ज्येष्ठ नागरिकको जीवन

ज्येष्ठ नागरिकको जीवन

नागरिकको राज्यप्रति कर्तव्य भएझैं राज्यको पनि व्यक्तिप्रति जिम्मेवारी हुन्छ । विशेषतः यो जिम्मेवारी ज्येष्ठ नागरिकप्रति रहन्छ ।

सामान्यता ६० वर्षमाथि उमेर पुगेका समूहलाई बुढ्यौली अवस्था भनिन्छ । उमेरसँगसँगै शरीरमा विभिन्न प्रकारका स्वाथ्य समस्याहरू देखा पर्छन् । विशेषगरी वृद्धावस्थामा लाग्ने रोगहरूलाई उमेरअनुसार शरीरमा आएको सामान्य परिवर्तन सोची हेलचेक्र्याइँ गर्ने गरेको देखिन आउँछ । वृद्धा   श्रममा प्रायः सबै कुनै न कुनै स्वास्थ्य समस्याले ग्रस्त रहेका तथा निरन्तर औषधि सेवन गरिरहेका छन् । 

वृद्धा अवस्थामा धेरै सताउने रोगमध्ये दम र मधुमेह पनि एक हो । शरीरको प्यान्क्रियाजबाट निस्कने इन्सुलिन नामको ग्रन्थी रस कम भएर वा यसले गर्नुपर्ने काममा रोकावट आई रगतमा ग्लुकोजको मात्रा बढेर मधुमेह हुने गर्छ । यो एक दीर्घरोग हो, यसले विश्वको ठूलो जनसंख्यालाई प्रभाव पारेको छ । विश्व स्वास्थ्य संगठनको एक तथ्यांकअनुसार सन् २००० मा २ दशमलव ८५ प्रतिशत जनसंख्यालाई मधुमेह भएको पाइएको थियो । र, सन् २०३० सम्ममा यो बढेर ४ दशमलव ४५ प्रतिशत हुने अनुमान गरिएको छ । बुढ्यौलीपनले छोएपछि स्वास्थ्यमा धेरै किसिमका रोगले च्याप्ने गर्छ । त्यसमध्ये दम मुख्य रोग नै हो । सबैभन्दा बढी वृद्धवृद्धालाई दमको समस्याले ग्रस्त बनाएको छ ।

श्वासप्रश्वासको प्रमुख अंग फोक्सोमा कुनै रोगका कारण असर परेर श्वासप्रश्वासमा उत्पन्न हुने समस्या वा अप्ठेरो नै सामान्य अर्थमा दम हो । यो वास्तवमा कुनै रोग नभएर विभिन्न रोगहरूको लक्षण हो । यसको प्रमुख कारण फोक्सोमा कुनै कारणबाट हुने खराबी हो । यही फोक्सो बिग्रिएर रगतमा पुग्ने अक्सिजनको प्रवाहमा गडबडी उत्पन्न भएमा श्वास फेर्न गाह्रो हुन्छ । हरेक नागरिकप्रति राज्यको निश्चित दायित्व हुन्छ । त्यसमा पनि वृद्धवृद्धाप्रति विशेष जिम्मेवारी हुनु स्वाभाविक हो । सबै नागरिकले उमेर हुन्जेल देशको लागि केही न केही गरेका हुन्छन् नै । नागरिकको राज्यप्रति कर्तव्य भएझैं राज्यको पनि व्यक्तिप्रति जिम्मेवारी हुन्छ । विशेषतः यो जिम्मेवारी वृद्धावस्थाका नागरिकप्रति रहन्छ । श्रम र शक्तिमा कम हुने वृद्धवृद्धालाई विशेष हेरचाहको आवश्यकता हुन्छ । कार्यक्षमतामा कमी हुने भएकाले आर्थिक रूपमा पनि उनीहरू क्मजोर रहन्छन् । यसको कारण परिवार, समाजबाट पनि पर्याप्त माया–ममता, प्रतिष्ठा, स्याहारसुसार पाउँदैनन् । व्यस्त र यान्त्रिक जीवनशैलीका कारण संयुक्त परिवारको चलन हराउँदै गइरहेको छ । 

६० वर्षभन्दा माथिका उमेरका ज्येष्ठ नागरिकहरूलाई आर्थिक हिसाबले ‘निष्क्रिय’ जनसंख्या मान्ने चलन छ । तर नेपालमा सबै ज्येष्ठ नागरिकका लागि यो परिभाषा लागू हुँदैन । सन् २००८ मा नेपालमा गरिएको श्रम सर्वेक्षणको नतिजाले देखाएअनुसार यस्ता ज्येष्ठ नागरिकहरूको नेपालको कूल श्रमशक्तिमा ०.६ प्रतिशत योगदान छ (राष्ट्रिय श्रमशक्ति सर्वेक्षण, २००८) । ग्रामीण क्षेत्रमा बस्नेमात्र होइन, सहरी क्षेत्रमा बसोबास गर्ने ज्येष्ठ नागरिकहरूको स्थिति पनि दयनीय छ । बढ्दो आधुनिकता र प्रविधिले गर्दा घरभित्रकै युवा पुस्ता र बालबालिकाहरूसँगको हजुरबा, हजुरआमाको सम्बन्ध टाढिँदै गएको छ । अझ धेरैजसो युवायुवतीहरू उच्च शिक्षा तथा गुणस्तरीय शिक्षा र राम्रो कामको लागि घरपरिवार छाडेर बाहिरिनुपर्ने बाध्यता पनि छ । यसले गर्दा पनि उनीहरूले आफ्ना बाबुआमाको राम्रो हेरचाह गर्न र सँगै बस्न नपाउने स्थिति छ ।

फलस्वरूप वृद्ध बाबुआमाहरूले नितान्त एक्लिएको महसुस गर्ने, एक्लैएक्लै बसेर जीवन गुजारा गर्नुपर्ने हुन्छ । अझ हातखुट्टा राम्रोसँग नचल्दा र शरीरको राम्रो हेरचाह नपुग्दा आवश्यक काम पनि गर्न नसक्ने जस्ता अनेक मानसिक तथा शारीरिक तनावहरू उत्पन्न हुने गर्छन् । कतिपय ज्येष्ठ नागरिकहरूले काम गरिरहे पनि उनीहरूले कामअनुसारको ‘दाम’ भने नपाएको स्थिति छ । गाउँघरमा जस्तो सहरी क्षेत्रका पाका व्यक्तिहरू उत्पादनशील काममा लाग्ने गरेको कमै पाइन्छ । घरभित्रको काम गरे पनि आम्दानीमूलक काम उनीहरूसँग हुँदैन । जसले गर्दा आफूले खर्च गर्न मन लागेको बेला खर्च गर्न उनीहरूले पैसा पाउँदैनन् । यसरी सहरमा बस्ने ज्येष्ठ नागरिकहरू पनि अनेक समस्याले जेलिएका छन् । 

ज्येष्ठ नागरिकहरूको व्यावहारिक अनुभवको महत्त्व छ । वृद्धहरूले आफू सक्रिय भएर काम गर्न सक्दैनन् तर काम कसरी गर्दा प्रभावकारी हुन्छ भनी युवाहरूलाई सिकाउन सक्छन् । वृद्धहरूसँग बितेको समयको ज्ञान र अनुभव हुन्छ, जसलाई हामी इतिहासका रूपमा अध्ययन गर्न सक्छौं । वृद्धहरूलाई सिर्जनात्मक काममा लगाई देश विकासमा सहभागी गराउन सकिन्छ । हामीलाई परम्परागत मूल्य, मान्यता, रीतिरिवाज आदिका बारेमा ज्ञान प्राप्त हुन्छ । वृद्धहरू हामीलाई जीवन प्रदान गर्ने जन्मदाता हुन् र हाम्रो भविष्य राम्रो बनाउने कार्यमा उनीहरूको सक्रिय भूमिका रहन्छ । वृद्धहरूबाट परिवारमा बालबच्चाको उचित हेरचाह र ठूलाले आवश्यक सुझाव र सहयोग प्राप्त गर्दछन् ।

नेपालको संविधान २०७२ ले ६० वर्ष वा सोभन्दा माथिको उमेरसमूहलाई ज्येष्ठ नागरिक भनी परिभाषित गरेको छ । मानसिक स्वास्थ्य समस्याका बारेमा कुरा गर्दा यो एउटा जोखिमको उमेर हो । विश्व स्वास्थ्य संगठनले ६० वर्ष वा सोभन्दा माथिका लगभग १५ प्रतिशत मानिस कुनै न कुनै प्रकारका मानसिक विकारबाट पीडित छन् भन्ने तथ्य प्रस्तुत गरेको छ । ज्येष्ठ नागरिकमा देखा पर्ने मानसिक समस्यामा उदासीनता, चिन्ता, तनाव, आघात, समायोजन, लागुपदार्थ दुरुपयोग आदि पर्छन् । सामान्यतया यो अवस्थामा मानसिक स्वास्थ्यमा समस्या बढ्नुका केही कारणमा शारीरिक परिवर्तन, एक्लोपन, परनिर्भरता, अवकाशपछिको योजना नहुनु साथै शारीरिक रोगहरू र अनिद्रा आदि पर्छन् । त्यस्तै अहिलेको समयानुकूल नयाँ प्रविधिबारे जानकार नहुँदा र बढी चिन्ता लिने बानीले गर्दा पनि ज्येष्ठ नागरिकमा मानसिक समस्याले सताउने गरेको पाइएको छ । 

नेपालको सन्दर्भमा विगतको तुलनामा बुढ्यौली जनसंख्यामा वृद्धि हुँदै गएको पाइन्छ । तथ्यांकअनुसार नेपालमा कुल जनसंख्याको करिब ८ प्रतिशत जनसंख्या बुढ्यौली रहेको देखिन्छ । जसमध्ये पनि प्रत्येक १० जनामा ६ जना ६०—७० को उमेर समूहमा रहेका छन् भने जम्मा बुढ्यौली जनसंख्या पाँच भागको एक भाग बुढ्यौली जनसंख्या ७५ वर्ष माथिको रहेको छ । बुढ्यौली जनसंख्याको सूचकको रूपमा लिइने मध्यउमेर नेपालमा २२.२३ वर्ष रहेको छ । यस कारण नेपालको जनसंख्याको मध्यउमेर २० वर्षमाथि भएकाले यो जनसंख्या बुढ्यौली उन्मुख जनसंख्या हो । सन् २०२१ को विश्व जनसंख्या तथ्यांक तालिकाका अनुसार नेपालको औसत आयु पुरुषको ७१ वर्ष र महिलाको ७३ वर्ष रहेको छ । यसैगरी वृद्ध आ ि  श्रत अनुपात सन् २०२१ को जनगणनाअनुसार १४.०६ रहेको छ भने बुढ्यौली जनसंख्याको लैंगिक अनुपात २००१ मा १०१ र २०११ मा ९८ रहेकोमा २०२१ मा ९४ रहेको छ । यसैगरी बुढ्यौली सूचकांक सन् २०२१ को जनगणना अनुसार ३६.७ रहेको छ । 

राष्ट्रिय तथ्यांक कार्यालयबाट प्रकाशित गरिएको राष्ट्रिय जनगणना २०७८ को मुख्य नतिजामा उल्लेख गरिएअनुसार कुल जनसंख्याको ६१.९६ प्रतिशत १५ देखि ५९ वर्ष उमेरका रहेका छन् । गत २०६८ सालमा यो उमेरसमूहका जनसंख्या ५६.९६ प्रतिशत मात्र रहेको थियो । हाल १४ वर्ष वा सोभन्दा कम उमेरका र ६० वर्ष वा सोभन्दा माथिल्लो उमेरका जनसंख्या क्रमशः २७.८३ प्रतिशत र १०.२१ प्रतिशत रहेको छ । ज्येष्ठ नागरिकसम्बन्धी पहिलो विश्व सम्मेलन सन् १९८२ जुलाई २६ देखि अगस्ट ६ सम्म अस्ट्रियाको भियनामा भएको थियो । दोस्रो सम्मेलन सन् २००२ अप्रिल ८ देखि १२ स्पेनको म्याड्रिडमा सम्पन्न गरियो । सन् १९९० मा बसेको संयुक्त राष्ट्रसंघ महासभाले प्रत्येक वर्ष १ अक्टोबरलाई अन्तर्राष्ट्रिय ज्येष्ठ नागरिक दिवस मनाउने प्रस्ताव पारित गरेको थियो । पारित प्रस्तावमा वृद्धवृद्धाहरूका स्वतन्त्रता, सहभागिता, रेखदेख, आत्मसन्तुष्टि र मर्यादालाई प्राथमिकता दिनुपर्ने उल्लेख छ । 

ज्येष्ठ नागरिकमाथि हुने विभिन्न प्रकारका दुव्र्यवहारमध्येमा पाँच प्रकारका दुव्र्यवहार प्रमुख छन्ः
शारीरिक दुर्व्यवहार : मारपिट गर्नु, जबरजस्ती काम लगाउनु, औषधि उपचार नदिनुजस्ता व्यवहार हुँदै आएको छ ।
आर्थिक शोषण : जग्गाजमिन हिनामिना गर्नु, पेन्सन वा आम्दानीको स्रोत कब्जा गर्नु, जबरजस्ती सम्पत्ति आफ्नो नाममा गराउनु जस्ता काम यसभित्र पर्छन् ।
भावनात्मक दुर्व्यवहार : गालीगलौज, उपेक्षा, बेइज्जती, दोष लगाउने, आदर सम्मान नगर्ने, पारिवारिक राय सुझाव नमान्ने, व्यवहार भावनात्मक दुर्व्यवहारका रूप हुन् ।

यौन दुर्व्यवहार : ज्येष्ठ नागरिकको इच्छाविपरीत जबरजस्ती उनीहरूलाई यौन सम्बन्धित कार्यमा लगाउनु, स्वीकृतिबिना करणी गर्नु वा करणी गर्ने मनसायको क्रियाकलाप गर्नु, संवेदनशील अंगमा छुनु जस्ता व्यवहार यौन दुव्र्यवहारभित्र पर्छन् ।
 बेवास्ता : यसमा खाना, लुगा, स्वास्थ्य, उपचार, स्याहार संहारमा बेवास्ता गर्नु, आवश्यकता पूरा नगर्नु जस्ता क्रियाकलाप पर्छन् । 

नेपालको संविधान २०७२ को धारा ४१ मा ज्येष्ठ नागरिकलाई राज्यबाट विशेष संरक्षण र सामाजिक सुरक्षाको हक हुनेछ भनी मौलिक हकको व्यवस्था गरिएको छ । ज्येष्ठ नागरिक (पहिलो संशोधन) ऐन, २०७२ मा यदि कसैले ज्येष्ठ नागरिकमाथि कुनै पनि अपराध गरेको खण्डमा कसुर हेरी १० हजारदेखि पाँच लाख नगदसम्म जरिवाना हुने र तीन महिनादेखि पाँच वर्ष कैद वा दुवै सजाय हुने व्यवस्था छ । यसैगरी अशक्त वा ७५ वर्षमाथिका ज्येष्ठ नागरिकमाथि कुनै पनि अपराध गरेमा प्रचलित सजायमा थप २५ प्रतिशत वृद्धि हुने व्यवस्था छ । सार्वजनिक पद धारण गरेका व्यक्तिले ज्येष्ठ नागरिकमाथि कुनै पनि अपराध गरेमा प्रचलित सजायमा थप ३० प्रतिशतले वृद्धि हुने व्यवस्था छ । पुनः वा पटकपटक अपराध गरेमा पटकैपिच्छे थप १० प्रतिशत सजाय वृद्धि हुने व्यवस्था छ । 

ज्येष्ठ नागरिक संशोधित ऐन २०७९ मा हरेक सेवा प्रदायक संस्थाले ज्येष्ठ नागरिकलाई प्राथमिकता दिनुपर्ने साथै स्थानीय सरकार, सेवा प्रदायक संस्थाले छुट, सेवा र सहयोग गर्नुपर्ने उल्लेख गरेको छ । आर्थिक सर्वेक्षण २०८१/८२ मा उल्लेख गरिएअनुसार यस आर्थिक वर्षको फागुनसम्म ४८ ज्येष्ठ नागरिक दिवा सेवा केन्द्र थप भई हालसम्म यस्तो संख्या २७३ पुगेको छ । यस आर्थिक वर्षको फागुनसम्म सामाजिक सुरक्षा भत्ता प्राप्त गर्ने लाभग्राहीको संख्या ३७ लाख ६ हजार ३ सय ८९ रहेको छ । गत आर्थिक वर्ष यस्तो संख्या ३८ लाख २९ हजार ४ सय ७३ रहेको थियो । 

आर्थिक वर्ष २०८२/८३ को बजेट वक्तव्यमा उल्लेख गरिएअनुसार यस आर्थिक वर्षमा ज्येष्ठ नागरिकको ज्ञान, सीप र अनुभवलाई पुस्तान्तरण गर्दै लगिनुका साथै ज्येष्ठ नागरिकको सामाजिक सुरक्षा तथा स्वास्थ्य उपचारको प्रबन्ध मिलाइने कार्यक्रम राखिएको छ । सहयोगापेक्षी सडक मानवमुक्त अभियानमा जुटेका परोपकारी संस्थाहरूसँग सहकार्य गरिनुका साथै अपांगता भएका व्यक्तिको पहिचान र वर्गीकरणको मापदण्ड अध्यावधिक गरी परिचयपत्र वितरण प्रणालीलाई व्यवस्थित गरिने र सार्वजनिक सेवालाई अपांगतामैत्री बनाइने कार्यक्रम राखिएको छ । सहाराविहीन, अशक्त तथा पूर्ण अपांगता भएका व्यक्तिहरूका लागि समुदायमा आधारित पुनर्स्थापना सेवा विस्तार गरिने कार्यक्रम राखिएको छ ।

वर्तमान १६औं पञ्चवर्षीय योजना (२०८१/८२—२०८५/८६) मा ज्येष्ठ नागरिकको विकासअन्तर्गत सामाजिक सुरक्षाको दायरामा सबै नागरिकलाई आबद्ध गर्ने, राज्य सुविधा परिचयपत्र कार्यक्रम, सामाजिक सुरक्षाको माध्यमबाट गरिबी निवारण कार्यक्रमको नीति तथा रणनीति राखिएको पाइन्छ । सामाजिक सुरक्षाको दायरामा सबै नागरिकलाई आबद्ध गर्नेः विपन्न घरपरिवार तथा राज्यबाट संरक्षण आवश्यक पर्ने समुदायका लागि सञ्चालनमा भएका सामाजिक सुरक्षाका कार्यक्रमहरूको प्रभावकारी कार्यान्वयन सुनिश्चित गर्ने नीति राखिएको छ । सम्पूर्ण नागरिकलाई सामाजिक सुरक्षाको प्रत्याभूतिका लागि योगदानमा आधारित सामाजिक सुरक्षा योजनाको कार्यान्वयनमा जोड दिने, खण्डीकृत तथ्यांकको विकास, एकीकृत सामाजिक सुरक्षा संरचनाको कार्यान्वयन, तीन तहबीचको समन्वय तथा प्रभावकारी अनुगमनको माध्यमबाट सामाजिक सुरक्षा कार्यक्रमलाई नतिजामूलक बनाउने नीति लिइएको छ । 
राज्य सुविधा परिचयपत्र वितरण कार्यक्रम : गरिब घरपरिवार पहिचान तथा परिचयपत्र वितरण कार्यक्रम सम्पन्न गरी पहिचान भएका गरिबहरूलाई राज्य सुविधा परिचयपत्र वितरण गर्ने, राज्य सुविधा परिचयपत्रमा तीनै तहका सरकारबाट उपलब्ध गराउने सामाजिक सुरक्षालगायतका सेवा सुविधाहरूमा क्रमशः आबद्धता गरी दोहोरोपना हटाउने उद्देश्य तथा लक्ष्य राखिएको छ ।
ज्येष्ठ नागरिकको विकासमा देखा परेका बाधा, समस्या तथा चुनौतीहरूअन्तर्गत ज्येष्ठ नागरिकसम्बन्धी विद्यमान कानुन, आवधिक योजना, अन्तर्राष्ट्रिय एवं क्षेत्रीय घोषणा, प्रतिबद्धताअनुरूप ज्येष्ठ नागरिकको विषयमा राज्यले विभिन्न नीति, रणनीति तथा कार्यक्रम कार्यान्वयन गर्दै आए तापनि पर्याप्त मात्रामा कार्य गर्न नसकिरहेको अवस्था विद्यमान रहेको छ । संघीय प्रणाली अनुकूल हुने गरी संशोधनका लागि पेस भएको ज्येष्ठ नागरिकसम्बन्धी ऐन स्वीकृत हुन नसक्दा नीतिगत अन्योलता र अस्पष्टता रहेको छ ।

ज्येष्ठ नागरिकको जनसंख्या बढ्दो अवस्थामा भए पनि यसलाई सम्बोधन गर्ने पर्याप्त कार्यक्रम, स्रोतसाधन र ज्येष्ठ नागरिकमैत्री विभिन्न कार्यक्रममा छरिएको अवस्थामा रहेको छ । ज्येष्ठ नागरिकको ज्ञान, सीप र अनुभव राष्ट्रले उपयोग र नयाँ पिँढीमा हस्तान्तरण गर्न सकिएको छैन । सामाजिक पारिवारिक संरचनामा आएको परिवर्तनका कारण संयुक्त परिवारबाट एकल परिवारको प्रथाले स्थान पाउँदै गएको र सन्तानले बाबु आमाप्रति पूरा गर्नुपर्ने दायित्व वहन र हेरचाहमा क्रमशः ह्रास हुँदै गएको छ । बुढ्यौलीका कारण लाग्ने विभिन्न रोगहरूको समयमा निदान र उपचारको यथोचित व्यवस्था हुन सकेको छैन । ज्येष्ठ नागरिकप्रति गर्नुपर्ने श्रद्धा, सम्मान र सकारात्मक सम्बोधनमा ह्रास आएको छ । ज्येष्ठ नागरिकको ज्ञान र सीप हस्तान्तरणको उपयुक्त मोडालिटी तय हुन सकेको छैन । दीर्घकालीन योजना, नीति, नियम र कानुनको प्रभावकारी कार्यान्वयनका निमित्त उपयुक्त समन्वयका अभाव रहेको छ ।

स्तरीय एवं उपयुक्त वृद्धाश्रम, मिलन केन्द्र/दिवा सेवा केन्द्र तथा क्लबहरूको संस्थागत र दिगो विकास हुन सकेको छैन । निश्चित सरकारी अस्पतालहरूमा जेरियार्टिक वार्ड सञ्चालनमा रहे पनि सबै सरकारी तथा निजी अस्पतालहरूमा यो कार्यक्रम सञ्चालन हुन सकेको छैन । विभिन्न अस्पतालमा नेपाल सरकारले तोकेको सुविधामा एकरूपता छैन । ६० वर्ष पुगेका ज्येष्ठ नागरिकले सरलरूपमा सुविधा उपलब्ध हुन सकेको छैन । यातायात सुविधाको प्रभावकारी अनुगमन हुन सकेको छैन । ज्येष्ठ नागरिक संरक्षणसम्बन्धी केन्द्रीय तथा जिल्लागत समितिहरूमा सञ्चालनमा आउन सकेको छैन । असहाय, विपन्न ज्येष्ठ नागरिकहरूलाई सहयोग र राहतका लागि स्थापना भएको ज्येष्ठ नागरिक कल्याणकोष राम्रोसँग सञ्चालनमा आउन सकेको छैन  । 

अवकाश प्राप्त वृद्धहरूलाई निवृत्तिभरण भत्ता, मानपदवी कदरपत्र, सम्मानपत्र आदिको प्रदर्शित हुने गरी राख्ने व्यवस्था गर्ने, अवकाश प्राप्तहरूको पुनर्मिलन, भेटघाट आदिको व्यवस्था गर्ने, दैनिक दिनचर्या रमाइलो र रोचक बनाउन वाचनालय, पुस्तकालय, पार्क, क्लब आदिको व्यवस्था गर्ने, बेसहारा वृद्धहरूका लागि सुविधा सम्पन्न वृद्धाश्रमको व्यवस्था गर्नु पर्दछ ।


 


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.