर्षदेखि वित्तीय अब्बलपन देखाइरहेको छ । महाभारत पालिकालाई ताप्लेजुङको पाथीभरा याङमारक, धादिङको बेनीघाटा रोराङ र ललितपुरको कोन्जोसोमले पछ्याइरहेका छन् । यी सबै पालिकाहरू तुुलनात्मक रूपमा दुर्गम भूगोलमा रहेका छन्, भौगोलिक जटिलता र विपद्का दृष्टिले संकटापन्न पनि छन् । यी गाउँपालिकाको वित्तीय अनुशासनले अन्य पालिका र प्रदेश एवम् संघीय सरकारलाई पनि प्रदर्शन प्रभाव पारिरहेका छन् । 

हुन त बेरुजु शून्य हुनुमात्र वित्तीय सुशासनको सूचक होइन तर यो एउटा महत्त्वपूर्ण सूचक चाहिँ हो । वित्तीय अनुशासनलाई अन्य आयामबाट पनि हेर्नुपर्ने हुन्छ । बजेट कार्यक्रमको सबलपन, नागरिक बजेटिङ, विनियोजन कुशलता र न्याय, नगद व्यवस्थापन, वित्तीय प्रतिवेदन, सम्पत्ति व्यवस्थापन, राजस्व परिचालन, कोषको स्थायित्व र नतिजा व्यवस्थापनजस्ता सूचकहरूबाट स्थानीय सरकारको वित्तीय व्यवस्थापनको मूल्यांकन गर्नुपर्ने हुन्छ । 

कतिपय पालिकाले कानुनले तोकेको मितिभित्र बजेट कार्यक्रमसमेत प्रस्तुत गर्न नसक्दा अन्य कार्य कसरी प्रभावकारी होला भन्ने स्वाभाविक प्रश्न उठ्छ । समयमा बजेट प्रस्तुत नगर्नु कानुन र राजनैतिक आधारमामात्र होइन, संवैधानिक आधार र संघीयताका दृष्टिमा समेत अनुचित हो । 

स्थानीय सरकार सबैभन्दा नजिकका नागरिक संस्था भएकाले स्थानीय आवश्यकता संवोधन र सम्भावना उपयोग गरी नागरिकको मन जित्ने दायित्व पनि उनीहरूकै हो । त्यसैले बेरुजु शून्य भएरमात्र पुग्दैन, समयमा बजेट आएरमात्र पनि पुग्दैन, यी प्राविधिक कुराका अतिरिक्त जनताको विश्वास जित्न सक्नुपर्छ । स्थानीय तहमा अतिरिक्त अवसर सिर्जना गरेर जनताको विश्वासको धरोहर बन्न सक्नुपर्छ । यसका आधारमा जनताले स्थानीय सरकारको मूल्यांकन गर्दछन् ।

स्थानीय सरकारमा आर्थिक अनुशासन कायम गर्न प्राविधिक आधारशिलाका रूपमा स्थानीय सञ्चित कोष व्यवस्थापन प्रणाली (सूत्र) स्थापना गरिएको छ । जसले बजेट प्रस्ताव, खर्च लेखांकन, राजस्व, धरौटी, विभाज्य कोष, प्रतिवदनलगायतका वित्तीय कारोबारसम्बन्धी क्रियाकलापलाई समेट्छ । यसले राजस्व तथा खर्चको अनुगमन व्यवस्थित गर्न सघाउँछ र भनिएको समयमा वित्तीय आँकडा प्राप्त गर्न सकिने भएकोले रकमान्तर, कार्यक्रम संशोधनजस्ता वित्तीय निर्णयलाई पनि सघाउँछ । 

तर पालिकाहरूको वित्तीय कारोबार विश्लेषण गर्दा बजेट प्रस्तावमात्र विनियोजनका सिद्धान्तअनुसार नभएका होइनन् कि अबण्डामा रकम राख्ने, सञ्चित कोषमा जिम्मेवारी नसार्ने, रकमान्तर गर्ने, वर्षान्तमा धेरै खर्च गर्ने, खर्च गर्दा प्रक्रिया र खर्च मानक पूरा नगर्ने, विभाज्य कोष र धरौटीको हिसाब वास्तविक नहुने, अनुदान सहायताको हिसाब राम्ररी नराख्ने, आन्तरिक नियन्त्रण तथा आन्तरिक लेखा परीक्षण नहुनेजस्ता स्थिति देखिएका छन् । शून्य बेरुजु भएको महाभारत गाउँपालिकाका प्रमुख कान्छाराम जिम्बाका अनुसार आर्थिक अनुशासन कायम गर्न ठूलो काम गर्नु पर्दैन, विद्यमान कानुनको परिपालन गरेमात्र पुग्छ । 

यस अर्थमा आर्थिक अनुशासन कमजोर भएका पालिकाहरू आर्थिक कानुनहरू परिपालनमा कमजोर छन् भनेर बुुझ्नु पर्दछ । स्थानीय सरकार विधि निर्माता पनि हुन्, उनीहरू आफ्नै प्रतिबद्धता अनुरूप विधिको पालनमा कमजोर हुनुु स्थानीय सरकारको सबल पक्ष होइन, यसले संघीयता विरोधी आवाजलाई पनि बढावा दिइरहेको छ । स्थानीय जनप्रतिनिधिहरूमा कानुनको बोध, कार्यान्वयनको वास्तविक प्रतिबद्धता र आचरणमा शुद्धता भएमात्र वित्तीय सुशासनमा पुग्दछन् । 

स्थानीय वित्तीय सुशासनको अर्को महत्त्वपूर्ण पक्ष वित्तीय दिगोपना हो । पालिकाहरू स्थानीय सरकारको हैसियतमा रहने भएकाले स्थानीय वित्तीय प्रणाली निर्माणमा उनीहरूले सामथ्र्य राख्नु पर्दछ । नगद व्यवस्थापन, बजेट व्यवस्थापन, दीर्घकालीन दायित्वको व्यवस्थापन र स्थानीय सेवा व्यवस्थापन दिगो वित्तीय व्यवस्थापनका आधार हुन् । यिनै सूचकका आधारमा स्थानीय शासनको प्रभावकारिता मापन गर्न सकिन्छ । चालू आर्थिक वर्षमा २ सय ५७ पालिकाले कानुनले तोकेको मितिमा बजेट प्रस्तुत गरेनन् । यसमा काठमाडौं, धरान तथा इटहरीजस्ता ठूला भूगोल, जनसंख्या र स्रोत भएका नगरपालिका समेत पर्दछन् । 

समयमा बजेट प्रस्तुत नगर्दा पहिलो दृष्टिमा नै स्थानीय वास्तविकताप्रति स्थानीय सरकार संवेदनशील छैन भन्ने देखिन्छ । यसले स्थानीय सेवा व्यवस्थापन र नागरिक आवश्यकतामा जनप्रतिनिधि सावधान छैनन् भन्ने देखाउँछ । त्यसपछिको प्रमुख काम नगद प्रवाहलाई व्यवस्थापन गर्नु हो । स्थानीय सञ्चित कोषमा सबै रकम एकैचोटि प्राप्त हुँदैन, पटकपटक गरी प्राप्त हुन्छ । प्राप्ति र खर्च व्यवस्थापनलाई उपयुक्त तालमेल मिलाउन नसकिए भुक्तानीमा समस्या आउँछ, विकास निर्माण व्यवस्थित हुँदैन । 

अहिले पुँजीगत खर्चको अनुपात न्यून हुनुुमा नगद व्यवस्थापन पनि एक कारण हो । आर्थिक वर्ष सुरु हुनासाथ प्रशासकीय तहबाट कति रकम कुन महिनामा खर्च हुन्छ र त्यसको प्राप्ति कसरी हुन्छ भन्ने निक्र्योल गर्नुपर्दछ । साथै पालिकाले सञ्चालन गर्नुपर्ने विकास निर्माण तथा अन्य दायित्व व्यवस्थापनका लागि रणनीतिक कार्यान्वयन चाहिन्छ । तदर्थ रूपमा गरिएको कामले कोष तथा सेवाबीच उपयुक्त सन्तुलन कायम गर्दैन । साथै विकास र वित्तको स्थानीयकरण भएन भने पनि स्थानीय स्वशासनको मर्म पूरा हुँदेन । यस अवस्थामा स्थानीय सरकारप्रतिको जनविश्वास गिर्न जान्छ । 

स्थानीय वित्तीय सुशासन कायम गर्न स्थानीय सरकारहरू संवैधानिक रूपमा सशक्तीकृत छन् । संविधान तथा कानुनअनुसार वित्तीय क्रियाकलापको स्वयम् निर्धारण, स्वयम् व्यवस्थापन, स्वयम् खर्च र स्वयम् नियन्त्रण गर्न पालिकाहरूलाई अधिकार छ । पालिकाहरूको आफ्नै बजेट, योजना, खर्च प्रणाली र प्रशासनिक व्यवस्था छ । अन्तिम लेखा परीक्षणमात्र महालेखा परीक्षकले गर्ने हो । 

लेखा परीक्षणले औंल्याएका कुराहरूको कार्यान्वयन पनि स्थानीय पालिकाले नै गर्दछन् । यस अर्थमा पालिकाहरू आफ्नो कार्यप्रणाली सञ्चालनका लागि अरूको मुख ताक्नुपर्ने अवस्थामा छैनन् । पालिकाहरू स्थानीय सुशासनका लागि सहकार्य तथा प्रतिस्पर्धासमेत गर्न सक्दछन् । तर समग्र पालिकाको वित्तीय व्यवस्थापन विश्लेषणबाट के निष्कर्ष निकाल्न सकिन्छ भने आफूलाई संविधानतः प्राप्त अधिकार र स्थानीय नागरिकहरूको अपेक्षा पूरा गर्न धेरैजसो पालिकाहरू पछि परेका छन् । सबै स्थानीय सरकार महाभारत गाउँपालिकाजस्तै शून्य बेरुजुमा रहनु पर्दछ । 

त्यतिमात्र होइन शून्य गुनासो, शून्य भ्रष्टाचार, शीघ्र सेवा व्यवस्थापन र उच्च नागरिक विश्वासमा रहनु पर्दछ । कार्यसम्पादनका हरेक पक्षमा नागरिक विवेचना, सहकार्य र अन्तरक्रियामा रहनु पर्दछ । लुकाएर होइन, देखाएर विश्वास जित्न सकिन्छ, भनेर होइन गरेर जनताको मन, मुटुमा बस्न सकिन्छ । यसो भएपछि स्थानीय सरकार सुशासनका केन्द्र बनी संघीय तथा प्रदेश सरकारलाई पनि असल अभ्यासका लागि प्रभाव पार्न सक्दछन् ।
 

(मैनाली, नेपाल सरकारका पूर्वसचिव हुन् ।)


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.