लन्डन म्याराथनमा दौडिए सय नेपाली
लन्डन : संसारकै प्रतिष्ठित लन्डन म्याराथनको आइतबार सम्पन्न ४५औं संस्करण एक सयभन्दा बढी नेपालीले दौडिएका छन् । यसपटकको लन्डन म्याराथनमा नेपालकी राष्ट्रिय धाविका सन्तोषी श्रेष्ठले नयाँ कीर्तिमान कायम गरेकी छन् । उनले निर्धारित दूरी २ घण्टा ४२ मिनेट ५० सेकेन्डमा पूरा गर्दै कीर्तिमान बनाएकी हुन् ।
सन्तोषीले गत वर्ष बंगलादेशको ढाकामा आयोजित बंगबन्धु शेख मुजिब ढाका म्याराथनमा राष्ट्रिय कीर्तिमानसहित स्वर्ण पदक जितेकी थिइन् । उनले त्यतिबेला निर्धारित दूरी २ घण्टा ४६ मिनेट २२ सेकेन्डमा पूरा गरी स्वर्ण पदक जितेकी थिइन् ।
गत वर्ष पेरिस ओलम्पिकमा उनले निर्धारित दुरी २ घण्टा ५५ मिनेटमा पूरा गरेकी थिइन् । सन्तोषी काठमाडौंमा आयोजित १३औं दक्षिण एसियाली खेलकुदको एथलेटिक्स १० हजार मिटर दौडमा समेत स्वर्ण पदक विजेता हुन् । सन्तोषी नेपाल रन यूकेको आर्थिक सहयोगमा बेलायत आएकी हुन् ।
यता, नेपाल रन यूकेका संस्थापक सन्तोष राईले नेपाली राष्ट्रिय पोशाक दौरा सुरुवालमा लन्डन म्याराथन दौडिएर ‘गिनिज वल्र्ड रेकर्ड’ बनाएका छन् । सन्तोषले २ घण्टा ५९ मिनेट ४७ सेकेन्डमा दूरी पूरा गरेका थिए ।
लन्डन म्याराथनमा यसपटक नेपाल रन यूकेको संयोजनमा ९६ जना नेपालीले भाग लिएका थिए । ‘हाम्रो संयोजनमा दौडिने ९६ जना थियौं । सबैले निर्धारित दूरी पूरा गरेका छौं,’ नेपाल रन यूकेका सचिव डा. जगन कार्कीले भने, ‘हाम्रो सम्पर्कमा नआएर आफ्नै हिसाबले दौडिने पनि केही नेपाली हुनुहुन्थ्यो ।’
लन्डन म्याराथन दौडिने नेपाली धावकहरूलाई आइतबार बेलुका लन्डनस्थित नेपाली दूतावासले पनि एक रिसेप्सन आयोजना गरी सम्मान गरेको छ । यस वर्षको लन्डन म्याराथनमा पुरुषतर्फ केन्याका सबस्टियन सावे २ घण्टा २ मिनेट २७ सेकेन्डमा दूरी पार गर्दै विजेता बनेका छन् । महिलातर्फ विजेता इथियोपियाकी टिस्ट आसिफाले २ घण्टा १५ मिनेट ५० सेकेन्डमा दूरी पूरा गरेकी छन् । यसपटक निर्धारित ४२ किमी बढी दूरी पूरा गर्नेहरूको संख्या हालसम्म संसारकै सर्वाधिक ५६ हजार ६ सय ४० छ ।
प्रतिक्रिया दिनुहोस !