कोशीका सबै जिल्लामा भौतिक पूर्वाधार कार्यालय स्थापना हुने
विराटनगर : कोशी प्रदेशका सबै जिल्लामा भौतिक पूर्वाधार कार्यालय स्थापना हुने भएको छ । कोशीमा १४ वटा जिल्ला छन् । प्रदेश सरकारको सोमबार बिहान बसेको मन्त्रिपरिषद् बैठकले भौतिक पूर्वाधार मन्त्रालयको ओएनएम स्वीकृत गर्दै कार्यालय स्थापनाको निर्णय लिएको हो ।
प्रदेश सरकारका प्रवक्ता एवं आन्तरिक मामिला तथा कानुनमन्त्री रेवतीरमण भण्डारीका अनुसार आगामी आर्थिक वर्षदेखि सबै जिल्लामा भौतिक पूर्वाधार कार्यालय स्थापना हुनेछन् । कोशीमा यसअघि ७ वटा सहरी विकास कार्यालय र ७ वटा पूर्वाधार कार्यालय थिए । कार्यालयहरू प्रत्येक जिल्लामा थिएनन् ।
कुनै जिल्लामा सहरी र पूर्वाधार दुईवटै कार्यालय थिए । जसका कारण एउटा कार्यालयले २ वटासम्म जिल्ला हेर्नुपर्ने अवस्था थियो । अब प्रत्येक जिल्लामा स्थापना हुने कार्यालयले आफ्नो जिल्लाको मात्रै काम हेर्ने छन् । यसले सेवा प्रवाहमा सहजता ल्याउने मन्त्री भण्डारीको भनाइ छ ।
उनका अनुसार सरकारले निर्णय गरेसँगै कार्यालय स्थापना भएपछि काम छिटोछरितो हुनेछ ।
प्रतिक्रिया दिनुहोस !