छोटो र छरितो विधा मानिएको मुक्तक लेखनले निकै छरितो गति लिएको छ । पछिल्लो समय मुक्तक लेख्नेहरूको सूची पनि लम्बिँदै गएको छ । नेपाली साहित्यमा भूपि शेरचन, भीमदर्शन रोका, कृष्णप्रसाद पराजुली आदि अग्रज स्रष्टाले मुक्तक सिर्जनामा यथेष्ट योगदान गरेको पाइन्छ । पछिल्लो समयका धेरै स्रष्टामध्येका एक सक्रिय र सशक्त मुक्तक स्रष्टा हुन्, त्रिविक्रम पाण्डे । उनैको मुक्तक संग्रह ‘मन मदानी’ भुँडीपुराण प्रकाशनले प्रकाशित गरेको हो । काव्यिक र विम्बात्मक शीर्षकको यो मुक्तक संग्रहमा विशेषगरी समसामयिक सामाजिक र राजनीतिक विषयवस्तुमा लेखिएका ३ सय १२ वटा र प्रेम–प्रणय र शृंगारिक विषयमा लेखिएका ४ सय ४८ वटा गरी जम्मा ७ सय ६० मुक्तक संग्रहीत छन् ।
मुक्तककार पाण्डेका समसामयिक सामाजिक र राजनीतिक विषयमा लेखिएका मुक्तक ध्वन्यात्मक र व्यंग्यात्मक छन् । ध्वन्यात्मक र व्यंग्यात्मक मुक्तकहरूले समाजमा विद्यमान सामाजिक र राजनीतिक बेथिति–विसंगतिमाथि चोटिलो प्रहार गर्दै सुधारको आग्रह पनि गरेको पाइन्छ । मुक्तककार पाण्डेका समसामयिक सामाजिक र राजनीतिक विषयका मुक्तकहरूमा हाम्रै समाजको केही सुन्दर र केही कुरूप अनुहार प्रतिबिम्बित भएको देख्न सकिन्छ ।
सामाजिक बेथिति–विसंगतिसँगै राजनीतिक दाउपेच र त्यसभित्रका पनि बेथिति–विसंगतिहरूलाई उदांगो पारिएका मुक्तकहरूबाट पाठकले समाज र राजनीतिको असली अनुहार चिन्न पाउने छन् । व्यक्तिका कथा र व्यथादेखि घरघरका कथाव्यथा र देशको कथा–व्यथा पनि पाण्डेका समसामयिक सामाजिक र आर्थिक विषयका मुक्तकहरूमा अभिव्यक्त भएको पाइन्छ । कतै आफ्नै मन दुखेका कथा छन् । कतै देश दुखेका कथा छन् । कतै घर–देश छुटेका कथा छन् । कतै सुन्दर सपना टुटेका कथा छन् । कतै गरिबी, अभाव र पीडामा बाँचिरहेका मान्छेका व्यथा छन् । कतै बेथितिले भरिएको व्यवस्थाको वर्णन छ । कतै त्यही व्यवस्थाले रुवाएका भुइँमान्छेका अवस्थाको वर्णन छन् । अवस्था बदल्न भनेर व्यवस्था बदलेका राजनीतिज्ञहरू आफैं बदलिन नसकेकोप्रति गुनासा र असन्तुष्टिहरू पनि छन् ।
लुटे नि भा’छ हजुर यहाँ कुटे नि भा’छ
नेताहरू बढे जताततै सबैलाई यो कुरो था’छ
कहीँ नभा’ जात्रा नेपालको हाँडीगाउँमा भने झैं
यो देशमा फटाहाहरूलाई गणतन्त्र आ’छ ।
समाजका पात्र र प्रवृत्तिप्रति इंगित गर्दै लेखिएका मुक्तकहरूले त्यो समाजको पात्र र तिनका प्रवृत्तिलाई उदांगो पारेको महसुस हुन्छ । मुक्तककारको यो अनुभव र अनुभूतिले आममान्छेको प्रतिनिधित्व गरेको पाइन्छ । सामाजिक र राजनीतिक बेथिति–विसंगतिप्रति प्रहार गरिएका चोटिला मुक्तक मात्रै होइन, जीवनदर्शनका मुक्तक पनि छन् । मुक्तककार पाण्डेका प्रेम–प्रणय र शृंगारिक मुक्तकहरू जीवनमा मधुर रस भरिदिने खालका छन् । प्रेम–प्रणय र शृंगारका कोमल भावले सजिएका मुक्तकहरूले हृदयमा स्पर्श गर्दछन् । प्रेम–प्रणयले जीवनमा लय भर्ने काम गर्छ । जीवनको लयलाई सुमधुर र मिठासयुक्त बनाउन प्रेम–प्रणय अति आवश्यक हुन्छ । प्रेम–प्रणयबिनाको जीवन निरस हुन्छ । जीवनमा रस भर्ने तत्व नै प्रेम–प्रणय हो । यस्तै प्रेम–प्रणय भाव र शृंगार रसले भरिएका मुक्तकहरूले पठनको भरपुर आनन्द प्रदान गर्दछन् ।
मान्छेको मनमा उत्पन्न हुने अनेक भावमध्ये प्रेम–प्रणयको भाव सबैभन्दा मीठो हुन्छ, जसले जीवनमा रस र रङ भर्ने काम गर्छ । दुःख, पीडा, विषाद र अवसादको भावले चाहिँ जीवनलाई निरस र निस्सार ठान्दछ । त्यसैले जीवनमा उत्साह भर्ने हो भने प्रेम–प्रणयको भाव जगाउनु आवश्यक हुन्छ । पाण्डेका प्रेम–प्रणय र शृंगारिक मुक्तकहरूमा प्रेम, मिलन, बिछोड, हर्ष, खुसी, दुःख, पीडा, विषाद, अवसाद, घात, गुनासो, प्रायश्चित आदि भावको बाहुल्य छ । केही दोष अरूलाई दिने र केही दोष आफैंले लिने भाव पनि मुक्तकमा आएका छन् । प्रेमलाई व्यक्त गरे पनि पीडालाई अव्यक्त नै राख्ने भाव पनि आएका छन् । प्रेमको नासो र गुनासोका भाव छन् । उत्साह र उमंगका भाव छन् । आशा र निराशाका भाव पनि छन् । प्रेम–प्रणयलाई जीवनको सौन्दर्य र प्रेरणाको स्रोतको रूपमा वर्णन गरिएको पाइन्छ ।
प्रेम–प्रणयका सुकोमल भावहरूलाई मीठा शब्दमालामा उनेर लेखिएका मुक्तकहरूको पठन गर्दा मन आल्हादित हुन्छ । प्रेम र प्रेयसीको कल्पनामा मनले त्यसैत्यसै उडान भर्छ । प्रेमको भाव र प्रियसीका यादले भरिएका शब्दमालाहरूले मुक्तकलाई प्रेमिल र जीवन्त बनाएका छन् । प्रियसीका याद र प्रियसीसँगका बातका मीठा र सुकोमल भावहरूले पाठकको मनमा पनि प्रेम–प्रणयको कुतकुती जगाउन मुक्तककार सफल छन् । प्रेम–प्रणयको आग्रह र याचना, प्रेम–प्रणयको अनुभव र अनुभूति, प्रेम–प्रणयले दिएको आनन्द र प्रेम–प्रणयमा दरार आउँदा मनभित्रैबाट प्रस्फुटित भएका पीडाका आवाजहरूलाई मुक्तकमा व्यक्त गरिएका छन् । प्रेम–प्रणयमा हुने त्याग र समर्पण अनि विश्वास र भरोसाका भाव पनि मुक्तकमा मिठासपूर्वक आएका छन् । प्रेम–प्रणय नै जीवनको शृंगार हो र प्रेम–प्रणय नै जीवनको सहारा हो भन्ने भाव पाण्डेका मुक्तकहरूमा व्यक्त भएको पाइन्छ ।
हामी बाँचेको समाज उही हो । हामीले भोग्ने जीवन उस्तै हो । हामीले सामना गर्नुपर्ने समस्या पनि उस्तै नै हो । हेर्ने दृष्टिकोण र मनन गर्ने मन मात्रै फरक हो । यही हेर्ने दृष्टिकोण र बुझ्ने मनको फरकले हाम्रो जीवन पनि केही फरक झैं लाग्ने मात्रै हो । त्यसैले लेख्ने विषय उही भए पनि हेराइ र बुझाइको फरकले अनुभूति र लेखाइमात्रै फरक हुने हो । यस्तै फरक अनुभूति र फरक लेखाइ छन् पाण्डेका पनि । ‘मन मदानी’ मा संख्यात्मकसँगै गुणात्मक विशेषता पनि छ । मुक्तकहरूमा विषय विविधता छ । हरेक मुक्तक चोटिला र प्रभावशाली छन्, जसले समयको प्रतिनिधित्व गर्दै वर्तमान समाज र राजनीतिभित्रको बेथिति–विसंगतिप्रति चोटिलो प्रहार गर्ने र प्रेम–प्रणयको बयान गर्ने सामथ्र्य बोकेका छन् । केही कमजोर मुक्तक पनि संग्रहमा परेका छन् ।
प्रतिक्रिया दिनुहोस !