नेपाल सरकारले शिवपुरी राष्ट्रिय निकुञ्जमा प्राचीन कोट, किल्ला र गढी रहेको नागार्जुन क्षेत्रलाई पनि थप गरेर २०६५ सालमा शिवपुरी नागार्जुन राष्ट्रिय निकुञ्ज नामकरण गरेको हो।
नागार्जुनलाई नेपाल उपत्यकाको प्राचीन बस्ती विकास एवं मानव सभ्यताको उद्गम स्थलका रूपमा लिन सकिन्छ । यसको स्वयम्भू सभ्यतासँग घनिष्ट सम्बन्ध रहेको पाइन्छ । काठमाडौं उपत्यकाको स्थापना हुनुअगावै विपश्वी बुद्धले नागार्जुनको टुप्पोमा बसेर तपस्या गरे । उनले कार्तिक शुक्ल पूर्णिमामा दक्षिण फर्केर मन्त्र गरी कमलको बीउ दहमा रोपेका र त्यसको ६ महिनापछि वैशाख शुक्ल पूर्णिमाको दिन कमलको फूल उम्रन गई पञ्चरश्मिसहित स्वयम्भू महाचैत्यको उत्पत्ति भएको स्वयम्भू पुराणमा छ ।
त्यस्तै, बागीश्वर मञ्जुश्रीले गुह्येश्वरीको साधना गरी खड्ग प्राप्त गरेको र उक्त खड्ग प्रहार गरी चोभारबाट यहाँको पानी बाहिर निष्कासन गराई बस्ती विकास गराएको समेत स्वयम्भू पुराणमा पाइन्छ । महायानी दार्शनिक आचार्य नागार्जुनको साधना स्थलका रूपमा चिनिएको नागार्जुन पर्वत स्वयम्भूको उत्पत्ति र विकाससम्बन्धी पौराणिक मिथक र उपत्यकाको मानव सभ्यताको प्रसंगसँग पनि जोडिएको ज्यादै महत्त्वपूर्ण मानिन्छ । तिब्बतीहरू नागार्जुनलाई लाङालुङ्तेन र मगरभाषीहरू ङाङारजुङ भन्छन् ।
चैत्र शुक्ल पूर्णिमा र नागार्जुन मेला : चैत्र शुक्ल पूर्णिमाको दिनमा यस नागार्जुन अर्थात् विन्ध्यापर्वतको उच्च भागमा रहेको जामाच्वमा हिन्दु र बौद्ध दुवै धर्मावलम्बीहरूको ठूलो भीड लाग्छ । करिब सात हजार फिट उचाइमा रहेको उक्त जामाच्व विपश्वी बुद्धको तपोस्थल पनि हो । जसलाई बालाजु बाइसधारा वा जामाचो मेलाका नामले पनि चिनिन्छ । जात्रामा विभिन्न सम्प्रदायका मानिस यहाँ आएर पितृका नाममा पूजाअर्चना, जपतप र दीप प्रज्ज्वल गरेर श्रद्धाभाव व्यक्त गर्दछन् ।
महाभारतको कथासँग जोडिएको नागार्जुन : नागार्जुनको प्रसंग महाभारतसँग पनि जोडिएको पाइन्छ । एकदिन पाण्डवहरू वनबासको क्रममा एकदिन घुम्दैफिर्दै यहाँ आइपुग्छन् । पाण्डवलाई मार्नका निमित्त विभिन्न षड्यन्त्र गरेका कौरवहरू सफल नभएपछि उनीहरूले नागलाई पठाएका हुन्छन् । यो कुरा वनबासको क्रममा अगाडि बढ्दै जाँदा अर्जुनले थाहा पाउँछन् । आफूलाई फँणा उठाएर डस्न लागेको नागलाई देखेपछि उनले तत्कालै नागको शिरछेदन गरिदिन्छन् । यसरी नागको शिर अर्जुनले छेदन गरेका कारण नाग र अर्जुनको नामबाट नै यस स्थलको नाम नागार्जुन रहन गएको हो ।
नागको टाउको छेदन भएपछि युधिष्ठिरले तत्कालै महादेवको पूजाअर्चना गरेको हुनाले यहाँ रहेका महादेवको नाम नागार्जुन महादेव नाम रहन गएको हो । यसरी अर्जुनद्वारा नागको शिरछेदन गरिएको कारणले नै उक्त पर्वतको नाम नै नागार्जुन रहन गएको हो । महाभारतकै अर्काे प्रसंगअनुसार वनबासका क्रममा जब अर्जुनको नाककन्या उलुपीसँग भेट हुन्छ । उनले अर्जुनलाई पातालमा लगेर राख्छिन् । उनको नागकन्याबाट ब्रभुवाहन नाम गरेको पुत्रको जन्म हुन्छ । जसले युद्धमा अर्जुनको शिरच्छेदन गर्छ । यो थाहा पाएर नागिनीले अर्जुनलाई बचाउँछिन् । यसरी नाग र अर्जुनको नामबाटै नागार्जुन नाम रहन गएको हो ।
विपश्वी वुद्ध र नागार्जुनको साधनास्थल : प्राग्कालमा नेपाल उपत्यका पानीको विशाल दह रहेको र सो बेला विपश्वी बुद्धले नागार्जुनको टुप्पोमा बसी तपस्या गरेका थिए । जसका कारण यस पर्वतलाई जातमात्रोच्व भनिएको हो । स्वयम्भू पुराणमा उल्लेख भएअनुसार कुनै समयमा महामञ्जुश्री, बोधिसत्व, केसिनी र उपकेसिनी देवीहरूसहित पञ्चशील पर्वत पार गरेर नेपाल आएका थिए । तलाउको पानी विस्थापित गरी मञ्जुश्रीले काठमाडौंको स्थापना गर्नुअगावै विपश्वी बुद्धले नागार्जुनको टुप्पोमा बसेर तपस्या गरेका थिए । उनले कार्तिक महिनामा दक्षिण फर्केर मन्त्र गरी कमलको बीउ दहमा रोपेका थिए । अर्को वर्षको वैशाख पूर्णिमाको दिनमा वा ६ महिनापछि कमलको फूल उम्रेको र पञ्चरश्मिसहित स्वयम्भू महाचैत्यको उत्पत्ति भएको थियो ।
जामाच्व र ल्हुतीपुन्हीको सम्बन्ध : बौद्धमार्गीका लागि जामाच्व महत्त्वपूर्ण तीर्थस्थल हो । बालाजु बाइसधाराको जात्रामा पूर्णेको अघिल्लो दिनमै बौद्ध स्तूपमा भक्तजन आउँछन् र रातभर दिवंगत आत्माको मुक्तिका लागि बत्ती बाल्छन् र भोलिपल्ट चैत्रपूर्णिमाको बिहान सबेरै बालाजुको बाइसधारामा स्नान गर्छन् । अनि नागार्जुन पर्वतको जामाच्वमा रहेको विपश्वी बुद्धको स्तुपमा दर्शन गरी बत्ती बालेर स्वयम्भू स्तूपको ज्योतिको दर्शन गर्छन् । त्यस्तै, हिन्दु धर्मावलम्बी पनि यस दिन बालाजु बाइसधारामा स्नान गरी यहाँका शीतलामाई र बालनीलकण्ठको पूजाअर्चना गरी जामाच्व स्तूपमा पुगेर दीप प्रज्ज्वलन गर्छन् ।
जामाच्व र उपत्यकामा मानव सभ्यता : काठमाडौं उपत्यकाको मानव विकास र सभ्यतासँग जामाच्वको प्रत्यक्ष सम्बन्ध जोडिएको पनि पाइन्छ । जतिबेला काठमाडौं दहको पानी सुक्दै जान थालेको थियो र पानीमुनिका जीवहरू देखिन थालेका थिए, त्यसबेला विभिन्न जीवहरू देखिए । त्यसमध्ये नागराज पनि एक हुन् । नागराजलाई आकाशमा उड्दै गरेको चीलले देखेपछि छोड्दै छोडेनन् र आफ्नो ज्यान जोखिममा परेपछि नागराज हारगुहार गर्दै ल्हुतीबाट जामाच्वमा रहेको तपस्वी बुद्धको शरणमा गए । त्यसपछि तपस्वी बुद्धले नागराजलाई बचाइदिए । त्यसैले यसैको स्मरणमा ल्हुतीपुन्हीका दिन बाइसधारामा नुहाएर जामाच्व जाने प्रचलन रहेको पाइन्छ ।
जामाच्वमा अहिले पनि एउटा रूखमुनि सानो मन्दिर छ । जहाँ बेलाबेलामा सेतो नाग (सर्प) आउँछ भन्ने विश्वास छ । नागार्जुनको ईशानकोणमा नागको शिला रहेको छ भने त्यसको नजिकै रहेको शिलालाई अर्जुन मानेर पुज्ने परम्परा पनि छ । केही वर्ष पहिलेसम्म पनि रुखको फेदमा नागार्जुन महादेवको शिवलिंग पनि रहेको थियो । तर त्यो अहिले हराएको छ ।
महामञ्जुश्रीकोे अध्ययन स्थल : महामञ्जुश्रीले जामाच्वमा बसेर काठमाडौं उपत्यका पानीले भरिएको कालीनाग दहको रूपमा रहेको बेला पानी सुकेको खण्डमा मानव बसोबासबारे सम्भाव्य अध्ययन गरेको भनिन्छ । उनले धिलाच्व पर्वतमा बसेर ध्यान गरे, चपुच्व (शिवपुरी)मा बसेर किताब लेखे, पुच्व (फुलचोकी)मा बसेर सम्भावित अध्ययन गरे ।
त्यसैले, हरेक वर्ष चैत्र शुक्ल पूर्णिमाको दिन बालाजु बाइसधारा तथा जामाच्वमा मेला लाग्छ भने अन्य ठाउँमा वैशाख संक्रान्तिको दिनमा मात्रै मेला लाग्छ । महामञ्जुश्री काठमाडौं खाल्डो पानीले भरिभराउ विशाल दह हुँदाको समय आफ्नो दुई श्रीमती मोक्षदा र वरदासहित नेपाल आएर बसेको गुह्येश्वरीबाट विश्वरूप दर्शन मिलेको र खड्गसहितको शक्ति प्राप्त भएका कारण त्यही खड्गले चोभारको पानी निकास खोली उपत्यकामा बस्ती बसाल्न पुगेको कथन पनि पाइन्छ ।
नागार्जुन वन र जंगबहादुरको शान : जंगबहादुर बेलायत भ्रमणमा जाँदा बगैंचाको विषयमा कुरा चल्दा उनले हाम्रो पनि १८ कोसको बगैंचा छ भनेर फुर्ती लगाएछन् । १८ कोश क्षेत्रफलको नागार्जुन जंगलमा रहेको छरिया दरबारको केही तल बगैंचा भन्ने ठाउँ छ जहाँ अहिले पनि बगैंचाको पर्खालको भग्नावशेष र विभिन्न प्रकारका फलफूलका वृक्षहरू अझै देख्न सकिन्छ ।
विक्रम संवत् १८७२ मा जंगबहादुर काठमाडौं आएपछि उनले आयुर्वेदिक उपचारका लागि अनेकौं जडीबुटीहरूको संग्रहका लागि विभिन्न प्रकारका बिरुवा रोप्न लगाएका थिए । जुन भारत, भुटान, काबुल, दार्जिलिङ आदि स्थानबाट झिकाएर नागार्जुन, गोकर्ण र छरियाको वनमा रोप्न लगाएको कुरा श्री ३ हरूको तथ्य वृत्तान्त पुस्तकमा उल्लेख छ ।
ऐनडाँडा जो विश्वमै वन्यजन्तु र वनस्पति संरक्षणको प्रथम दस्तावेज : वन्यजन्तु, वनस्पति र वन पैदावार संरक्षणका दृष्टिले नेपाल विश्वमै अग्रणी राष्ट्र मानिन्छ । विश्वको पहिलो राष्ट्रिय निकुञ्ज अमेरिकाको यल्लो स्टोन राष्ट्रिय निकुञ्ज स्थापना हुनुभन्दा एक दशकपहिले नै नेपालमा वनस्पति, वनपैदावार र वन्यजन्तु संरक्षणका लागि निश्चित नियम कानुन बनिसकेको कुरा राजधानीको शिवपुरी नागार्जुन राष्ट्रिय निकुञ्जअन्तर्गत पर्ने नागार्जुन क्षेत्रको ऐनडाँडामा रहेको शिलालेखले पुष्टि गर्छ । वनस्पति, वनपैदावार र वन्यजन्तुको संरक्षणका लागि बनाइएको नियम वा ऐनलाई सर्वसाधारणका लागि शिलालेखमा त्यहाँ राखिएकाले नै त्यस डाँडालाई ऐनडाँडा भनिएको हो ।
१९२६ सालमा तत्कालीन शासक श्री ५ सुरेन्द्रले वनजंगल र वन्यजन्तु संरक्षणका लागि लागू गरिएको ऐनको फेहरिस्त भएको शिलालेख त्यहाँ देख्न पाइन्छ । जंगबहादुरले राजा सुरेन्द्रको उक्त कदमलाई सार्थक बनाउन थप सुधार गर्दै लगेको कुरा इतिहासमा पाइन्छ । त्यसपछि नागार्जुन जंगलको सुरक्षासम्बन्धी ऐननियम बनाएर ठाउँठाउँमा शिलालेख राख्ने काम भएको थियो । त्यस प्रकारका शिलालेखहरू ऐनडाँडा, ल्हुँतीकोट दरबार परिसर, बतासेमा पनि राखिएको थियो ।
सन् १९६९ (१९२६ साल) मा तत्कालीन राजा सुरेन्द्रको पालामा भएको शिलालेख स्थापना गरिएको तीन वर्षपछि मात्र अमेरिकाको यल्लो स्टोन नेसनल पार्कको स्थापना सन् १८७२ मार्च १ मा भएको हो । यस प्रकारको संरक्षण कार्यले वन्यजन्तु र वनपैदावार संरक्षणमा हामी नेपाली पनि ज्यादै अगाडि रहेको पुष्टि हुन्छ । जीवजन्तु, वनस्पति र वातावरण संरक्षणका क्षेत्रमा हाम्रा पूर्वजहरूको यस कार्यलाई सामान्य मान्नु हुँदैन । यस्ता कार्यलाई हामी उनीहरूको ज्ञान, सीप तथा क्षमताका रूपमा लिन सक्दछौं । नागार्जुनको ऐनडाँडामा रहेका शिलालेखको विवरणको संक्षिप्त विवरण यस प्रकार रहेको छ :
श्री ५ महाराजाधिराज सुरेन्द्र विक्रम शाहका हुकुमको उर्दी :
यो वनभित्रका कस्तुरी मान्र्यालाई मोहोर रुपैया २०० जरिवाना गर्नु...१
मृग घोरल मान्र्यालाई ५० रुपैयाँ जरिवाना गर्नु............२
चितल बराठमान्र्यालाई १०० रुपैयाँ जरिवाना गर्नु .........३
........................................................४६
इति संवत् १९२६ साल वैशाख सुदी ८ रोज ४ शुभम् ।
नागार्जुनभित्र रानीवन : नागार्जुन पर्वतभित्र एउटा रानीवन क्षेत्र पनि छ । हुन त यस्ता रानीवनहरू देशका विभिन्न भागमा पाइन्छन् । यको ऐतिहासिक रानीवन मल्ल राजा प्रताप मल्लकी पत्नी अनन्तप्रियाले बनाउन लगाएकी थिइन् । जुन हालको हलचोक र ल्हुतीकोटको पश्चिमतर्फको भागमा पर्छ ।
ल्हुतीकोट र विश्वकवि सम्मेलन : प्रतापसिंह शाहको पालामा तत्कालीन कविहरूको जमघट ल्हुतीकोटमा भएको कुरा इतिहासमा उल्लेख भएको पाइन्छ । ल्हुतीकोटमा तत्कालीन संस्कृत भाषी कविहरूको सम्मेलनसमेत भएको र बृहत् कविगोष्ठीको आयोजना गरिएको पाइन्छ । प्रतापसिंह शाहले गराएको उक्त कवि गोष्ठीलाई कविता निकोषलोल भनिन्छ । उक्त कविता गोष्ठीमा भारतदेखिका संस्कृतभाषी थुप्रै कवि ल्हुतीकोट आएका थिए ।
नागार्जुन वरपरका कोट, किल्ला र गढी : नागार्जुन पर्वतको वरपर प्राचीन कोट, किल्ला र गढी पनि रहेका छन् । नागार्जुन पर्वतको पूर्वमा पर्ने ल्हुतीकोटलाई विक्रम संवत् १८२२ मा गोर्खाली सेनाले आफ्नो अधीनमा लिएका थिए । बाबुराम आचार्यको पृथ्वीनारायण शाहको जीवनीनामक कृतिमा लुटीकोटको उल्लेख पाइन्छ—कीर्तिपुरबाट मुड्खुकोटतर्फ लाग्दा बाटोमा अचेलको बालाजु नजिकै ल्हुतीकोट नामको अर्को प्रसिद्ध किल्ला पर्ने भएकोले सबैभन्दा पहिले यसै किल्लामाथि अधिकार स्थापित गर्ने योजना राजा पृथ्वीनारायण शाहले बनाएका थिए ।
ल्हुतीकोटमाथि अधिकार कायम गर्न रामकृष्ण कँुवरको नेतृत्वमा रहेको सैन्यदलले दिउँसो यस किल्लामाथि घेरा दिएर रातको समयमा जोडदार आक्रमण गरी यस किल्लालाई नियन्त्रणमा पारिएको थियो भन्ने तथ्य इतिहासमा पाइन्छ । लुटीकोट नजिकै रहेको मुडिखुगढीको संरक्षण हरि खड्काले गरेको र गोर्खाली सेनाका अगाडि टिक्न नसकेका कारण हरि खड्काले आत्मसमर्पण गरेपछि यिनीसँगै रहेका १ सय ६५ जना सैनिक बन्दी बनाइएको कुरा पृथ्वीनारायण शाहको संक्षिप्त जीवनीनामक पुस्तकमा आचार्यले उल्लेख गरेका छन् । त्यस्तै, यस पर्वतको दक्षिणतर्फ रहेको रामकोट नामक कोट रहेको छ । जुन धार्मिक दृष्टिले महत्त्वपूर्ण मानिन्छ । रामले पूजा गरेको कोतबाट नै रामकोट नाम रहन गएको हो भने नागार्र्जुनको पश्चिम दिशामा अर्को कोट रहेको छ जसलाई भीरकोट भनिन्छ ।
ल्हुतीकोट र दासप्रथा रोक्ने प्रयास : ल्हुतीकोटको राष्ट्रिय अन्तर्राष्ट्रिय महत्त्व पनि रहेको पाइन्छ । बुद्धदेखि पहलमानसम्म नामक पुस्तकमा इतिहासविद् प्रा. दिनेशराज पन्तले उल्लेख गरेका छन् । पृथ्वीनारायण शाहले विसं १८२५ मा दासप्रथा रोक्न प्रयास गरेको एउटा ऐतिहासिक तथ्यमा नागार्जुनको लुटीकोट जोडिएको पाइन्छ —
स्वस्ति श्रीमनमहाराजधिराज कस्य रुकका आगे रामकृष्ण राज उपाध्याय पौडेलका छिमेक बस्न्या धनदत्या नेवारकन हिजो हामीले पक्रिन विश्वामित्र मिश्रलाई बक्स्याको हो आज विश्वामित्रा मिश्रले पारगरिदियो, हाम्रो देशमहा आ, जहाँ तेरो सुभिता पर्छ त्यहाँ बस् । कलकत्ता भासिएको हो भनिकन पनि विश्वामित्र मिश्रको कमारो हो भनिकन दाबा धक्का नास्ति..... । संवत् १८२५ भाद्र सुदी १ रोज २ मुकाम, लुटीकोट शुभम् ।
नागार्जुनका दरबारहरू : नागार्जुन जंगलभित्र रहेको दुई दरबारमध्ये बालाजु बाइस धारामाथिको ल्हुतीकोट दरबार पनि मुख्य मानिन्छ । जसलाई जुद्धशमशेरले निर्माण गरेका थिए । यस दरबारमा तत्कालीन राजामहाराजाहरू गर्मी र जाडो छल्न आउँथे । यसै दरबारमा श्री ५ महेन्द्रको दोस्रो विवाह हरिशमसेरकी सुपुत्री रत्नसँग २००९ मंसिर २५ गते भएको थियो ।
त्यस्तै, २०२८ माघ १७ गते राजा महेन्द्रको स्वर्गारोहण भएपछि चितवनको दियालो बंगाला पुगेका युवराज वीरेन्द्र बुवालाई अन्तिम श्रद्धाञ्जलि दिएर मुमा रत्नसहित काठमाडौं आएका र बाक्लो हुस्सुका कारण उक्त हेलिकोप्टर नागार्जुन दरबारमा अवतरण गरेको सुन्दरप्रसाद शाह दु : खीले (नेपाल मासिक, २०६८, १७) उल्लेख गरेका छन् ।
- नागार्जुनको ईशानकोणमा नागको शिला रहेको छ भने त्यसको नजिकै रहेको शिलालाई अर्जुन मानेर पूज्ने परम्परा पनि छ। केही वर्ष पहिलेसम्म पनि रुखको फेदमा नागार्जुन महादेवको शिवलिंग पनि रहेको थियो। तर त्यो अहिले हराएको छ।
- नागार्जुन पर्वतभित्र एउटा रानीवन क्षेत्र पनि छ। हुन त यस्ता रानीवनहरू देशका विभिन्न भागमा पाइन्छन्। यहाँ रहेको ऐतिहासिक रानीवन तत्कालीन मल्ल राजा प्रताप मल्लकी पत्नी अनन्तप्रियाले बनाउन लगाएकी थिइन्। जुन हालको हलचोक र ल्हुतीकोटको पश्चिमतर्फको भागमा पर्छ।
यसैगरी, जामाचोको पश्चिमतर्फ रहेको छहरे खोलाको नजिकैको छरिया दरबार जंगबहादुर राणाले निर्माण गराएको कुरा पुरुषोत्तम शमशेरले श्री ३ हरूको तथ्य वृत्तान्त पुस्तकमा उल्लेख गरेका छन्—काठमाडौं नजिक छरिया भन्ने ठाउँमा सेप्टेम्बर १ मा जंगबहादुर गएर तीन हप्ता त्यहीँ क्याम्प खडा गरी बसे । त्यहाँ त्यस समय ठूलो जंगल थियो । तसर्थ श्री ३ जंगबहादुरले अनेकौं प्रकारका जिउँदा जनावरहरू चराहरू त्यस जंगलमा छोड्न लगाए ।
जंगबहादुरलाई सिकारको अति सौख भएकाले उनी बराबर भन्थे– ६५ वर्षको उमेरसम्म गरिआएका परिश्रम गरी मधेसतर्राइमा सिकार गर्ने । ६५ वर्षदेखि ७० वर्षको उमेरसम्म बाँचियो भने चितौन हेटांैडाको आसपासमा सिकार गर्ने । त्यसदेखि पनि बढी बाँचेमा पाल्की चढेर गोकर्ण अथवा छरिया दरबारसम्म सिकार गर्ने इरादा छ । छरिया दरबारमा अहिले पनि इँटा, ढुंगा, पर्खाल र दरबारका साथै घोडालाई पानी खुवाउने पोखरीको अवशेष पनि देख्न सकिन्छ ।
नागार्जुनमा रहेका गुफाहरू : नागार्जुन पर्वतका सेरोफेरोमा विभिन्न गुफा छन् । जसमा सबैभन्दा चर्चित शान्ति गुफा र बसुबन्धु गुफा हुन् । बालाजुमाथिको फूलबारी गेटनजिकै त्रिशूली सडकमाथि रहेको शान्ति गुफालाई स्थानीयहरू लाखेढुम्पा, ढिकीपाखु, लक्ष्मीगुफा भन्ने गर्छन् । स्वयम्भू पुराणमा समेत भएको पाइने यस गुफाभित्र पद्यसम्भव र नागार्जुनको मूर्ति देख्न सकिन्छ । गुफाका भित्ताबाट पानीका थोपाहरू तपतप चुहिएको देख्न सकिन्छ । यस गुफाको केहीभित्र एउटा सानो पोखरी पनि रहेको छ । जहाँको जललाई पवित्र मानेर भक्तजनहरूले घरघरमा लगेर राख्दछन् ।
राजधानी सहरनजिकै भएर पनि यो गुफा प्रचारप्रसारको अभावमा ओझेलमा परेको देखिन्छ । यसको मर्मतसम्भार तथा पुनर्निर्माणको आवश्यकता भएको हुँदा सिंगापुरको बौद्धसंस्थाले चासो देखाएको जामाच्व र शान्तिगुफाका रेखदेख र पूजाको जिम्मा पाएका शुकदेव नगरकोटी बताउँछन् । नागार्जुन दरबारको दक्षिणपट्टि रहेको बसुबन्धु गुफा प्राचीन समयमा काठमाडौंबाट भिक्षुहरू लखेटिएको बेला यहीँ आएर बसेकोले इतिहासमा चर्चित छ । बौद्ध साधक नागार्जुनले यसै गुफामा बसेर ध्यान गरेका थिए । यहाँको पचली भैरव मन्दिरको माथि रहेको गुफालाई बीचको भगवान् पाउ भएको गुफा भनिन्छ । यस गुफाको बाहिर नेपाल भाषामा लेखिएका पार्थिवेन्द्र मल्लको पालाका शिलालेख छन् ।
नागार्जुन पर्वत वरपरका सम्पदा : नागार्जुन पर्वतको काखमा विभिन्न प्रकारका प्राचीन र अर्वाचीन सम्पदा छन् । नागार्जुन पहाडको दक्षिण काखमा रहेको इचंगुनारायणलाई महत्त्वपूर्ण तीर्थका रूपमा लिइन्छ जुन मल्लकालमा जामाच्व परिसरमा नै रहेको र पहिरोका कारण हालको स्थानमा स्थापना गरिएको इतिहासमा उल्लेख छ । जसको निर्माण हरिदत्त शर्माले गराएको मानिन्छ । त्यस्तै, रन्त चुँडेश्वर, हल्चोक, आकाश, वीर, पचली भैरव, पुरानो गुह्येश्वरी र आदेश्वर महादेवका मन्दिरहरू यस पर्वतको काखमा रहेका अन्य मुख्य मन्दिर हुन् ।
नागार्जुनबाट हनुमानढोकामा कालभैरव : विश्व सम्पदा क्षेत्रको हनुमानढोका परिसरमा रहेको कालभैरवको विशाल र प्राचीन मूर्तिलाई काठमाडौं उपत्यकाको मुख्य आकर्षण मानिन्छ । इतिहास अनुसार प्रताप मल्लको पालामा नागार्जुन डाँडामा उत्खनन गर्ने क्रममा उक्त मूर्ति फेला परेको हो ।
नेसं ७८० मा नागार्जुन डाँडामा टुक्राटुक्रा स्वरूपमा भेटिएको कालभैरवको मूर्तिलाई प्रताप मल्लले स्वयं तन्त्रसाधना गरी स्थापना गरिएको पाइन्छ । बालाजुको शेषशायी विष्णुको मूर्ति उत्खनन गर्दा उक्त भैरवको मूर्ति फेला परेको हो । त्यस्तै, नागार्जुन पर्वतको पूर्वमा बालाजु रानीबनमा पचली भैरवको मूर्ति छ । सिल्भा लेभीले नेपाल पुस्तकमा काठमाडौंका संस्थापक राजा गुणकामदेवले भैरवलाई नेपालको पश्चिमपट्टि स्थापना गरेको र नागार्जुन वरपर २० भन्दा बढी महाकालभैरव रहेको उल्लेख छ ।
नागार्जुनसँग सम्बन्धित मेला र परम्परा : नागार्जुन पर्वतको उच्च भागमा रहेको जामाच्वो तीर्थमा प्रत्येक वर्ष कार्तिक शुक्ल र चैत्र शुक्ल पूर्णिमा (बाइसधारा पूर्णे) का दिन ठूलो मेला लाग्छ । यस दिन हिन्दु तथा बौद्धमार्गी दुवै धूमधामसँग जामाच्वोमा पूजाअर्चना, गर्न र दीप बाल्छन् ।
बालाजु बाइसधारा स्नान गरी त्यहाँस्थित शेषशायी विष्णु भगवान्, शितलामाईको दर्शन र पूजाआजा गरी भक्तजनहरू नागार्जुन पर्वतको शिरमा रहेको जामाच्वो स्तूपमा पुग्छन् । यसै अवसरमा त्यहाँ रहेका नाग, नागार्जुन महादेव, जामाच्वो स्तुप, इन्द्रको दर्शन र पूजापाठ गरिन्छ । त्यस्तै, नागार्जुन पर्वतको उत्तराखण्डमा समयमा वर्षात् नहँुदा नागार्जुन महादेवसँग पानी माग्ने प्राचीन चलन अझै छ ।
नागार्जुनको सीमांकन र प्रवेशद्वार : जंगबहादुरले विक्रम संवत् १९२३ मा सीमांकन गरी १८ कोश लामो यस वनको यसको चारैतिर डिमार्केसन गरेर पर्खाल लगाएका थिए । नागार्जुन प्रवेश गर्ने चारवटा प्रवेश द्वारमध्ये पूर्वको बालाजुमाथिको फुलबारी गेट, उत्तरको मुड्खुढोका, पश्चिममा धादिङको स्वानागाउँ र दक्षिणको इचंगुको रानीवन ढोका मुख्य मानिन्छन् ।
मुड्खुमा जंगबहादुरले निर्माण गराएको मुड्खुढोका धेरै पछिसम्म रहेको र काठमाडौं त्रिशूली सडक निर्माणका क्रममा विसं २०१४ मा हट्न पुगेको स्थानीय बताउँछन् ।
पर्यापर्यटनका दृष्टिमा नागार्जुन : काठमाडौं सहरको उत्तरपश्चिममा अवस्थित सुन्दर शिवपुरी नागार्जुन राष्ट्रिय निकुञ्जको एउटा खण्डका रूपमा नागार्जुनलाई लिन सकिन्छ । यो जैविक दृष्टिले पनि महत्त्वपूर्ण मानिन्छ । यहाँ ८ प्रजातिका सरिसृप, ३ प्रजातिका उभयचर, २२ प्रजातिका स्तनधारी, १०२ प्रजातिका पुतली, ३११ प्रजातिका चरा, १२९ प्रजातिका च्याउ साथै नेपालमा पाइने २७ प्रजातिका दुर्लभ वन्यजन्तुमा पाँच किसिमका वन्यजन्तु पाइन्छन् । तीमध्ये ध्वाँसे चितुवा, चाइनिज पेंगोलिन, इन्डियन पेंगोलिन, आमामी बाँदर, चरी बाघका लागि पनि यो क्षेत्र प्रख्यात छ । नागार्जुन र जामाचोको राष्ट्रिय तथा अन्तर्राष्ट्रिय महत्त्व पनि उत्तिकै भएका कारण त्यससँग जोडेर पर्यटन विस्तार र संवद्र्धनका योजना निर्माण गर्नु आवश्यक पर्ने जितपुर गोलढुंगा मध्यवर्ती क्षेत्र उपभोक्ता समितिका अध्यक्ष नीराजन तामाङ बताउँछन् ।
२०५८ फागुन ६ गते नेपाल सरकारले शिवपुरी राष्ट्रिय निकुञ्ज घोषणा गरेपछि २०६५ फागुन १२ गते नागार्जुन क्षेत्रलाई पनि थप गरेर शिवपुरी नागार्जुन राष्ट्रिय निकुञ्ज नामकरण गरिएको हो । भ्रमण, चरा अवलोकन र जीप सफारीका लागि पनि मानिस त्यहाँ पुग्छन् । यसलाई धार्मिक सांस्कृतिक, पौराणिक, जैविक, पर्यटकीय आदि दृष्टिले ज्यादै उत्कृष्ट गन्तव्यका रूपमा लिन सकिन्छ । विश्वकै दोस्रो राष्ट्रिय निकुञ्जको रूपमा यसको विशेष महत्त्व छ ।
प्रतिक्रिया दिनुहोस !