अखण्ड तीर्थ अर्थात् मातातीर्थ महात्म्य

समाज/संस्कृति

अखण्ड तीर्थ अर्थात् मातातीर्थ महात्म्य

आमालाई प्रसन्न पार्न सके अन्य कुनै धर्मकर्मको आवश्यकता नपर्ने कुरा शास्त्रमा उल्लेख छ। अतः सन्तान कहिल्यै आमाका लागि आफूले गर्नुपर्ने कर्तव्यबाट विमुख हुनै हुँदैन।

चारै युग तयार छन्, मातातीर्थ माहात्म्य सुनाउनका लागि। यो तीर्थमा चारैयुगले तीर्थाटन गरेका छन्। यसर्थ मातातीर्थ भौगोलिक दृष्टिकोणले नेपालमा भए तापनि यो विश्वकै एक अखण्ड र दुर्लभ तीर्थ हो। एउटा धार्मिक, सांस्कृतिक र ऐतिहासिक तीर्थ हो। यस महातीर्थका विषयमा पुराना कुरालाई तथ्यको सियोले सिएर त्यसको शृंखलाबद्ध स्वरूप प्रस्तुत गर्दैछु।

यस महातीर्थमा म तपाईंहरूलाई सीधै तीर्थमा नलगी सृष्टिकी स्रष्टा आमाको वास्तविक महिमा चारै युगका साक्षी शास्त्रहरू, उखानहरू र कवि तथा विद्वानहरूका भनाइबाट पुष्टि गराउँदै लैजानेछु। यसर्थ यस लेखलाई म ‘माता माहात्म्य’ र ‘मातातीर्थ माहात्म्य’ गरी दुई खण्डमा विभाजन गरेर टुंग्याउनेछु।

प्रथम खण्ड – माता माहात्म्य

क. उखानहरूमा माता माहात्म्य
– आमा छउन्जेल माइती !
– आमा छउञ्जेल मीठो मसिनो,
– बाबु छउञ्जेल लामो चोलो ! 
– आमालाई देखे भोकै हराउँछ।
– अरूको लाख आमाको काख।
– आमाले दिएको सिस्नाको तिहुन पनि खीरैखीर हुन्छ।
– आमाबिनाको संसार सधैं अँध्यारो !
– आमाबिनाको घर के घर !

आमाका विषयमा यस्ता सयौं उखान छन्। उखानहरू भनेका मानव अनुभवले सिद्ध गरेका साध्यहरू हुन्। अतः यी उखानहरू छोराछोरीको तरल हृदयले आविष्कार गरेका आमाका स्वरूपहरू हुन्। यी सबैमा सन्तानहरूको एउटै आवाज सुनिन्छ– ‘आमाको मूल्य हुँदैन। आमा अमूल्य हुन्छिन्। उनको महिमा शब्दातीत हुन्छ। आमाको अभावलाई कुनै वस्तुले पनि पूरा गर्न सक्दैन।’

ख. विश्वप्रसिद्ध एवं कवि व्यक्तित्वका दृष्टिमा माता माहात्म्य
‘जो मानिसको साथमा ममतामयी आमा हुन्छिन्, ऊ कहिल्यै गरिब हुन सक्दैन।’ अब्राहम लिंकनको यो अनुभवले ‘संसारको सबैभन्दा धनी मानिस पनि आमाबिना धनी हुनै सक्दैन’ भन्ने हाम्रो शास्त्रीय मान्यताकै पंक्तिलाई पुष्टि गरेको छ।
‘तिमी मलाई एक असल आमा देऊ, म तिमीलाई एक असल राष्ट्र दिनेछु।’

नेपोलियन बोनापार्टको यो अनुभवलाई निकै मार्मिक मानिन्छ। आमाका विषयमा उनको यो अनुभवलाई विश्वले नै तारिफ गर्ने गर्छ। यसले परिवारभित्र एउटा असल आमाको भूमिकाले सिंगो राष्ट्रलाई नै कसरी प्रभावित पार्छ भन्ने यथार्थलाई उजागर गरेको छ। असल आमाबिना न सन्तान, न समाज, न त राष्ट्र ! कोही पनि सही मार्गमा हिँड्नै सक्दैनन्।
‘आज मैले जति गरें, यी सबैका लागि म मेरी आमाप्रति ऋणी छु।’ जर्ज वासिंगटनले पनि आमाबारे यो वाक्य 
यसै बोलेका थिएनन्।
झिकेर मुटुको टुक्रा आँखाभित्र अटाउँछिनभोकभोकै बसी आफू छाती चुस्न खटाउँछिन्।
जिन्दगी बन्छ आमाले खाएको गाँसगाँसमा
सिर्जनामूल हुन् आमा स्रष्टाको इतिहासमा।
– कृष्णप्रसाद भट्टराई, कवि
 हो, बा। त्यो आउँछ।
त्यो बिहानको सूर्य झैं उज्यालो छर्दै आउँछ।
ऊ अधर्मसित लड्नेछ !
त्यो हिउँ र आगोभन्दा पनि
बढ्ता छोइने भएर आउँछ !
मैले यो कुनै अल्छी सपना देखेको होइन !
त्यो आएपछि तिमी यसरी
मेरो काखमा आएर घोप्टिने छैनौ 
मैले यसरी रोगीलाई झैं
तिम्रो कपाल मुसारिरहनुपर्ने छैन 
त्यो आउनेछ, तिमी उठ्नेछौ।
– गोपालप्रसाद रिमालको कविता ‘आमाको सपना’बाट

यो उनको एक उत्कृष्ट युगीन कविता हो। एउटी असल आमा माता महाकालीकै स्वरूप हुन्। उनी सन्तानका लागि अद्वितीय आत्मबलकी सौर्य हुन्। उनी सन्तानलाई जीवनभर झक्झकाउँछिन्। उनले आफ्ना सन्तानलाई कायर र डरपोक भएको देख्न रुचाउन्नन्। अधर्मको अगाडि सन्तानको शिर झुकेको आमाका आँखाले देख्न चाहँदिनन्। अतः आमाले सन्तानलाई आत्मबल र साहसले जगाइरहन्छिन्।

कवितामा होस् वा अन्य कुनै पनि भनाइमा, संसारमा यस्ता अरू हजारौं कवि र विद्वानहरू छन्, जसले आमाको महिमा आफ्ना मुक्तकण्ठले व्यक्त गरेका नहोउन्।

ग. पौराणिक कथामा माता माहात्म्य

१. यो कथा महाभारत कालको हो। त्यतिबेला विदुला कुनै देशकी मुमा महारानी थिइन् र उनका छोरा सञ्जय त्यो देशका राजा थिए। एकपटक छिमेकी देशका सिन्धुराजले उनको देशमा आक्रमण गर्छन्। युद्धमा हारेर विदुलापुत्र सञ्जय युद्ध छाडेर भाग्छन्। युद्धमा कायर भै भागेकाले महारानी पुत्र सञ्जयसँग क्रोधित हुन्छिन् र भन्छिन्,‘थुक्क नामर्द, ह्याउ नभएको डरपोक ! तँ मेरो कोखबाट कसरी जन्मिन पुगिस् ? यस्तो काँतर त बरु नजन्मेको भए हुन्थ्यो। मेरो दूध खाएको भए तँ हारेर भाग्दैनथिस्। तँ भागेर बाँच्नुभन्दा त बरु युद्धमै साहसका साथ लडेर मरेको भए तँप्रति मेरो गर्व हुन्थ्यो। थुक्क कायर ! तैंले पुर्खाको प्रतिष्ठा माटोमै मिलाइस्। धिक्कार छ मलाई तँजस्ताकी आमा हुनु परेकोमा।’

जब सञ्जयले आमाका यी वचन सुन्छन्, तब उनी युद्धमा फर्किन्छन् र सिन्धुराजलाई हराएर आमासामु पुग्छन्। अनि विदुला आफ्नो पराक्रमी छोराको आमा हुन पाएकोमा गर्वले छाती फुलाउँदै भन्छिन्, ‘स्याबास् छोरा ! तँ मेरो रगत होस्।’ यसले स्पष्ट पार्छ कि आमाका हरेक वाणी छोराछोरीका लागि आत्मबल, साहस र विजयका द्योतक हुन्। यसरी पौराणिक कालमा आमाको उपदेशबाट धेरै सन्तानले सफलता प्राप्त गरेका उदाहरण हामीसँग प्रशस्तै छन्। माथि गोपालप्रसाद रिमालको कविताको मूलमर्म पनि यही नै हो।

२. यो कथा पुराणकालीन समयको हो। त्यतिबेला ‘देवपत्तन’ भन्ने सहरमा सिगुरी र निगुरी दुइटी नारी बस्थे। एकदिन अचानक एउटीको अबोध बच्चा हरायो, जसलाई अर्कीले भेटी। अर्कीका आफ्ना सन्तान थिएनन्। हराउनेले उसको साथमा भएको हराएको बच्चा आफ्नो भएकाले फिर्ता दिन आग्रह गरी। तर भेट्नेले उक्त बच्चा आफ्नै भएको दाबी गर्न थाली।

दुवैले बच्चालाई मेरो मेरो भन्न थाले। यही विषयमा उनीहरूको भनाभन हुन थाल्छ। तर, विवाद टुंगिन सकेन। अतः न्यायका लागि ती दुवै न्यायाधीशकोमा जान्छन्। न्यायाधीशलाई पनि दुवैले मेरो मेरो भनेको बच्चा खासमा कसको हो भनेर छुट्ट्याउन गाह्रो भयो। सोच्दासोच्दै न्यायाधीशको दिमागमा यो मुद्दा फैसलाका लागि एउटा उपाय आउँछ।

न्यायाधीश भन्छन्, ‘मैले यो बच्चा कसको हो फैसला गर्न सकिनँ, अतः म यस बच्चालाई टाउकादेखि चिरेर दुई भाग लगाएर तिमीहरूलाई आधाआधा दिन्छु।’ न्यायाधीशको यस्तो डरलाग्दो निर्णय सुनेर निगुरी खुसी हुन्छे तर सिगुरीको सातो जान थाल्छ, उभित्र मातृत्व उर्लिएर आउँछ। अनि उसले न्यायाधीशसँग भन्छे, ‘हे ! न्यायकर्ता, बरु मेरो बच्चा निगुरीले नै लैजाओस् तर यसलाई चिरेर नमार्नुहोस्।’

सिगुरीको यो निर्णय सुनेपछि न्यायाधीशलाई यो बच्चा उनैको भएको निर्णय गर्न सजिलो भयो। यो पौराणिक कथाले सन्तानका लागि आमाको ममता, अथाह स्नेह र अनुपम त्यागलाई मार्मिक रूपमा बताउँछ। यी कथा त नमुनाका लागि राखिएका हुन्। वैदिक शास्त्रमा माता माहात्म्यका लागि रचिएका अरू अनेकौं कथा छन्।

घ. वैदिक शास्त्रमा माता माहात्म्य
पूर्वीय वैदिक शास्त्रले जति आमाको महिमालाई अन्य कुनै शास्त्रले बुझ्ने र बुझाउने आँट गर्न सकेका छैनन्। यी हरेक शास्त्रहरूको पहिलो पाना ‘त्वमेव माता, च पिता त्वमेव’बाट आरम्भ हुन्छ। यस्तै पठनपाठन ‘या कुन्देन्दुतुषारहारधवला या शुभ्रवस्त्रावृता’ माता सरस्वतीको वन्दनाबाट सुरु हुन्छ।

आमाले सन्तान जन्माउँछिन्। हुर्काउँछिन्। केही समय तातेताते गर्दै तिनका हात समाएर डोहोर्‍याउँछिन्। परन्तु उनको हृदयले आफ्ना सन्तानलाई जीवनभर डोहोर्‍याउन छाड्दैनन्। अतः थाहा छैन, उनले कसरी सृष्टि आरम्भ गर्छिन् ? तर, आमा सृष्टिकी आरम्भकर्ता भने पक्कै हुन्।

अतः ‘मातृदेवो भवः’ भन्दै आमालाई शास्त्रले त्यसै प्रथम प्रार्थना गर्न निर्देश गरेको छैन। अनि न्यायशास्त्र ‘मनुस्मृति’को अध्याय–२ को श्लोक १४५ ले भन्छ–
उपाध्यायान्दशाचार्य आचार्याणां शतं पिता।
सहस्रं तु पितृन्माता गौरवेणातिरिच्यते।।

अर्थात्, उपाध्यायभन्दा दस गुणा आचार्य, आचार्यभन्दा सय गुणा पिता र पिताभन्दा हजार गुणा माता महान् हुन्छिन् भन्दै आमाको बृहत् महिमा त्यसै गाइएको होइन।
यसरी नै ‘दुर्गा सप्तशती’मा छ–
या देवी सर्वभूतेषु मातृरूपेण संस्थिता,
नमस्तस्यै, नमस्तस्यै, नमस्तस्यै नमोनमः।

अर्थात्, आमालाई समस्त जीवहरूमा रहने देवीकै रूपमा बारम्बार नमस्कार गर्न सिकाएको यसै होइन।
माता माहात्म्यका लागि केही अन्य महत्त्वपूर्ण श्लोकहरू
‘कुपुत्रो जायेत क्वचिदपि कुमाता न भवती’
अर्थात्, छोरा कुपुत्र भए पनि माता कहिल्यै कुमाता हुँदिनन्।
‘मातृवत् परदारेषु’
अर्थात्, अरूलाई पनि आमालाई जस्तै आदर 
र सम्मान गर्नुपर्छ।
‘माता सुतम् अस्ति, तत् शुचि भवतु’
ऋग्वेद भनिएको यो वाक्यले भन्छ, ‘आमा सन्तानका लागि शुद्धता र पवित्रता हो।’
‘आम्नायः मातरः’
यजुर्वेदमा भनिएको यो वाक्ले भन्छ, ‘आमा सबै 
ज्ञानकी मुहान् हुन्।’
‘मात्रा भवतु संमनाः’

अथर्ववेदमा भएको यो वाक्यले गर्भमा शरीरको धारण गर्ने आमाको महत्त्वलाई बुझाउँछ।
‘माता सदा सर्वदा पुत्री’
सामवेदको यो वाक्य भन्छ, ‘आमा सन्तानका लागि सधैं आधार र समर्थन हुन्।’
‘यत्र न ह्यनृक्ष्य महता मातरं तुष्टै’
उपनिषद्को यो वाक्यले बताउँछ कि जहाँ आमाको सम्मान र आदर हुँदैन, त्यहाँ समृद्धि असम्भव छ।
‘धर्मराज ! सन्तानको पालन गरेर धर्मको मार्गमा हिँड्न सधैं सचेत रहनुहोस्।’
कुन्तीले महाभारतमा भनेको वाक्य हो यो। जसले आमाको शिक्षा र मार्गदर्शनको महत्त्वलाई उजागर गर्छ।
‘जसले आमाको माया अनुभव गरेको छ, उसले मात्र जीवनको वास्तविक अर्थ बुझ्न सक्छ।’
महाभारत यसै भन्छ। अनि यो पनि भन्छ–
‘आमाले सबै कुरा भुल्न सक्लिन् तर सन्तानप्रतिको प्रेमलाई कहिल्यै भुल्न सक्दिनन्।’
‘आपदि मातैव शरणम्’

अर्थात्, विपत्को समयमा सबैले आमा सम्झिन्छन्। यसैले त कहीँ कतै ठक्कर लाग्दा मुखबाट अनायासै ‘ऐया..., मरे नि आमा !’ निस्किन्छ। अतः यसले पनि पुष्टि गर्छ कि हाम्रो अचेतन मनमा पनि आमाले दह्रो डेरा जमाएकी हुन्छिन्।
‘माता पुनः पुत्राणां स्वर्गापवर्गदायिनी’

भागवत पुराणमा आमाको यो ‘आमा स्वर्ग र मोक्षको दात्री हुन्’ भन्ने श्लोकले झनै आमाको महत्त्व र संस्कार दिने भूमिकालाई रेखांकित गर्छ।
‘जपेद् यः सदा मातरं तस्य स्याद् धर्मसहितः’
महाभागवत पुराणमा जो सधैं आमाको स्मरण गर्छन्, तिनीहरूको धर्ममा वृद्धि हुँदै जान्छ भनिएको विषय माथिको संस्कृत वाक्यमा छ।
‘मातरं सर्वदा पूज्यां सदा च भक्त्या सेविताम्’
विष्णु पुराणको यो श्लोकले आमालाई सधैं पूजा गर्न र भक्तिपूर्वक सेवा गर्नुपर्ने कुरा उल्लेख गरेको छ।
‘आमायाः स्नेहं नित्यं तृप्तिर्भविष्यति’
स्कन्द पुराणको यो श्लोकमा आमाको प्रेमले सधैं तृप्ति ल्याउने कुरा बताइएको छ।

यस प्रकार वेद होस् वा पुराण, रामायण होस् वा महाभारत, हाम्रा त्यस्ता कुनै ग्रन्थ छैनन्, जसले आमाको  श्रद्धा गर्न अथवा आमाको स्वभाव, गुण र महत्त्वलाई सम्मानपूर्वक वर्णन गर्न नसिकाएको होस्। यी सबै शास्त्रले एउटै स्वरमा भन्छन्, ‘सन्तानको संरक्षण, संस्कार र व्यक्तित्वमा आमाको योगदान अमूल्य छ। आमा उच्च आदर र सम्मानकी प्रतीक हुन्।’

आमाका मुटुका चार कोठाहरू नै सन्तानका लागि विद्यालय र महाविद्यालयका कोठाहरू हुन्। यिनै कक्षाकोठामा छोराछोरीले जीवनका लागि उच्चतम् उच्च संस्कार र संस्कृति सिकेका हुन्छन्। यसर्थ आमा सन्तानहरूका लागि संस्कार र शिक्षाको पहिलो पाठशाला र पहिलो गुरु हुन्। गीतामा भनिएकै छ, ‘संस्कार र धर्मको पालना गर्न माताको जिम्मेदारी हुन्छ।’

द्वितीय खण्ड : मातातीर्थ माहात्म्य

हामी हिँड्दै गर्दा जहाँ जहाँ पाइलाले टेक्छन्, ती सबै ठाउँमा तीर्थ छन्। अर्थात्, ती सबै ठाउँ तीर्थ हुन्। हिँडेपछि जहाँ उभिन्छौं, हामी तीर्थमा उभिन्छौं। अनि हामी जहाँ आराम गर्छौं, तीर्थमा आराम गर्छौं। अतः नेपालमा जन्मिनु र नेपाली हुन पाउनु तीर्थमा जन्मिनु हो। जन्मदेखि मरणसम्म तीर्थाटनी बन्नु हो। यस्तो सौभाग्य नेपालीलाई बाहेक विश्वमा कुनै देशका नागरिकलाई जुरेको छैन।

आजको दिन छोराछोरीहरूले आफूलाई जन्म दिने आमालाई मीठामीठा परिकार खुवाएर तथा उपहार दिएर प्रसन्न तुल्याउँछन् र उनीहरूबाट आशीर्वाद ग्रहण गर्छन्। यस दिनलाई आमाको मुख हेर्ने दिन पनि भनिन्छ।

नेपाल तीर्थैतीर्थको देश हो। अनि, काठमाडौं मन्दिरै मन्दिरको राजधानी हो। त्यसैले यो तीर्थधानी हो। अब म तपाईंहरूलाई यही राजधानीकै पश्चिमतर्फ थानकोट जाने सडकमा गुडाउँदै पहिला गुर्जुधारा पुर्‍याउँछु र त्यहाँबाट मास्तिरपट्टि पहाडको फेदीमा रहेको महातीर्थ मातातीर्थतर्फ यसको उत्पत्तिको प्रसंगमा भएका रोचक कथाहरू सुनाउँदै लैजान्छु–

पहिलो कथा : कथा सत्य युगको हो। महादेव र सतीदेवीको युगको हो।
महादेव सतीका पति र दक्षका मन नपरेका ज्वाईं भएकाले उनले आफूले गरेको महायज्ञमा महादेवलाई निमन्त्रणा गर्दैनन्। त्यसकारण यो यज्ञ सृष्टि र सृष्टिको कर्तव्यविपरीत भएको ठहर गर्दै बाबुको यज्ञमा छोरी पार्वती पुग्छिन्। त्यहाँ उनले पिताजीबाट आफ्ना पतिको अपमान सुनेर असह्य हुन्छिन्। फलतः सतीले पिताजीको उक्त यज्ञकुण्डमा हाम फालेर आत्मदाह गर्छिन्। यो खबर महादेवले सुन्छन्। यसैका कारण दक्षको यज्ञ नष्ट हुन्छ।

अनि महादेवले अग्निले जलाउन नसकेको सतीको देह बोकेर पृथ्वीभरि डुल्न थाल्छन्। यही क्रममा सतीदेवीको एउटा अंग यस स्थानमा पतन भएको र त्यहाँ मातुलेश्वर महादेवको उत्पत्ति भएको शास्त्रीय मान्यता छ। यसकारण शास्त्रसम्मत् विधिद्वारा यहाँ आएर गरिने कर्मकाण्डले आमाको मृत आत्माले मोक्ष पाउने र सन्तानहरूले जीवनभर सुखसन्तोष प्राप्त गर्ने जनविश्वास सत्ययुगबाटै रहँदै आएको तथ्य यसै कथाबाट पुष्टि हुन्छ।

दोस्रो कथा:  सत्ययुगबाट आरम्भ भएको यो दिव्य स्थानमा त्रेता युगमा भगवान श्रीराम र माता सीताबाट पुनः शक्तिपात हुन्छ। आफ्नो १४ वर्षे वनवासको क्रममा श्रीराम लक्ष्मण र सीतामाताका साथमा घुम्दै हालको मातातीर्थको स्थलमा आइपुग्छन्। स्थानीयहरूले अपरिचितका रूपमा उनीमाथि आक्रमण गर्न थाल्छन्। दुवै पक्षबीच घमासन युद्ध हुँदा स्थानीय लडाकुहरू भोकप्यासले शिथिल हुन्छन्। सीतामाता पनि प्यासले आकुलब्याकुल हुन्छिन्।

सीताका लागि रामले वरिपरि पानीको स्रोत खोज्न थाल्छन्। पिउनका लागि पानीको स्रोत कतै नभेटेपछि श्रीरामले तीन पटक माता गंगाको ‘माता गंगासमो तीर्थ पिता पुस्कर मे वचः’ मन्त्रोच्चारण गर्दै जमिनमा बाण हान्छन्। त्यही बाण हानेको स्थान अर्थात् मातुलेश्वर महादेवको उत्पत्ति स्थानमा पानीको उक्त कुण्ड उत्पत्ति हुन्छ। प्यासले छट्पटिएकी सीताले अञ्जुलीमा पानी उभाएर पिउन थाल्दा उक्त पानीमा उनलाई सम्पूर्ण ब्रह्माण्डको दर्शन मिल्छ। साथै कुण्डभित्र ढुंगामा परेको उनको छायाँ मुर्तिमा कुँदिन्छ। रामद्वारा निर्मित यो सीताकुण्ड नै आज मातातीर्थको नामले प्रसिद्ध छ।

तेस्रो कथा: त्रेता युगमा रामनिर्मित उक्त सीताकुण्ड द्वापर युगमा फेरि ग्वालाद्वारा ठूलो चर्चामा आउँछ। कथा यसरी सुरु हुन्छ– एकदिनको कुरा हो। ग्वाला अर्नी बोकेर गाई चराउन गोठालो जान्छ। गाईहरू कुण्डको वरिपरि चरिरहेका हुन्छन्। मध्याह्नपछि समय पश्चिमतिर कोल्टिँदै जान्छ। अर्थात्, अर्नी खानेबेला भएको हुन्छ। उसले अर्नी रोटी लिएर गएको हुन्छ। उसले कुण्डको छेउको ढुंगामा बसेर रोटी निकालेर खान थाल्दैगर्दा अकस्मात् रोटी उसको हातबाट खसेर कुण्डमा डुब्छ।

  • भागवत पुराणमा आमाको यो ‘आमा स्वर्ग र मोक्षको दात्री हुन्’ भन्ने श्लोकले झनै आमाको महत्तव र संस्कार दिने भूमिकालाई रेखांकित गर्छ।
  • पूर्वीय वैदिक शास्त्रले जति आमाको महिमालाई अन्य कुनै शास्त्रले बुझ्ने र बुझाउने आँट गर्न सकेका छैनन्। यी हरेक शास्त्रहरूको पहिलो पाना ‘त्वमेव माता, च पिता त्वमेव’बाट आरम्भ हुन्छ।
  • वेद होस् वा पुराण, रामायण होस् वा महाभारत, हाम्रा त्यस्ता कुनै ग्रन्थ छैनन्, जसले आमाको  श्रद्धा गर्न अथवा आमाको स्वभाव, गुण र महत्तवलाई सम्मानपूर्वक वर्णन गर्न नसिकाएको होस्।
  • ‘तिमी मलाई एक असल आमा देऊ, म तिमीलाई एक असल राष्ट्र दिनेछु।’नेपोलियन बोनापार्टको यो अनुभवलाई निकै मार्मिक मानिन्छ। आमाका विषयमा उनको यो अनुभवलाई विश्वले नै तारिफ गर्ने गर्छ। यसले परिवारभित्र एउटा असल आमाको भूमिकाले सिंगो राष्ट्रलाई नै कसरी प्रभावित पार्छ भन्ने यथार्थलाई उजागर गरेको छ।

रोटी सँगसँगै उसका आँखा पनि कुण्डमा डुब्छन्। ठीक त्यही समयमा कुण्डमा डुबेका उसका आँखाले आफ्नी दिवंगत आमाको मुख देख्छन्। आमाको मुख देखेर ग्वाला आमा ‘क्कक !’ भनेर चिच्याउँदै भक्कानिएर रुन थाल्छ। आमालाई आफूसँगै घर जान आग्रह गर्छ। नलिई नजाने जिद्दी गर्छ। कुण्डमा मुख देखिएकी उसकी आमाले आफू दिवंगत भइसकेकाले घर फर्किन नमिल्ने कुरा गर्छिन्। त्यो दिन मौकाले हिन्दु परम्पराअनुसार वैशाख कृष्ण औंसीको दिन हुन्छ।

आमाले छोरालाई सम्झाउँदै ‘बाबु’ नरोऊ, प्रत्येक वर्ष आजकै दिन अर्थात् वैशाख कृष्ण औंसीका दिन हामी दिवंगत माताहरू यहाँ आउँछौं। अतः हरेक वैशाख कृष्ण औंसीका दिन यस तीर्थमा तिमी मेरो आशीर्वाद लिन आउनू र त्यही दिन तिमीले मेरो मुख हेर्न पाउनेछौ’ भनेर सम्झाउँछिन्। आमाको यही वाचालाई विश्वास गरेर उक्त दिन छोरो गाईहरू लिएर घर फर्किन्छ। आमाको वाचाअनुसार हरेक वर्ष ऊ आमाको आशीर्वाद लिन र मुख हेर्न रोटी र फलफूल लिएर उक्त कुण्डमा जान थाल्छ।

यसरी दिवंगत आमा उक्त कुण्डमा आज पनि आउने र आफ्ना सन्तानले दिएको पिण्ड तर्पण ग्रहण गरी उनीहरूलाई आशीर्वाद दिएर र मुख देखाएर आफ्नो पूर्वयात्रामा फर्किन्छन् भन्ने अघिल्ला तीनै युगदेखि जनविश्वास बोकेको यस पवित्रस्थल आज पनि उस्तै शक्ति र भक्तिभावले ओतप्रोत छ।

माथिका यी कथाहरू कथामात्रै होइनन्। यिनीहरूले त सत्य, त्रेता, द्वापर र कली चारै युगहरू मातातीर्थका साक्षी बसेको प्रमाण दिइरहेका छन्। यो दिन मातृशक्ति सम्पन्न दिन हो। यो दिनलाई जीवित र दिवंगत दुवै माताका लागि पुण्यपर्व मानिन्छ। यो दिनमा जो यहाँ आएर आमाको नाममा संकल्प गरेर श्राद्ध र तर्पण अर्पण गर्छ, उसले कहिल्यै नास नहुनेपुण्य प्राप्त गर्ने र दिवंगत माता खुसी हुने शास्त्रवाणी छ। यही मान्यताले गर्दा यहाँ यो दिन दर्शनार्थीहरूको ठूलो मेला लाग्ने गर्छ।

आजको दिन छोराछोरीहरूले आफूलाई जन्म दिने आमालाई मीठामीठा परिकार खुवाएर तथा उपहार दिएर प्रसन्न तुल्याउँछन् र उनीहरूबाट आशीर्वाद ग्रहण गर्छन्। यस दिनलाई आमाको मुख हेर्ने दिन पनि भनिन्छ।

उपसंहार  :  आमालाई प्रसन्न पार्न सके अन्य कुनै धर्मकर्मको आवश्यकता नपर्ने कुरा शास्त्रमा उल्लेख छ। अतः सन्तान कहिल्यै आमाका लागि आफूले गर्नुपर्ने कर्तव्यबाट विमुख हुनै हुँदैन। यस सन्दर्भमा महर्षि वाल्मीकि रचित रामायणमा रामले रावणलाई मारेपछि लक्ष्मणले रामलाई सुनैसुनको सुन्दर लंकामै बसेर राज गर्न अनुरोध गर्दा रामले लक्ष्मणलाई सम्झाउँदै भनेको यो वाणी निकै प्रसिद्ध छ– 
अपि स्वर्णमयी लंका न मे लक्ष्मण रोचते।
जननी जन्मभूमिश्च स्वर्गादपि गरीयसी।।

यस वाणीले हामीलाई सधैं आमाप्रतिको कर्तव्य सम्झाउँदै भन्छ– ‘आमाको छाया वा मातृचरणमा रहने सौभाग्य प्राप्त गर्नु स्वर्गभन्दा पनि ठूलो प्राप्ति हो।’

यस दिन हिन्दुहरू मात्रै नभएर बौद्ध धर्मावलम्बीसमेत आफ्नी दिवंगत आमाको सम्झनामा  श्राद्ध गर्न आउँछन्। यसरी यो दिनको मातातीर्थ दर्शनले आमाको मुक्तिदेखि छोराछोरीहरू उनलाई तिर्नुपर्ने ऋणबाट मुक्त हुने जनमानसमा अटल विश्वास छ। अतः मातातीर्थ विश्वमै मातृसम्मानको एकमात्रै धरोहर हो। खासमा, आमा यस्तो स्थान हुन्, जहाँ सम्पूर्ण प्रेमहरूको आरम्भ र अन्त्य हुन्छ। इतिवृतं।



 


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.