लागुपदार्थको सेवन : लतमात्र होइन !
मद्यपान र धूमपानभन्दा हजारौं गुणा हानिकारक र खतरनाक छ, लागुपदार्थ । मद्यपान र धूम्रपानले त बरु केही वर्षमा गएर रोगहरू जन्माउँछन् भने लागुपदार्थहरूले तुरुन्तै असर गर्छन् । यी पदार्थहरू यति खतराजनक छन् कि दुई/चार पटक प्रयोग गर्दैमा बानी बसिहाल्दछ । यी पदार्थहरूले रगत र शरीरमा यस्ता असरहरू छाड्छन्, जसको अभावमा सेवनकर्ता सुखमय भएर जिउन सक्दैन । यी पदार्थको दुव्र्यसनीहरूले जब यी वस्तुहरू पाउँदैनन्, उनीहरू प्रायः अचेत हुन्छन् । तब उनीहरू यी पदार्थ पाउन जे जस्ता कार्य (अपराध) पनि गर्न तयार हुन्छन् । यिनीहरू यी वस्तुको सेवन गरेर मुर्दाको रूपमा सुतिरहेका हुन्छन् । जब उनीहरू निद्राबाट ब्युँझिन्छन्, फेरि यही पदार्थ सेवन गर्न उद्यत् हुन्छन् । स्म्याक, ब्राउन सुगर, एलएसडीजस्ता कैयौं नामका लागुपदार्थहरू आजकल प्रयोगमा ल्याइएका छन् । यस्ता पदार्थहरू तरल र इनजेक्सनका रूपमा पनि प्रयोगमा ल्याइएका छन् ।
सन् १९६० को दशकमा व्यस्त जीवनबाट छुट्कारा पाउन चाहने पश्चिमी देशका युवायुवतीहरू पर्यटकको रूपमा नेपाल आउनु र साथमा विभिन्न किसिमका लागुपदार्थ भित्रिनु साथै पश्चिमी भन्नासाथ अन्धाधुन्ध अनुकरण गरिने परिपाटी केही नेपालीमा पनि देखिन थाल्यो । समाजमा चलेको मूल्य, मान्यता र व्यवहार आदिलाई वास्ता नगरी आनन्दी र बन्धनमुक्त हुने आशयले काठमाडौंको मन्दिर, गल्ली र रेस्टुँरा, होटेलमा लागुपदार्थ सेवन गरेर आफ्नै मोजमस्तीमा रम्ने गरेको व्यवहार नेपाली युवा जमातले पनि सिके । यसको नकारात्मक असरले गर्दा देशका युवापुस्तालाई समेत विस्तार विस्तार गाँज्न थाल्यो र उनीहरूको नैतिकता, धर्म संस्कृतिमाथि समेत ह्रास हुन थालको अनुभूति हुन थाल्यो ।
अर्काको देखासिकी गर्न वा तन्द्रामा रम्न, गाँजा चरेस, हेरोइन आदि पदार्थ सेवनमा आकर्षित हुन थाल्नाले हाम्रो देशमा पनि दुव्र्यसनको समस्याले पिरोल्न थालेको देखिन्छ । यस्तै दुव्र्यसनका कारणले गर्दा एचआईभी/एड्स संक्रमण, चोरी, लुट, बलात्कार, हत्या, डकैती, यसको बेचबिखन, कालाबजारीजस्ता असामाजिक व्यवहार तथा अपराधले गर्दा आज आएर युवा जगत नै बदनामी र बरबाद भई देशकै अवस्था कमजोर भन्नुमा अत्युक्ति नहोला । हाम्रो देशमा लागुपदार्थ सेवन गर्नेहरूको संख्या करिब डेढ लाख पुगिसकेको अनुमान गरिएको छ । साथै युवाहरूमा मानसिक तनाव बढ्न गई लागुपदार्थ दुव्र्यसनमा फस्न गइरहेका छन् । सोबाट युवा जनशक्तिलाई बचाउनुपर्ने समेत ठूलो चुनौतीको रूपमा खडा भएको छ । विश्वमा गएको शताब्दीबाट लागुऔषध कारोबार धेरै बढेको पाइन्छ । लागुऔषधको असन्तुलित प्रयोगले मात्र विश्वमा बर्सेनि १९ लाख मानिसको मृत्यु हुने गर्दछ भने यसको प्रयोग गर्ने मान्छेको संख्या यकिन गर्न सकिने अवस्थामा छैन् । नेपाल लागुऔषध ट्रान्जिटको जोखिममा छ ।
शारीरिक र मानसिक पीडा, राजनीतिक बिक्री, निहित स्वार्थ आदिको समेतको तनावलाई भुल्न तथा मुक्त गर्न युवाहरू लागुपदार्थ सेवन गर्ने गरेको पाइन्छ । जसले गर्दा शरीरको कार्यमा नकारात्मक प्रभाव पार्दछ । यसअन्तर्गत धेरै वस्तुहरू पर्छन् । जस्तैः अफिम, हेरोइन (स्म्याक, ह्वाइट पाउडर), पेथेडिन, अफिम कोडिन, गाँजा, चरेस, कोकिन इत्यादि । त्यस्तै चेतना, मनस्थिति र व्यवहारलाई प्रभावित पार्ने अरू पनि धेरै औषधिहरू छन् । जो चक्की वा झोलमा हुन्छन् । तिनीहरूलाई ‘मनोद्विपक औषधि’ भनिएता पनि लागुपदार्थ नै हुन् । फरक यतिमात्र हो कि यसको सेवन र कारोवार अवैध मानिँदैन तर यसमा हाल आएर गृह मन्त्रालय, औषधि व्यवस्था विभाग र अधिकार प्राप्त सम्बन्धित डाक्टरको सिफारिस बिना क्रमशः आयात, बिक्रीको लागि राख्न तथा बिरामीले प्रयोग गर्न समेत निषेध गरिएको छ । त्यसकारण मानिसको स्नायु प्रणालीलाई प्रभावित पारी चेतना, अनुभूति र मनोभावलाई विकृति आउने कुनै पदार्थ वा त्यस्तो पदार्थबाट प्रशोधित औषधिलाई नै लागुपदार्थ भनिन्छ । लागुपदार्थ त्यस्तो पदार्थ हो जसको सेवनले लठ्ठिने, उत्तेजित हुने, बर्बराउने, उन्मुक्त हुने, शिथिल हुने जस्ता अवस्थामा पुग्छन् । यदि सेवन गर्न नपाए छट्पटिने, रुने कराउने गर्छन् ।
लागुपदार्थको सेवन गलत लत मात्र नभएर मृत्यु पनि हो । लागु औषधिको उत्पादनदेखि बिक्री वितरण, ओसारपसार, दुरुपयोग र सेवनकर्ता सबै पक्षमा नियन्त्रणको प्रभावकारी नीति र संयन्त्र भई समस्या हल गर्न मद्दत पुग्नेछ । नेपाललाई यसबाट बचाउनु आज हामी सबैको कर्तव्य हुन आएको छ । त्यसैले जनचेतना र सद्व्यवहारजस्ता हाम्रा संकल्प र प्रयासहरूले मात्र दुव्र्यसनमा रोक लगाउन सकिन्छ ।
प्रतिक्रिया दिनुहोस !