तोरणमा फूलहरूलाई राख्दा त्यसको उचाइ र आकारमा एकरूपता आउनुपर्छ। वास्तवमा तोरणमा फूलहरू त्रिकोणीय शैलीमा सजाइएकोलाई रचनात्मक र सकारात्मक मानिन्छ।
विज्ञान ज्ञानको सिर्जना हो, ज्ञानको आविष्कार हो । अर्थात् यो ज्ञानको चाहना हो । ज्ञान सिद्ध गर्नका लागि विज्ञान चाहिन्छ ।
ज्ञान दुई प्रकारका हुन्छन्– परा र अपरा । अपरा विज्ञानले परा ज्ञानको अध्ययन गर्न सक्दैन । यसले अनुभवसिद्ध सत्यलाई वस्तुमा बदलेर आँखाका अगाडि सिद्ध गर्न सक्दैन । सत्य परा ज्ञान हो । परा ज्ञान अध्ययनका लागि परा विज्ञान नै चाहिन्छ ।
इहलोक र परलोक, पूर्वजन्म र पुनर्जन्म, पाप र पुण्य, बन्धन र मुक्ति, कर्म र फल, दशा र महादशा, धर्म, संस्कार र संस्कृति आदि परा ज्ञानका पुस्तकहरू हुन् । यिनीहरूको सत्यता सिद्ध गर्न परा विज्ञानले बाहेक अरू कसैले सक्दैन । यसको नतिजा अनुभव गर्न प्रशस्त विश्वास चाहिन्छ । अतः यसमा विश्वास हुने र यसको अनुशासनमा बस्ने व्यक्तिले यसबाट मनग्य लाभ लिन सक्छन् ।
अपरा जगत् हाम्रो विश्वविद्यालय हो । विषय वासना र भयमुक्त जुक्ति, बुद्धि र विवेक सहितको चेतना हाम्रो गुरु हो, जसले हामीलाई जगत् र परा जगत् दुवैको अध्यापन गराएर जन्म र कर्मको मर्म बुझाउँछन् । हिन्दु संस्कृतिमा ‘तोरण’ यस्तै परा ज्ञानको महत्त्व प्रकट गर्ने संस्कारसहितको वैज्ञानिक परम्परा हो । परा ज्ञानको यो दीर्घ परम्परालाई बुझ्नेले यसको लाभ लिँदै आएका छन् । आउनुहोस्, अब तोरणमा यात्रा गरौं ।
तोरण भनेको के हो ?
यो विशेष किसिमको आलंकारिक सजावट हो । यो एक आकर्षक लौकिक सजावट त हो नै, परन्तु खासमा यो सकारात्मक ऊर्जाका केन्द्र हो । यसलाई सकारात्मक ऊर्जा अर्थात् आभा सञ्चारका लागि घर, मन्दिर र विवाहका प्रवेशद्वारमा सजाइन्छ । यसको सौन्दर्यले वातावरणमा सुख, शान्ति र समृद्धि ल्याउने कार्य गर्दछ । वातावरणलाई उत्सवमय बनाउन यसको ठूलो महत्त्व छ ।
प्राकृतिक सामग्रीबाट बनेको यसले खराब तत्त्वलाई घर, मन्दिर र कुनै पनि शुभकार्यका परिसरमा प्रवेश निषेध गर्दछ । यसप्रकार तोरण हिन्दु संस्कृतिमा धार्मिक, सांस्कृतिक र सामाजिक दृष्टिकोणले निकै महत्त्वपूर्ण मानिन्छ ।
तोरणको महत्त्व
अनेकौं महत्त्वको प्रतीक तोरणका अनेकौं धार्मिक, सांस्कृतिक र सामाजिक महत्त्वहरू छन् : –
- १. स्वागतको प्रतीक : धार्मिक तथा अन्य कुनै पनि शुभकार्यका प्रवेशद्वारमा तोरणको प्रयोगको उद्देश्य हो, आगन्तुकहरूलाई सकारात्मक सोच र ऊर्जाका साथ स्वागत गर्नु । उनीहरूमा पवित्रता र शुभकामना प्रवाह गराउनु ।
- २. रक्षा र सुरक्षा : तोरणले नकारात्मक ऊर्जा र दुश्चक्र अथवा खराब ग्रहको उपस्थितिलाई घरबाट टाढा राख्न काम गर्छ । यसैले यसलाई घरको सबल सुरक्षाका रूपमा पनि लिने गरिन्छ । पूजाआजामा यसको उपस्थितिले भक्तजनहरूको रक्षा गर्नुका साथै धार्मिक परम्पराको संरक्षणमा समेत मद्दत गर्दछ ।
- ३. आशा र उत्साह : दीपावली, नववर्ष, तीज आदि सांस्कृतिक चाडपर्वहरूमा तोरणको सजावटले चाडको महत्त्वलाई झिल्के बनाउँदै घरमा खुसी र प्रफुल्लता अथवा उत्साहको आभास गराउँछ ।
- ४. सामाजिक सम्बन्ध : तोरण सामाजिक सम्बन्धको प्रतीक पनि हो । घर परिवार र साथीभाइहरूको बीचमा हुने हार्दिकता र आत्मीयतालाई यसले अझ प्रगाढ र मजबुत बनाउन सहयोग गर्छ । साथै यसले समाजमा एकता, सहयोग र सद्भावको सञ्चार गर्न मद्दत पुर्याउँछ ।
- ५. पवित्रता र स्वच्छता : तोरण स्थापनाको उद्देश्य उक्त स्थानमा पवित्रता र स्वच्छता ल्याउनु हो । र, शान्ति र सुरक्षाको प्रत्याभूति पनि दिलाउनु हो ।
- ६. परम्परा र सम्प्रदाय : तोरण हिन्दु संस्कृतिमा प्राचीन कालदेखि नै पुस्तादेखि पुस्तासम्म सांस्कृतिक पहिचानलाई सुदृढ गर्नका लागि हस्तान्तरण हुँदै आएको परा ज्ञान र परा विज्ञानले सिञ्चित एक दिव्य र वैज्ञानिक परम्परा हो ।
- ७. धार्मिक अनुष्ठानको महत्त्व : तोरण धार्मिक अनुष्ठानको विशिष्ट रेखांकन पनि हो ।
धार्मिक अनुष्ठानका समयमा जब भक्तजनहरूले विभिन्न पूजा र आराधनाहरू गर्छन् । तोरणको वातावरणले उनीहरूमा शुभ ऊर्जाका साथ सकारात्मकता र भक्तिभाव जगाउन भूमिका खेल्छ ।
ठूली एकादशी, गंगा र तोरण : हिन्दु धर्ममा एकादशीलाई भगवान् विष्णुको उपासना गर्ने पर्वको रूपमा लिइन्छ । वर्षमा २४ वटा एकादशी हुन्छन् । किन्तु मलमास परेको वर्षमा भने यस्ता एकादशी २६ वटा समेत हुने गर्छन् । यीमध्ये आषाढ शुक्लपक्षको हरिशयनी एकादशी र कार्तिक शुक्लपक्षमा पर्ने हरिबोधिनी एकादशीलाई ठूली एकादशी भन्ने चलन छ ।
पुराणहरूका अनुसार आषाढ शुक्ल एकादशीको दिन क्षीर सागरमा सुत्नुभएका भगवान् विष्णु आजैको दिन उठ्नु हुने विश्वास छ । अतः यस एकादशीलाई ‘देव उठाब एकादशी’, ‘ठूली एकादशी’, ‘हरिप्रबोधनी एकादशी’ र ‘तुलसी विवाह एकादशी’ जस्ता विभिन्न नामहरूले सम्बोधन गरिन्छ ।
‘भविष्योत्तर पुराण’ले अन्य एकादशीमा भन्दा आज गरिने भगवान् विष्णुको उपासना बढी फलदायी हुने बताएको छ । महाभारतमा भगवान् कृष्णले पनि युधिष्ठिरलाई यस
दिन गरिने स्नान, दान, तप आदि सबै कार्य अक्षय फलदायी हुने कुरा बताएका छन् ।
- रातो, गुलाबी, पहेंलो र सेतो रंगहरूमा प्राप्त हुने गुलाफलाई हिन्दु संस्कारमा एक प्रसिद्ध र प्रिय फूलको प्रतीक मानिन्छ। विवाह र अन्य उत्सवहरूमा यदि यसलाई तोरणमा सजाइयो भने यसले बेहुला र बेहुलीलाई जीवनभर गहिरो सम्बन्धमा राख्न सहयोग गर्छ भन्ने शास्त्रीय मान्यता छ।
- तोरणमा फूलहरूको संरचना वैज्ञानिक ढंगले गर्दा त्यसको सौन्दर्य अझ सुन्दर हुन्छ। अतः तोरणमा फूलहरूलाई समरूप रूपमा व्यवस्थित गर्नु जरुरी छ। तर तोरणलाई पानीमा भिजाउनु हुँदैन। किनकि पानीले फूलहरूको व्यवस्थापन र ताजगी वा ऊर्जालाई नष्ट गरिदिन्छ
म सानै थिएँ । घरमा बाबियोको लामो, मोटो र बलियो हत्यौरी यही एकादशीका दिन कहिले सेती गंगामा त कहिले काली गंगामा गंगाको वारिदेखि पारिसम्म टाँग्नका लागि बाटिन्थ्यो । मैले ती दिनहरूलाई हिजैजस्तो गरेर अझै सम्झन्छु । यो एकादशीलाई हामीले ‘ठूली एकादशी’ भन्ने गथ्र्यौं ।
यसरी ठूली एकादशी, गंगा र तोरणको सम्बन्धले मसँग सानैदेखि सम्बन्ध गाँसेका थिए ।
क. तोरणमा प्रयोग गरिने सामग्रीहरू
सबै चाडपर्वहरू एकै ऋतुमा आउँदैनन् । फरकफरक ऋतुमा फुल्ने फूल र वृक्षका पातहरू भिन्नभिन्न हुन्छन् । यसर्थ समयानुसार तोरणमा प्रयोग हुने केही सामग्रीहरू फरक हुन जान्छन् । यहाँ म सामान्यतया तोरणका लागि
प्रयोगमा आउने सामग्रीहरूको सूची प्रस्तुत गर्नेछु : –
ताजा फूलहरू र वृक्षका पातहरू : सयपत्री फूल, मखमली फूल, गुलाफका फूल, तुलसीका पात, वरका पात, पीपलका पात, आँपका पात, समीका पात, बेलका पात, पानका पात आदि ।
- रंगीन कपडाहरू : खासगरी सेतो, रातो, हरियो र पहेंलो रंगका कपडा नयाँ कपडाबाट काटेर तोरणमा प्रयोग गरिन्छ । यसले फूलहरू र पातहरूसँगको तोरणको आकर्षणलाई अझ आकर्षक बनाउँछ ।
- रंगीन कागजहरू : रंगीन कागजहरूको प्रयोगले पनि तोरणको सौन्दर्यमा अरू सुन्दरता थप्न सहयोग गर्छ । कागजका हकमा विशेषतः सुनौलो रंगका, चाँदी रंगका कागजलाई फूल वा माला वा अन्य आकर्षक किसिमले बनाएर तोरणमा सजाइने गरिन्छ ।
- बाँस वा काठका टुक्राहरू : तोरणका बीचबीचमा बाँसका कलात्मक टुक्रा र काठका लौरीहरूलाई पनि झुन्ड्याउने गरिन्छ ।
- विशेष धातुका सजावटी सामान : चुरापोते, काइयो, डोरी र ऐना अनि काँचले बनेका डाडु, पन्यू लगायत चाँदीका झुम्कने गहनालाई पनि तोरणको बीचबीचमा झुन्ड्याउन सकिन्छ । फलतः यसले तोरणमा पारम्पारिकता र भव्यता थप्नमा मद्दत गर्नेछ ।
- जुट वा बाबियो : तोरण भनेकै जुट वा बाबियोद्वारा बलियोसँग बाटिएको मोटो डोरी हो । कतैकतै यी दुवैलाई सँगै प्रयोग गरेर पनि तोरण बनाइन्छ । यस किसिमको प्रयोगले प्राकृतिक सन्देश पनि दिन्छ ।
- प्राकृतिक सामग्री : हरिया पात र ताजा फूलहरू पाइएनन् भने सुक्खा पातहरू, फूलका टुक्राहरू र वृक्षका बोक्राहरूलाई पनि तोरणमा संग्रह गर्न सकिन्छ । चाडपर्वको विशेषता अनुसार तोरणमा विभिन्न सौन्दर्य र भाव व्यक्त गर्ने गराएर यसलाई चित्ताकर्षक बनाउन सकिन्छ ।
ख) तोरणका प्रकारहरू
माथि तोरणमा प्रयोग हुने सामग्रीका आधारमा तोरणलाई निम्न प्रकारहरूमा विभाजन गरेर बुझ्न सकिन्छ :
– ताजा फूलहरूको तोरण
– सुक्खा फूलहरूको तोरण
– रंगीन कपडाहरूको तोरण
– रंगीन कागजहरूको तोरण
– पातहरूको तोरण
– बाँस, काठ, धातुजडित तोरण आदि ।
ग) तोरणको प्रयोगका तरिका र उदाहरणहरू
विभिन्न चाडपर्वहरूमा प्रयोग हुने तोरणका तरिकाहरू बेग्लाबेग्लै हुने गर्छन् । यी तोरणहरू चाडपर्वका आआफ्ना महत्त्व, वातावरण र भावना अनुकूल हुनुपर्छ ता कि त्यसबाट त्यही विशेषताका ऊर्जाहरू प्राप्त गर्न सकियोस् । यहाँ म हाम्रा चाडपर्व र ती पर्वहरूमा तोरणको प्रयोग गर्ने विधि र उदाहरणहरू प्रस्तुत गर्दैछु :
- लक्ष्मीपूजा वा दीपावली : प्रथमतः दीपावलीमा घरको प्रवेशद्वारमा सयपत्री, मखमली, सजावटी वस्त्र र कागजजडित तोरण सजाइन्छ ता कि यसले दीपावलीको प्रकाश र रोशनीको उत्सवलाई महत्त्वका साथ अझ झल्काओस् ।
- हरितालिका तीज : यतिबेलाको तोरण महिलाहरूमा थप सकारात्मक ऊर्जाका लागि प्रयोग गरिन्छ, ताकि यसले चाडको रंग र खुसीयालीलाई व्यक्त गरोस् । अतः यसका लागि तीज अनुकूलका राता, हरिया फूल वा पात वा सजावटी वस्त्र र कागज प्रयोग गरिन्छ ।
- नववर्ष र मकर संक्रान्ति : नयाँ वर्षको दिनमा घरको प्रवेशद्वारमा नयाँ वर्षको स्वागत गर्न तथा शुभाशीर्वाद प्रदान गर्ने किसिमका संकेत भएका वा बनाएर तोरण सजाइनुपर्छ । यसका लागि रंगीन कागज, कपडा र फूललाई सुख, समृद्धि र समर्पणको प्रतीकको रूपमा काम गर्ने गरी प्रयोग गर्न सकिन्छ । साथै तोरणमा गहुँका रोटी, बाँसका फिर्फिरे आदि राख्दा अझ यो दिनको महत्त्व बढ्छ ।
- गणेश चतुर्थी : यसका लागि तोरणमा भगवान् गणेशका चित्र वा तस्बिर सजाइने गर्छ । ता कि तोरणले बिघ्नहर्ता गणेशको पूजालाई सम्मान गर्न सकोस् । यसका लागि पनि फूलका साथमा सजावटी वस्त्र तथा कागजहरूलाई प्रयोग गर्न सकिन्छ ।
- पौष मेला : पौष महिनामा पर्ने विभिन्न मेलाहरूमा पूज्य स्थलमा तोरणको सजावट गरिन्छ । यो बेलाको तोरणलाई धानका पातहरू र रंगीन वस्त्रले सजाइन्छ ता कि यसले मेलाको चहल–पहललाई बढाओस् ।
यस प्रकार उक्त उदाहरणहरूले चाडपर्वमा तोरणलाई कसरी प्रयोग गर्न सकिन्छ भन्ने कुरालाई स्पष्ट पार्छ । जसले, चाडको महत्त्व र सौन्दर्यलाई बढाउँछ र विशेष अवसरमा खुसीको वातावरण सिर्जना गर्न सहयोग पुर्याउँछ ।
घ) तोरणमा फूलहरूको सांस्कृतिक महत्त्व
खासमा फूलहरूको सजावटले तोरणमा सौन्दर्य मात्रै नभएर विशेष चाडपर्वहरूको सांस्कृतिक महत्त्वलाई पनि उजागर गर्छन् । आउनुहोस् अब तोरणमा प्रयोग गरिने केही प्रमुख फूलहरूका बारेमा जानौं : –
- मोगरा : यो फूललाई तोरण फूल पनि भनिन्छ, किनकि सधैं हरियो र सुगन्धित रहने यो फूल धार्मिक र सांस्कृतिक पर्वमा तोरण बनाउनका लागि विशेष रूपमा प्रयोग हुन्छ । प्रायः विवाह, जन्मदिन र विशेष पूजाआजामा यो फूलले तोरण सजाउने गरिन्छ ।
- कमल : खासमा गणेश चतुर्थी र माता दुर्गाको पूजा आराधनामा प्रयोग गरिने गुलाबी र सेतो रंगमा उपलब्ध हुने कमललाई वैदिक हिन्दु सनातनमा पवित्रताको प्रतीक मानिन्छ । अतः यो फूलले सजिएको तोरणले गणेश र माता दुर्गाबाट अविघ्नताको ऊर्जा प्राप्त हुन्छ ।
- गुलाफ : रातो, गुलाबी, पहेंलो र सेतो रंगहरूमा प्राप्त हुने गुलाफलाई हिन्दु संस्कारमा एक प्रसिद्ध र प्रिय फूलको प्रतीक मानिन्छ । विवाह र अन्य उत्सवहरूमा यदि यसलाई तोरणमा सजाइयो भने यसले बेहुला र बेहुलीलाई जीवनभर गहिरो सम्बन्धमा राख्न सहयोग गर्छ भन्ने शास्त्रीय मान्यता छ ।
- कनेर : कनेरको फूल रंगीन, घुमाउरो र सुगन्धित हुन्छ । यो गर्मीमा फुल्ने फूल हो र यो विभिन्न रंगमा उपलब्ध हुन्छ । आकर्षक तोरणका लागि यो फूल विशेषतः चाडपर्व र मेलापातमा सकारात्मक आभाका लागि प्रयोग गरिन्छ ।
- सुवर्णपत्र : रोग प्रतिरोधात्मक क्षमता बढाउने विश्वासमा तोरणमा प्रयोग गरिने यो सानो आकारको फूललाई सुखदायक फूल पनि भनिन्छ ।
- पांसली : तीज, दिपावली र अन्य उत्सवहरूमा तोरण सजाउन प्रयोग गरिने यो पांसलीको फूल चम्किलो र सुन्तला रंगको हुन्छ, जसलाई ऊर्जा र उत्साह वृद्धिको प्रतीक मानिन्छ ।
- धनिया : धनियाको फूल धेरै सानो र सेतो रंगको हुन्छ । यसका ताजा पात र फूल दुवैलाई विशेष गरी धार्मिक चाडपर्वमा सजाइने तोरणमा प्रयोग गरिन्छ ।
- सुनगाभा : सुनगाभाका फूलहरू विभिन्न रंग र कलात्मक आकारका हुन्छन् । रंगका आधारमा यसका विभिन्न रूपहरू हुन्छन् । यसर्थ विवाह र पार्टीहरूमा तोरणमा प्रयोग हुने यो फूलले वातावरणलाई ऊर्जाशील र आकर्षक पार्छ ।
- कमलोच र लहरे फूल : विशेष चाडपर्वहरूमा सजावटका लागि तोरणमा सजाउन प्रयोग गरिने यस फूलको सजीवता र विभिन्न रङहरूले जोसुकैलाई पनि आफूतर्फ लोभ्याइहाल्छ । साथै यसले वातावरणमा खुसी र सौन्दर्य थप्नमा पनि सहयोग गर्छ । यसर्थ, तोरणसँग सम्बन्धित कुनै पनि चाडमा, यी फूलहरूले अत्यधिक महत्त्वपूर्ण भूमिका खेल्दछन् ।
ङ) तोरणका सामग्रीहरूको चयन तथा व्यवस्थापन
तोरणमा सामग्रीहरूको व्यवस्थापनले ठूलो महत्त्व राख्छ । यसले तोरणले प्रदान गर्ने ऊर्जामा फरक ल्याउँछ । आउनुस्, अब यो शीर्षकमा तोरणमा राखिने सामग्रीहरूको चयन तथा व्यवस्थापनका विषयमा बुझौं : –
- फूलहरूको चयन : ताजा, मीठो सुगन्ध भएको, सौन्दर्ययुक्त र चाडसँग सम्बन्धित अनि सजिलोसँग प्राप्त हुने फूलहरू संकलन गर्ने ।
- रंगीन फूलहरूको संयोजन : भिन्नभिन्न फूलहरूको एकआपसमा सही तरिकाले संयोजन गर्न सकियो भने यो आकर्षक देखिनुको साथै यसले वातावरणमा सकारात्मक आभाको पनि वृद्धि गर्दछ । रंगहरूको चयन गर्दा त्यसको धार्मिक र सांस्कृतिक महत्त्वलाई पनि ध्यानमा राख्नुपर्छ । जस्तो कि रातो रंगले प्रेम र उत्साहको संकेत गर्छ भने सेतोले पवित्रता र शान्तिको ।
- फूलहरूको गठन र ढाँचा : तोरणमा फूलहरूलाई राख्दा त्यसको उचाइ र आकारमा एकरूपता आउनुपर्छ । वास्तवमा तोरणमा फूलहरूको त्रिकोणीय शैलीमा सजाइएकोलाई रचनात्मक र सकारात्मक मानिन्छ ।
- पातहरूको प्रयोग : फूलहरूको बीचमा हरिया पातहरूको प्रयोगले तोरणमा बढी प्राकृतिकता ल्याउँछ । अझ यसमा पातहरूको आकार–प्रकारमा विविधता ल्याउन सकेमा तोरण अझ सुन्दर र आभामय बन्छ ।
- सुगन्धको सन्तुलन : तोरणमा सुगन्धित फूलहरूको प्रयोगले वातावरण रमाइलो र सुखद बन्छ । अतः तोरणमा सकेसम्म उत्तम सुगन्धका फूलहरूलाई सन्तुलित ढंगमा प्रयोग गरिनुपर्छ ।
- संरचना विधि : तोरणमा फूलहरूको संरचना वैज्ञानिक ढंगले गर्दा त्यसको सौन्दर्य अझ सुन्दर हुन्छ । अतः तोरणमा फूलहरूलाई समरूप रूपमा व्यवस्थित गर्नु जरुरी छ । यसमा ध्यान दिनुपर्ने कुरा के हो भने तोरणलाई पानीमा भिजाउनु हुँदैन । किनकि पानीले फूलहरूको व्यवस्थापन र ताजगी वा ऊर्जालाई नष्ट गरिदिन्छ ।
नदीको वारिपारि तोरण
मलाई राम्ररी याद छ कि यसरी तयार भएको तोरण हामीले घरबाट बाजागाजा र भजन–कीर्तनका साथ नाँच्दै गाउँदै कहिले सेतीमा त कहिले कालीमा पुर्याउँथ्यौं र पूजाविधिका साथ गंगाको वारिपारि टाँग्थ्यौं । हिन्दु धर्ममा गंगालाई पवित्र मानिन्छ । शिवरस मानिन्छ ।
तोरण टाँगिसकेपछि हामी घर फर्किन्थ्यौं । फर्कंदा पनि भजन–कीर्तन र बाजागाजाको तालमा जाँदाजस्तै नाँच्दै, गाउँदै र रमाउँदै फर्किन्थ्यौं भनिन्छ, तोरण हृदयलाई मस्तिष्कसँग जोड्ने एउटा संयोजक हो । सायद नदीको वारिपारि टाँगिएको तोरणले यही बताइरहँदो हो । भन्दो हो, म नै हुँ
आत्मालाई परमात्मासँग भेटाइदिने माध्यम ।
यसर्थ, एकादशीमा नदीको वारिपारि तोरण टाँग्नु भनेको पवित्रता, स्वागत, सुरक्षा र धार्मिकता रेखांकित गर्ने एक आध्यात्मिक क्रिया हो । यसले धार्मिक र सांस्कृतिक परम्परासँग जोडिएको महत्त्व र एकताको ब्रह्मविद्या प्रस्तुत गर्दछ ।
शास्त्रीय श्लोकहरूमा तोरण
तोरणको कार्य, सजावट र ठाउँको महत्त्वका सन्दर्भमा शास्त्रमा उल्लेख गरिएका श्लोकहरू धेरै छन् । तीमध्येबाट मैले यहाँ केही श्लोकहरूलाई प्रस्तुत गरेको छु : –
सुतकाले हि सम्प्राप्य तोरणं कुर्वीत सर्वदा
विनाशाय च तोरणं न स्यात् फलदायकम् ।
अर्थात्, शुभ कार्यको सन्दर्भमा तोरणलाई सदैव स्थापित गर्नुपर्छ । यसबाट विनाशका कार्यहरूबाट बच्न सकिन्छ र यसले फलदायक परिणाम ल्याउँछ ।
सर्वमङगलमाङ्गल्यं तुर्णं फलं हि साधनम्,
तोरणं च पुजाभागं सिध्द्यर्थम् उपेयुषाम् ।
(विष्णु धर्माेत्तर, अध्याय–२९)
अर्थात्, सबै मंगलमय चीजहरू छिटो फल प्राप्त गर्ने उपाय हुन् । अतः तोरणलाई पूजा गर्ने ठाउँमा राख्नु सिद्धिका
लागि उपयुुक्त हुन्छ ।
हस्ते शंका सहस्रस्तु तोरणं रक्षितं नृणाम्,
सर्व कल्याणदं पठेत् कटकम् समुत्तरे ।। (गरुण पुराण)
यस श्लोकको सार हो, सबैको भलो गर्ने तोरण हाम्रो अस्तित्वको रक्षा र सुरक्षाको प्रतीक हो । र, यो सामाजिक र व्यक्तिगत सन्दर्भमा कल्याणको सूचक पनि हो ।
तोरणं च सुन्दरं नित्यं यत्र सर्वे शुभं फलम्,
सिद्धिदं तत्र सन्तप्तं यथा तत्र वदन्ति सन्तः । (महाभारत)
सदा सुन्दर तोरणको प्रभावले सधैं शुभफल प्राप्त हुन्छ । तोरणका नजिक रहेर जसले सिद्धिका लागि तप गर्दछ, त्यहाँका सन्त सधैं सन्तुष्ट रहन्छन् । अतः यस श्लोकले तोरणको सौन्दर्य र यसको सकारात्मक प्रभावलाई प्रतिबिम्बित गर्दछ, जसले सफलता सहितको वातावरण
सिर्जना गर्न मद्दत गर्छ ।
कान्तारूपं च वस्त्रं च तोरणं च तत्र स्थापितम्,
शुभं भवन्तु तथा जातं यत्र गोत्र सम्प्रवृत्तम् ।।
यस श्लोकको भावार्थ हो, सौन्दर्यप्रद वस्त्रादिबाट सजित सुन्दर तोरण जुन घरमा हुन्छ, त्यसले त्यो घरको वातावरणमा सकारात्मक ऊर्जा र वीरता प्रदान गर्दछ ।
अतिथि पुज्यते यस्माद्यस्तु संगच्छति सदा,
तोरणस्य तु रक्षणं यत्र पाणिर्विपावितम् ।। (भागवत पुराण)
यस श्लोकको सार हो, यसले अतिथि सत्कार र तोरणको महत्त्वलाई एकसाथ जोड्छ, जसले परिसरमा सुखद वातावरण सिर्जना गर्छ ।
तोरणं च यथाभिर्वश्यं उच्चैः शुद्धं समर्पणम्,
गृहाण च प्रिया चन्द्रमा महोत्तम भक्तिसुतेश्वरा ।। (स्मृतिका)
यस श्लोकमा तोरणको उचित र शुद्ध व्यवस्थापन महत्त्व पूर्ण हुन्छ, अर्थात् तोरणको उत्कृष्ट सजावटले घरलाई चन्द्रमाजस्तै प्रिय बनाउँछ ।
तोरणं च सर्वं अनुकूल्यं यत्र मूलं सर्व सिद्धिम्,
पुत्र सुखं च धनं च वर्धयेतन्तु सप्रयोजनम् ।
(उपदेशानुशासन ग्रन्थ)
यस श्लोकले तोरणको सकारात्मक प्रभावलाई उजागर गर्दछ जुन घरको समृद्धि र भलाइमा योगदान पुर्याउँछ ।
मन्दिरं पञ्चगृतं प्राकृता अस्ति सदा विद्यानव खलु यत्र,
तोरणम् पञ्चसिध्द्यर्थं आवश्यकम् इति समान्यम् ।।
(मनुस्मृति, अध्याय–२, श्लोक–३४)
अर्थात्, मन्दिरको पञ्चगृतमा (पञ्च विभिन्न मौलिक पदार्थहरू) सदैव विद्या रहन्छ, यस प्राचीन ज्ञान प्राप्तिका लागि तोरण आवश्यक छ । यी श्लोकहरूले जीवनका विभिन्न पक्षहरूसँग सम्बन्धित ज्ञान र सन्देश प्रदान गर्छन् ।
निष्कर्ष
तोरण अपरा जगत्बाट परा जगत्तर्फको आरोहणको प्रतीक हो । यसले हामीलाई पराशक्तिको प्रभावले सिञ्चित त गर्छ नै र यसबाहेक यसले समुदायमा सहयोग, सद्भाव र एकताको भावना बढाउँछ । अतः तोरण सामुदायिक समर्पण र सहकार्यको प्रतीक हो । यसले मानिसहरूलाई एकसाथ ल्याउन सहयोग गर्छ । र यसले खासगरी हिन्दु जीवनशैलीमा गहिरो असर पार्दछ । अस्तु !
प्रतिक्रिया दिनुहोस !