चेतन प्रवाहमा सा रे ग म

चेतन प्रवाहमा सा रे ग म

यो कविता काव्यले निष्कर्षमा यस्तो भनेको छ–
१.    नेपाल भन्नु भौगोलिक नेपाल मात्रै मात्र होइन, सांस्कृतिक नेपाल नै खास नेपाल हो । नेपालका सबै संस्कृति मिलेर नेपाली संस्कृति बनेको छ ।
२.    नेपालका कुनाकन्दराका पुराना–पुराना लोकगीत र लोकगाथाका आधारमा इतिहास खोजिनु पर्छ ।

३.    झलकमान, जर्मनका थुनिएका युद्धबन्दीले गाएका लोकगीत र लोककथा आदिका आधारमा पनि नेपाललाई बुझ्ने प्रयास गरिनुपर्छ ।
अनि यसले–
—    महाकाव्यले भन्दा पनि धेरै कुरालाई समेटेको छ ।
—    नेपाली कलाकारिताको विश्वव्यापी प्रभावकारिताको कुरा गरेको छ ।
साथै, यति धेरै विषयवस्तु भौगोलिक फैलावट, शताब्दीऔंको इतिहास, राजनीति, संस्कृति, कला ‘आदिलाई समेटेर आजसम्म नेपाली कविता जगत्मा यति लामो कविता सायदै लेखिएका छन् ।

यसर्थ, पाठकलाई अबको समयको सर्वेसर्वा र यति धेरै अधिकार सम्पन्न बनााउनु पनि सर्वथा नवीनता हो । यो कवितालाई समीक्षकबाट प्रशंसा गरिनुपर्ने जरुरी नै छैन । बरु यसलाई त पाठक र समीक्षकबाट सही मूल्यांकन चाहिएको छ । यस कविताभित्र के के छन् भनेर कवितालाई संकुचन गर्नुभन्दा के के छैनन् भनेर फैलिनुमा न्याय हुनेछ ।अब उक्त निष्कर्षलाई सुहाउँदो गरी तन्काएर हेरौं है त ।

लालगोपाल सुवेदीका यी कवितामा विशेष विचारधारा, भावनात्मक गहिराई र आधुनिकता स्पष्टसँग देख्न सकिन्छ । उनले जीवनका विभिन्न पाटालाई कवितामार्फत उजागर गरेका छन् । जीवन, प्रेम, आध्यात्मिकता र मानवतासम्बन्धी गहिरा भावनाहरू उनका कविताका गहना हुन् । आधुनिक काव्यशैली र पूर्वीय परम्परालाई मिश्रण गरेर कवितामा उत्कृष्टता प्रकट गर्ने उनको स्वभाव हो । उनी रचनाहरूलाई नयाँ प्रयोग र प्रयोगात्मक
शैलीमा प्रस्तुत गर्न रुचाउँछन् ।

प्रकृतिको सौन्दर्य र समाजका विविध पक्षबाट उनले कवितालाई अलग राख्न सक्दैनन् । उनका कवितामा प्राकृतिक दृष्यको चित्रण अद्भूत रूपमा भएको पाइन्छ । करिब दुई दर्जन कृतिका स्रष्टा उनलाई सिर्जनाहरूमा उच्छृंखल र अश्लील बन्नुछैन । अर्थात् उनी संवेदनशील विषयवस्तुप्रति सजगता अपनाउँछन् । सामाजिक, नैतिकता, मानवीय संवेदनालाई साथमा लिएर कविता लेख्ने कवि उनका कविताहरू अन्वेषणात्मक समीक्षाका लागि प्रेरणादायक छन् । उनका काव्यले पाठकलाई सोच्न, महसुस गर्न र जीवनका गहिराइमा डुबुल्की मार्न प्रेरित गर्छ ।

हिन्दु संस्कृतिमा वरपीलल, आँप, बेल र रंगीन फूलपत्ताहरू आदिद्वारा सजिएको ‘तोरण’ धार्मिक तथा शुभकार्यमा प्रयोग गरिने एउटा यस्तो सजावट हो । जसको उद्देश्य घरमा सकारात्मक ऊर्जा, समृद्धि, स्वास्थ्य र सुखको आगमन गराउनु हो । चेतन प्रवाहमा सा रे ग म प पनि जीवन र जगत्का आकर्षक फूलपत्ताहरू भाषा, संस्कृति, मौलिक जनजीवनका संवाद, जातीय संस्कार र परम्परा, भूगोल, इतिहास र जिन्दगीका अनेकौं उमंग तथा खिन्नताहरूका गीतसंगीत आदिद्वारा सजाएर 
गंगामाथि टाँगिएको यस्तै ‘तोरण’ हो ।

यो कृति ‘बाँच्नका लागि योग्य नै योग्य हुन्छन्’ को अस्तित्वभन्दा माथिको स्वरूप बनेर आएको छ । अनेकौं विषयवस्तु र विविधताले यसलाई स्वर्गको नन्दक बगैंचातुल्य बनाएको छ । यो नेपालीमा लेखिएका उत्कृष्ट कवितामध्ये कविताको महत्वपूर्ण कोसेढुंगो हो । जसरी आत्मा मन एवं आँखा आदि इन्द्रीयहरूबाट अलग छ, त्यसैगरी 
चेतन प्रवाहमा सा रे ग म प ।

नेपाली कविता साहित्यमा स्वयं साक्षी र द्रष्टा दुवै बनेर आएको छ । ऐनामा मुखको प्रतिबिम्ब देखिन्छ । परन्तु मुखको बिम्ब र प्रतिबिम्ब बेग्लै हुँदैनन् । यस कृतिले आरम्भदेखि नै जीवनजगत्का विविध विविधतालाई चिरफार गर्दैजाँदा चेतनामा जीवरूपबाट बनेका बिम्ब र त्यसको प्रतिबिम्बहरूलाई चेतनाबाट अलग नभएको बताउँदै गएको छ । अतः यो कृतिले आफूलाई ऐनारूपी उपाधिका संज्ञाका रूपमा परिचित गराएको छ ।

बुद्धिरूप उपाधि नरहनाले परआत्माको प्रतिबिम्ब रहँदैन । मात्रै नित्य ज्ञानरूप एक अखण्ड, निर्विकार आत्मा नै परिशिष्ट रहन्छ । यी सबै कुराको चेष्टालाई व्याख्या दिँदै गएको यो एक उत्कृष्ट जीवित कृति हो । अर्थात् यो कृतिको आँतमा धेरै प्राणी प्राणस्वरूपमा अवतरित छन् । सायद यस पुस्तकका स्रष्टाको लेखनमा वा भनौं कल्पनामा बौद्धिकताको जादुमय लीला हुनाले यसो हुन सकेको होला । स्रष्टाको लीला भए पनि वा नभए पनि यो पुस्तकमा कृतिको लीला भने यदुवंशी कृष्णको जस्तै अद्भूत छ ।

पुस्तकसँग अनौठो शक्ति छ, जसले हिँड्नेलाई उडाउँछ, कुद्नेलाई रकेटगति दिलाउँछ । यसलाई बरु कवि लालगोपाल सुवेदीको विकसित चेतनाको नतिजा हो भन्दा कृतिलाई साहित्यिक न्यायालयको तर्फबाट न्याय होला । यी कविसँग कविताका जुनसुकै फुटबल मैदानमा, पेले, म्याराडोना, मेस्सीजस्ता खेलाडी बनेर कवितालाई वा आफ्नो लेखकीय टिमलाई जिताएरै छाड्ने प्रचुर सामथ्र्य छ ।

कृतिमा कवि विभिन्न समय, सीमा, वर्ग, धर्म, संस्कार, संस्कृति, पुरुषार्थ, गाउँ, शहर, इतिहास, भूगोल, मन्दिर, मौलिक परम्परा, भाषा, समाज, राष्ट्र, राष्ट्रियता र समस्त विश्वजगत्का पात्र बनेर अवतरित भएका छन् । उनीहरूको चेतनासँग सहज, सरल र गम्भीर तरिकाले वार्ता गरेका छन् । अन्तमा वार्ताको निष्कर्ष दिएका छन् । पढ्दैजाँदा लाग्छ, चेतना नदी हो र यो बग्नैपर्छ । यसरी यो सा रे ग म पको धूनबाट निर्मित गीतसंगीतको एक विशालफाँट हो ।

यो पुस्तक चेतनाको एउटा विशाल लोकालय हो जहाँ वनपाखाका सुरिला लोकगीतहरूका साथ बुढापाकाहरूबाट प्राचीन कल्पनाका रमाइला लोककथाहरू सुन्न पाइन्छ । यहाँका मौलिकता बोकेका नौमती बाजामा नाँच्न गाउन पाइन्छ । चेतन र अवचेतन मनसँग साक्षात्कार र संवाद गर्न पाइन्छ । चार जात ३६ वर्णका मानिससँग नमस्कार र आत्मीयता आदानप्रदान गर्न पाइन्छ । यसबाट अनेकौं अनुकरणीय आचरण सिक्न र सिकाउन पाइन्छ ।

चेतन प्रवाहमा सा रे ग म पले नेपाली इतिहासको लामो यात्रा गरेको छ । त्यसैले त यो पुस्तकमा एउटै कविताले १५८ पेजको एउटा सिंगो पुस्तक छिचोलेको छ । विभिन्न विषयमा दृष्टिकोणहरूको न्युनकोण, समकोण, अधिककोण, बृहत्कोण र पूर्णकोण सबैको दर्पण हो, यो कृति । यो दर्पणमा राष्ट्रभित्र भएका तमाम घटनाहरू, घटनाकारहरू, मानव उत्पतिका गोरेटाहरू, वेदपुराण, उपनिषदादिहरू, गण्डकी–बाग्मती सभ्यताहरू, आदिवासीहरू, ऐतिहासिक ढुंगेधाराहरू, राष्ट्रिय विभूतिहरू, विनाशकारी भूकम्पहरू आदिका जस्ताका तस्तै अनुहारहरू विभिन्न कोणहरूमा देखिन्छन् ।

‘संवेदनशील आइमाईको हृदयबाट मानव जातिको सुख प्रवाहित हुन्छ र उसैको आत्माको भद्रताबाट मानव जातिको माया प्रेम मौलाउँछ’, खलिल जिब्रानको यो भनाइले भने झैं यो कृति संवेदनशीलताको त्यही हृदय हो । जहाँ मानवजातिका कैयन कैफियत दुःखसुखका इतिहास बनेर प्रवाहित छन् । १५८ पेजको यो कविता निकै लामो प्रयोगसिद्ध कविता हो । कविता खण्डकाव्य र महाकाव्यका बीचमा बनेको बलियो सेतू हो । अतः यो ‘अखण्ड काव्य’ हो ।
 


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.