चेतन प्रवाहमा सा रे ग म
यो कविता काव्यले निष्कर्षमा यस्तो भनेको छ–
१. नेपाल भन्नु भौगोलिक नेपाल मात्रै मात्र होइन, सांस्कृतिक नेपाल नै खास नेपाल हो । नेपालका सबै संस्कृति मिलेर नेपाली संस्कृति बनेको छ ।
२. नेपालका कुनाकन्दराका पुराना–पुराना लोकगीत र लोकगाथाका आधारमा इतिहास खोजिनु पर्छ ।
अनि यसले–
— महाकाव्यले भन्दा पनि धेरै कुरालाई समेटेको छ ।
— नेपाली कलाकारिताको विश्वव्यापी प्रभावकारिताको कुरा गरेको छ ।
साथै, यति धेरै विषयवस्तु भौगोलिक फैलावट, शताब्दीऔंको इतिहास, राजनीति, संस्कृति, कला ‘आदिलाई समेटेर आजसम्म नेपाली कविता जगत्मा यति लामो कविता सायदै लेखिएका छन् ।
यसर्थ, पाठकलाई अबको समयको सर्वेसर्वा र यति धेरै अधिकार सम्पन्न बनााउनु पनि सर्वथा नवीनता हो । यो कवितालाई समीक्षकबाट प्रशंसा गरिनुपर्ने जरुरी नै छैन । बरु यसलाई त पाठक र समीक्षकबाट सही मूल्यांकन चाहिएको छ । यस कविताभित्र के के छन् भनेर कवितालाई संकुचन गर्नुभन्दा के के छैनन् भनेर फैलिनुमा न्याय हुनेछ ।अब उक्त निष्कर्षलाई सुहाउँदो गरी तन्काएर हेरौं है त ।
लालगोपाल सुवेदीका यी कवितामा विशेष विचारधारा, भावनात्मक गहिराई र आधुनिकता स्पष्टसँग देख्न सकिन्छ । उनले जीवनका विभिन्न पाटालाई कवितामार्फत उजागर गरेका छन् । जीवन, प्रेम, आध्यात्मिकता र मानवतासम्बन्धी गहिरा भावनाहरू उनका कविताका गहना हुन् । आधुनिक काव्यशैली र पूर्वीय परम्परालाई मिश्रण गरेर कवितामा उत्कृष्टता प्रकट गर्ने उनको स्वभाव हो । उनी रचनाहरूलाई नयाँ प्रयोग र प्रयोगात्मक
शैलीमा प्रस्तुत गर्न रुचाउँछन् ।
प्रकृतिको सौन्दर्य र समाजका विविध पक्षबाट उनले कवितालाई अलग राख्न सक्दैनन् । उनका कवितामा प्राकृतिक दृष्यको चित्रण अद्भूत रूपमा भएको पाइन्छ । करिब दुई दर्जन कृतिका स्रष्टा उनलाई सिर्जनाहरूमा उच्छृंखल र अश्लील बन्नुछैन । अर्थात् उनी संवेदनशील विषयवस्तुप्रति सजगता अपनाउँछन् । सामाजिक, नैतिकता, मानवीय संवेदनालाई साथमा लिएर कविता लेख्ने कवि उनका कविताहरू अन्वेषणात्मक समीक्षाका लागि प्रेरणादायक छन् । उनका काव्यले पाठकलाई सोच्न, महसुस गर्न र जीवनका गहिराइमा डुबुल्की मार्न प्रेरित गर्छ ।
हिन्दु संस्कृतिमा वरपीलल, आँप, बेल र रंगीन फूलपत्ताहरू आदिद्वारा सजिएको ‘तोरण’ धार्मिक तथा शुभकार्यमा प्रयोग गरिने एउटा यस्तो सजावट हो । जसको उद्देश्य घरमा सकारात्मक ऊर्जा, समृद्धि, स्वास्थ्य र सुखको आगमन गराउनु हो । चेतन प्रवाहमा सा रे ग म प पनि जीवन र जगत्का आकर्षक फूलपत्ताहरू भाषा, संस्कृति, मौलिक जनजीवनका संवाद, जातीय संस्कार र परम्परा, भूगोल, इतिहास र जिन्दगीका अनेकौं उमंग तथा खिन्नताहरूका गीतसंगीत आदिद्वारा सजाएर
गंगामाथि टाँगिएको यस्तै ‘तोरण’ हो ।
यो कृति ‘बाँच्नका लागि योग्य नै योग्य हुन्छन्’ को अस्तित्वभन्दा माथिको स्वरूप बनेर आएको छ । अनेकौं विषयवस्तु र विविधताले यसलाई स्वर्गको नन्दक बगैंचातुल्य बनाएको छ । यो नेपालीमा लेखिएका उत्कृष्ट कवितामध्ये कविताको महत्वपूर्ण कोसेढुंगो हो । जसरी आत्मा मन एवं आँखा आदि इन्द्रीयहरूबाट अलग छ, त्यसैगरी
चेतन प्रवाहमा सा रे ग म प ।
नेपाली कविता साहित्यमा स्वयं साक्षी र द्रष्टा दुवै बनेर आएको छ । ऐनामा मुखको प्रतिबिम्ब देखिन्छ । परन्तु मुखको बिम्ब र प्रतिबिम्ब बेग्लै हुँदैनन् । यस कृतिले आरम्भदेखि नै जीवनजगत्का विविध विविधतालाई चिरफार गर्दैजाँदा चेतनामा जीवरूपबाट बनेका बिम्ब र त्यसको प्रतिबिम्बहरूलाई चेतनाबाट अलग नभएको बताउँदै गएको छ । अतः यो कृतिले आफूलाई ऐनारूपी उपाधिका संज्ञाका रूपमा परिचित गराएको छ ।
बुद्धिरूप उपाधि नरहनाले परआत्माको प्रतिबिम्ब रहँदैन । मात्रै नित्य ज्ञानरूप एक अखण्ड, निर्विकार आत्मा नै परिशिष्ट रहन्छ । यी सबै कुराको चेष्टालाई व्याख्या दिँदै गएको यो एक उत्कृष्ट जीवित कृति हो । अर्थात् यो कृतिको आँतमा धेरै प्राणी प्राणस्वरूपमा अवतरित छन् । सायद यस पुस्तकका स्रष्टाको लेखनमा वा भनौं कल्पनामा बौद्धिकताको जादुमय लीला हुनाले यसो हुन सकेको होला । स्रष्टाको लीला भए पनि वा नभए पनि यो पुस्तकमा कृतिको लीला भने यदुवंशी कृष्णको जस्तै अद्भूत छ ।
पुस्तकसँग अनौठो शक्ति छ, जसले हिँड्नेलाई उडाउँछ, कुद्नेलाई रकेटगति दिलाउँछ । यसलाई बरु कवि लालगोपाल सुवेदीको विकसित चेतनाको नतिजा हो भन्दा कृतिलाई साहित्यिक न्यायालयको तर्फबाट न्याय होला । यी कविसँग कविताका जुनसुकै फुटबल मैदानमा, पेले, म्याराडोना, मेस्सीजस्ता खेलाडी बनेर कवितालाई वा आफ्नो लेखकीय टिमलाई जिताएरै छाड्ने प्रचुर सामथ्र्य छ ।
कृतिमा कवि विभिन्न समय, सीमा, वर्ग, धर्म, संस्कार, संस्कृति, पुरुषार्थ, गाउँ, शहर, इतिहास, भूगोल, मन्दिर, मौलिक परम्परा, भाषा, समाज, राष्ट्र, राष्ट्रियता र समस्त विश्वजगत्का पात्र बनेर अवतरित भएका छन् । उनीहरूको चेतनासँग सहज, सरल र गम्भीर तरिकाले वार्ता गरेका छन् । अन्तमा वार्ताको निष्कर्ष दिएका छन् । पढ्दैजाँदा लाग्छ, चेतना नदी हो र यो बग्नैपर्छ । यसरी यो सा रे ग म पको धूनबाट निर्मित गीतसंगीतको एक विशालफाँट हो ।
यो पुस्तक चेतनाको एउटा विशाल लोकालय हो जहाँ वनपाखाका सुरिला लोकगीतहरूका साथ बुढापाकाहरूबाट प्राचीन कल्पनाका रमाइला लोककथाहरू सुन्न पाइन्छ । यहाँका मौलिकता बोकेका नौमती बाजामा नाँच्न गाउन पाइन्छ । चेतन र अवचेतन मनसँग साक्षात्कार र संवाद गर्न पाइन्छ । चार जात ३६ वर्णका मानिससँग नमस्कार र आत्मीयता आदानप्रदान गर्न पाइन्छ । यसबाट अनेकौं अनुकरणीय आचरण सिक्न र सिकाउन पाइन्छ ।
चेतन प्रवाहमा सा रे ग म पले नेपाली इतिहासको लामो यात्रा गरेको छ । त्यसैले त यो पुस्तकमा एउटै कविताले १५८ पेजको एउटा सिंगो पुस्तक छिचोलेको छ । विभिन्न विषयमा दृष्टिकोणहरूको न्युनकोण, समकोण, अधिककोण, बृहत्कोण र पूर्णकोण सबैको दर्पण हो, यो कृति । यो दर्पणमा राष्ट्रभित्र भएका तमाम घटनाहरू, घटनाकारहरू, मानव उत्पतिका गोरेटाहरू, वेदपुराण, उपनिषदादिहरू, गण्डकी–बाग्मती सभ्यताहरू, आदिवासीहरू, ऐतिहासिक ढुंगेधाराहरू, राष्ट्रिय विभूतिहरू, विनाशकारी भूकम्पहरू आदिका जस्ताका तस्तै अनुहारहरू विभिन्न कोणहरूमा देखिन्छन् ।
‘संवेदनशील आइमाईको हृदयबाट मानव जातिको सुख प्रवाहित हुन्छ र उसैको आत्माको भद्रताबाट मानव जातिको माया प्रेम मौलाउँछ’, खलिल जिब्रानको यो भनाइले भने झैं यो कृति संवेदनशीलताको त्यही हृदय हो । जहाँ मानवजातिका कैयन कैफियत दुःखसुखका इतिहास बनेर प्रवाहित छन् । १५८ पेजको यो कविता निकै लामो प्रयोगसिद्ध कविता हो । कविता खण्डकाव्य र महाकाव्यका बीचमा बनेको बलियो सेतू हो । अतः यो ‘अखण्ड काव्य’ हो ।
प्रतिक्रिया दिनुहोस !