मथेका मुक्तक

समीक्षा

मथेका मुक्तक

छोटो र छरितो विधा मानिएको मुक्तक लेखनले निकै छरितो गति लिएको छ । पछिल्लो समय मुक्तक लेख्नेहरूको सूची पनि लम्बिँदै गएको छ । नेपाली साहित्यमा भूपि शेरचन, भीमदर्शन रोका, कृष्णप्रसाद पराजुली आदि अग्रज स्रष्टाले मुक्तक सिर्जनामा यथेष्ट योगदान गरेको पाइन्छ । पछिल्लो समयका धेरै स्रष्टामध्येका एक सक्रिय र सशक्त मुक्तक स्रष्टा हुन्, त्रिविक्रम पाण्डे । उनैको मुक्तक संग्रह ‘मन मदानी’ भुँडीपुराण प्रकाशनले प्रकाशित गरेको हो । काव्यिक र विम्बात्मक शीर्षकको यो मुक्तक संग्रहमा विशेषगरी समसामयिक सामाजिक र राजनीतिक विषयवस्तुमा लेखिएका ३ सय १२ वटा र प्रेम–प्रणय र शृंगारिक विषयमा लेखिएका ४ सय ४८ वटा गरी जम्मा ७ सय ६० मुक्तक संग्रहीत छन् ।

मुक्तककार पाण्डेका समसामयिक सामाजिक र राजनीतिक विषयमा लेखिएका मुक्तक ध्वन्यात्मक र व्यंग्यात्मक छन् । ध्वन्यात्मक र व्यंग्यात्मक मुक्तकहरूले समाजमा विद्यमान सामाजिक र राजनीतिक बेथिति–विसंगतिमाथि चोटिलो प्रहार गर्दै सुधारको आग्रह पनि गरेको पाइन्छ । मुक्तककार पाण्डेका समसामयिक सामाजिक र राजनीतिक विषयका मुक्तकहरूमा हाम्रै समाजको केही सुन्दर र केही कुरूप अनुहार प्रतिबिम्बित भएको देख्न सकिन्छ ।

सामाजिक बेथिति–विसंगतिसँगै राजनीतिक दाउपेच र त्यसभित्रका पनि बेथिति–विसंगतिहरूलाई उदांगो पारिएका मुक्तकहरूबाट पाठकले समाज र राजनीतिको असली अनुहार चिन्न पाउने छन् । व्यक्तिका कथा र व्यथादेखि घरघरका कथाव्यथा र देशको कथा–व्यथा पनि पाण्डेका समसामयिक सामाजिक र आर्थिक विषयका मुक्तकहरूमा अभिव्यक्त भएको पाइन्छ । कतै आफ्नै मन दुखेका कथा छन् । कतै देश दुखेका कथा छन् । कतै घर–देश छुटेका कथा छन् । कतै सुन्दर सपना टुटेका कथा छन् । कतै गरिबी, अभाव र पीडामा बाँचिरहेका मान्छेका व्यथा छन् । कतै बेथितिले भरिएको व्यवस्थाको वर्णन छ । कतै त्यही व्यवस्थाले रुवाएका भुइँमान्छेका अवस्थाको वर्णन छन् । अवस्था बदल्न भनेर व्यवस्था बदलेका राजनीतिज्ञहरू आफैं बदलिन नसकेकोप्रति गुनासा र असन्तुष्टिहरू पनि छन् । 

लुटे नि भा’छ हजुर यहाँ कुटे नि भा’छ
नेताहरू बढे जताततै सबैलाई यो कुरो था’छ
कहीँ नभा’ जात्रा नेपालको हाँडीगाउँमा भने झैं
यो देशमा फटाहाहरूलाई गणतन्त्र आ’छ ।

समाजका पात्र र प्रवृत्तिप्रति इंगित गर्दै लेखिएका मुक्तकहरूले त्यो समाजको पात्र र तिनका प्रवृत्तिलाई उदांगो पारेको महसुस हुन्छ । मुक्तककारको यो अनुभव र अनुभूतिले आममान्छेको प्रतिनिधित्व गरेको पाइन्छ । सामाजिक र राजनीतिक बेथिति–विसंगतिप्रति प्रहार गरिएका चोटिला मुक्तक मात्रै होइन, जीवनदर्शनका मुक्तक पनि छन् । मुक्तककार पाण्डेका प्रेम–प्रणय र शृंगारिक मुक्तकहरू जीवनमा मधुर रस भरिदिने खालका छन् । प्रेम–प्रणय र शृंगारका कोमल भावले सजिएका मुक्तकहरूले हृदयमा स्पर्श गर्दछन् । प्रेम–प्रणयले जीवनमा लय भर्ने काम गर्छ । जीवनको लयलाई सुमधुर र मिठासयुक्त बनाउन प्रेम–प्रणय अति आवश्यक हुन्छ । प्रेम–प्रणयबिनाको जीवन निरस हुन्छ । जीवनमा रस भर्ने तत्व नै प्रेम–प्रणय हो । यस्तै प्रेम–प्रणय भाव र शृंगार रसले भरिएका मुक्तकहरूले पठनको भरपुर आनन्द प्रदान गर्दछन् ।

मान्छेको मनमा उत्पन्न हुने अनेक भावमध्ये प्रेम–प्रणयको भाव सबैभन्दा मीठो हुन्छ, जसले जीवनमा रस र रङ भर्ने काम गर्छ । दुःख, पीडा, विषाद र अवसादको भावले चाहिँ जीवनलाई निरस र निस्सार ठान्दछ । त्यसैले जीवनमा उत्साह भर्ने हो भने प्रेम–प्रणयको भाव जगाउनु आवश्यक हुन्छ । पाण्डेका प्रेम–प्रणय र शृंगारिक मुक्तकहरूमा प्रेम, मिलन, बिछोड, हर्ष, खुसी, दुःख, पीडा, विषाद, अवसाद, घात, गुनासो, प्रायश्चित आदि भावको बाहुल्य छ । केही दोष अरूलाई दिने र केही दोष आफैंले लिने भाव पनि मुक्तकमा आएका छन् । प्रेमलाई व्यक्त गरे पनि पीडालाई अव्यक्त नै राख्ने भाव पनि आएका छन् । प्रेमको नासो र गुनासोका भाव छन् । उत्साह र उमंगका भाव छन् । आशा र निराशाका भाव पनि छन् । प्रेम–प्रणयलाई जीवनको सौन्दर्य र प्रेरणाको स्रोतको रूपमा वर्णन गरिएको पाइन्छ ।

प्रेम–प्रणयका सुकोमल भावहरूलाई मीठा शब्दमालामा उनेर लेखिएका मुक्तकहरूको पठन गर्दा मन आल्हादित हुन्छ । प्रेम र प्रेयसीको कल्पनामा मनले त्यसैत्यसै उडान भर्छ । प्रेमको भाव र प्रियसीका यादले भरिएका शब्दमालाहरूले मुक्तकलाई प्रेमिल र जीवन्त बनाएका छन् । प्रियसीका याद र प्रियसीसँगका बातका मीठा र सुकोमल भावहरूले पाठकको मनमा पनि प्रेम–प्रणयको कुतकुती जगाउन मुक्तककार सफल छन् । प्रेम–प्रणयको आग्रह र याचना, प्रेम–प्रणयको अनुभव र अनुभूति, प्रेम–प्रणयले दिएको आनन्द र प्रेम–प्रणयमा दरार आउँदा मनभित्रैबाट प्रस्फुटित भएका पीडाका आवाजहरूलाई मुक्तकमा व्यक्त गरिएका छन् । प्रेम–प्रणयमा हुने त्याग र समर्पण अनि विश्वास र भरोसाका भाव पनि मुक्तकमा मिठासपूर्वक आएका छन् । प्रेम–प्रणय नै जीवनको शृंगार हो र प्रेम–प्रणय नै जीवनको सहारा हो भन्ने भाव पाण्डेका मुक्तकहरूमा व्यक्त भएको पाइन्छ ।

हामी बाँचेको समाज उही हो । हामीले भोग्ने जीवन उस्तै हो । हामीले सामना गर्नुपर्ने समस्या पनि उस्तै नै हो । हेर्ने दृष्टिकोण र मनन गर्ने मन मात्रै फरक हो । यही हेर्ने दृष्टिकोण र बुझ्ने मनको फरकले हाम्रो जीवन पनि केही फरक झैं लाग्ने मात्रै हो । त्यसैले लेख्ने विषय उही भए पनि हेराइ र बुझाइको फरकले अनुभूति र लेखाइमात्रै फरक हुने हो । यस्तै फरक अनुभूति र फरक लेखाइ छन् पाण्डेका पनि । ‘मन मदानी’ मा संख्यात्मकसँगै गुणात्मक विशेषता पनि छ । मुक्तकहरूमा विषय विविधता छ । हरेक मुक्तक चोटिला र प्रभावशाली छन्, जसले समयको प्रतिनिधित्व गर्दै वर्तमान समाज र राजनीतिभित्रको बेथिति–विसंगतिप्रति चोटिलो प्रहार गर्ने र प्रेम–प्रणयको बयान गर्ने सामथ्र्य बोकेका छन् । केही कमजोर मुक्तक पनि संग्रहमा परेका छन् ।
 


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.